Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाली श्रमिकबाट पौने २ अर्ब रुपैयाँ असुल गरेर मलेशिया पठाउने प्रकरणमा अनुसन्धान जारी

Advertisement800×200-1

युवा व्यवसायी कैलाश खड्कालाई गिरफ्तार गरिएको एक महिनापछि पूर्वमन्त्री र उच्च अधिकारीहरू समेत पक्राउ परेपछि उक्त प्रकरणप्रति चासो बढेको पाइन्छ। पक्राउ परेका दुई जना भूतपूर्व श्रममन्त्री र मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूको मिलेमतोमा मलेशिया गएका साढे ७ लाख श्रमिकबाट १ अर्ब ६९ करोड असुल गरिएको भन्दै प्रहरीले त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उक्त रकम २०७६ सालदेखि २०८१ सालको असार मसान्तबीचमा वैदेशिक रोजगारीमा मलेशिया गएकाहरूबाट असुल गरिएको थियो। नेपाल सरकार र मलेशिया सरकारबीच भएको समझदारी विपरीत प्रतिश्रमिक ३,१६४ रुपैयाँ अतिरिक्त रकम उठाइएको थियो। प्रहरीले अनुसार त्यसरी पैसा उठाउनु गैरकानुनी थियो र राष्ट्र बैङ्कबाट विदेशी मुद्रा सटही गरेर त्यो रकम १७ पटक गरेर मलेशिया पठाइएको फेला परेको थियो।

“त्यसैले हामीले गैरकानुनी रूपमा सङ्कलन भएको रकम मलेशिया पठाउने निर्णय गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,” सीआईबीका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले बुधवार पक्राउ परेका व्यक्तिहरूका विषयमा भने, “पाँच वर्षको अवधिमा भएको उक्त कार्यमा थप कोको संलग्न थिए भन्ने मसिनो गरेर अध्ययन भइरहेको छ।” प्रहरीले पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर सहित पूर्वसचिव र सहसचिवहरू समेतलाई पक्राउ गरेको जानकारी दिएको छ।

दुई सरकारबीच समझदारी तथा द्विपक्षीय संयुक्त कार्यदलका दुईवटा बैठकले निर्धारण गरेका मापदण्ड विपरीत त्यसरी रकम असुल गर्ने कार्य भएको देखिएको प्रहरीको भनाइ छ। सीआईबी प्रमुख चतुर्वेदीले भने, “मलेशियाको बेस्टिनेट कम्पनी र त्यसको शाखा कार्यालयको रूपमा नेपालमा दर्ता गरिएको माइक्रो टेक कम्पनीबीच सम्झौता गरेर प्रत्येक श्रमिकसँग मलेशियाली १०० रिङ्गिट (नेपाली रुपैयाँ ३,१६४) उठाएको पाइएको छ।” उनका भनाइमा त्यसरी गैरकानुनी रूपमा उठाइएको रकम विभिन्न तह तप्काका व्यक्तिहरूलाई प्रभावमा पारेर मलेशिया पठाएको पनि अनुसन्धानबाट खुलेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर