
१५ वैशाख, म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघिदेखि दुई वटा बाख्राबाट सुरु गरेको फार्मले अहिले वार्षिक लाखौँ आम्दानी गर्ने अवस्था बनाएका छन्। ५० वर्षीय पुनले वैदेशिक रोजगारी र परम्परागत खेतीकिसानीको विकल्प खोज्दै गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर आत्मनिर्भर र स्वरोजगार बन्न सफल भएका हुन्। ‘घरमै रहेका दुई माउबाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको संख्या ४८ पुगेको छ,’ उनले भने, ‘वार्षिक १५ देखि २० वटा बाख्रा बिक्री हुन्छ।’
बाख्रापालन सुरु गरेपछिगरी उनले घरव्यवहार चलाउन र आफ्ना छोराछोरीको पढाइमा सहज्यता आएको बताए। सामाजिक कार्यमा समेत सक्रिय पुनले बाख्रापालन अघि परम्परागत खेतीकिसानी र पशुपालनमार्फत जीविकोपार्जन गर्दै आएका थिए। उनको पत्नीसमेत बाख्रापालनमा सहकार्यमा छन्। १८ महिनादेखि २ वर्ष उमेरका खसीहरूको तौलअनुसार १५ हजारदेखि २० हजार रुपैयाँसम्म मुल्य पर्न सक्ने पुनले जानकारी दिए। बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुने गरेको छ।
पुनले वि.सं. २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरी व्यवसाय सुरु गरेका थिए। स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गर्दै उनीले उन्नत बोयर जातको बोका पालेर पाठापाठी उत्पादन गर्दैछन्। बोयर बोकाबाट सुधारिएका पाठापाठी छिटो बढ्ने र तौल बढी हुने भएकाले आम्दानी वृद्धिका लागि यो फार्म प्रभावकारी भएको पुनको अनुभव छ। उक्त फार्ममा बाख्राका लागि व्यवस्थित खोर निर्माणमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच लाख रुपैयाँ अनुदान दिएको थियो। मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एकवटा बोका उपलब्ध गराएको छ।






