Skip to main content

लेखक: space4knews

गाजामा बालबालिकालाई लक्षित गरी इजरायलमाथि नरसंहार र युद्धअपराधको आरोप: संयुक्त राष्ट्र छानबिन आयोग

संयुक्त राष्ट्रसङ्घको छानबिन आयोगले इजरायलले प्यालेस्टिनी बालबालिकालाई जानाजानी निशाना बनाएको र त्यसले गाजा क्षेत्रमा नरसंहार, मानवता विरुद्धका अपराध तथा युद्धअपराध भएको जनाएको छ। आयोगले इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकमा समेत युद्धअपराध भएको उल्लेख गरेको छ।

राष्ट्रसङ्घीय आयोगको नयाँ प्रतिवेदनमा इजरायली निकाय तथा सुरक्षाबलहरुले “लाखौँ प्यालेस्टिनी बालबालिकाको मृत्यु हुने तथा गम्भीर शारीरिक र मानसिक क्षति पुग्ने कार्यहरू जानाजानी गरेको” आरोप लगाइएको छ। गत अक्टोबरको युद्धविरामपछि पनि हत्याकाण्ड जारी रहेको प्रतिवेदनमा उल्लेख छ। आयोगले निष्कर्ष निकालेको छ कि ती कार्यहरू बालबालिकालाई “लक्षित गरी गाजास्थित प्यालेस्टिनीहरूको भविष्य नष्ट गर्ने योजनाबद्ध रणनीति” अन्तर्गत गरेका हुन्।

इजरायली विदेश मन्त्रालयले आयोगको प्रतिवेदनलाई “पूर्ण रूपमा अस्वीकार” गर्दै यसलाई “अपमानजनक झूट” र “अघिल्लो जस्तै प्रचारबाजी” को संज्ञा दिएको छ। दक्षिणी इजरायलमा ७ अक्टोबर २०२३ मा हमासले गरेको अप्रत्याशित आक्रमणको प्रतिक्रिया स्वरूप इजरायली सेनाले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको अनुसार, इजरायलले गरेको आक्रमणमा कम्तीमा ७३,०३५ जनाको मृत्यु भएको छ, जसमा २१,२८० भन्दा बढी बालबालिका रहेका छन्। आयोगले इजरायली सैन्य कारबाहीलाई “सघन र योजनाबद्ध” रहेको र यसले “प्यालेस्टिनी बालबालिकामा अभूतपूर्व मृत्यु र चोटपटक” निम्तिएको बताएको छ।

भारतमा टेलिग्राममार्फत बाल यौन शोषण सामग्री र आर्थिक ठगीको खुलासा

१० असार, काठमाडौं । भारतमा टेलिग्रामको व्यापक प्रयोग बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्रीहरू सेयर गर्न र आर्थिक ठगीका गतिविधिहरू सञ्चालन गर्न भइरहेको छ भन्ने तथ्य एउटा सरकारी अनुसन्धानले देखाएको छ। गृह मन्त्रालयको साइबरक्राइम कोआर्डिनेसन सेन्टरले तयार पारेको ३५ पृष्ठको प्रतिवेदनअनुसार सरकारले यस एपका ग्रुपहरूलाई सक्रिय रूपमा निगरानी गरिरहेको छ।

मेडिकल कलेजको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सरकारले टेलिग्राममाथि लगाएको एक हप्ताको प्रतिबन्धको बचाउमा यो प्रतिवेदन अदालतमा पेश गरिएको थियो। उक्त प्रतिबन्ध मंगलबार हटाइएको छ। तर, पुराना म्यासेजहरू सम्पादन गर्न मिल्ने फिचरमा भने जुन ३० सम्म रोक लगाइएको छ। भारत सरकारले टेलिग्रामका गोपनीयता सम्बन्धी फिचरहरूको विरोध समेत गरेको छ।

यसले प्रयोगकर्तालाई फोन नम्बर देखाउन नदिई कुराकानी गर्न अनुमति दिन्छ जसले पहिचान गर्न कठिन बनाउँछ। भारतमा ५० करोडभन्दा बढी प्रयोगकर्ता भएको ह्वाट्सएपमा यस्तो सुविधा उपलब्ध छैन। रोयटर्सले अध्ययन गरेको उक्त प्रतिवेदन अनुसार साइबर अपराधीहरूले बन्द गरिएका ग्रुप र च्यानलहरूमा पहुँच बनाउन टेलिग्राम प्रयोग गरिरहेका छन्। भारत टेलिग्रामको सबैभन्दा ठूलो बजार हो जहाँ १५ करोडभन्दा बढी प्रयोगकर्ता छन्। यो एप अन्य देशहरूमा पनि अनुसन्धान र विवादको विषय बनेको छ।

‘नयाँ सैन्यवाद’ वा रणनीतिक बाध्यता? इन्डो-प्यासिफिक क्षेत्रमा जापानको रणनीतिक विस्तार

