Skip to main content

रवि लामिछानेको भारत भ्रमणमा भाजपाले गर्यो स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुका साथै अयोध्याको भ्रमण गर्ने कार्यक्रम तय गरेका छन्। भ्रमण टोलीलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

१८ जेठ, काठमाडौं। पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा रहेका छन्। उनी सोमबार दिउँसो नयाँदिल्ली पुगेका हुन्। दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए। भाजपाको निमन्त्रणामा भारत गएका सभापति लामिछानेको स्वागत गर्दै नयाँ दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्बिर राखिएको छ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा छन्। भ्रमण दलमै रहेका सांसद बोहोराले एक भिडियो पोस्ट गर्दै ‘दिल्लीतिर यस्तो छ’ भनी क्याप्सन राखेका छन्। रास्वपा प्रवक्ता मनिष झाकाका अनुसार, रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५) सम्म भारत भ्रमण गर्नेछन्।

त्यस क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गर्दै आएको रास्वपाले जनाएको छ।