इरानको मिसाइल र ड्रोन आक्रमणमा यूएईमा १५ नेपाली घाइते भएका छन् र १४ जना उपचारपछि काममा फर्किसकेका छन्।
परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले एक जना उपचारमा रहेको र उनको अवस्था सामान्य रहेको बताए।
गोरखाका विवेक श्रेष्ठ यूएईमा आक्रमणमा मृत्यु भएका थिए र उनको शव नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ।
२७ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए ।
तीमध्ये एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए । इजरायल-अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण भइरहेको छ ।
इरानले खाडी तथा पश्चिम एसियाका देशहरूमा रहेका अमेरिकी सैन्य बेशक्याम्पमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ ।
ड्रोन आक्रमण क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्युु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । उनको क्षतिपूर्तिका लागि यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीबाहेक अन्य क्षेत्रमा रहेका नेपाली भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा हुन बाँकी छ। गत साता प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० सांसद छान्ने मतदान भएको थियो। समानुपातिकतर्फ मङ्गलवार अपराह्न ८ः०० बजेसम्म एक करोड पाँच लाखभन्दा बढी मत गनिँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ७० हजार मत प्राप्त गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार, समानुपातिक निर्वाचनको परिणाममा तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको उम्मेदवार मात्र निर्वाचित हुने व्यवस्था छ। अहिलेसम्म रास्वपाले झन्डै ४८ प्रतिशत, नेपाली कांग्रेसले १६.२ प्रतिशत, नेकपा एमालेले १३.५ प्रतिशत र नेपाली कम्युनिस्ट पार्टीले ७.४ प्रतिशत समानुपातिक मत पाएका छन्।
समानुपातिक सीटको छिनोफानो गर्न विशेष गणितीय सूत्र प्रयोग गरिन्छ। यो सूत्र फ्रान्सेली गणितिज्ञ सेन्ट-लाग्यूको विधिमा आधारित छ। प्रत्येक पार्टीले पाएको कुल समानुपातिक मतलाई १, ३, ५, ७, ९ जस्ता बिजोर अङ्कले भाग गरिन्छ। यसरी प्राप्त हुने भागफलको आधारमा सीट बाँडफाँट गरिन्छ।
निर्वाचन आयोगले अन्तिम निर्णय गर्छ कि कुन पार्टीले कति समानुपातिक सीट पाउने हो। यसमा महिला र पुरुषको प्रतिनिधित्व सुनिश्चित गर्न विशेष प्रावधान पनि छ।
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन्।
सिटौलाले कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरूको निर्वाचन परिणाम अपेक्षाभन्दा फरक र अप्रत्याशित देखिएको बताए।
उनले निर्वाचन परिणाममा पुराना दलहरूको हैसियत उस्तै रहेको र नयाँ शक्तिको उदयले राजनीतिक भूमिकामा परिवर्तन आएको उल्लेख गरे।
२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन् ।
बुधबार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् ।
कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनले बताए । साथै, उनले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख पनि गरे ।
‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ । पुराना दलहरूको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेश केन्द्रित दलहरू सबै पुराना दलहरूको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ,’ सिटौलाले भने ।
निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाइ छ ।
हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने उनको भनाइ थियो ।
बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफूहरूको भूमिकामा पनि परिवर्तन आएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका महामन्त्रीले पार्टी सभापति गगन थापाको राजीनामा सन्दर्भमा केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन्। गत साता भएको निर्वाचनमा कांग्रेसले बेहोरेको हारको कारण थापाले राजीनामा दिन चाहेको जानकारी सार्वजनिक भएको छ। तर, पार्टी प्रवक्ताले यो विषयमा केन्द्रीय समितिको निर्णय आवश्यक हुने बताएका छन्।
कांग्रेस यसपालि दोस्रो स्थानमा खुम्चिएको छ। पार्टीले प्रत्यक्ष निर्वाचनमा १८ सीट र समानुपातिकमा १६ प्रतिशत मत प्राप्त गरेको छ। थापाले सर्लाहीबाट चुनाव लडेका थिए र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका छन्। महामन्त्री गुरुराज घिमिरेले राजीनामा र नैतिक जिम्मेवारीको विषयमा छलफल गर्नुपर्ने बताएका छन्।
प्रवक्ता देवराज चालिसेले राजीनामा समस्याको समाधान नहुने र पार्टीको संस्थागत निर्णय आवश्यक हुने बताएका छन्। उनले महाधिवेशनको समय नजिकिँदै गर्दा राजीनामा दिने उपयुक्त समय नभएको तर्क गरेका छन्। यसैबीच, भूतपूर्व सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकि अगावै जनप्रतिनिधिले पदबाट राजीनामा दिएका कारण रिक्त रहेका पदमा अब उपचुनाव हुन्छ वा हुँदैन भन्ने चासो व्यक्त भएको छ।
कैयौँ स्थानीय सरकारका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितका जनप्रतिनिधिहरूले राजीनामा दिएर फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए।
स्थानीय तहको नियमित निर्वाचन आउन अझै एक वर्षभन्दा धेरै अवधि बाँकी रहेका कारण पनि रिक्त रहेका पदमा उपनिर्वाचन हुन्छ कि हुँदैन भन्ने मानिसहरूको चासो देखिएको छ।
कानुन र अभ्यासमा के छ?
स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
“जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवम् नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने छ,” ऐनमा भनिएको छ।
“तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन।”
तस्बिर स्रोत, EPA
यसअघि निर्वाचन आयोगले गत वर्ष मङ्सिर १६ गते तीनवटा स्थानीय तहका प्रमुखसहित ४१ पदमा उपनिर्वाचन गराएको थियो।
विभिन्न कारण प्रमुखविहीन बनेका कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचनबाट नयाँ प्रमुख छानिएका थिए।
निर्वाचन आयोग के भन्छ?
तस्बिर स्रोत, Getty Images
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले स्थानीय निकायका जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्ने वा नगर्ने विषयमा आयोगले निर्णय लिन बाँकी नै रहेको बताए।
“हामी अहिले पनि प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम गर्ने काममै लागिरहेका छौँ। स्थानीय तहमा एक वर्षभन्दा बढी समय नै बाँकी भएकाले उपनिर्वाचन गर्ने कि नगर्ने विषयमा आयोगले निर्णय लिन्छ,” उनले भने।
स्थानीय सरकारको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारहरू पराजित भएका छन्।
नगर प्रमुख वा गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर सांसदका उम्मेदवार बनेका र बीबीसीको जानकारीमा रहेका १० जना स्थानीय सरकार प्रमुखमध्ये काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन शाह र धरानका पूर्वमेअर हर्क साम्पाङ मात्रै निर्वाचित भए।
अधिकांश स्थानीय सरकार प्रमुख सांसद चुनिन विफल
स्थानीय सरकार प्रमुख हुँदा चर्चामा रहेका चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू श्रेष्ठ संसदीय चुनावमा सफल हुन सकेनन्।
चितवन ३ बाट उम्मेदवार बनेकी दाहाल रास्वपाकी सोविता गौतमसँग फराकिलो मतान्तरले पराजित भइन्। काभ्रे २ बाट उम्मेदवार बनेका ब्यान्जू श्रेष्ठ तेस्रो स्थानमा सीमित भए। यो क्षेत्रमा रास्वपाका वदनकुमार भण्डारी निर्वाचित भए।
त्यसै गरी मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दीलिप अग्रवाल पनि मोरङ २ बाट उम्मेदवार बनेका थिए। यो क्षेत्रमा अग्रवाललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका कृष्णकुमार कार्की निर्वाचित भए।
इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई प्रतिनिधिसभा निर्वाचनमा विफल भए। राईले नेतृत्व गरेको सूर्योदय नगरपालिका उत्कृष्ट स्थानीय तहमध्ये पर्न सफल भए पनि प्रतिनिधिसभा निर्वाचनमा उनी पाँचौँ स्थानमा सीमित भए। यो क्षेत्रमा कांग्रेसका निश्कल राई निर्वाचित भए।
त्यसै गरी सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षबाट राजीनामा दिएका अशिम राई पनि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। यो क्षेत्रमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित भए।
दोस्रो कार्यकाल उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष जितेका मेजरकुमार राईले पनि स्थानीय सरकार छोडेर प्रतिनिधिसभा उम्मेदवार बन्दा जम्मा ९० मतमा चित्त बुझाउनुपर्यो। नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका राई उम्मेदवार रहेको स्थानमा रास्वपाका सूर्यबहादुर तामाङ निर्वाचित भए।
स्याङ्जाको कालिकण्डकी गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेका खिमबहादुर थापा तेस्रो भए। उनी उम्मेदवार बनेको स्याङ्जा क्षेत्र नम्बर २ मा रास्वपाका झविलाल डुम्रे निर्वाचित भए।
कैलालीको टीकापुर नगरपालिका प्रमुखबाट राजीनामा दिएर कैलाली १ मा उम्मेदवार बनेका रामलाल डगौरा थारूले तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो। उनको क्षेत्रमा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित भइन्।
प्रमुखबाहेक ओखलढुङ्गाको लिखु गाउँपालिका र बाँकेको नेपालगन्ज उपमहानगरपालिकासहितका कतिपय स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुख पनि रिक्त भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुखले आफ्नो दलले सरकारको नेतृत्व लिएपछि विदेश नीतिमा तत्कालै ठूलो फेलबदल नहुने भन्दै नेपालले असंलग्नताको नीतिलाई कायमै राख्ने बताएका छन्।
अघिल्लो साता सम्पन्न प्रतिनिधिसभामार्फत् उक्त दल प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरेर झन्डै दुईतिहाइ बहुमतको नजिक पुग्ने देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका बालेन्द्र शाहले चुनावी अभियानका क्रममा विदेश मामिलाका आफ्ना प्राथामिकताबारे खासै चर्चा गरेका छैनन्।
तर रास्वपाले आफ्नो चुनावी वाचापत्रमा ‘सन्तुलित र गतिशील कुटनीति अवलम्बन’ गर्ने र भारत र चीनबीचको ‘गतिशील पुलका रूपमा नेपाललाई रूपान्तरण’ गर्ने प्रतिबद्धता जनाएको थियो।
नेपालको भूराजनीतिक मामिलाबारेका टिप्पणी गर्ने एक लेखकले विगत केही दशकदेखि सत्तामा रहेका पुराना नेताहरू विस्थापित भएसँगै नयाँ शिराबाट कूटनीतिक सम्बन्ध सञ्चालन गर्ने अवसर नयाँ सरकारलाई हुने बताएका छन्।
रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुखले केके भने?
बीबीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले असंलग्न परराष्ट्र नीतिलाई नेपालको संविधानले अङ्गीकार गरेका भन्दै त्यसैको मर्म र भावनाअनुसार आफ्नो दलको नेतृत्वमा बन्ने सरकार अघि बढ्ने बताए।
उनले भने, “असंलग्न परराष्ट्र नीति, नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमसत्ताबारे संविधानमा नै उल्लेख छ। त्यो हाम्रो कूटनीतिको मूल आधार भइहाल्यो। आर्थिक कूटनीति र विकास कूटनीतिमा हाम्रो जोड रहने छ। त्यहीअनुसार हामीले हाम्रा समग्र सम्बन्धहरू विस्तार गर्छौँ।”
उनले दुवै छिमेकी भारत र चीनसँगको सम्बन्धलाई आफ्नो दलले महत्त्व दिएको भन्दै थपे, “भारत हाम्रो असाध्यै महत्त्वपूर्ण छिमेकी देश पनि हो। सयौँ, हजारौँ वर्षको सम्बन्ध हो। भूगोलले पनि हामीलाई अत्यन्तै नजिक राखेको छ। भारत र चीन दुईवटै छिमेकीसँग हामी आपसी सम्मानका आधारमा र नेपालको आर्थिक हितलाई अघि बढाउने गरी सम्बन्ध बनाउँछौँ।”
भारतसँग सीमा विवाददेखि दुई देशका सरकार प्रमुखको तहमा भएको सहमतिपछि बनेको प्रबुद्ध व्यक्तिहरूको समूहको प्रतिवेदनको हस्तान्तरण, नक्सा विवाद र हवाई रूटलगायतका कैयौँ मुद्दाहरू वर्षौँदेखि थाँती छन्। यस्ता विवादहरू आपसी छलफल र तथ्यप्रमाणका आधारमा टुङ्ग्याउँदै जाने रास्वपाका नेताहरूले बताउने गरेको पाइन्छ।
चीन र अमेरिकासम्बन्धी नीति के हुन्छ?
तस्बिर स्रोत, RSS
नेपालको उत्तरी सीमा तिब्बतसँग जोडिन्छ र बेइजिङको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर नेपालले ‘एक चीन’ नीति अख्तियार गरेको छ। रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनालले उक्त नीति कायम रहने भन्दै चीनको आर्थिक प्रगतिबाट लाभ लिनुपर्ने पक्षमा आफूहरू रहेको जनाए।
खनालले थपे, “एक चीन नीतिमा हामी अडिग नै छौँ। विदेश नीतिमा एकदमै ठूलो रूपान्तरणकारी किसिमको नीतिगत फेरबदल हुने सम्भावना एकदमै कम छ। हाम्रो मूलभूत ध्येय भनेको नेपालको आर्थिक रूपान्तरणमा हाम्रा सम्बन्धलाई विस्तार गर्ने मात्रै हो।”
सन् १९९० मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापछि संसदीय राजनीतिको केन्द्रमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू रहँदै आएका थिए। सन् २००८ मा संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको बिदाइ गरेसँगै नेपालमा चिनियाँ प्रभाव विस्तार भएको विश्लेषकहरूले बताउने गरेको पाइन्छ।
विगतमा कांग्रेस र नेकपा एमाले सत्ता गठबन्धनमा रहेका बेला चिनियाँ पूर्वाधार परियोजना ‘बेल्ट एन्ड रोड इनिशटिभ’मा आबद्ध हुने निर्णय नेपालले लिएको थियो।
उक्त अवधारणामा भारत सामेल छैन भने चीनले आफ्नो प्रभाव विस्तार गर्न र कमजोर देशहरूलाई ‘ऋणको पासो’ मा पार्न उक्त अवधारणा अघि बढाएको अमेरिकासहितका पश्चिमा देशहरूको आरोप छ।
झापा निर्वाचन क्षेत्र ५ का लागि सार्वजनिक गरेको आफ्नो चुनावी वाचापत्रमा बालेन्द्र शाह उक्त क्षेत्रमा चिनियाँ लगानीमा निर्माण गरिने भनिएको एउटा औद्योगिक पार्कको मुद्दामा मौन बसेको विवरण आएको थियो। रास्वपाका विदेश विभाग प्रमुख खनाल बीआरआईअन्तर्गतका परियोजनाहरूमा हुने लगानीबारे नेपाल र चीनले अहिलेसम्म ठोस निर्णय नभइसकेको प्रतिक्रिया दिन्छन्।
खनालले थपे, “परियोजना विशेषका लगानीको ढाँचादेखि लिएर सामाजिक र आर्थिक विश्लेषण गरेर (निर्णय) गर्ने विषयहरू हुन्। हरेक विषयहरू हामी नेपालको आवश्यकता र लगानीको मोडेललाई हेरेर निर्णय गर्छौँ।”
सुरक्षा गठबन्धनमा सहभागी नहुने वाचा
हालैका वर्षमा भारत र चीनबीच नेपालमा आफ्नो प्रभाव कायम राख्न एक किसिमको प्रतिस्पर्धा देखिएको कतिपयले बताइरहँदा पछिल्लो समयमा नेपालमा संयुक्त राज्य अमेरिकाको चासो पनि बढेको देखिन्छ। सन् २०१७ मा अमेरिकाले नेपाललाई सडक र विद्युत पूर्वाधार निर्माणका लागि ५०० मिलिअन डलर बराबरको ‘मिलेनिअम च्यालेन्ज कम्प्याक्ट’ (एमसीसी) अनुदान दिएको थियो।
उक्त सम्झौतालाई संसद्बाट पारित गर्ने क्रममा देखिएको विभाजनले अझै पनि नेपाली राजनीतिलाई ध्रुवीकृत बनाइरहेको देखिन्छ। अमेरिकाले सो सम्झौताविरुद्ध चीनले मिथ्या सूचना फैलाएको आरोप लगाएको थियो भने बेइजिङले अमेरिकाले ‘दबावमूलक ढङ्गले’ उक्त परियोजना नेपाललाई थोपरेको टिप्पणी गरेको थियो।
रास्वपाले नेपालको विकासमा सहयोग गरिरहेको एउटा महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा संयुक्त राज्य अमेरिकालाई लिएको भन्दै त्यस्तो सहयोगले निरन्तरता पाउने विश्वास गरेको छ।
तर हालै ट्रम्प प्रशासनले नेपालसहितका देशमा अमेरिकाले यूएसएडमार्फत् दिएका कैयौँ सहयोगहरूलाई कटौती गरेको छ।
निर्वाचन सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको संयुक्त राज्य अमेरिकाले नयाँ सरकारसँग दुवै देशको समृद्धि र सुरक्षा लक्ष्यहरूमा मिलेर काम गर्न इच्छुक रहेको बताएको थियो।
रास्वपाका नेता खनालले नेपालले कहिल्यै पनि कुनै पनि राष्ट्रसँग सुरक्षासम्बन्धी गठबन्धन नगर्ने भन्दै त्यो नीतिलाई नै अङ्गीकार गर्दै आफ्नो दल अघि बढ्ने बताए।
बालेनका अवसर र चुनौती
तस्बिर स्रोत, Narendra Modi/Facebook
तस्बिरको क्याप्शन, भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई शानदार जितका लागि बधाई दिएका छन्
र्यापर हुँदै लौरो चुनाव चिह्नमार्फत् सन् २०२२ मा काठमाण्डूको स्वतन्त्र मेअरका रूपमा राजनीतिमा प्रवेश गरेका बालेन्द्र शाहले विदेश नीतिबारे खासै टिप्पणी गर्ने गरेको पाइँदैन। काठमाण्डूको मेअर रहँदा सामाजिक सञ्जालमा राखेको एउटा पोस्टमा विभिन्न देशहरूमाथि अशिष्ट भाषा प्रयोग गरिएकोमा आलोचना भएपछि उनले त्यो पोस्ट हटाएका थिए।
तर चुनावमा सानदार जिततर्फ रास्वपा उन्मुख भएसँगै सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका थिए।
सामाजिक सञ्जालमा त्यसको जबाफ फर्काउँदै शाहले नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन दुवै पक्षले सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्। रास्वपाले आफ्नो वाचापत्रमा उल्लेख गरेका कतिपय नीतिहरूलाई नै निरन्तरता दिएर उनी अघि बढ्ने विश्लेषकहरूले ठानेका छन्।
भूराजनीतिक मामिलामा दक्खल राख्ने लेखक सुधीर शर्मा नयाँ शिराबाट विदेश सम्बन्ध अघि बढाउने अवसर पछिल्लो राजनीतिक परिवर्तनले नेपाललाई दिएको ठान्छन्।
उनले भने, “आधारभूत कुराहरूमा ठूलो फेरबदल हुनेजस्तो लाग्दैन किनभने त्यो विगतका समझदारीहरू, परम्पराहरू र नीतिहरूसँग पनि जोडिएका हुन्छन्। तर तत्कालका मुद्दाहरूमा नयाँ कोर्स पनि लिन सक्छ।”
विगतमा झन्डै तीन दशक सत्ता अभ्यास गरेका पुराना नेताहरूले पुरानै मूल्यमान्यताअनुसार विभिन्न देशहरूसँग सम्बन्ध राखेको उल्लेख गर्दै उनले थपे, “नेपालमा नयाँ नेतृत्व आएको र छरछिमेकमा पनि हाम्रो तुलनामा नयाँ नेतृत्व आइरहेका कारणले पनि नयाँ शिराबाट सम्बन्ध अघि बढाउने एउटा अवसर हुन्छ।”
उनले छिमेकी देश भारतसँग देखिएका कतिपय सवालहरूमा प्राथामिकता निर्धारण गरेर छलफल अघि बढाउन सकिएको खण्डमा ती निरूपण हुनसक्ने बताए।
“धेरै वर्षदेखि गिजोलिएका सीमा विवाद, १९५० को सन्धिलगायतका जुन मुद्दाहरू छन्, त्यसलाई पनि समाधान गर्नका लागि प्रयास गरिरहने, विभिन्न संयन्त्र बनेका होलान् त्यहाँबाट पनि र राजनीतिक तहबाट पनि गर्ने र सँगसँगै आर्थिक साझेदारीको पाटोमा काम गर्ने एउटा बाटो खुल्न सक्छ। यी दुईटा कुरालाई छुट्याएर अघि बढ्दा हुन्छ कि जस्तो मलाई लाग्छ।”
चीनको मुख्य सरोकार के?
तस्बिर स्रोत, Getty Images
चीनको नेपालमा मुख्य सरोकार तिब्बत भएको उल्लेख गर्दै शर्माले फेरिएको राजनीतिक परिवेशमा चीनले नयाँ सरकारसँग सहकार्य गर्ने विश्लेषण सुनाए।
उनी भन्छन्, “चीनको सरोकार भनेको तिब्बती मामिलामा चीनविरोधी गतिविधि नेपालबाट नहोस् भन्ने छ। यहाँबाट कुनै तेस्रो मुलुकले चीनविरोधी गतिविधि नगरोस् भन्ने छ। छसात दशकदेखि नै यसमा उनीहरूको चिन्ता तथा चासो छ र सरकार मात्रै होइन, नेपालमा शासन व्यवस्था नै परिवर्तन हुँदा पनि यसलाई नेपाली पक्षले नजरअन्दाज गरेको जस्तो मलाई लाग्दैन।”
पछिल्लो समयमा चीन, भारत र नेपालबीचको त्रिदेशीय आर्थिक साझेदारीको मुद्दामा दुई देश एक हदसम्म सहमत रहेको उल्लेख गरेका शर्माले थपे, “पछिल्लो समयमा सडक, रेलमार्गहरू बनाउने एउटा मुद्दा आएको छ। नेपाली नाकाहरू भएर चीन भारतीय बजारसम्म पुग्न चाहने र भारतीय पक्षलाई पनि चिनियाँ बजार खुला गर्ने खाकामा केही वर्षदेखि कुरा भएको छ, यो विषयलाई प्राथमिकतामा राख्ने कि नराख्ने भन्ने नयाँ सरकारमा भर पर्छ।”
शर्माले काठमाण्डू महानगरको मेअरका रूपमा बालेन्द्र शाहले भारत र चीनसहित विभिन्न देशहरूसँग औपचारिक र अनौपचारिक तहमा सम्बन्धहरू विस्तार गरेका उल्लेख गर्दै उनले ‘संस्थागत संस्मरण र परराष्ट्र नीतिको परम्परालाई पनि ध्यान दिएर’ भावी प्रधानमन्त्री अघि बढ्ने विश्वास जनाए।
चुनावअघि कतिपय अन्तर्राष्ट्रिय मामिलाका विश्लेषकहरूले वामपन्थी दलहरूले यस पटकको निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको खण्डमा त्यो चीनका लागि क्षति हुने आशयको टिप्पणी गरेका थिए।
तर नेपाल-चीन सम्बन्धबारे दुईवटा पुस्तकका लेखक शर्मा नेपालका सबै राजनीतिक दल र शक्तिसँग चीनले सम्बन्ध कायम राखेको भन्दै वामपन्थी दलहरूसँगको चीनको निकटताको इतिहास पनि लामो नरहेको सुनाउँछन्।
उनले थपे, “नेपालमा उसले वैचारिक दृष्टिभन्दा पनि उसको राष्ट्रिय स्वार्थलाई नै हेरेर सम्बन्ध गाँसेको देखिन्छ। जब राजतन्त्र गयो, त्यहाँदेखि कम्युनिस्ट दलहरूसँगको सम्बन्धलाई उसले प्राथामिकता दिएको हो। नेपाली कांग्रेससँग उसको लामो सम्बन्ध छ। रास्वपासँग पनि एकखालको सम्बन्धको आदानप्रदान पहिला नै स्थापित भइसकेको अवस्था छ। नयाँ सरकारसँग सम्बन्ध कायम राख्न पनि उनीहरूलाई गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन।”
बेइजिङले प्रतिनिधिसभा निर्वाचन गराउन नेपाललाई झन्डै ४ मिलिअन डलर दिएको थियो। त्यसलाई एउटा सङ्केतिक कदम मान्ने शर्मा थप्छन्, “यो सम्पूर्ण प्रक्रियामा चीन सामेल भइसकेको छ। आगामी दिनमा नयाँ सरकार र चीनबीच सहकार्य अघि बढ्छ जस्तो मलाई लाग्छ।”
उनले कुनै पनि देशसँग नेपाल तत्कालै सुरक्षा साझेदारीमा जाने अवस्था आफूले नदेखेको भन्दै थपे, “हामीले विकास साझेदारी गर्ने तर सैन्य साझेदारी नगर्ने नीति लिएका छौँ, त्यसलाई नयाँ सरकारले निरन्तरता दिन्छ जस्तो मलाई लाग्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
तस्बिरको क्याप्शन, इरानले हर्मुजको जलमार्ग पार गर्ने पानीजहाजहरूमा हमला गर्ने बताएसँगै यसरी कैयौँ तेल ट्याङ्करहरू रोकिएका छन्
पढ्ने समय: ३ मिनेट
इजरेलले इरान र लेबननमा थप क्षेप्यास्त्र प्रहार गरेको छ। इजरेली सेनाले बेरुतको दक्षिणमा रहेका हिज्बुल्लाहका पूर्वाधार तथा तेहरानमा रहेका निशानाहरूमा “थप आक्रमण” सुरु गरेको बताएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा “कुनै पनि बारुदी सुरुङ नबिछ्याउन” चेतावनी दिएपछि अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो सेनाले १६ इरानी बारुदी सुरुङ बिछ्याउने जहाजहरूलाई “सखाप” पारेको जनाएको छ।
तेल निर्यात हुने एउटा मुख्य जलमार्ग हर्मुजनजिकै माइन बिछ्याउने ती इरानी पानीजहाजहरू ध्वस्त पारेको अमेरिकी सेनाले बताएको हो।
अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा राखेको एउटा भिडियो पोस्टमा कैयौँ डुङ्गाहरूमा प्रहार गरिएको र विस्फोट भएको देखाइएको थियो।
ट्रम्पले इरानलाई उक्त जलमार्गमा माइन नबिछ्याउन चेतावनी दिएपछि यस्तो घटनाक्रम आएको हो। अमेरिकी चेतावनी त्यसो गर्दाको सैन्य परिणाम पहिले कहिल्यै नदेखिएको स्तरमा हुने भनिएको थियो।
तेलको भाउ
तस्बिर स्रोत, AFP via Getty Images
त्यसअघि ह्वाइटहाउसले ऊर्जा मन्त्री क्रिस राइटको सामाजिक सञ्जाल पोस्टसँग विरोधाभास हुने गरी उक्त जलमार्गमा कुनै पनि तेल ट्याङ्करहरूलाई ‘एस्कर्ट’ नगरिने बताएको थियो।
उक्त पोस्टले तेलको मूल्य घटाउन मद्दत गरे तापनि लगत्तै त्यो पुनः बढेको थियो।
इरान युद्धका विकासक्रम बुधवार बिहानका कारोबारमा एसियाली बजार ठूलो अस्थिरतापछि तेलको मूल्य धेरै हदसम्म स्थिर देखिएको छ।
अमेरिकामा व्यापार हुने कच्चा तेलको मूल्य हाल प्रति ब्यारल ८३.३५ अमेरिकी डलर छ जबकि एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ करिब ८७.८८ अमेरिकी डलर छ।
सोमवार करिब १२० अमेरिकी डलरसम्म बढेको दुवैखाले भाउ घटेका छन्। तर युद्ध सुरु हुनुभन्दा पहिलेभन्दा तेलको मूल्य अझै पनि निकै माथि छ।
उक्त जलमार्ग ठप्प हुँदा त्यहाँबाट हुने खाडी क्षेत्रको तेल ढुवानी प्रभावित भएको छ र विश्वव्यापी आर्थिक चिन्ता निम्तिएको छ।
व्यापक हमला
तस्बिर स्रोत, Getty Images
इरानको सरकारी प्रसारक आईआरआईबीले पछिल्लो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो तेहरानका हमला बताइरहँदा इजरेलभरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको छ।
इजरेलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले देशतर्फ आइरहेका क्षेप्यास्त्रहरू रोकेको जनाएको छ।
इरानको रेभोलुस्नरी गार्ड्सले उत्तरी इजरेलको हाइफामा रहेको एउटा स्याटलाइट कम्युनिकेसन सेन्टर र कैयौँ सैन्य अखडाहरूलाई निशाना बनाएको जनाएको छ।
उनीहरूले इराकी कुर्दिस्तान र बहरीन लगायत उक्त क्षेत्रभर रहेका अमेरिकी निशानामा आक्रमण गरिएको दाबी गरेका छन्।
संयुक्त अरब इमिरेट्स र साउदी अरबमा अन्य हमलाहरू समेत भएका विवरण छन्।
रियादले देशको पूर्वमा रहेको प्रीन्स सुल्तान एअर बेसमा लक्षित गरिएका सात क्षेप्यास्त्रहरूलाई रोकेको जनाको छ।
प्रदर्शन नगर्न इरानी प्रहरीको चेतावनी
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, इरानमा नयाँ सर्वोच्च नेता घोषणा भए पनि ती अझै सार्वजनिक रूपमा देखिएका छैनन्
इरानका प्रहरी प्रमुखले संस्थापनविरुद्धमा प्रदर्शन गर्ने जो कोहीलाई शत्रु मानिने बताएका छ।
अहमदरेजा रादानका अनुसार सरकारी सेना शत्रुको इशारामा प्रदर्शन गर्ने जो कोहीमाथि गोली चलाउन तयारी अवस्था रहेको बताए।
तेहरानले शत्रु शब्द सामान्यतः अमेरिका र इजरेलको हकमा प्रयोग गर्ने गर्छ।
यसैबीच बीबीसीसम्म सन्देशहरू पुर्याउन सफल इरानीहरूले निरन्तरका बमबारीमाझ आफूहरू जीवन पूरै हड्बडाउनुका साथै चिन्तित र थकित बनेको बताएका छन्।
इरानी अधिकारीहरूका अनुसार ११ दिन अघि युद्ध सुरु भएदेखि एक हजार तीन सय भन्दा बढी मानिसहरू मारिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ।
उक्त दफाको उपदफा ११ मा “समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने” उल्लेख छ।
अहिलेको निर्वाचनमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त ‘थ्रेश्होल्ड’ कटाएका छन्। अर्थात् तिनले आफ्नो पक्षमा खसेको मतको आधारमा ११० समानुपातिक सीटमा भाग पाउने छन्।
कसले कति सीट पाउँछन् भन्ने निर्णय गर्न चाहिँ एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद ५ मा समाविष्ट दफा ३३ र ३४ मा समानुपातिक सीट बाँडफाँटबारे उल्लेख छ।
तिनले “मतपरिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण” हुने जनाएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध “निकै चाँडै” समाप्त हुने बताएका छन्। तर उनले अमेरिकाले “पर्याप्त जित हासिल नगरेको” र “अन्तिम विजय” को लक्ष्य राखेको समेत बताए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेकै दिन ट्रम्पको इरान युद्ध अन्त्य सम्बन्धी भनाइ आएको छ। ट्रम्प पुटिन वार्तासम्म ८ अमेरिकी सेना मारिएको जानकारी सार्वजनिक भएको थियो भने अहिलेसम्म ८ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।
सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका “तालिकाभन्दा निकै अगाडि” रहेको बताए।
अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि मङ्गलवार एसियाको प्रारम्भिक कारोबारमा तेलको मूल्य घटेको छ। सोमवार एक बिन्दुमा ती कारोबार प्रतिब्यारल ११५ अमेरिकी डलरसम्म पुगेका थिए।
इरानले स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रलाई अवरुद्ध गर्ने धम्की दिएको छ। ट्रम्पले तेहरानलाई त्यसो गरेमा “मृत्यु, आगो र क्रोध”को चेतावनी दिएका छन्।
तेलको भाउ घट्यो
तस्बिर स्रोत, Getty Images
ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा पुगेको छ। अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा पुगेको छ।
तर यस द्वन्द्वको सुरु हुनुअघि रहेको तुलनामा मूल्य अझै पनि करिब ३० प्रतिशतले बढ्ता छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार युद्ध “निकै चाँडै” समाप्त हुने बताएपछि यस्तो गिरावट देखा परेको हो।
प्रारम्भिक व्यापारमा तेलको मूल्यमा आएको गिरावटले एसियाली बजारहरूलाई प्रोत्साहन दिएको देखिन्छ।
जापानको निक्केई २२५ सूचकाङ्क २.८ प्रतिशतले बढेको छ र दक्षिण कोरियाको कोस्पी एक्सचेन्ज ५ प्रतिशतभन्दा बढीले बढेको थियो।
कैयौँ एसियाली देशहरू द्वन्द्व प्रभावित खाडी राज्यहरूका ठूला ग्राहक भएकाले तेलको मूल्यमा भएको वृद्धिसँगै एसियाली सूचकाङ्कहरूमा ठूलो धक्का परेको थियो।
ट्रम्पले अरू के भनेका छन्?
तस्बिर स्रोत, Reuters
एनबीसीसँग कुरा गर्दै उनले इरानी तेल कब्जा गर्ने सम्भावनालाई खुला राखेको बताउँदै “केही मानिसहरूले यसको बारेमा कुरा गरेको” उल्लेख गरे।
न्यूयोर्क पोस्टसँगको अर्को अन्तर्वार्तामा उनले आफ्नो प्रशासन इरानमा अमेरिकी सेना पठाउने कि नपठाउने भन्ने निर्णय गर्नबाट “निकै पर” रहेको बताए।
रिपब्लिकन सांसदहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका “केही अति दुष्ट मानिसहरूबाट छुटकारा पाउन” इरानमा “छोटो अवधिको” सैन्य कारबाहीमा तानिएको बताए।
उनले थप भने: “हामीले पहिले नै धेरै तरिकाले जितेका छौँ, तर हामीले पर्याप्त जितेका छैनौँ।”
ट्रम्पले न्यूयोर्क पोस्टलाई भने अनुसार उनी इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई लिएर “खुसी छैनन्।”
तर पछि ट्रम्पले आफ्नो प्रेस ब्रीफिङका क्रममा मोज्तबाको स्थान कसलाई चाहन्छन् वा त्यो कसरी प्राप्त हुने छ भनेर स्पष्ट पारेनन्।
उक्त ब्रीफिङमा ट्रम्पले इरानमा गरिएको कारबाही “ठूलो सफलता” भएको दोहोर्याए। तर उनले इरानले “निकै लामो समयसम्म” परमाणु अस्त्र विकास गर्न नसक्ने सुनिश्चित गर्न चाहेको र त्यो निकै ठूलो काम रहेको बताए।
पत्रकारहरूसँग बोल्दै ट्रम्पले अमेरिकाको इरानमा अझै पनि लक्ष्यहरू रहेका र ती “एकै दिनका” काम भएको बताए। तर उनले यस युद्ध “निकै चाँडै” सकिने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ। समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ।
प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभाको नयाँ संरचना कस्तो हुन्छ भन्ने सङ्केत स्पष्ट भइसकेको छ।
प्रत्यक्ष र समानुपातिक मत दुवैतर्फ रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। तीसहित यसपालि छवटा दलले ‘राष्ट्रिय पार्टी’को मान्यता पाउने गरी प्रत्यक्ष प्रणालीमा सीट जितेका छन् भने समानुपातिक मतमा पनि तीन प्रतिशत मत कटाएका छन्।
यद्यपि केही पुराना दलले राष्ट्रिय पार्टीको मान्यता गुमाउने भएका छन्। नवगठित श्रम संस्कृति पार्टीले संसद् प्रवेश गर्ने अवसर मात्र नभई राष्ट्रिय पार्टीको मान्यता पाउने पनि देखिएको छ।
कोशी प्रदेशका तीन स्थानमा प्रत्यक्ष निर्वाचन जितेको उक्त दलले समानुपातिक प्रणालीबाट पनि थप सीट सुनिश्चित गरिसकेको छ। प्रत्यक्षमा एक सीट जितेको राष्ट्रिय प्रतातन्त्र पार्टीले समानुपातिक सीट पाउने प्रबल सम्भावना छ। तर उक्त दल यसपालि प्रतिनिधिसभामा छैटौँ स्थानमा सीमित हुने छ।
विगतमा राष्ट्रिय दल रहेका जसपा-नेपाल र जनमत पार्टीले प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेनन्। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ५७ निर्वाचन चिह्न प्रयोग गरेर दलहरूले निर्वाचनमा भाग लिएका थिए। के फरक पर्छ?राष्ट्रिय दलले अर्को निर्वाचनसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ।
तर राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने अभ्यास छ।
राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको ‘ह्विप’ लगाउन सक्ने यसअघिको संसदीय नजिरबाट स्थापित भइसकेको कतिपयको बुझाइ छ।
नयाँ प्रतिनिधिसभा भवनमा जारी रहेको अन्तिम चरणको निर्माणकार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भन्दै अधिकारीहरूले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण र सुरुवाती दिनका बैठकहरू निर्माणाधीन परिसरमा रहेको एउटा सभाहलमा गरिने बताएका छन्।
निर्वाचन आयोगले चैत ५ गतेभित्र अन्तिम मतपरिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरिरहेको बताइरहँदा संसद् सचिवालयका अधिकारीहरूले चैतको दोस्रो साताभित्र नयाँ संसद् भवनभित्रको बैठक कक्ष र नजिकैको सभा हल तयार भइसक्ने अपेक्षा गरिएको बताएका छन्।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकले प्रतिनिधिसभाको नयाँ भवनको ‘फल्स सीलिङ’ लगाउनेसहितका काम सकिन केही समय अझै लाग्ने र अर्को हलबाट बैठक सञ्चालन हुन्जेल आगन्तुकहरूलाई प्रवेश दिन कठिनाइ आउनसक्ने बताए।
उनले बैठकस्थलका रूपमा प्रयोग गरिने हललाई अन्तिम रूप दिन आफूहरूले तीव्रताका साथ काम गरिरहेको बताए।
नयाँ सांसदहरू कहाँ शपथग्रहण गर्लान्?
प्रत्यक्ष निर्वाचनतर्फको मतगणना करिब सम्पन्न भइसक्दा अधिकारीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवारसम्म सम्पन्न गरिसक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताइरहेका छन्। तर अन्तिम मतपरिणाम चैत ५ गतेसम्म घोषणा गर्ने उनीहरूको तयारी छ।
नेपालको संविधानको धारा ९३ मा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ।
तर जेन जी आन्दोलनपछि देखिएको राजनीतिक सङ्कटमाझ भएको यो चुनावपछि निर्वाचित भएका जनप्रतिनिधिहरूको शपथग्रहण र प्रारम्भिक बैठकहरू भने अस्थायी स्थानबाट गर्नुपर्ने देखिन्छ।
आक्रोशित युवा प्रदर्शनकारीहरूले भदौ २४ गतेको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद् भवनसहित देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कैयौँ कार्यालयहरूमा आगजनी गरिदिएका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले नयाँ प्रतिनिधिसभा भवनको अन्तिम चरणको अन्तिम चरणका निर्माणसँग सम्बन्धित कामहरू नसकिने देखिएको भन्दै उक्त परिसरमा रहेको ‘बहुउद्देश्यीय हल’ मा प्रारम्भिक बैठकहरू आयोजना गरिने बताए।
उनी भन्छन्, “हामीले निर्माणाधीन प्रतिनिधिसभा तयार भइसक्ने अपेक्षा गरेका थियौँ तर त्यहाँको हल प्राप्त हुने अवस्था अब रहेन। उहाँहरूले उक्त परिसरमा नै रहेको एउटा बहुउद्देश्यीय सभाहल हप्तादश दिनभित्रै तयार पार्ने बताउनुभएको छ। हामी शपथग्रहणको आयोजना त्यही गर्छौँ र प्रारम्भिक बैठकहरू पनि त्यही गर्छौ।”
गिरिले नयाँ हलमा दर्शकदीर्घा नहुने भन्दै सीमित सङ्ख्यामा सञ्चारकर्मीहरूलाई व्यवस्थापन गर्न सकिने र बैठकको प्रत्यक्ष प्रसारणको सुविधा उपलब्ध गराइने सुनाए।
“प्रतिनिधिसभाको बैठक कक्षसञ्चालनमा आएपछि मात्रै हामीहरूले दर्शकहरूलाई पनि प्रवेश दिन सक्छौँ। कतिपय सामानहरू विदेशबाट पनि ल्याउनुपर्ने भएकाले उहाँहरूले उक्त कक्ष पूर्ण रूपमा तयार हुन केही समय लाग्ने बताउनुभएको छ।”
छैठौँ म्यादमा पनि ढिलाइ
तस्बिर स्रोत, Roshan Shrestha
तस्बिरको क्याप्शन, अहिले मूल भवनमा यस्ता अस्थायी संरचना जोडेर निर्माण कार्य जारी राखिएको अधिकारीहरू बताउँछन्
सरकारले २०७९ साल मङ्सिरमा हुने नियमित संसदीय चुनावअघि नै बनाइ सक्ने गरी ठेक्का लगाइएको नयाँ संसद् भवन निर्माण सम्पन्न गर्ने म्याद पाँच पटक थपिसकिएको र अहिले छैँठौँ म्यादमा काम भइरहेको अधिकारीहरू बताउँछन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनलगत्तै नयाँ संसद्बाट बैठक सञ्चालन गर्ने भनिए पनि त्यो सफल हुन सकेको थिएन।
संसद सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइरालाले कोभिड महामरी र भूकम्पजस्ता कारणले निर्माणमा ढिलाइ भएको ठेकेदारले बताउने गरेको उल्लेख गरे।
संसदीय दलको कार्यालय, संसद् सचिवालय, राष्ट्रिय सभासहित विभिन्न संरचना रहने उक्त परिसरअन्तर्गत निर्माणका लागि झन्डै ६ अर्ब ४० करोड रुपैयाँबराबरको ठेक्का लगाइएको थियो भने सजावट र सुरक्षा प्रणालीसहितका लागि २ अर्ब ३४ करोड रुपैयाँजति छुट्याइएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकसमेत रहेका संसद् भवन निर्माणसम्बन्धी विशेष भवन आयोजनाका प्रमुख रोशन श्रेष्ठ नयाँ प्रतिनिधिसभा भवनमा ‘फल्स सीलिङ’ को काम जटिल भएकाले आफूहरू अहिले शपथग्रहण र बैठक सञ्चालन गरिने हलहरूको निर्माणमा केन्द्रित भएको बताए।
उनले भने, “हामीहरूले जे हिसाबले अपेक्षा गरेका थियौँ, त्यो हिसाबले काम गर्न सकिएन। त्यही भएर स्काफोल्डिङ (उचाइमा निर्माण कार्य गर्न बनाइने अस्थायी संरचना) गरेर राखेका छौँ।”
“फाल्गुन १५ गते माथिको काम सम्पन्न गरेर स्काफोल्डिङ खोल्ने र तल माइकहरू जडान गर्ने तथा अडिओभिडिओको काम गर्ने भन्ने सोचेको तर त्यो काम नसकिएको कारणले गर्दा प्रतिनिधिसभामा स्काफोल्डिङ लागिरहेको छ। वैकल्पिक व्यवस्था गर्नुपर्ने भएकाले त्यहाँ संसद्भित्र अर्को हल छ, त्यही भवनमा, त्यो हललाई तत्कालका लागि शपथग्रहण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक पर्यो भने एकदुई वटा बैठक पनि त्यही हलबाट बैठक गर्न सकिने गरी तयारी गरेका छौँ।”
उनले नयाँ प्रतिनिधिसभाको बैठक कक्ष फाल्गुन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य भएको भए पनि अहिलेको अवस्थामा त्यो काम कहिले सकिन्छ भन्न नसक्ने अवस्था रहेको सुनाए।
उनले उक्त भवनमा बिजुली, अग्निनियन्त्रण उपकरणलगायतका पूर्वाधार पनि जडान गर्नुपर्ने भन्दै रङ्गरोगनसहितका काम सकिएपछि मात्रै तल हलको काम गर्न सकिने बताए।
सम्पूर्ण भवनहरू लगभग सम्पन्न हुने चरणमा रहेको उल्लेख गरेका उनले प्रतिनिधिसभाको हलमा केही समय लागेकाले वैकल्पिक व्यवस्था गरेको र त्यसमा नै केन्द्रित भइरहेको जनाए।
प्रधानमन्त्री नियुक्ति र शपथग्रहणको प्रक्रिया के छ?
तस्बिर स्रोत, Nepal Photo Library
यसअघि संसद् सचिवालयले पत्र नै पठाएर प्रतिनिधिसभाको बैठक बस्ने ठाउँको व्यवस्थापन गरिदिन सहरी विकास मन्त्रालयलाई अनुरोध गरेको थियो।
फेब्रुअरीको पहिलो साता बीबीसीसँग कुरा गर्दै सहरी विकास मन्त्रालयका प्रवक्ताले एक महिनाभित्रै प्रतिनिधिसभाको हल तयार गर्ने लक्ष्यसहित दुई शिफ्टमा काम भइरहेको बताएका थिए।
जेन जी आन्दोलनअघि नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू बस्दै आएका थिए।
जम्मा ५९ सदस्य मात्रै रहेको माथिल्लो सदनको बैठक पछिल्लो समयमा सिंहदरबारस्थित संसद् सचिवालयभित्र रहेको राष्ट्रिय सभाकै पुरानो हलमा बस्दै आएको छ।
नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यस्तो नेताको अध्यक्षतामा मन्त्रीपरिषद् गठन हुनेछ।
यो व्यवस्थाअनुसार पछिल्लो चुनावमा झन्डै दुईतिहाइ सीट ल्याउने दिशामा उन्मुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ संसदीय दलको नेता चुनेसँगै सरकार गठनको बाटो खुल्नेछ।
अहिलेसम्म नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहको मिति स्पष्ट भइसकेको छैन् तर अन्तिम परिणाम घोषणापछि राष्ट्रपतिले अधिवेशनको आह्वान गर्ने र त्यसलाई ध्यान दिएर सांसदहरूको शपथग्रहण आयोजना गरिने जानकारहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
सन् १९९५ को ज्यानुअरी २५ मा ‘नोर्दन लाइट’बारे अध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।
शीतकालीन यामको कठोर जाडोको एक दिन विश्व झन्डै एक घण्टाजति शीतयुद्धकालीन भयावह दुःस्वप्नको निकै नजिक पुग्यो। सामान्यजस्तो लाग्ने एउटा बुधवार दिउँसो उत्तरी रूसका रेडार केन्द्रहरूमा खटिएका सैन्य प्राविधिकहरूले आफ्ना स्क्रिनमा चिन्ताजनक सङ्केतहरू देखे।
नर्वेको तटनजिकैबाट एउटा रकेट प्रक्षेपण गरिएको थियो र त्यो तीव्र गतिमा आकाशतर्फ लागिरहेको थियो। त्यो कहाँ लक्षित थियो? के त्यो साँच्चिकै कुनै गम्भीर खतरा थियो?
त्रास
यो धेरैले बर्लिनको पर्खाल ढलेपछि यस्ता आणविक तनावहरू समाप्त भइसकेको ठानेका समयको कुरा हो।
आकाशको निगरानी गरिरहेका व्यक्तिहरूका निम्ति त्यसको अर्थ अत्यन्तै भयावह थियो। सोही क्षेत्रका पानीमा तैनाथ कुनै अमेरिकी पनडुब्बीबाट प्रक्षेपण गरिएको एउटै क्षेप्यास्त्रले केवल १५ मिनेटभित्र मस्कोसम्म आठवटा आणविक युद्धशीर्ष पुर्याउन सक्छ भन्ने उनीहरू जान्दथे। त्यसैले यो सूचना तुरुन्तै राष्ट्रपति बोरिस येल्त्सिनसम्म पुर्याइयो।
उनी ‘आणविक ब्रीफकेस’ सक्रिय गर्ने पहिलो विश्व नेता बने। उक्त ब्रीफकेसमा परमाणु बम विस्फोट गर्ने तरिका र प्रविधि समावेश हुन्छ।
दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै परमाणु हतियार भएका देशहरूले रोकथामको नीति लिएका छन्। उक्त नीति युद्धरत राज्यले ठूलो स्तरमा परमाणु हमला गरे सम्पूर्ण विनाश निम्तिन्छ भन्ने विचारमा आधारित छ।
त्यस्तो तनावपूर्ण क्षणमा येल्त्सिन र उनका सल्लाहकारहरूले प्रत्याक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय अत्यन्तै हतारमा लिनुपरेको थियो।
तर ती घटनाहरूको उक्त डरलाग्दो शृङ्खला अन्ततः विनाशमा टुङ्गिएन भन्ने अहिले हामी सबैलाई थाहा छ। अत्यधिक तनावका बाबजुद उक्त घटना त्यस साँझको अन्तिम समाचार कार्यक्रममा हल्काफुल्का प्रसङ्गका रूपमा प्रस्तुत भयो।
वास्तविकता
तस्बिर स्रोत, Getty Images
बीबीसी न्युजनाइटका प्रस्तोता जेरेमी प्याक्स्म्यानले भने – “बिदा हुनुअघि हामीले यो उल्लेख गर्नैपर्छ कि आज परमाणु युद्ध भएन। १३:४६ बजे मस्कोको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै रुसले आफूतर्फ आउँदै गरेको एउटा क्षेप्यास्त्र नष्ट गरेको खबर आयो। संवाददाताहरूले सायद् आफूहरू आणविक युद्धको साक्षी बन्दै गरेको ठाने र तत्कालै रक्षा मन्त्रालयलाई सम्पर्क गरे। मन्त्रालयका प्रवक्ताले साहसपूर्वक भने : ‘ब्रिटेनले रुसमाथि कुनै क्षेप्यास्त्र प्रहार गरेको छैन भन्नेमा म विश्वस्त छु।’ पेन्टागनका प्रवक्तासमेत त्यस विषयमा अनभिज्ञ थिए, “हामीसँग केवल रिपोर्टका रिपोर्टहरू छन्।”
विश्वको मुद्राबजारमा हलचल मच्चिनुका साथै राजनीतिज्ञ, सेनाका प्रमुख तथा पत्रकारहरूले एक घण्टा सूचना सङ्कलनको भागदौडमा बिताए। सम्भावित सङ्कटबारे जानकारहरू जीएमटी १४:५२ मा मात्रै शान्त भए।
इन्टरफ्याक्सले आफ्नो रिपोर्ट सच्याउँदै रुसको प्रारम्भिक सतर्कता प्रणालीले क्षेप्यास्त्र भन्ठाने पनि उक्त रकेट नर्वेली भूभागमा अवतरण भएको जनायो।
पछि नर्वेका एक रक्षा अधिकारीले उक्त प्रक्षेपण शान्तिपूर्ण भएको पुष्टि गरे। त्यो एउटा नियमित वैज्ञानिक अनुसन्धानका क्रममा भएको थियो र त्यसले ‘नोर्दन लाइट’सम्बन्धी जानकारी सङ्कलन गर्ने लक्ष्य राखेको थियो।
नियोजित रूपमा नै उक्त ‘रकेट’ स्पित्जबर्गन नामक दुर्गम आर्क्टिक टापुनजिकैको समुद्रमा अवतरण भयो। उक्त स्थान रुसको हवाई क्षेत्रभन्दा धेरै टाढा थियो।
उक्त रिपोर्ट गलत भएको खुलेको केही घण्टापछि नाम नखुलाइएका रुसी रक्षा स्रोतहरूले इन्टरफ्याक्ससँग उक्त प्रक्षेपण रुसी प्रारम्भिक सतर्कता रेडार प्रणालीको परीक्षणका लागि गरिएको हो कि होइन तत्काल यकिन गर्न हतारो हुने बताए।
सन् १९८७ मा पश्चिम जर्मनीका किशोर म्याथिस रस्टले सानो इन्जिन भएको विमानमार्फत् सबै सोभियत सुरक्षा प्रणालीहरू पार गर्दै ७५० किमि यात्रा गरी क्रेम्लिनसम्म उडान भरेपछि रुस आफ्नो हवाई सुरक्षा क्षमताबारे संवेदनशील बनेको थियो। शीतयुद्ध समाप्त भइसकेको भए पनि उक्त घटनाले केही रुसी अधिकारीहरू अझै पनि परमाणु खतराप्रति कति सजग थिए भन्ने दर्शायो।
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, उक्त क्षेप्यास्त्र केवल ‘नोर्दन लाइट’बारे जानकारी सङ्कलन गर्ने उद्देश्यका लागि प्रक्षेपण गरिएको पछि थाहा भयो
“हाम्रो नियमित क्षेप्यास्त्र प्रक्षेपणले त्यत्रो ध्यान खिचेको देख्दा म आतङ्कित भएँ,” नर्वेली वैज्ञानिक कोल्बर्न एडल्फ्सेनले भने। उनी तारन्तार भयपूर्ण फोनहरू आइरहँदा एउटा बैठकमा थिए। अझ अचम्मको कुराचाहिँ उक्त योजनाबद्ध प्रक्षेपणबारे केही हप्ताअघि नै नर्वेले मस्कोलाई जानकारी दिइसकेको थियो।