९ असार, काठमाडौं। गत महिना साङ्ग्रिला डाइलगमा जापानले सबैको ध्यान आफिमै भयरहन पुग्यो। चिनियाँ रक्षा प्रमुखले लगातार दोस्रो वर्ष पनि यो मञ्च छोडेपछि त्यहाँ एउटा महत्वपूर्ण रिक्तता देखा परेको थियो। जापानले त्यस रिक्तताको फाइदा उठाएर बेइजिङको बढ्दो सैन्य शक्तिबारे चेतावनी दिन यो मञ्चको सदुपयोग गर्‍यो। मे ३१ मा सुरक्षा फोरमको अन्तिम दिन सिङ्गापुरमा जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमीले सम्बोधन गरे। बेइजिङले जापानमाथि ‘नयाँ सैन्यवाद’ मा लागेको आरोप लगाएको थियो तर कोइजुमीले यसलाई खण्डन गर्दै चीनको तीव्र सैन्य क्षमतामाथि असन्तोष प्रकट गरे र पारदर्शिताको अभावमाथि प्रश्न उठाए।

एशिया-प्यासिफिक क्षेत्रमा चीनको साझेदारीमाथि एउटा सत्र तय गरिएको थियो जसले बेइजिङलाई क्षेत्रीय सुरक्षाबारे आफ्नो दृष्टिकोण व्यक्त गर्ने अवसर दिने भनिएको थियो। तर त्यो सत्र रद्द भयो जसले जापानको प्रमुखता अझै बढायो। फोरमको क्रममा टोकियो चर्चाको केन्द्रविन्दुमा रह्यो। कोइजुमीले अमेरिकी रक्षा मन्त्री पिट हेगसेथसँग भेटवार्ता गरी वासिङ्टनको एसिया र इन्डो-प्यासिफिक क्षेत्रमा पूर्ण प्रतिबद्धता देखाउने प्रयास गरे। यसले अमेरिका-जापानको एकजुट मोर्चा प्रष्ट पार्दै जापानको सुरक्षात्मक चिन्तालाई पनि उजागर गर्‍यो र गठबन्धनमाथिको निर्भरतालाई देखायो।

टोकियोले आफ्नो सैन्य सामर्थ्य संवर्धन संकेत दिएको छ। कोइजुमी र अन्य उच्च अधिकारीहरूले गत वर्ष आणविक उर्जाबाट चल्ने आक्रमण पनडुब्बी विकास गर्ने विचार सार्वजनिक गरेका थिए जसले जापानको आणविक निषेध नीति तोड्न सक्छ। यसबाट जापानले भविष्यमा आणविक हतियार हासिल गर्न सक्छ भन्ने अड्कलबाजीहरू पनि स्वदेश तथा विदेशी मिडियामा उठिरहेका छन्। टोकियोले सुरक्षा साझेदारी नेटवर्क विस्तारलाई तीव्र बनाएको छ जसले बेइजिङलाई उत्तेजित पारेको छ। बेइजिङले यसलाई क्षेत्रीय स्थिरताको लागि खतरा मान्छ। जापान र फिलिपिन्सले रक्षा सहयोग बृद्धि गरिरहेका छन् र संवेदनशील सैन्य सूचनाहरू सुरक्षित राख्ने सम्झौतामा पनि वार्ता गर्दैछन्।

शहबाज सरिफले भने- स्विट्जरल्यान्ड बैठक सफल, ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने

८ असार, काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच स्वित्जरल्यान्डमा सम्पन्न पहिलो उच्च स्तरीय वार्ता सफल भएको घोषणा गर्नुभएको छ। वार्ताका मुख्य मध्यस्थकर्ता भएको नाताले उनले सोमबार एक्समार्फत् वार्ता सफल भएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री सरिफले उल्लेख गर्नुभएको छ, “इस्लामाबाद सम्झौता समझदारीको रूपरेखाअन्तर्गत पहिलो उच्च–स्तरीय समिति बैठक स्विट्जरल्यान्डको बर्गेनस्टकमा सफलतापूर्वक सम्पन्न भएको छ। छलफल सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको छ।”

उहाँले छलफलमा उत्साहजनक प्रगति भएको बताउनुभयो। “यसमा ६० दिनभित्र अन्तिम सम्झौताका लागि रोडम्यापमा सहमति, राजनीतिक अनुगमनका लागि उच्च–स्तरीय समितिको गठन र थप प्राविधिक वार्ता सुरु गर्ने विषय रहेको छ,” उहाँले भन्नुभएको छ। अमेरिका र इरान दुबैले रचनात्मक संलग्नता र निरन्तर प्रतिबद्धता देखाएकोमा उहाँले प्रशंसा जनाउनुभयो।

“यस ऐतिहासिक प्रक्रियालाई अगाडि बढाउन उहाँहरूको बहुमूल्य समर्थनका लागि सबै भ्रातृ तथा मित्र राष्ट्रहरूलाई धन्यवाद दिन्छु,” प्रधानमन्त्री सरिफले लेख्नुभएको छ। विशेषगरी कतारको भूमिकाप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताको सहजीकरणमा स्विस सरकारले, आफ्नै पाकिस्तानी सेनाका फिल्ड मार्शल असिम मुनिर, उपप्रधानमन्त्री इशाक दार, र गृहमन्त्री मोहसिन नक्वीको भूमिकाको पनि प्रशंसा गर्नुभएको छ। “पाकिस्तानले शान्तिपूर्ण र दिगो समाधानतर्फ संवाद र कूटनीतिको अग्रसरता जारी राख्नेछ,” उहाँले भन्नुभएको छ।

