

काठमाडौं । ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा सीआईबीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन्। उनीहरूमाथि नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अपचलन गरेको आरोप लागेको छ।
सीआईबीका अनुसार सम्झौताविपरीत ठगी गरी संकलन गरिएको रकममध्ये ३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९०.८० बेलायती मुद्रा गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। प्रकरणमा पूर्वमन्त्रीदेखि मन्त्रालयका उच्चपदस्थ कर्मचारीसम्मको संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
अदालतबाट हिरासतमा राख्ने अनुमति पाएसँगै सीआईबीले रकम संकलन, त्यसको प्रयोग तथा सम्बन्धित निर्णय प्रक्रियामा पक्राउ परेकाहरूको भूमिकाबारे थप अनुसन्धान गर्नेछ। पक्राउ परेका व्यक्तिहरूमाथि ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भए पनि आरोप पुष्टि भइसकेको छैन। उनीहरूको संलग्नता र कसुरबारे अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट अन्तिम निष्कर्ष आउनेछ।

सम्बन्धित खबर










