
गुल्मीको छत्रकोट गाउँपालिकामा रहेका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको संयोजनमा सञ्चालित यस कार्यक्रममा मुटुरोग फेला परेका विद्यार्थीलाई उपचारमा सहयोग गरिनेछ। यसअघि गुल्मीदरबार गाउँपालिकामा गरिएको परीक्षणमा ३ हजार ९५० विद्यार्थीमध्ये १० जनामा मुटुसम्बन्धी समस्या पहिचान गरिएको थियो।
छत्रकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीको संयोजन तथा छत्रकोट गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा गाउँपालिकाभित्रका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु परीक्षण गरिने भएको छ। कार्यक्रमको सुरुवात छत्रकोट गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालयबाट गरिएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमनता बन्जाडे र डा. प्रदीप पाण्डेको नेतृत्वमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको छ। आवश्यक परेमा विद्यार्थीहरूको इकोकार्डियोग्राफीमार्फत समेत परीक्षण गरी रोग पहिचान गर्ने व्यवस्था मिलाइएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीका अध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा मुटुरोग भएका विद्यार्थी भेटिएमा उनीहरूको आवश्यक उपचार व्यवस्थापनमा प्रतिष्ठानले सहजीकरण गर्ने बताए।
छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत राजन पाण्डेले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको बताए। उनले मुटुरोगको समयमै पहिचान र उपचारका लागि यस्तो अभियान प्रभावकारी र उपलब्धिमूलक भएको उल्लेख गरे।