रोनाल्डोको उज्वेकिस्तान विरुद्ध ६ अंकको जादुमयी संयोग

जर्सी नम्बर ७ लगाउने स्टार रोनाल्डोका लागि उज्वेकिस्तान विरुद्ध खेल्दा जादुमयी अंकको संयोग जुर्न पुग्यो ‘६’। काठमाडौं। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो ७ नम्बर जर्सी लगाउँछन्। फिफा विश्वकप २०२६ मा पोर्चुगिज आइकन रोनाल्डो र उनको जर्सी नम्बर ७ को क्रेज उस्तै छ। मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा उज्वेकिस्तान विरुद्ध उत्रिँदा भने रोनाल्डोका लागि अर्को जादुमयी अंकको संयोग जुर्न पुग्यो ‘६’। ४१ वर्षको उमेरमा पनि मैदानमा उत्तिकै भोक र उर्जाका साथ दौडिरहेका यी लेजेन्डका लागि उज्वेकिस्तान विरुद्ध ५–० को जितमा हरेक कोणबाट अंक ६ को गजबको संयोग मिलेको छ।

रोनाल्डोले फिफा विश्वकप २०२६ मा उज्वेकिस्तान विरुद्ध गोल गर्दै विश्वकपमा नयाँ कीर्तिमान बनाए। रोनाल्डोले यसअघि डिआर कंगो विरुद्धको पहिलो खेल खेल्दै अर्जेन्टिनाका लियोनल मेसीसँगै सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसकेका थिए। कंगो विरुद्ध रोनाल्डोले भने सकेनन्। तर दोस्रो खेलमा विश्वकपको डेब्युटान्ट टोली विरुद्ध रोनाल्डो दुई गोल गरे। पोर्चुगलले ५-० को शानदार जित हात पार्‍यो। यसमा रोनाल्डोले कीर्तिमानी गोल पनि गरे। उज्वेकिस्तान विरुद्ध गोलको खाता खोल्दै रोनाल्डो लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने। यसअघि कसैले पनि लगातार ६ विश्वकपमा गोल गर्न सकेका थिएनन्।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका छन्। रोनाल्डोले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका थिए। उनले सन् २०२६ सम्म आइपुग्दा पनि निरन्तर गोलको यात्रा कायम राखेका छन्। उज्वेकिस्तान विरुद्धको खेलमा रोनाल्डोले पहिलो गोल ६ अक अर्थात छैटौं मिनेटमै गरेका थिए। यसमा अर्को रमाइलो संयोग के छ भने रोनाल्डोले विश्वकपमा पछिल्लो पटक सन् २०२२ मा कतारमा घाना विरुद्ध गोल गरेपछि पहिलो पटक गोल गरेका हुन्। रोनाल्डोले उज्वेकिस्तान विरुद्ध खेलमा ६ सट अन टार्गेट राखेका थिए। यसमा पनि ६ अंककै संयोग जुरिएको थियो।

रोनाल्डोले उज्वेकिस्तान विरुद्ध २३०औं अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनले कीर्तिमानी १४५ गोल गरेका छन्। यस्ते फिफा विश्वकपमा रोनाल्डोले २४ औं खेल खेले। अब समूहको अन्तिम खेलमा कोलम्बिया विरुद्ध मैदान उत्रिएपछि रोनाल्डोले जर्मनीका अर्का लेजेन्ड लोथार म्याथ्युजको २५ खेलसँग बराबरी गर्नेछन्।

इरानलाई ६० दिनसम्म विश्व बजारमा तेल बिक्री गर्न अनुमति, १२ अर्ब डलर बराबरको रोक्का कोष फुकुवा

९ असार, काठमाडौं । स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। साथै, १२ अर्ब डलर बराबरको रोक्का गरिएको कोष पनि फुकुवा गरिएको छ। स्विट्जरल्यान्डमा भएको हालैको वार्तापछि अमेरिकी निर्णयले दुई देशबीचको तनाव केही कम भएको संकेत देखाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै, अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन्। यो निर्णयअनुसार अब आगामी ६० दिनसम्म अर्थात् २१ अगस्तसम्म इरानले विश्व बजारमा आफ्ना तेल र पेट्रोलियमजन्य उत्पादन बेच्न पाउनेछ। यस अवधिमा अमेरिकी कम्पनीहरूले पनि इरानी तेल किन्न सक्नेछन् र भुक्तानी अमेरिकी डलरमा गर्न सकिनेछ। आवश्यक परे यो व्यवस्था २१ अगस्त पछि नवीकरण गर्न सकिने बताइएको छ।

उक्त लाइसेन्सअनुसार इरानले अमेरिकी डलरमा भुक्तानी प्राप्त गर्नेछ। स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच सम्पन्न वार्तापछि यो कदम चालिएको हो जसलाई सकारात्मक उपलब्धि मानिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन्। वार्ताको क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो देशमा प्रवेश अनुमति दिने सहमति भएको जनाइएको छ। साथै, इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पहिले क्षेत्रीय तनाव र द्वन्द्वका कारण तेल ट्यांकरहरूको आवागमन धेरै कम थियो। सुरक्षा चिन्ताका कारण धेरै जहाजहरूले यो मार्ग प्रयोग गर्न छाडेका थिए। तर पछिल्लो सहमतिपछिको समयदेखि जहाजहरूको आवागमन पुनः बढ्न सुरु भएको बताइएको छ।

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक हो। विश्व निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल यही मार्गबाट ओसारपसार हुन्छ। यसैले यहाँ स्थिरता कायम हुँदा विश्वव्यापी तेल तथा ग्यास बजारलाई पनि राहत मिल्ने अपेक्षा गरिएको छ। सहमतिअनुसार आगामी ६० दिनसम्म जहाजहरूले कुनै अतिरिक्त शुल्क नतिरी स्ट्रेट अफ होर्मुज पार गर्न पाउनेछन्। त्यसपछि इरान र खाडी क्षेत्रका देशहरूले यो मार्गको दीर्घकालीन व्यवस्थापन र सम्भावित शुल्क संरचनाबारे थप छलफल गर्ने छन्। इरानका प्रमुख वार्ताकारले अमेरिकासँग १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का गरिएको कोष फुकुवा गर्ने सहमति भएको बताएको छ। स्विट्जरल्यान्डमा १८ घण्टा लामो गहन वार्तापछि इरानले अन्तर्राष्ट्रिय आणविक निरीक्षण अनुमति दिने प्रतिबद्धता जनाएपछि अमेरिकाले उक्त निर्णय गरेको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएका इरानी सम्पत्ति अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग गरिने बताएका थिए। तर इरानको केन्द्रीय बैंकले यो टिप्पणी अस्वीकार गर्दै तेहरान अमेरिकी कृषि वस्तु खरिद गर्न बाध्य नरहेको स्पष्ट पारेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त

पहिलो हाफमा कंगोकी गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ बचाउ गरे। १० असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाव बनाए पनि गोल गर्न सकेन। पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल नियन्त्रणमा राखेको थियो। त्यसैगरी, कुल १० शट प्रहार गर्दा ६ शट टार्गेटमा पुगे पनि गोल हुन सकेन। कंगोकी गोलकिपर लियोनल एमपासीले ६ उत्कृष्ट बचाउ गरेका थिए। कंगोले हानेका २ मात्र शट टार्गेटमा पुगेनन्।

स्ट्रेट अफ होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार प्रक्रिया सुरु

१० असार, काठमाडौं । संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेसन (आईएमओ)ले स्ट्रेट अफ होर्मुज समुद्री क्षेत्रमा फसेका करिब ११ हजार सीफेयरर्स अर्थात् नाविकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने काम सुरु गरिएको जनाएको छ। यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र शिपिङ कम्पनीहरूको सहयोगमा सञ्चालन गरिनेछ। यस क्रममा जहाजहरूले स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिनेछ।

कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्वीट्जरल्यान्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि स्ट्रेट अफ होर्मुजको बाटो खुला भएको छ। स्वीट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउनुका साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ। अमेरिकाका यी निर्णयबाट दुई देशबीचको तनाव केही कम भएको संकेत देखिएको छ।

अमेरिकी विदेशमन्त्री खाडी देशको भ्रमणमा यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो खाडी देशहरूको भ्रमणमा पुगेका छन्। अमेरिका–इरान सम्झौता कार्यान्वयन हुनेमा शंका व्यक्त गरिरहेका देशहरुलाई स्पष्ट पार्ने उद्देश्यले उनी खाडी देशहरुको भ्रमणमा गएका हुन्। रिपोर्टअनुसार यूएई, बहराइन र कुवेतलाई उक्त सम्झौताका केही बुँदामा चिन्ता छ। सम्झौताले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानको प्रभाव अझ बढाउन सक्ने आशंका व्यक्त गरिएका छन्।

साथै, सम्झौतामा इरानको मिसाइल कार्यक्रमबारे कुनै स्पष्ट शर्त नराखिएकोमा पनि उनीहरूको चासो छ। यसका साथै इरानको पुनर्निर्माणका लागि प्रस्ताव गरिएको ३०० अर्ब अमेरिकी डलर (करिब २८ लाख करोड रुपैयाँ) को कोषमा खाडी देशहरूको सहयोग मागिने सम्भावना रहेको छ। यस्तो अवस्थामा अमेरिका ती देशहरूलाई विश्वास दिलाउन र सम्झौताको समर्थनमा सहमत गराउन प्रयासरत छ।