पहिलो पटक उक्त ‘रकेट’ त्यति उच्च बलिस्टिक मार्गमा प्रक्षेपित गरिएको र ९०८ माइलको उचाइमा पुगेका कारण रूसले त्यसरी प्रतिक्रिया जनाएको उनको ठम्याइ छ।
एडल्फ्सेनका अनुसार त्यसमा अचम्म मान्नुपर्ने कुरा थिएन। “डिसेम्बर १४ मै विदेश मन्त्रालयमार्फत् त्यसबारे सम्बन्धित सबै देशलाई सन्देश पठाइएको थियो,” उनले भने।
यद्यपि उक्त चेतावनी सही ठाउँमा पुग्न सकेन। एउटा सानो सन्देश छुट्दा पनि त्यसले कति भयावह परिणाम निम्त्याउने सम्भावना हुन्छ भन्ने त्यसले सिकायो।
परमाणु युगको सुरुदेखि नै हेर्ने हो भने हामी सोच्दा पनि डर लाग्ने धेरै दुर्घटनाका निकट पुगेका छौँ।उदाहरणका निम्ति, सन् १९६२ को क्यूबाली क्षेप्यास्त्र सङ्कटलाई लिन सकिन्छ। त्यो सम्भवतः शीतयुद्धको समयमा अमेरिका र सोभियत सङ्घ पूर्ण परमाणु युद्धको सबैभन्दा नजिक पुगेको क्षण थियो।
२०२० को बीबीसी फ्यूचरको रिपोर्टअनुसार बसाइँ सरिरहेका हाँस, चन्द्रमा, कम्प्युटरका त्रुटिहरू तथा र अन्तरिक्षको मौसमजस्ता आश्चर्यजनक कारणहरूले पनि सतर्कताको स्थिति पैदा गरेको छ।
सन् १९५८ मा दुर्घटनावश एउटा जहाजले एउटा घरको बगैँचामा परमाणु बम खसाल्यो। भाग्यवश उक्त घटनामा मानिसलाई केही भएन, उक्त परिवारका कुखुराहरू मात्रै मरे।
त्यस्तै १९६६ मा दुई अमेरिकी सैन्य विमान स्पेनको दुर्गम गाउँमा दुर्घटनामा परे। तीमध्ये एकमा चारवटा परमाणु हतियार थिए।
हालै मात्र सन् २०१० मा छोटो समयका निम्ति अमेरिकी वायुसेनाले ५० क्षेप्यास्त्रहरूसँग सम्पर्क गुमाएको थियो, जसमा स्वचालित प्रक्षेपण रोक्ने वा त्यसको स्थान पत्ता लगाउने कुनै उपाय बाँकी थिएन।
खतराको क्षण
त्यो बेला येल्त्सिनले पहिलो पटक आणविक ‘ब्रीफकेस’ प्रयोग गरेको घोषणा गर्दा रुसमा धेरैले वास्ता गरेनन्। उनीहरूले त्यसलाई चेचेन युद्धको बढ्दो सङ्कटबाट ध्यान हटाउन गरिएको प्रयास ठाने।
उनले इन्टरफ्याक्स समाचारसंस्थासँग अर्को दिन भने – “मैले हिजो वास्तवमै पहिलो पटक मेरो ‘कालो’ सूटकेस प्रयोग गरेँ, जसमा सधैँ मेरो साथमा रहने बटन छ,” उनले थपे, “सायद् कसैले हामीलाई जाँच्ने निर्णय गरेको हो किनकि मिडियाले सधैँ हाम्रो सेनालाई कमजोर भन्दै आएको छ।”
नर्वेली रकेटबारे ‘न्यूजनाइट’को रिपोर्ट हल्काफुल्का शैलीको भए पनि घटनाको गाम्भीर्यबारे विभिन्न मत छन्।
सीआईएका एक पूर्वअधिकारीका विचारमा त्यो ‘आणविक क्षेप्यास्त्र युगको सबैभन्दा खतरनाक क्षण’ थियो।
सैन्य सल्लाहकार पिटर प्राइले लेखेका छन् – “आणविक शक्ति भएको कुनै पनि देशका नेताले रुसको समकक्षमा त्यति गम्भीरताका साथ ‘आणविक ब्रीफकेस’ खोलेका थिएनन्। त्यति बेला वास्तविक खतरा महसुस गरिएको थियो, जुन परिस्थितिमा तत्काल परमाणु हमला गर्ने निर्णय हुन सम्भव थियो।”
तथापि संयुक्त राष्ट्रसङ्घको आणविक निरस्त्रीकरण अनुसन्धानकर्ता पावल पोडभिगले भने – “ती घटनाहरूको क्रमाङ्कन गर्ने हो भने… म सम्भवतः यसलाई १० मा ३ दिने थिएँ। शीतयुद्धको समयमा अधिक गम्भीर घटनाहरू भएका थिए।” उनले परमाणु ब्रीफकेसको परिदृष्य अर्को दिन येल्त्सिनका निम्ति मञ्चन गरिएको हुन सक्ने समेत भनेका छन्।
रुसी आणविक विशेषज्ञ भ्लादिमिर ड्वोर्किनले उक्त घटनाले कुनै खतरा पैदा नगरेको बताएका छन्। उनले सन् १९९८ मा वाशिङ्टन पोस्टसँग भनेका छन् – “विशाल आक्रमणको चेतावनी आए पनि कुनै एक व्यक्तिले चाहे त्यो विवेकहीन नेता नै किन नहोस्, एउटा क्षेप्यास्त्रका निम्ति त्यस्तो निर्णय गर्दैन। त्यसलाई म केवल एउटा चेतावनी ठान्छु।”
घटनाको पाँच दिनपछि बीबीसीको रेडिओ बुलेटिनमा जनाइएअनुसार रुसले गलत बुझाइका कारण उक्त सतर्कताको स्थिति पैदा भएको र त्यो दोहोरिन नहुने बतायो। विदेश मन्त्रालयका प्रवक्ताले नर्वेलीहरूले सामान्य प्रक्रियाअनुसार काम गरेका र उनीहरूप्रति कुनै नकारात्मक भाव राखिन नहुने बताए।
विपत्ति टरेको भए पनि एउटा हानिरहित मौसमसम्बन्धी वैज्ञानिक रकेटले त्यति ठूलो भय उत्पन्न गर्न सक्नु चिन्ताजनक नै छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
अर्कोचोटि पूर्णचन्द्र हेरेर मक्ख पर्दा कृपया एक पटक ‘थीआ’ पनि सम्झनुहोस्।
झन्डै साढेर चार अर्ब वर्षअघि पृथ्वीसँग बज्रिएको भन्ठानिएको एउटा काल्पनिक ग्रहलाई वैज्ञानिकहरूले ‘थीआ’ नाम दिएका हुन्।
उक्त भीषण घटनापश्चात् उछिट्टिएका टुक्राटाक्री नै पछि गएर चन्द्रमा बनेको ठानिएको छ।
यो विश्वासअनुसार थीआको ‘बलिदान’ नभएको भए हाम्रो प्राकृतिक उपग्रह चन्द्रमाको उत्पत्ति नै हुने थिएन र तपाईँले पनि यो लेख पढ्न पाउनुहुने थिएन।
एउटा ‘भीषण’ ठक्कर
प्रारम्भिक कालको पृथ्वी तथा करिब मङ्गल ग्रहजत्रो पिण्डबीच ‘भीषण’ ठक्कर भएको वैज्ञानिकहरूले ठानेका छन्। त्यो घटनापछि उछिट्टिएका टुक्राहरू बिस्तारै जम्मा भएर नयाँ चन्द्रमा बनेको हुन सक्ने उनीहरूको आकलन छ। ठानेका छन्।
‘जायन्ट इम्प्याक्ट हाइपथसिस’ नाम दिइएको उक्त अनुमानअनुसार त्यो टकरावपश्चात् विकसित भएको सम्बन्धको पृथ्वीमा जीवनको उदयका निम्ति अत्यधिक महत्त्व रहन पुग्यो।
अन्य विषयका अतिरिक्त बितेका केही अर्ब वर्षयता जसरी चन्द्रमाले हाम्रो ग्रहसँग गुरुत्वाकर्षण तानातानको सम्बन्ध बनायो, त्यसले आफ्नो अक्षमा घुम्ने पृथ्वीलाई एउटा स्थिरता प्रदान गर्यो अनि हामीलाई एउटा स्थिर जलवायु प्रणाली मिल्यो।
“जलवायु स्थिरताको अभावमा यहाँ विषम जलवायु तथा मौसमी प्रणाली हुन्थे, जसले जीवनको विकासलाई सहयोग गर्दैनथ्यो,” जर्मनीको माक्स प्लाङ्क इन्स्टिट्यूट फर सोलर सिस्टम रिसर्चका विज्ञ प्राध्यापक थोर्स्टन क्लाइनले भने।
पृथ्वीले भोगेको हुन सक्ने उक्त भयङ्कर तथा अझै रहस्यमय घटनाबारे गत नोभेम्बरमा अध्ययन गरेको एक अन्तर्राष्ट्रिय टोलीमा क्लाइन पनि सहभागी थिए।
‘साइन्स’ जर्नलमा प्रकाशित शोधपत्रमा उक्त टोलीले पृथ्वी तथा चन्द्रमाको पदार्थको रासायनिक परीक्षण गर्दा सौर्यमण्डल निर्माणको त्यो उथलपुथलपूर्ण समयमा पृथ्वी र थीआ असहज छिमेकीका रूपमा रहेको विश्वासमा बल पुगेको उल्लेख गरेको छ।
तस्बिर स्रोत, NASA
तस्बिरको क्याप्शन, सन् १९६० को दशक अनि १९७० को सुरुवाती वर्षहरूमा गरिएका अपोलो अन्तरिक्ष अभियानहरूले हामीलाई चन्द्रमा र उसको उत्पत्तिबारे बुझ्न धेरै मद्दत गरेका थिए
एउटा चन्द्रमा, तर कैयन् अनुमान
तर हामीले सधैँ थीआबारे सोचेका चाहिँ थिएनौँ। सन् १९६९ मा मानवजातिले चन्द्रमाको सतहमा पहिलो पाइला टेक्नुअगाडि चन्द्रमाको उत्पत्तिबारे तीनथरी अनुमान थिए।
‘फिशन’ सिद्धान्तअनुसार द्रुत गतिमा घुमिरहेको पृथ्वीबाट ठूलो चोक्टा अन्तरिक्षमा हुत्तियो र चन्द्रमा बन्न पुग्यो।
‘क्याप्चर’ सिद्धान्तअनुसार सौर्यमण्डलमा अन्यत्रै बनेको चन्द्रमालाई पृथ्वीको गुरुत्वाकर्षणले तान्यो र यतै राख्यो।
अनि ‘कोफर्मेशन’ सिद्धान्तअनुसार चाहिँ पृथ्वी र चन्द्रमा सँगसँगै उत्पत्ति भए र सँगसँगै स्थिर भएर रहे।
ती अनुमानमध्ये कुनै एउटालाई बल पुर्याउनुको साटो नासाको अपोलो चन्द्र अभियानले अर्कै नयाँ अनुमानतर्फ औँल्यायो।
रासायनिक समानता
चन्द्रमामा उत्रिएका नील आर्मस्ट्रङ र अन्य अन्तरिक्षयात्रीहरूको सफलताको धेरै चर्चा भयो तर अपोलो अभियानको एउटा महत्त्वपूर्ण योगदान चाहिँ उनीहरूले आफूसँग ल्याएका ‘उपहारहरू’ थिए।
“अपोलो अन्तरिक्षयात्रीहरूले चन्द्रमाको चट्टानका टुक्राहरू ल्याए। जब वैज्ञानिकहरूले तिनको परीक्षण गरे, उनीहरूले तिनमा र पृथ्वीका चट्टानहरूमा रहेको रासायनिक समानता भेट्टाए,” यूनिभर्सिटी कलेज लन्डनका एक खगोलशास्त्री तथा ‘वन्डर्स अफ मून’ नामक बालविज्ञान पुस्तकका लेखक प्राध्यापक रमन प्रिन्जाले भने।
यसको अर्थ चन्द्रमा पनि पृथ्वीबाटै उत्पन्न भएको हुन सक्ने भन्ने लाग्थ्यो।
तस्बिर स्रोत, NASA/Getty Images
तस्बिरको क्याप्शन, चन्द्रमाबाट अन्तरिक्षयात्रीहरूले ल्याएका चट्टानका टुक्राहरूको अहिले पनि अध्ययन भइरहेका छन्
प्रिन्जाका अनुसार ती चट्टानका टुक्रा अध्ययन गर्दा तिनको निर्माण अत्यधिक तापका माझ भएको जस्तो लाग्छ – अर्थात् कुनै ‘भीषण’ ठक्कर भएपछि।
ताप दिँदा सहजै वाष्पीकरण हुने तत्त्वहरू तिनमा थिएनन्। त्यसको अर्थ उत्पत्तिको समयमा चन्द्रमामा तत्त्वहरू पग्लिएका अवस्थामा थिए।
नासाका एक चन्द्रभूगर्भशास्त्री डा स्यारा भ्यालेन्सियाका अनुसार ती नमुनाहरूबाट प्राप्त निचोड त साना सङ्केत मात्र हुन्। पछिल्ला दशकहरूमा भएका प्राविधिक विकास, खास गरी कम्प्युटर मोडलिङले ‘जायन्ट इम्प्याक्ट हाइपथसिस’लाई थप बल दिएको छ।
एउटा विश्वासअनुसार त पृथ्वीको अक्ष केही ढल्कनुमा थीआसँगको ठक्कर नै जिम्मेवार पनि ठानिन्छ।
“पृथ्वी र चन्द्रमाबीचको सम्बन्ध अनि रसायन बुझाउने अहिलेसम्मको उत्तम विश्वास चाहिँ यही जायन्ट इम्प्याक्ट हाइपथसिस नै हो,” भ्यालेन्सियाले भनिन्।
के पृथ्वीले थीआलाई “निलेको” थियो?
तर थीआलाई के भयो त?
यो समाधान ननिस्किएको एक रहस्य हो। अन्दाजी साढे छ करोड वर्षअगाडि जब एक ‘कुख्यात’ खगोलीय पिण्ड पृथ्वीमा बज्रन आइपुग्यो र यहाँका डाइनसोरलगायतका जीव लोप भए, तब त्यसले मेक्सिकोको युकातान प्रायद्वीपमा विशाल खाडल बन्यो। तर थीआले त्यस्तो निसाना पनि छाडेको पाइएको छैन।
क्लाइनका अनुसार थीआको पिण्ड पृथ्वीको दश भागको एक भाग जति थियो। अर्थात् पृथ्वीसँग ठोकिँदा त्यो टुक्राटुक्रा हुन पुग्यो र त्यसका अधिकांश हिस्सा पृथ्वीमै गाभियो। केही टुक्राटाक्री उछिट्टिएर अन्तरिक्षमा पुगे र चन्द्रमाको अंश बन्न पुगे।
“त्यस्तो कुनै ठक्कर भएको भए हुने स्वाभाविक परिणाम यही हो। तर हामीले चन्द्रमामा थीआको संरचनागत चिनो भेट्टाउनुपर्थ्यो, जुन अहिलेसम्म भेटिएको छैन,” ती वैज्ञानिकको भनाइ छ।
तस्बिर स्रोत, NASA/JPL-Caltech/Esa
तस्बिरको क्याप्शन, वैज्ञानिकहरूका अनुसार थीआ र पृथ्वीका तत्त्वहरूमा आधारभूत समानता थिए जस्तो कि बुध (बायाँ) र पृथ्वीबीच पनि कैयन् समानता छन्
“हामीले के भनेका छौँ भने सौर्यमण्डलको एकै स्थानमा बनेको हुनाले पृथ्वी तथा थीआ निकै समान थिए,” उनको भनाइ छ।
साथै हामीलाई थाहा छ कि हाम्रो ग्रह र यसका सबैभन्दा निकट दुई छिमेकी ग्रह मङ्गल र बुधबीच पनि कैयन् समानता छन्। बुधलाई त कहिलेकाहीँ “पृथ्वीको दुष्ट जुम्ल्याहा” पनि भनिन्छ।
“तर जसरी थीआको उत्पत्तिबारे हामीलाई पक्कापक्की थाहा छैन, उसको अन्त्यबारे पनि अन्योल छ,” भ्यालेन्सियाले भनिन्।
तथापि केही सङ्केतहरू मिलेका छन्। सन् २०२३मा गरिएको एक अध्ययनले पृथ्वीको गहिराइमा रहेका महादेश आकारका दुई क्षेत्र थीआको अवशेष हुन सक्ने दाबी गर्यो।
चन्द्रमामा पुन: अभियान
पृथ्वी र चन्द्रमाको जोडी कसरी बन्न पुग्यो भनेर यकिन जान्न अझै बाँकी छ।
त्यसैकारण नासाले मानिसलाई फेरि चन्द्रमामा पठाउने आर्टमिस अभियान थाल्न लागेकोप्रति वैज्ञानिकहरू निकै उत्साहित भएका छन्।
तस्बिर स्रोत, NASA
तस्बिरको क्याप्शन, चन्द्रमाबारे थुप्रै प्रश्न अनुत्तरित रहेकाले पनि नासाले आगामी वर्षहरूमा मानिसलाई फेरि चन्द्रमा पठाउन लागेको छ
अपोलो अभियानताकाभन्दा अत्याधुनिक परीक्षण गर्न सम्भव हुनुका साथै नयाँ चन्द्र अभियानले दक्षिणी ध्रुवजस्ता चन्द्रमाका नयाँ क्षेत्रहरूको अन्वेषण गर्ने छ। अपोलोले चन्द्रमाको सीमित क्षेत्रबाट मात्रै – खासगरी त्यहाँको भूमध्येरेखाआसपासको क्षेत्रबाट – चट्टानका नमुना ल्याएको थियो।
“यदि हामीले पृथ्वीको जम्मा छ वटा भाग मात्र डुल्यौँ भने के हामीले सम्पूर्ण पृथ्वीको अन्वेषण गरेको वा यसको उत्पत्ति बुझेको भन्न सक्छौँ? निश्चय पनि सक्दैनौँ! चन्द्रमामा वैज्ञानिक अध्ययनको असीमित सम्भावना छ,” भ्यालेन्सियाले भनिन्।
तर अहिलेका लागि हामीले जति बुझेका छौँ, त्यसको आधारमा थीआले गरेको त्यागका निम्ति ऊप्रति आभार मात्र व्यक्त गर्न सक्छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
बादल वा तुवाँलो नलाग्दा आकाश नीलो देखिन्छ। हामीले देख्दै आएको पनि त्यही हो।
त्यसैले हामी आकाशको रङ्गलाई सहज रूपमा लिन्छौँ। तर पृथ्वीमा कुनै कालखण्डमा आकाशको रङ्ग नीलो देखिने खालको थिएन।
अनि के आकाशको रङ्ग फेरि पनि फेरिन सक्छ?
आकाशको रङ्गको गुह्य के हो? हेर्नुहोस् यो भिडिओमा।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।