Skip to main content

शीतलनिवासमा युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्ती, क्षेत्री र शर्मा सम्मानित

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित गरियो। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई क्रमशः वर्ष २०८२ र २०८३ को सो पुरस्कार प्रदान गर्नुभयो। समारोहमा राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिलाई मौलिक पहिचान र गौरवको रूपमा व्याख्या गर्नुभयो। २२ जेठ, काठमाडौं।

युगकवि सिद्धिचरण पुरस्कार समारोहमा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मा सम्मानित भए। राष्ट्रपति निवास शीतलनिवासमा आयोजना गरिएको उक्त विशेष कार्यक्रममा उनीहरूलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरियो। युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा डा. क्षेत्रीलाई सन् २०२५ (नयाँ संवत् २०८२) र डा. शर्मा लाई सन् २०२६ (नयाँ संवत् २०८३) को पुरस्कारबाट सम्मानित गरिएको छ। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो।

अध्यक्षता गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिलाई हाम्रो मौलिक पहिचान र गौरव भएको बताए। उनले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई सचेत, जागरुक र संवेदनशील बनाउन सक्षम महत्वपूर्ण माध्यम भएको विश्लेषण गरे। ‘साहित्यले हाम्रो समाज, जनजीवन, लोकतन्त्र, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा उल्लेख्य योगदान पुर्‍याउँछ। यसले समुदायलाई जोड्ने, जागरूक बनाउने र उज्जवल भविष्य तर्फ अघि बढाउने क्षमता प्रदान गर्दछ,’ राष्ट्रपति पौडेलले भने।

नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याएको योगदानलाई पनि राष्ट्रपतिले स्मरण गर्दै सम्मान व्यक्त गरे। राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र जनजीवनप्रतिको संवेदनशीलतालाई पोख्ने युगकवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये ‘मेरो प्यारो ओखलढुङ्गा’ लाई जन्मभूमिप्रतिको अगाध प्रेमको अविस्मरणीय रचना मान्नुभयो।