विश्वकपमा डेविस क्यानडाका कप्तान, तर उनको कथा क्यानडाबाट सुरु भएन

काठमाडौं । अल्फोन्सो डेविस.. रंगशालामा हजारौं समर्थकहरूले उनको नाम लिएर चिच्याइरहेका हुन्छन् । राष्ट्रिय गान बजिरहेको बेला उनी टोलीमा सबैभन्दा अगाडि उभिएका हुन्छन् । विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । आज उनको जित क्यानडाको जित हो । उनको सफलता क्यानडाको गर्व हो । तर, उनको कथा क्यानडाबाट सुरु हुँदैन । किनभने उनी क्यानडाका कप्तान हुन्, तर उनी क्यानडा आएर जन्मेका होइनन् । आजभन्दा २५ वर्षअघि उनको न कुनै राष्ट्र थियो न घर थियो । केवल युद्धबाट बचेको जीवन थियो । लाइबेरियाको गृहयुद्धले उनीहरूको सबैथोक खोसेको थियो । उनी शरणार्थी थिए, जो अहिले शक्तिशाली देश क्यानडाको कप्तान बनेर उभिएका छन् । कप्तान अल्फोन्सो डेविसको जीवनकथा कुनै चलचित्रभन्दा कम छैन । र उनको जीवन यात्रा कुनै हिरोको भन्दा फरक छैन ।

युद्धले बदलिदिएको जीवन सन् १९८९ मा सुरु भएको गृहयुद्धले त्यहाँका लाखौं परिवारको अस्तित्व र जीवनको दिशा नै परिवर्तन गरिदियो । युद्धले केवल देशलाई टुक्र्याएन, हजारौं परिवारको जीवन तहसनहस बनायो । गाउँहरू उजाड भए, मानिसहरू मरे । लाखौं नागरिक विस्थापित भए । डेविसका आमाबुबाले पनि अन्ततः कठोर निर्णय गर्नुपर्‍यो । उनीहरूले आफ्नो घर छोडे, आफ्नो देशसँगै सपना छोडे र आफ्ना सम्झनाहरू पनि । ज्यान जोगाउनकै लागि । उनीहरू घाना पुगे । त्यहाँ उनीहरूले बुडुबुराम शरणार्थी शिविरमा आश्रय पाए । त्यही शिविरमा २००० नोभेम्बर २ मा अल्फोन्सो डेविस जन्मिए । उनी जन्मिएको भू–भाग आफ्नै देशको थिएन । उनी सुविधासम्पन्न अस्पतालमा थिएनन् । त्यो यस्तो ठाउँ थियो जहाँ मानिसहरू भविष्य बनाउन होइन, भविष्य बचाउन संघर्ष गरिरहेका थिए । जसको प्रत्येक बिहान नयाँ अनिश्चिततासँग सुरु हुन्थ्यो र भोलि के हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैनथ्यो ।

डेविसले आफ्नो जीवनको पहिलो अध्याय सुरू गरे । उनी बाल्यकालका ती दिनहरू धेरै सम्झँदैनन् । तर उनका आमाबुबाले भोगेको संघर्षले उनको सम्पूर्ण जीवनलाई आकार दिएको छ । उनीहरू चाहन्थे आफ्ना छोराछोरीहरुले आफुले भोगेको जीवन नपुर्न् । त्यसका लागि उनीहरूले जुनसुकै कठिनाइ सामना गर्न तयार थिए र त्यसैले पुगे, क्यानडा । नयाँ देश, नयाँ सुरुवात डेविस पाँच वर्षको हुँदा परिवारको जीवनमा ठूलो मोड आयो । क्यानडाले उनीहरूलाई शरणार्थीका रूपमा पुनर्वास गरेको थियो । सन् २००६ तिर उनीहरू क्यानडामा पुगेपछि एडमण्टन, अल्बर्टामा नयाँ जीवन शुरू भयो । त्यहाँ पुगेपछि परिवारको जीवन रातारात बदलिएको थिएन । उनीहरू युद्धबाट टाढा भए तर आर्थिक संघर्ष अझै त्यहाँ थियो । नयाँ संघर्ष शुरू हुन बाँकी थियो ।

होर्मुजमा अलपत्र परेका नाविकहरूको उद्धार गर्न संयुक्त राष्ट्रसंघको तयारी

अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण खाडी क्षेत्रमा अलपत्र परेका ११,००० भन्दा बढी नाविकहरूको संयुक्त राष्ट्रसंघीय निकायले उद्धार गर्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) का महासचिवले इरान, ओमान, अमेरिका लगायतका अन्य तटीय राष्ट्र र समुद्री उद्योगहरूसँगको सहकार्यमा ठूलो स्तरको उद्धार कार्य सञ्चालन गरिने बताउनुभएको छ। उहाँले यसका लागि आवश्यक सुरक्षा सुनिश्चितता कायम गरिएको जानकारी दिनुभयो।

गत साता अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। तर, अन्तरिम सम्झौताका विवरणबारे दुई पक्षबीच अझै मतभेद जारी छ। इरानको परमाणु अस्त्र कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा राखिने सुनिश्चितता समझदारीपत्रमा समावेश भएको अमेरिकी दाबी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार सामाजिक सञ्जालमा पोष्ट गर्दै “इरानले पूर्णतरुपमा र दीर्घकालीन रूपमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गरेको” उल्लेख गर्नुभएको छ।

