Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतका राजदूत पाण्डेले राष्ट्रपति मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे, चीनका राजदूत शर्मा बेइजिङ पुगे

Advertisement800×200-1

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदूत निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार राष्ट्रपति मुर्मुसमक्ष प्रमाणपत्र पेस गरेसँगै पाण्डेले औपचारिक रूपमा कूटनीतिक जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि नै राजदूत पाण्डेले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमणअघि नै ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम मिलाएको बताइएको छ।

भारतीय राष्ट्रपतिसमक्ष प्रत्यक्ष रूपमा ओहोदाको प्रमाणपत्र पेस गर्ने अवसर नेपाली राजदूतहरूले कमै पाउने गरेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै पाण्डेको औपचारिक नियुक्ति प्रक्रिया पूरा भएसँगै उनलाई भ्रमण टोलीमा सहभागी हुने बाटोसमेत खुलेको छ। यसैबीच, चीनका लागि नवनियुक्त नेपाली राजदूत कल्याणराज शर्मा पनि बिहीबार बेइजिङ पुगेका छन्। उनले चीनको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार अधिकृतसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम रहेको छ।

आवश्यक कूटनीतिक प्रक्रिया पूरा भएपछि शर्माले चिनियाँ सरकारी अधिकारीहरूसँग नियमित भेटवार्ता तथा द्विपक्षीय सम्बन्ध विस्तारका गतिविधि अघि बढाउनेछन्। नेपालले चीनसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउन खोजिरहेका बेला शर्मा बेइजिङ पुगेका हुन्। हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदको टोली चीन भ्रमणमा रहेको छ। उक्त टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरिरहेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले जारी राजनीतिक भेटघाट र कूटनीतिक समन्वयको आवश्यकतालाई ध्यानमा राख्दै शर्मालाई शीघ्र बेइजिङ पुगेर जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए। भारत र चीनका लागि नवनियुक्त नेपाली राजदूतहरूले लगभग एकै समयमा कूटनीतिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएका हुन्। दुवै छिमेकी मुलुकसँग उच्चस्तरीय राजनीतिक संवाद र कूटनीतिक सक्रियता बढिरहेका बेला राजदूतहरूको नियुक्ति प्रक्रियाले पूर्णता पाउनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र चीनसँग भइरहेको राजनीतिक संवादका बीच दुवै मुलुकमा नेपाली राजदूतहरूको सक्रिय उपस्थितिले द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर