Skip to main content

सुरेन्द्र पाण्डेले पार्टीको काँचुली छिटो फेर्नुपर्ने आवश्यकता औंल्याए

२० जेठ, बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले गत निर्वाचनको नतिजाले पार्टीलाई ठूलो खबरदारी दिएको र अप्ठेरो अवस्थामा पुर्‍याएको बताए। ‘पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ, किनभने हामी अप्ठेरो अवस्थामा छौँ,’ उनले भने, ‘जनताको त्यो खबरदारीलाई बुझ्न सकेनौं र सतर्क भएनौं भने आगामी दिनमा पार्टी झन् कमजोर हुन्छ।’

नेता पाण्डेले बदलिंदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने बताए। ‘अब रिफर्मेसनले मात्र पुग्दैन, पार्टीको नेतृत्वदेखि संगठनको संरचनासम्म रिभोलुसन (क्रान्ति) नै चाहिन्छ,’ उनले भने। कसले पद छाड्ने भन्दा पनि पार्टीलाई काँचुली फेराउन सबै नेता कार्यकर्ताले आ–आफ्नो पद छाड्न तयार हुनुपर्ने पाण्डेको भनाइ छ।

नेता पाण्डेले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत भौतिक संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए। पाण्डेले समाज निरन्तर परिवर्तनशील रहेको र त्यसअनुसार पार्टीका विचार, नेतृत्व विकासको शैली तथा संगठनात्मक संस्कृतिमा पनि समयानुकूल सुधार आवश्यक पर्ने बताए। ‘मदन भण्डारीको समयदेखि अहिलेसम्म विश्व र समाजमा ठूलो परिवर्तन आइसकेकाले पार्टीले पनि आफूलाई बदल्नुपर्छ,’ नेता पाण्डेले भने।

पाण्डेले निर्वाचनमा पार्टीको नतिजा, उमेर, स्वास्थ्य अवस्था लगायतका चुनौतीहरूलाई ध्यानमा राख्दै एमाले अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नुपर्ने बताएका छन्। ‘उहाँ १७४ सांसद भएको दलको नेता, प्रधानमन्त्रीबाट २५ सांसद भएको दलको नेतामा आउनुभएको छ, यो ग्राफले के बताउँछ?’ उनले भने। पाण्डेले बजेटको आकार २५ प्रतिशतले बढे पनि राज्यको स्वरूप परिवर्तन गर्ने कुनै योजना समावेश नभएको दावी गरे।

पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। ‘बजेटले पुराना कार्यक्रम मात्र बोकेको छ, नयाँ शब्दमात्र राखिएको छ। तात्विक रुपान्तरण हुने कुनै नयाँ घोषणा छैनन्,’ उनले भने। चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च हुन नसकेको बताउँदै उनले २१ खर्बको बजेटमै पुँजीगत खर्च डेढ खर्ब मात्र भए कसरी देश अघि बढ्ला भन्दै प्रश्न उठाए।