Skip to main content

लेखक: space4knews

सुशीला कार्की : ‘विवादित’ नियुक्तिबारे रास्वपाले प्रधानमन्त्रीलाई ‘सन्देश पठाउने’

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ

तस्बिर स्रोत, PMO

प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिक बहुमत ल्याएर नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताले सत्ता हस्तान्तरणको सङ्घारमा अन्तरिम सरकारले गरेका केही ‘विवादित’ नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने बताएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति दिइएको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आलोचना खेपिरहेकी छिन्।

भदौ २३ र २४को जेन जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ गरेपछि अन्तरिम प्रधानमन्त्रीका रूपमा कार्कीलाई प्रस्ताव गरेका जेन जी अभियानकर्मीहरूले समेत पछिल्ला नियुक्तिबारे सरकारमाथि प्रश्न र आलोचना गरिरहेका छन्।

रास्वपा प्रवक्ता मनीष झाले निर्वाचित सरकारले सत्ता सम्हाल्न लागेका समयमा भएका नियुक्तिबारे उठिरहेका प्रश्नहरू जायज भएको बताए।

“एउटा निर्वाचन सकिएर एकल बहुमतको नयाँ सरकार निर्माणको दैलोमै रहेको अवस्थामा यस्ता नियुक्तिहरू सर्वस्वीकार्य नहुने त स्वाभाविक नै हो,” प्रवक्ता झा भन्छन्, “यी नियुक्तिहरू अहिले नगर्दा हुन्थ्यो वा आगामी सरकारले निष्पक्षताका आधारमा यो गर्दा राम्रो देखिन्थ्यो।”

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

प्रजननको समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा प्रायः दुई वटा अण्डा पार्ने गर्छ ।

यूएईमा ड्रोन हमलाका फोटो, भिडिओ सामाजिक सञ्जालमा शेअर गर्नेहरू पक्राउ, नेपालीहरूलाई सजग हुन आग्रह

यूएईस्थित जेबेल अलि बन्दरगाहमा इरानी हमला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूएईमा पनि इरानले केही हमला गरेको छ

पढ्ने समय: ४ मिनेट

खाडीका देशहरूमा इरानी हमलाका तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा हाल्नेहरू धमाधम पक्राउ परेका विवरण आएका छन्।

संयुक्त अरब इमिरेट्सको अबु धाबीमा ४५ जना विदेशी समातिएका समाचार आएका छन् भने अन्य खाडी देशहरूले पनि यस मामिलामा कडिकडाउ गरिरहेका छन्।

अमेरिका र इजरेलले इरानमा गरेका हमलापश्चात् इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ।

इरानको ड्रोन तथा क्षेप्यास्त्र हमलाले युएई, कतार, कुवेत, बाहरेन, साउदी अरेबिया जस्ता लाखौँ नेपालीहरू काम गर्ने देशहरू समेत निसानामा परिरहेका छन्।

सजग रहन दूतावासको आह्वान

शनिवार आएका समाचार विवरणहरूमा अबु धाबीमा ४५ जना विदेशीहरूलाई इरानी ड्रोन हमलाका दृश्य सामाजिक सञ्जालका प्ल्याटफर्ममा शेअर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

पार्टी सुधारका लागि कांग्रेसले माग्यो सुझाव –

News Summary

  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका लागि सुझाव मागेका छन्।
  • पौडेलले आगामी केन्द्रीय कार्य समितिको बैठकमा छलफल गर्न सुझाव उपलब्ध गराउन समर्थक तथा शुभेच्छुकलाई अनुरोध गर्नुभएको छ।
  • पार्टीले प्राप्त सुझावलाई आत्मसात गर्ने प्रतिबद्धता जनाउँदै आधिकारिक इमेलमार्फत सुझाव दिन सकिने जानकारी दिएको छ।

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् । सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् ।

‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामू आइसकेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ । यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ,’ उनले लेखेका छन्,‘यसै परिस्थितिमा नेपाली कांग्रेसमा गर्नु पर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयहरू के हुन सक्लान् ? सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन नेपाली कांग्रेसका समर्थक तथा सुभेच्छुक सबैमा विनम्र अनुरोध गर्दछौं ।’

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कांग्रेसले आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । यसैका लागि महामन्त्री पौडेलले सुझाव मागेका हुन् ।

महामन्त्री पौडेलले पार्टीको आधिकारिक इमेल info@nepalicongressparty.org.np तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताए ।

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

News Summary

  • काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ।
  • महानगरपालिकाले ३२ वटै वडाबाट सुक्खा फोहर बिक्रीका लागि सात क्षेत्रमा वर्गीकरण गरी वार्षिक रु ६ करोड आठ लाख ७२ हजार आय ठेक्का लगाएको छ।
  • हाल ११ वडामा सुक्खा फोहर व्यवस्थापन सुरु भइसकेको छ र प्रत्येक क्षेत्रमा फोहरमैला स्थानान्तरण केन्द्र राखिएको छ।

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ ।

यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ ।

यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले जानकारी दिइन् ।

महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन् ।

अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ ।

आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् ।  क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक रु ५५ लाख ३५ हजार ८९१  आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् ।

क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले रु एक करोड १५ लाख चार हजार ४०४ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ । रासस

हर्मुज स्ट्रेट: इरान युद्धका कारण समुद्रमा फसेका पानीजहाज कामदार कस्तो अवस्थामा छन्

मयुरी नारी लेखिएको थाई पानीजहाज

तस्बिर स्रोत, Royal Thai Navy

तस्बिरको क्याप्शन, ११ मार्चमा ओमानबाट ११ नटिकल माइल उत्तरमा प्रोजेक्टाइल लागेपछि आगो लागेको एउटा थाई मालवाहक जहाज (फाइल फोटो)

अमेरिकी-इजरेली हमलाको जबाफमा इरानले हर्मुज स्ट्रेट पार गर्न कोसिस गर्ने जहाजहरूमाथि हमला गर्ने धम्की दिएसँगै खाडीमा ट्याङ्कर र मालबाहक जहाजहरूमा फसेका कामदारहरूका निम्ति ड्रोन, क्रुज क्षेप्यास्त्र र लडाकु विमानका दृश्यहरू सामान्य बन्न थालेका छन्।

“मैले इरानी ड्रोन र क्रुज क्षेप्यास्त्रहरू कम उचाइमा उडिरहेको देखेको छु,” यूएईको एउटा तेल ट्याङ्करमा काम गर्ने पाकिस्तानी कामदार आमिर भन्छन्। उनी काम गर्ने जहाज उक्त क्षेत्र छाडेर अन्यत्र जान सक्दैन।

“म लडाकु जहाजको आवाज पनि सुनिरहेको हुन्छु तर ती कुन देशका हुन् हामी खुट्याउन सक्दैनौँ।”

आकासमै अवरुद्ध गरिएका ड्रोन वा क्षेप्यास्त्र आफ्नो जहाजमा खस्ने हो कि भन्ने चिन्ताले उनलाई सबैभन्दा धेरै सताउँछ।

बर्मेली पानीजहाजकर्मी हेइन हरेक दिन झडपहरू देख्छन्। “बिहानै मात्र पनि दुईवटा लडाकू जहाजहरूले एकअर्कामाथि गोली चलाए। त्यतिबेला हामी काम गर्दै थियौँ,” उनी भन्छन्, “त्यस्तो बेला जहाजमा कुनै विशेष लुक्ने ठाउँ छैन र हामीलाई भित्रतिर भाग्नु पर्‍यो।”

उनीहरूसँगै समुद्रमा फसेका जहाजकर्मी र तिनका परिवारको सुरक्षा सुनिश्चित गर्नका निम्ति हामीले उनीहरूको नाम परिवर्तन गरेर आमिर र हेइन बनाएका छौँ।

समुद्र र नजिकैको सतहमा भएका संरचनाहरूमा आगो लागेझैँ देखिने दृश्य

तस्बिर स्रोत, Sailor provided to BBC News

तस्बिरको क्याप्शन, एकजना पानीजहाज कामदारले पठाएको यो तस्बिरमा कुनै इरानी तेल प्रशोधन केन्द्रमा आगो लागेझैँ देखिन्छ

समुद्रमा सुरक्षा

मध्यपूर्वमा कति पानीजहाज कामदार अलपत्र परेका छन् भन्ने यकिन गर्न कठिन भए पनि ‘बाङ्ग्लादेश मर्चेन्ट मरिन अफिसर्स एसोसिएसन’का प्रमुख क्याप्टेन अनाम चौधरीको अनुमानमा त्यो सङ्ख्या २०,००० को आसपास हुन सक्छ।

उनका अनुसार तीमध्ये केही समुद्रमा र कतिपय बन्दरगाहमा अलपत्र परेका छन्। तर उनका विचारमा कुन स्थिति बढी खतरनाक छ मूल्याङ्कन गर्न गाह्रो छ।

“बन्दरगाहभित्र रहेका मान्छेहरूले आफू त्यहाँ सुरक्षित भएको भन्ठान्छन् तर त्यहाँ रोकिएका जहाजहरूमा पनि बमबारी भएका छन्,” उनी भन्छन्।

समुद्री सतहमाथि कालो धुवाँ देखिएको तस्बिर

तस्बिर स्रोत, Sailor provided to BBC News

तस्बिरको क्याप्शन, पानीजहाज कामदारले उपलब्ध गराएको अर्को तस्बिर जसमा धुवाँजस्तो देखिएको क्षेत्र दक्षिणी इरान भएको बताइएको छ

उनको संस्थाले युद्धका क्रममा अहिलेसम्म प्रोजेक्टाइल (क्षेप्यास्त्र वा त्यस्तै गरी प्रहार गरिने शस्त्र) लागेका र क्षतिग्रस्त भएका कम्तिमा सात जहाजबारे थाहा पाएको छ।

रिपब्लिक अफ पलाउमा दर्ता भएको स्काइलार्क नामक ट्याङ्करमा मार्च १ मा एक कामदारको मृत्यु भएको चौधरी बताउँछन्। जहाजमा आगो लागेपछि उद्धार गरिएका कामदारहरू मानसिक आघातको स्थितिमा पुगेका उनले बताए।

समुद्रमा काम गर्ने अन्य पनि चौधरीका कुरामा सहमत छन्।

क्याप्टेन एम मन्सूर तेल ट्याङ्कर चलाउँछन्। उनले बीबीसीलाई बताएअनुसार आक्रमणबाट बच्ने कुरामा बन्दरगाहमा हुनु र समुद्रमा हुनुमा खासै भिन्नता छैन। “उनीहरूले मेरो जहाजलाई निशाना बनाउन चाहे भने त्यसो गर्न सक्नेछन्।”

तथापि उनका विचारमा सामान्यत: ठूला जहाजहरू तटदेखि टाढा हुँदा सुरक्षित हुन सक्छन्। “मौसम चर्को भएका बेला हामी सधैँ धेरै पानी र पर्याप्त गहिराइयुक्त खुला समुद्रतिर जान्छौँ, जहाँ स्वतन्त्र रूपमा संचालन गर्न सकियोस्। बन्दरगाह तथा साँघुरा जलक्षेत्रमा मौसमले जहाजलाई जमिनमा अड्काएर वा घाटका भित्तामा ठोक्काएर क्षति पुर्‍याउन सक्छ।”

सञ्चार तथा नेभिगेशन प्रणालीमा अवरोध

यो जोखिमपूर्ण अवस्थाले पानीजहाज कामदारका परिवारलाई अत्यन्त चिन्तित तुल्याएको छ।

इरानमा सरकारले इन्टरनेट र फोन बन्द गरेकाले त्यहाँका कामदारको अवस्थाबारे थाहा पाउन परिवारका सदस्यहरूलाई निकै कठिन भएको छ। कहिलेकाहीँ पहुँच खुल्छ तर त्यो अनियमित र प्रायः छोटो समयका लागि मात्र हुन्छ।

अली अब्बासका छोरा हर्मुज स्ट्रेट नजिकैको इरानी बन्दरगाहमा रहेको एउटा जहाजमा छन्। केही दिनअघि मात्र उनले छोरासँग कुरा गरेका थिए। त्यतिबेला उनी क्षेप्यास्त्र आक्रमणबारे बताइरहेका थिए। ती घटनामा उनका छोरा जोगिए पनि एक भारतीय कामदार घाइते भएका थिए।

“मैले यो कुरा मेरी श्रीमती र बुहारीलाई भनेको छैन,” आँखा रसिला पार्दै उनी भन्छन्।

मङ्गलवार राति पनि उक्त बन्दरगाहमा पुन: आक्रमण भयो तर त्यसयता अलीले आफ्ना छोरासँग कुरा गर्न सकेका छैनन्।

“ईश्वरका निम्ति, कृपया मलाई सहयोग गर्नुहोस्,” भावुक हुँदै उनी भन्छन्।

आफ्ना छोरा अझै जीवित र सुरक्षित छन् र सञ्चार प्रणालीमा आएको समस्याका कारण मात्र सम्पर्क हुन नसकेको हो भन्ने अलीको आशा छ।

जीपीएस प्रणालीमा वाधा

सिओ-जनले दक्षिण कोरिया र म्यानमारका २० भन्दा बढी चालकदल सदस्यहरू भएको जहाजको नेतृत्व गर्छन्।

उनका अनुसार स्याटेलाइटमा आधारित नेभिगेशन प्रणालीमा बारम्बार समस्या आइरहेको छ र त्यसले अतिरिक्त जोखिम पैदा गरेको छ।

“युद्ध सुरु भएयता कहिलेकाहीँ मात्र जीपीएसमा हस्तक्षेप हुँदै आएको थियो, तर पछिल्ला तीनचार दिनमा यो धेरै नै बढेको छ,” उनी भन्छन्।

दुबईमा प्रवेश गर्दा उनीहरूले जीपीएस बिना नै जहाज चलाउनुपर्‍यो।

ओमनमा रोकेर राखिएका ट्याङ्करहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ओमनमा रोकेर राखिएका ट्याङ्करहरू (फाइल तस्बिर)

घट्दो आपूर्ति

सुरक्षा सँगसँगै जहाजका कामदारहरूलाई पानी र खानेकुरा छिट्टै सकिएला भन्ने डर पनि छ।

सिओ-जनको जहाजमा १५ दिनलाई पुग्ने पर्याप्त ताजा खानेकुरा छ तर पिउने पानीको अवस्था चिन्ताजनक बनेको छ।

“जहाजमा समुद्री पानीलाई प्रशोधन गरेर तयार गर्न त सकिन्छ तर यात्रा नगरेका बेला त्यो कठिन हुन्छ,” उनी भन्छन्।

“जहाजमा सरसामान ल्याएकै दुई महिना भइसकेको छ,” पाकिस्तानी जहाजकर्मी मसूद भन्छन्।

हेइनका अनुसार युद्धअघि जहाजमा बुफे खानाको व्यवस्था थियो। चालक दलका मानिसले अण्डाजस्ता ताजा खानेकुरा र पानी चाहेका बेला पाउन सक्थे।

तर अहिले उनको जहाजमा कोटा प्रणाली लागु भएको छ र उनीहरूलाई दैनिक केवल चारवटा स-साना मासुका टुक्रा र एक कचौरा तारिएको तरकारी दिइन्छ। बचेका खानेकुराले अब एक महिना धान्छ।

“यहाँ हाम्रो जीवन निकै कष्टकर छ र हामीसँग थोरै इन्धन र खानेकुरा मात्र छ,” अर्का पाकिस्तानी कामदार जीशान भन्छन्।

“यस्तोमा कोही पनि आरामले बस्न सक्दैन,” आमिर भन्छन्, “हामी ड्रिल तथा सुरक्षा अभ्याससहितका दैनिक काममा आफूलाई व्यस्त राख्छौँ।”

जहाजमा वरिष्ठ इन्जिनियरको रूपमा काम गर्ने हेइन पनि त्यसमा सहमत छन्। “म आफूलाई हताश हुन दिन्नँ, किनकि म्यानमार चालकदलका अन्य २० सदस्य मेरो जिम्मामा छन्।”

उनले स्थिति अझ बिग्रिएमा त्यहाँबाट निस्कने गरी सङ्कटकालीन योजना पनि तयार पारेका छन्। “मैले केही भयो भने के गर्ने, कहाँबाट हाम्फाल्ने र आफूसँग केके बोक्ने भनेर उनीहरूलाई भनेको छु।”

बीमाको सीमा

जहाजहरू सुरक्षित बन्दरगाहमा लगेर जमिनमा पुगेपछि पनि जहाजका कामदारहरू सजिलै घर फर्कन वा त्यो क्षेत्र छाड्न नपाउने अवस्था हुन सक्छ।

हाम्जाका अनुसार उनका छोरा जहाजमा अलपत्र परेका छन् र राहदानी कम्पनीसँग भएकाले उनलाई त्यहाँबाट निस्कन अनुमति छैन।

त्यस्तै कतिपयलाई करार पूरा नगरी जहाज छाड्दा शिपिङ कम्पनीहरूले कालो सूचीमा राख्न सक्ने हुँदा भविष्यमा काम नपाइने हो कि भन्ने डर पनि छ।

स्थिति अत्यन्त गम्भीर छ र आमिरका विचारमा राम्रो हुने आशा र सबै जहाजी कामदारको सुरक्षाका निम्ति प्रार्थना गर्नुबाहेक अर्को उपाय छैन।

उनी शिपिङ कम्पनीहरूलाई आफ्ना चालक दललाई हर्मुज स्ट्रेट पार गर्न बाध्य नतुल्याउन पनि आग्रह गर्छन्।

यी डर काल्पनिक हुन सक्ने भए पनि उनलाई सुरक्षामाथि आर्थिक दबाव हाबी हुने हो कि भन्ने चिन्ता छ। कुनै वाहनमाथि ड्रोन वा क्षेप्यास्त्र आक्रमण भएमा त्यसको मूल्य कामदारहरूले चुकाउनु पर्ने उनी बताउँछन्। मालसामान र जहाजमा पुग्ने क्षति बीमाले समेट्छ तर उनी भन्छन्, “मान्छेको जीवन बीमाद्वारा प्रतिस्थापित गर्न सकिन्न।”

जारी युद्धले समुद्रसम्बन्धी उद्योगमा ठूलो परिवर्तन ल्याउने आमिरको ठम्याइ छ।

“यो युद्धको शैली र उद्देश्य विगत केही वर्षमा देखिएकाभन्दा निकै फरक छ। यसले पर्सिअन खाडी भएर हुने व्यापारमा दीर्घकालीन प्रभाव पार्नेछ।”

क्याप्टेन चौधरीका अनुसार जहाजका कामदारहरू आफू जिम्मेवार नै नभएका घटनामा फस्न पुगेका छन्।

“जहाजलाई अप्ठेरो पार्नु हुँदैन, जहाजलाई अप्ठेरोमा पार्दा निर्दोष कामदारहरू मर्कामा पर्छन्,” उनी भन्छन्।

टम डन्किनबाट अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

मिटरब्याज पीडकलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन

News Summary

  • मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न काठमाडौंमा २ चैतमा ५ सयभन्दा बढी पीडितले प्रदर्शन गरेका छन्।
  • भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका मिटरब्याज पीडकहरूलाई तत्काल कडा कारबाही गर्न माग गरिएको छ।
  • पीडितहरूले नेपाल सरकार, प्रहरी र अदालतलाई अनुसन्धान प्रक्रिया शुरु गरेकोमा धन्यवाद दिएका छन्।

