Skip to main content

समूह चरणमा तीन खेलाडीले ह्याट्रिक, मेसिले सर्वाधिक गोलकर्ता पदमा एकल अग्रता कायम राखे

समूह चरणमा लियोनेल मेसिसहित जोनाथन डेभिड र उस्मान डेम्बेलेले ह्याट्रिक गरेका छन्। फिफा विश्वकप २०२६ को समूह चरणमा लियोनेल मेसिसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। मेसिले विश्वकपमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् र लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। समूह चरणमा क्यानडाका जोनाथन डेभिड र फ्रान्सका उस्मान डेम्बेलेले पनि ह्याट्रिक गर्दै आफ्नो नाम दर्ता गराएका छन्।

१४ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसिसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। उत्तर अमेरिकाका तीन राष्ट्र—अमेरिका, मेक्सिको र क्यानडामा भैरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा मेसिसहित क्यानडाका जोनाथन डेभिड र फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिक गरेका छन्। मेसिले समूह जे को पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए। उनले त्यही खेलमा विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाव क्लोजको कीर्तिमान बराबरी गरेका थिए।

त्यसपछि अस्ट्रिया विरुद्ध मेसिले दुई गोल गरे। ती दुई गोलपछि उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने। जोर्डन विरुद्ध तेस्रो खेलमा मेसिले बेन्चबाट आएर दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा ६ गोलसहित मेसि सर्वाधिक गोल गर्ने खेलाडी एकल रूपमा अग्रस्थानमा छन् र गोल्डेन बुटका दावेदार हुन्। मेसिले अहिलेसम्म दुईपटक उत्कृष्ट खेलाडी भएर गोल्डेन बल अवार्ड जिते पनि गोल्डेन बुट भने पाएका छैनन्।

जोर्डन विरुद्ध गोल गर्दै मेसिले विश्वकपमा गोल संख्या १९ पुर्‍याएका छन् र अर्को कीर्तिमान पनि तोडेका छन्। उनी विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सन् २०२२ मा अन्तिम चार खेलमा लगातार गोल गरेका उनी यस विश्वकपमा समूहका तीन खेलमा गोल गर्न सफल भएका छन्। समूह चरणमा क्यानडाका डेभिडले कतार विरुद्ध र फ्रान्सका डेम्बेलेले नर्वे विरुद्ध ह्याट्रिक गरेका छन्। सर्वाधिक गोलकर्तामा मेसिलाई पछ्याउनेमा फ्रान्सका कप्तान किलियन एमबाप्पे, डेम्बेलेसँगै ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्ड छन्। यी चारै खेलाडीले समान ४ गोल गरेका छन्।