
१८ जेठ, सप्तरी। जग्गाधनी पुर्जा (लालपुर्जा) माग गर्दै राजविराज नगरपालिकामा स्थानीयवासीहरूले तालाबन्दी गरेका छन्। सोमबार, संघर्ष समितिको नेतृत्वमा लामो समयदेखि जारी आन्दोलनको क्रममा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। पटक–पटक आश्वासन दिइए पनि हालसम्म लालपुर्जा नदिइएको भन्दै स्थानीय अव्यवस्थित बसोबासी र सुकुमवासीहरू आन्दोलित छन्। उनीहरूले आफूहरू नगरपालिकाको स्थापना अगाडि नै त्यहाँ बसोबास गर्दै आएको दाबी गरेका छन्।
आन्दोलनरत पक्षको एउटै माग छ कि, हकभोगका आधारमा लालपुर्जा उपलब्ध गराइयोस्। निरन्तर शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नहुँदा नगरपालिकामा तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक खेलानन्द दासले जानकारी दिएका छन्। लालपुर्जा उपलब्ध गराइने सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। संघर्ष समितिले ११ दिनसम्म धर्ना र अन्य दबाबमूलक कार्यक्रमहरू गर्दै आएको थियो।
विटोरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाए पनि लालपुर्जा वितरणमा बेवास्ता गरिएको भन्दै आक्रोशित उनीहरूले अब नापी कार्यालयमा पनि तालाबन्दी गर्ने चेतावनी दिएका छन्। आन्दोलनरत पक्ष प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी आदेश जारी गरेपछि सशंकित छन्। यही कारणले उनीहरू आन्दोलित भएका हुन्। अर्कोतर्फ, बोदेबरसाईन बजारका स्थानीयले पनि जग्गाको राजस्व नगरपालिका बुझाएको भए पनि लालपुर्जा नदिइएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा वैशाख २९ गते ज्ञापनपत्र बुझाएका छन्।