२ चैत, काठमाडौं । मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।

काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल परिसरमा नियन्त्रणमा लिइएको छ ।

लाखौ रुपैयाँ ठगी गर्ने उनीहरूलाई कडा कारबाही गर्न आफूहरू सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताइन् ।

पीडकहरूले आफूहरूमाथि ठूलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने माग उनको छ ।

‘हामी यस्ता कुख्यात मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरूलाई समाजवाद तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौं,’ उनले भनिन्, ‘हामी यहाँ ५ सय जना भन्दा बढी पीडित छौं । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौं ।’

त्यसैगरी उनीहरूले पीडकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताइन् ।

उनले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

‘एक लाख भन्दा बढि मानिस चाहीँ मिटरब्याज पीडित, भूमिहिन र अनुचित लेनदेन पर्नुभएको छ । हामी यहाँ मिटरब्याज पीडितले उनीहरूविरुद्ध उजुरी दिएका थियौं । ठगहरूलाई नियन्त्रणमा लिने काम गरेकोमा नेपाल सरकार, नेपाल प्रहरी, जिल्ला अदालत काठमाडौंलगायतलाई हामी धन्यवाद समेत दिन चाहन्छौं,’ उनले भनिन् ।

केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरूले आफूहरूको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात चलाउने तयारी

२ चैत, काभ्रेपलाञ्चोक । पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि…

कांग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस

News Summary

  • नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको छ।
  • क्षेत्रीय सचिव राजेश भण्डारीले फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोपमा यादवसहित १६ जनाको नाम सिफारिस गरिएको जानकारी दिए।
  • क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाले सिफारिस गरिएका सबैलाई पार्टी सदस्यताबाट निलम्बन गर्न माग गर्नुभएको छ।

२ चैत, काठमाडौं । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ । बारा–३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको हो ।

क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेका जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।

‘बारा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा पराजित गराउनका लागि आफ्ना नातेदार र नजिकका नेता कार्यकर्तालाई परिचालन गरी जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादवले हराउने कार्य गरेको, गराउन लगाएको व्यवहोरा अवगत गराउन चाहन्छु,’ क्षेत्रीय कार्यसमितिले पठाएको पत्रमा भनिएको छ ।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफरिस गरिएकाहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरिनुपर्ने माग गरिएको छ ।

कारबाहीको सिफारिसमा परेकाहरूको नाम

राजेश राय यादव – जिल्ला सभापति, नेपाली कांग्रेस बारा
हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
बजरंगी साह – महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २
भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २, बारा
रबिन्द्र यादव (उर्फ रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ बारा
दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
मो. अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि दक्षेत्र नं. ३ (२) ख
हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.)

 

बिहे भोजमा रसबरी खाँदा ४१ पुरुषको मृत्यु, किन हुन्छ यस्तो ?


भारतको झारखण्ड राज्यमा एक दु:खद् घटना घटेको छ । बिहेभोजमा रसबरी खाने क्रममा घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु भएको हो । भारतीय मिडियाहरूमा आएका खबरअनुसार घटना गत शुक्रबार रातिको हो ।

जमशेदपुरको बेलाजुरी पञ्चायतस्थित मलियान्ता गाउँमा शुक्रबार राति विवाह समारोहमा थियो । यसै गाउँमा ४१ वर्षीय ललित सिंह उक्त समारोहमा रातिको करिब १ बजेतिर पुगेका थिए । खाना खादै गर्दा जब उनले रसबरी खाए, त्यो उनको घाँटीमा अड्कियो । सास फेर्न समस्या भएपछि त्यहाँ भएका अरूले घाँटीमा अड्किएको रसबरी निकाल्ने कोसिस पनि गरे ।

