
डोल्पामा १३ वैशाखमा परेको असिनाले स्याउका बिरुवामा ठूलो क्षति पुर्याएको छ। त्रिपुरासुन्दरी नगरपालिका लगायतका क्षेत्रमा असिनाले फुलेका स्याउका फूल र दाना सबै नष्ट भएका छन्। किसानहरूले बाली बीमा नहुँदा आर्थिक संकटमा परेको र राहत तथा बीमा व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरेका छन्। १३ वैशाख, डोल्पा।
हिमाली जिल्लामा पर्ने डोल्पामा असिनासँगै परेको पानीले स्याउ बिरुवामा व्यापक क्षति पुर्याएको छ। शनिबार साँझ लगातार परेको वर्षासँगै आएको असिनाले जिल्लाका विभिन्न भागस्थित स्याउका बिरुवामा ठुलो क्षति गराएको छ। स्याउको प्रमुख उत्पादन केन्द्र मानिने त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ, सुँ गाउँ, ४ रंग गाउँ, ठुलिभेरीको डाँगीवाडा, जुफाल, थाला लगायतका क्षेत्रमा असिनाले स्याउ खेतीमा क्षति पुर्याएको किसानहरूले बताएका छन्।
जिल्लामा करिब आधा घण्टासम्म परेको असिनाले भर्खरै फुलेका स्याउका फूल र लागेका दाना सबै झारेर नष्ट भएको त्रिपुरासुन्दरी ३ स्थित महादेव फलफूल तथा बगैचा उद्योगका सञ्चालक रामबहादुर गुरुङले जानकारी दिए। उनले भने, ‘एकछिनको असिनाले वर्षभरिको मेहनत नष्ट भयो। गत वर्ष स्याउ खेतीबाट मात्रै ३ देखि ५ लाख रुपैयाँसम्म आय भएको थियो, असिनाका कारण यस वर्ष अपेक्षित उत्पादन हुने छैन।’
प्राकृतिक विपत्तिले डोल्पाका स्याउ किसानहरूलाई आर्थिक जोखिममा पारेको र विशेष गरी बीमा नहुँदा उनीहरू थप संकटमा परेका छन्। जुम्ला, मनाङ र मुस्ताङ जिल्लामा स्याउ बाली बीमा भइसकेको भए पनि डोल्पामा यस्तो प्रभावकारी व्यवस्था नभएको किसानहरूको गुनासो छ। राष्ट्रिय कृषि आधुनिकीकरण तथा कार्यक्रम कार्यान्वयन कार्यालय प्रमुख गोविन्द बहादुर मल्लले स्याउ किसानलाई बीमा गराउने प्रयास सदैव गरिँदै आएको भए पनि चासो पर्याप्त नदेखिएको बताए। डोल्पाका किसानहरूले विपत्ले पुर्याएको क्षतिको न्यायोचित मूल्यांकन गरी तत्काल राहत र बाली बीमा व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।