तर, ट्रम्पले उक्त पोष्ट गर्नुभन्दा केही समयअघि इरानले संयुक्त राष्ट्रसंघीय निकायले गत वर्ष अमेरिका र इजरायलले बमबारी गरेका परमाणु स्थलहरूको निरीक्षण गर्न नसक्ने बताएको थियो। यसको जवाफमा एक अमेरिकी अधिकारीले इरानले आईएईएको निगरानी स्वीकारेको र इरानी अधिकारीहरूको भनाइ आन्तरिक खपतका लागि मात्रै हुन सक्ने बताएका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मङ्गलवार पाकिस्तान भ्रमणका क्रममा इरानले “आफ्नो प्रतिरक्षा क्षमताबारे कुनै पनि परिस्थितिमा र कसैसँग पनि वार्ता नगर्ने” स्पष्ट पार्नुभयो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पेजेस्कियानसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ शरीफले बलिस्टिक क्षेप्यास्त्र विषयमा अमेरिका र इरानबीच कुनै छलफल नभएको र त्यो विषय “एजेन्डामा नरहेको” जानकारी दिनुभयो। वार्ताको मध्यस्थता गरेका शरीफका अनुसार समझदारीपत्रमा यसबारे केही उल्लेख छैन। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले संयुक्त अरब एमिरेट्सबाट खाडी क्षेत्रको भ्रमण सुरु गरेका छन्। मङ्गलवारदेखि सुरु भएको भ्रमण क्रममा उनी कुवेत र बाहरेन पनि भ्रमण गर्ने योजना बनाएका छन्। यी देशहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। रुबियोले यो भ्रमणका क्रममा तेहरानसँगको सम्झौताबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

इरानले होर्मुज जलमार्गमा जहाजहरूबाट शुल्क उठाउने प्रयास गरिरहेको अवस्थामा रुबियोले कुनै देशले उक्त जलक्षेत्रमा शुल्क लगाउन नपाउने चेतावनी दिएका छन्। “यो अन्तर्राष्ट्रिय जलमार्ग हो। यहाँ कुनै देशले शुल्क लगाउन पाउँदैन। यो अन्तर्राष्ट्रिय कानुन हो,” यूएई पुगेर उनले भन्नुभयो। “यस विषयमा हामीले कसैलाई फकाउनु पर्ने छैन। यो क्षेत्रका सबै राष्ट्रहरू हाम्रो कुरामा सहमत हुने विश्वास छ।” अलपत्र परेका नाविकहरूको उद्धार कार्य समेत होर्मुज जलमार्ग खुल्ने विषयमा निर्भर छ। आईएमओका महासचिवले यो अभियानलाई “समुद्री सुरक्षा पुनः स्थापना गर्ने र गैरसैनिक जहाजमाथि भइरहेका स्वीकार्य नभएका आक्रमण अन्त्य गर्ने दिशामा महत्वपूर्ण कदम” बताउनुभएको छ। आईएमओको उद्धार योजनाअनुसार होर्मुज जलमार्गका दुई वटा अस्थायी मार्ग प्रयोग गर्न सकिने छन्। जहाजहरूलाई थप निर्देशन आवश्यक परे सबैमा सूचना दिइने व्यवस्था छ। फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु भएपछि होर्मुज जलमार्ग बन्द भएपछि धेरै नाविकहरू अलपत्र परेका थिए।

इरानले सैन्य रणनीति परिवर्तन गर्दै ‘रक्षात्मक होइन, आक्रमणमुखी रणनीति’ अवलम्बन गर्यो

१० असार, काठमाडौं । इरानले आफ्नो सैन्य नीतिमा महत्वपूर्ण परिवर्तन गरेको जनाएको छ। इरानले परम्परागत रक्षात्मक रणनीतिबाट हटेर ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रमक सैन्य नीति अपनाएको छ। इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स न्यूजल एजेंसीसँग कुरा गर्दै यो जानकारी दिएका थिए, जसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

पुरदस्तानका अनुसार, इरान अब केवल प्रतिरक्षात्मक कदममा सीमित छैन, आवश्यक परे पहिले नै आक्रमण गर्न सक्षम हुनेछ। ‘राष्ट्रिय हित आवश्यक परे, इरानले त्यस किसिमका मोर्चामा पनि आक्रमण गर्न सक्छ जहाँ शत्रुले अनुमान समेत लगाउने सपना पनि देखेको हुँदैन,’ उनले बताए। अमेरिका र इजरायलको संयुक्त आक्रमणले इरानको सैन्य क्षमता कमजोर हुँदै गएको दाबी गरिँदै आएको समयमा पुरदस्तानको यस्तो भनाइ सार्वजनिक भएको हो।

