Skip to main content

मदन भण्डारी कपमा खैरा क्लब पञ्जाब र नेपाल पुलिस क्लबको विजयी सुरुवात

१३ असोज, बुटवल । भारतको खैरा भलिबल क्लब पञ्जाब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार समूह ‘ए’ अन्तर्गत भएको खेलमा खैरा क्लब पञ्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटको प्रबल अन्तरले पराजित गर्‍यो। खैरा क्लबले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१८ मा सहज जीत हात पारेको थियो। तेस्रो सेट मणिमुकुन्दले २५–२२ को स्कोरले आफ्नो पक्षमा पारे पनि चौथो सेटमा खैरा क्लबले पुनः २५–२० को स्कोरले जीत हासिल गर्दै खेल आफ्नो पक्षमा पुर्‍यायो।

अर्को खेलमा नेपाल पुलिस क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो। नेपाल पुलिसले क्रमशः २५–२३, २५–२१ र २५–२० को जित हासिल गरेको छ। त्यस्तै, समूह ‘बी’ मा रहेको गल्कोट भलिबल क्लब निर्धारित समयमा उपस्थित नभएपछि खेलका लागि अयोग्य ठहरिएको छ। गल्कोटको अयोग्यता भएपछि प्रतियोगितामा सात टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। उद्घाटन समारोहमा उनले यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव गराउन सक्ने उल्लेख गरिन्।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आएको जानकारी दिए। उनले बुटवलमा आयोजना भएको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले प्रतिस्पर्धासँगै खेल पर्यटनको विकासमा पनि सहयोग पुग्ने बताए। असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘ए’ मा खैरा क्लब पञ्जाब, श्रीलंका पुलिस क्लब, नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब रहेका छन्। समूह ‘बी’ मा सभापोखरी भलिबल क्लब, भारतको गुजरात स्पोर्टिङ क्लब र नेपाल एपीएफ क्लब रहेका छन्। समूह चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।