Skip to main content

मुख्यमन्त्री शाहले संसदीय दल एकताबद्ध रहेको सन्देश दिने प्रतिबद्धता व्यक्त गरे

१९ जेठ, धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग नेपाली कांग्रेसका केही सांसद असन्तुष्ट थिए। उनीहरूले शाहलाई दलको नेता तथा मुख्यमन्त्री पदबाट हटाउन मोर्चाबन्दी गर्दै मंगलबार संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराए। १८ सांसदमध्ये शाहलाई दलको नेता पदबाट हटाउने निर्णय र अविश्वास प्रस्तावमा ९ जनाले हस्ताक्षर गरे। प्रकाश देउवा अमेरिकामा रहेका कारण उनलाई नगरी १७ सदस्यमध्ये बहुमतको दाबी गर्दै ९ जना सांसदहरूले निर्णय गरे र शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरियो। हटाउने पक्षले पार्टी केन्द्रलाई पनि निर्णयको जानकारी गराउँदै मंगलबार सभामुख भीमबहादुर भण्डारीलाई भेटेर यस विषयमा जानकारी दिएका थिए।

झट्ट हेर्दा मुख्यमन्त्री शाहविरुद्ध सांसदहरूको कदम मंगलबारकै जस्तो देखिए पनि यसको पृष्ठभूमि पुरानो रहेको नेताहरू बताउँछन्। असन्तुष्ट सांसदहरूले लामो समयदेखि शाहलाई पदमुक्त गर्ने अभियान चलाउँदै आएका थिए। डम्मरी महराबाहेकका आठ जना सांसदले यसअघि नै शाहलाई हटाउने निर्णयमा हस्ताक्षर गरिसकेका थिए। महराले पनि तयार भएपछि हटाउने पक्षमा बहुमत पुगेको उनीहरू दावी गर्छन्। तथापि, मंगलबारै शाहविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णयमा हस्ताक्षर गरेकी महराले यूटर्न लिँदै हस्ताक्षर फिर्ता लिएकी छन्। महराले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहले तत्काल राहतको सास फेरेका छन्।

कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्री र आफ्ना पक्षीय सांसदहरूको उपस्थितिमा शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरे। सम्मेलनमा उनले संसदीय दललाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। महरालाई समेत छेउमा राख्दै शाहले आफ्नाविरुद्ध हस्ताक्षर गर्ने सांसदहरूप्रति नरम शब्द प्रयोग गरे। ‘केही साथीहरूका असन्तुष्टिहरू छन् भने पनि ती समस्या समाधान गर्दै लैजाने पक्षमा म सधैं खुला छु। अहिले नीति तथा कार्यक्रम पनि तयार भइसकेको छ र बजेट निर्माणको प्रक्रियामा छौँ। हाम्रोबीच कुनै पनि विमती हुँदैन। एकताबद्ध भएर अघि बढ्नेछौँ,’ शाहले भने, ‘चाँडै दलको बैठक बसेर संसदीय दल एकताबद्ध छ भन्ने सन्देश दिनेछौँ। दलीय व्यवस्थामा साथीहरूबीच सहमति–असहमति रहन्छ।’