उनले भने, इरानको ठूलो सैन्य क्षमता अझै पूर्ण रूपमा प्रयोगमा आएको छैन र लेबनानको सुरक्षा सुनिश्चित गर्न समेत इरान तयार रहेको छ। अलजजिरा अनलाइनका अनुसार, पूर्व सर्वोच्च नेता अली खामेनीको कार्यकालमा इरानी सेनाले ‘रणनीतिक धैर्य’ नामक नीति अपनाएको थियो। विशेषज्ञहरूले यसलाई ‘सावधानीपूर्वक र योजनाबद्ध संयम’ को नीति भनी व्याख्या गर्छन्, जसले परोक्ष टकरावभन्दा प्रतिरोधमा जोड दिने थियो। तर, अमेरिका र इजरायलसँगको संघारिक द्वन्द्वपछि इरानले ‘सक्रिय र अभूतपूर्व प्रतिरोध’ नीति अवलम्बन गरेको छ, जसअन्तर्गत कुवेत, यूएई, बहराइन लगायत इजरायलमाथि पनि आक्रमण गरेको बताइन्छ। २०७९ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको भनिएको छ। हाल उनका छोरालाई सर्वोच्च नेता घोषणा गरिएको भए पनि उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

क्रोएसियाले पानामासँगको खेलमा अग्रता बनायो

१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पानामासँग भइरहेको खेलमा क्रोएसियाले पहिलो पटक अग्रता लिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा क्रोएसियाका एन्टे बुडिमिरले दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । उनले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गरेका थिए । पहिलो खेलमा इंग्ल्यान्डसँग ४-२ ले पराजित भएको क्रोएसियाले यस खेलमा पहिलो जितको आकांक्षा राखेको छ । त्यस्तै, पानामाले आफ्नो पहिलो खेलमा घानासँग १-० ले पराजित भएको थियो ।

रेबिज खोपको अभाव: अस्पतालहरूले ‘पैँचो र सिधा खरिद गरेर’ समस्या समाधान गर्दै

पछिल्ला केही दिनदेखि रेबिज बिरुद्धको खोप अभाव भइरहेका विवरणका बाबजुद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ताले त्यसको भण्डारणमा “पूरै रित्तिएको अवस्था नरहेको” दाबी गरेका छन्। तर अधिकारीहरूले पछिल्लो मौजुदा खोपको विवरण भने सार्वजनिक गरेका छैनन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत साता बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा तत्कालीन अवस्थाको जानकारी दिएकी थिइन्। त्यसबेला उनले देशभर १४ हजार ४७४ भाइल रेबिज खोप मौजूद रहेको उल्लेख गरेकी थिइन्। मङ्गलवार बीबीसीसँग कुरा गर्दै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी भण्डारणमा “केही मात्रामा खोपहरू रहेको र ती प्रयोग भइरहेको” बताए।

“खोप खरिदका बोलपत्र आह्वानका क्रममा अघिल्ला दुई पटक आवेदन नपरेपछि तेस्रोपटक प्रक्रिया अघि बढेको छ। यो अन्तिम चरणमा पुगेको छ र त्यसपछि सम्भवत: चाँडै आउँछ,” सहप्रवक्ता अधिकारीले भने। नेपालमा रेबिजका कारण काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पछिल्ला दुई वर्षमा २६ जनाको मृत्यु भएको बताएको छ। नेपालमा वार्षिक करिब १०० जनासम्म रेबिजका कारण मृत्यु हुने सरकारी विवरणमा उल्लेख छ। सबै रेबिजका घटना तथ्याङ्कमा नपर्न सक्ने समेत बताइन्छ। नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट फैलने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ।

सङ्क्रमित कुकुर वा अन्य जनावरले टोकिसक्दा समेत समयमै खोप लगाएर बच्न सकिने रोग भएता पनि त्यसकारण मानिसहरूमा मृत्यु हुने अवस्थालाई चिकित्सकहरूले “निकै दुर्भाग्यपूर्ण” भन्दै चिन्ता व्यक्त गर्छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै स्वास्थ्यमन्त्री मेहताले तत्कालको अभाव पूर्ति गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मार्फत् झण्डै ४,५०० भाइल रेबिज खोप सहायता स्वरूप प्राप्त हुने प्रक्रियाको अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन्।

सहप्रवक्ता अधिकारी बताउँछन्: “हाल विश्व बजारमा मूल्य वृद्धिका कारण हमीले तोकेको दररेटमा खोप ल्याउन व्यवसायीहरूले नसकेको हुँदा सम्भवत: त्योभन्दा धेरै दरमा आवेदन दिइएकोले खोप समयमा नआएको हो।” तर आकस्मिक अवस्था टार्नका लागि अस्पतालहरूले सिधै खरिद गर्न सक्ने गरी बजेटको व्यवस्था गरिएको डा अधिकारीले बताए। “उच्च लागत र ठूलो परिमाणको खरिद गर्न सार्वजनिक खरिद ऐन अन्तर्गत व्यवस्था गर्नुपर्ने भएकाले समस्या देखिएको हो,” उनले थपे। “अभाव हुँदा छिमेकी अस्पतालहरूले पैँचो लिएर व्यवस्थापन गर्ने प्रबन्ध पनि छ।”

चिन्ताटेकु अस्पताल, अर्थात शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालकै प्रमुख सरुवा रोगसम्बन्धी उपचार केन्द्र हो। अस्पतालका निर्देशक डा अनुप बास्तोलाले दैनिकजसो औसत ६०० देखि ७०० जना मानिसहरू रेबिज खोप लगाउन आउने गरेको र केही महिनाहरूमा २० हजारभन्दा बढी खोप लगाइएको बताउँछन्। स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा ९९ प्रतिशत रेबिज घटना परपालुवा जनावर कुकुरको टोकाइबाट हुन्छ। अन्य घटना स्याल र फ्याउरो जस्ता जनावरबाट टोकाइका कारण हुने पाइएको छ।

डा बास्तोलाका अनुसार, “जब रेबिजको लक्षण लिएर बिरामी आउँछन्, तब उनीहरूको मृत्यु हुने सम्भावना धेरै हुन्छ। धेरै हालतमा मानिसले सुरुदेखि नै हेलचेक्र्याइँ गर्ने भएकाले मृत्यु भइरहेका छन्।” चिकित्सकहरूले कुकुरले टोकेपछि घाउलाई सकेसम्म चाँडो सफा पानीले धेरै मिनेटसम्म धोउन सुझाव दिन्छन्। रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा एकपटक सङ्क्रमण भइसकेपछि बिरामीलाई बचाउन असंभव हुने चिकित्सकहरूको भनाइ छ। रेबिज भाइरस शरीरभित्र प्रवेश गरेपछि फैलने र लक्षण देखिने अवधि सामान्यतया छ महिनासम्म हुन्छ।

यसले इन्क्युबेशन समयमै भाइरस नष्ट गर्ने र रेबिज लाग्ने सम्भावना कम गर्ने व्याख्या डा बास्तोलाले गरेका छन्। उनले भने, “यसै हप्ता टेकु अस्पतालमा मृत्यु भएका ४८ वर्षीय पुरुषलाई तीन महिनाअघि भारतमा वयस्क कुकुरले र त्यसपछि नेपालमा छाउराले टोकेको विवरण प्राप्त भएको छ। यहाँको कुकुर जीवित भएकाले भारतमा भएको टोकाइबाट रेबिज सर्न सक्ने शक्यता छ। लक्षण देखिएपछि उपचारका प्रयासहरू भए पनि ज्यान जोगाउन सकिएन।

ट्रम्पको चेतावनीः इरानले परमाणु स्थल निरीक्षण नगरे वार्ता रद्द गरिने

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु स्थलहरूको निरीक्षण गर्न नदिए वार्ता रद्ध गरिने चेतावनी दिएका छन्। उनले भनेका छन् कि इरानले यसअघि नै अन्तर्राष्ट्रिय निरीक्षणको शर्त स्वीकारिसकेको छ र त्यसैले इरानका परमाणु स्थलहरूमा निरीक्षण गरिनुपर्छ। पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यदि उनीहरूले यी विषयहरूबाट पछि हटे भने म तुरुन्तै वार्ता रद्द गर्ने छु।’

हालै स्वीटजरल्याण्डमा भएको अमेरिका र इरानबीचको वार्तामा अमेरिकी पक्षले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति गरेका थिए। साथै, इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो मुलुकमा प्रवेश गर्न दिने सहमति जनाएको छ। यसैबीच दीर्घकालीन युद्धविराम स्थापना गर्न थप वार्ताहरू गर्ने सहमति पनि भएको थियो।

ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएको टोली सही समयमा इरान पुगेर त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछ। तर, उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने सार्वजनिक गरेका छैनन्।

क्रोएसियाको राहतदायी विजय

१० असार, काठमाडौं । एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले पराजित गरेको छ । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यस जितले टोलीलाई ठूलो राहत दिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमिरले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । उनले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेनन् ।

पहिलो खेलमा इंग्ल्यान्डसँग ४-२ ले पराजित भएको क्रोएसियाले पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ र समूह एलमा तेस्रो स्थानमा पुगेको छ । अब क्रोएसियाले अन्तिम खेलमा घानासँग प्रतिस्पर्धा गर्नेछ र उक्त खेल समूह चरण पार गर्ने दृष्टिले निर्णायक हुनेछ । यदि घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुई स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ ।

पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । पानामाले आफ्नो पहिलो खेलमा पनि घानासँग १-० ले हार बेहोरेको थियो । पानामाले अब अन्तिम खेल इंग्ल्यान्डसँग खेल्नेछ । यसै खेलमा क्रोएसियाका अनुभवी कप्तान लुका मोडरिचले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो २००औं खेल पूरा गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा २०० खेलको यो उपलब्धि हासिल गर्ने उनी चौथो खेलाडी हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २३०, कुवेतका बाडेर अल-मुटुवाले २०२ र अर्जेन्टिनाका लियोनल मेसीले २०१ खेल खेलेका छन् । मेसीले यसै विश्वकपमा अल्जेरियासँगको पहिलो खेलमा यो कीर्तिमान कायम गरेका थिए ।