निकाल्न नसकेपछि उनको अवस्था गम्भीर बन्दै गयो । गाउँलेले तुरुन्त एमजीएम अस्पताल पुर्‍याए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले ललितलाई मृत घोषणा गरे ।

पोस्टमार्टम रिपोर्टअनुसार रसबरी श्वासनलीमा प्रवेश गरेको पाइयो । घाँटीमा रसबरी अड्किएर श्वास–प्रश्वासको मार्ग बन्द भएपछि शरीरमा अक्सिजनको मात्रा कम भयो । यही कारण ती युवकको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखायो ।

एमजीएम अस्पतालका डा. रोहित झाका अनुसार एपिग्लोटिस नामको ग्रन्थीले खानालाई श्वासनलीमा प्रवेश गर्नबाट रोक्छ । तर हामी नसामा छौँ वा खाना निल्दै गरेको बेलामा बोलिरहेका छौँ भने त्यो समय यसले राम्रोसँग काम गर्दैन । यही कारण खाना श्वासनलीतिर प्रवेश गर्ने जोखिम हुन्छ । भोजन नलीतिर जानुपर्ने खाना श्वासनलीतिर जाँदा अड्किएर श्वास–प्रश्वास बन्द हुने र मृत्यु समेत हुने जोखिम हुन्छ ।

शनिबार नै परिवारले शव जिम्मा लिएर अन्त्येष्टि गरेका छन् ।

ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु


२ चैत, काठमाडौं । भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।

मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना थिए ।’

मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा स)लग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

‘गोल्डेन’ बन्यो अस्कर अवार्ड जित्ने पहिलो के-पप गीत

News Summary

  • फिल्म ‘के-पप डेमन हन्टर्स’को गीत ‘गोल्डेन’ले अस्करमा उत्कृष्ट मौलिक गीत अवार्ड जितेको छ।
  • ‘के-पप डेमन हन्टर्स’ले उत्कृष्ट एनिमेटेड फिचर फिल्मतर्फ अस्कर जितेर इतिहास रचेको छ।
  • निर्देशक म्यागी काङ र निर्माता मिशेल वोंगले उत्कृष्ट एनिमेटेड फिचर फिल्म विधामा अस्कर जित्ने पहिलो एसियाली महिला बनेका छन्।

लस एन्जलस ।  फिल्म ‘के-पप डेमन हन्टर्स’ मा समावेश गीत ‘गोल्डेन’ ले अस्करमा उत्कृष्ट मौलिक गीततर्फ अवार्ड जितेको छ ।

‘गोल्डेन’ अस्कर जित्ने पहिलो के-पप गीत बनेको छ । यस गीतका कारण ईजेएई, मार्क सोनेनब्लिक तथा दक्षिण कोरियाली संगीत कम्पनी द ब्ल्याक लेबलका सदस्यहरू यु हान ली, ही डोङ नाम र झुन उत्कृष्ट मौलिक गीततर्फ अस्कर जित्ने पहिलो कोरियाली कलाकार बनेर इतिहास रच्न सफल भएका छन् ।

फिल्ममा रुमी पात्रका लागि गायन स्वर दिएकी गायिका ईजेएईले अवार्ड ग्रहण गर्दै भावुक भाषण दिएकी थिइन् । आँखा रसाउँदै उनले भनिन्, “साना हुँदा म के–पप मन पराउँछु भनेर मानिसहरूले मलाई जिस्क्याउँथे । तर अहिले सबैले हाम्रो गीत गाइरहेका छन्, कोरियन शब्दहरूसमेत । मलाई यसमा निकै गर्व लागेको छ ।’

उनले थपिन्, ‘यो अवार्ड केवल सफलताको कथा होइन, यो धैर्य र संघर्षको कथा पनि हो । हाम्रो सम्पूर्ण टोलीप्रति म आभारी छु । ‘डेमन हन्टर्स’को मेहनती कलाकार टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।’

गत महिना ईजेएईले यो फिल्मको सफलताले आफूलाई गीतकार र कोरियाली महिलाका रूपमा अझ आत्मविश्वासी बन्न प्रेरित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यो फिल्मले लेखन र गायन दुवैमा मलाई ठूलो चुनौती दियो । यसले मलाई आफ्नै कोरियाली पहिचानभित्र गहिरो रूपमा फर्केर हेर्न बाध्य बनायो ।’

उनका अनुसार यस फिल्मका लागि काम गर्नु एक प्रकारको आत्मिक उपचारजस्तै यात्रा बनेको थियो । उनले भनिन्, ‘सानैमा म के–पप प्रशिक्षार्थीका रूपमा चयन भए पनि पछि हटाइएँ । त्यतिबेला मेरो स्वर ‘धेरै तलको’ वा ‘अलि अनौठो’ छ भन्ने धेरै टिप्पणी सुन्नुपर्‍यो ।’

ईजेएईले थपिन्, ‘गीत लेख्ने क्रममा आफू हटाइएको कुरा सम्झेर धेरै लाज पनि लाग्थ्यो । तर यही फिल्मले मलाई त्यो पक्षलाई स्वीकार गर्न मद्दत गर्‍यो । वास्तवमा त्यही पीडा र अनुभव मेरो लागि एक प्रकारको शक्ति बन्यो, जसले यी गीतहरू लेख्न सहयोग गर्‍यो ।’

गीत “गोल्डेन” लेख्ने प्रक्रियाले आफूलाई आफ्नै स्वर स्वीकार गर्न र अझ आत्मविश्वासका साथ गाउन प्रेरित गरेको ईजेएईले बताएकी छन् । उनका अनुसार यस अनुभवले उनीलाई कलाकारका रूपमा धेरै परिवर्तन गरेको छ । उनले भनिन्, “साँचो भन्नुपर्दा, यो फिल्मले मलाई बचायो ।’

भाषणको अन्त्यमा उनले भनिन्, “यो सबै निकै सुन्दर अनुभव हो र अहिले आफूलाई धेरै स्वीकार गरिएको जस्तो महसुस हुन्छ। त्यसैले सबै प्रशंसकहरूलाई धेरै धन्यवाद ।’

‘के-पप डेमन हन्टर्स’ ले एनिमेटेड फिचरतर्फ पनि उत्कृष्ट

फिल्म ‘के-पप डेमन हन्टर्स’ ले एकेडेमी अवार्ड समारोहमा उत्कृष्ट एनिमेटेड फिचर फिल्मतर्फ अस्कर जितेको छ । नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले “आर्को”, “एलियो”, “लिटल अमेली अर द क्यारेक्टर अफ रेन” र ८८“जुटोपिया २” लाई पछि पार्दै यो सम्मान हासिल गरेको हो ।

नेटफ्लिक्सको इतिहासमै सबैभन्दा धेरै हेरिएको फिल्म मानिएको “के-पप डेमन हन्टर्स” ले अवार्ड सिजनभर लगातार सफलता हात पारेको थियो । यसले यसअघि गोल्डेन ग्लोब, क्रिटिक्स च्वाइस अवार्ड र पीजीए अवार्डमा उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड जितिसकेको थियो भने एनी अवार्डमा १० वटा अवार्ड जितेर पनि चर्चा कमाएको थियो ।

सोनी एनिमेसनद्वारा निर्माण गरिएको यस फिल्मका निर्देशक म्यागी काङ र क्रिस एपलहन्स हुन् भने निर्माता मिशेल एलएम वोंग हुन् । यो अवार्डसँगै म्यागी काङ र मिशेल वोंग उत्कृष्ट एनिमेटेड फिचर फिल्म विधामा अस्कर जित्ने पहिलो एसियाली महिला बनेर इतिहास रच्न सफल भएका छन् ।

अवार्ड ग्रहण गर्दै निर्देशक म्यागी काङ भावुक देखिएकी थिइन् । उनले भनिन्, ‘एकेडेमीलाई धन्यवाद, र हामीलाई यहाँसम्म ल्याउने सबै दर्शक तथा समर्थकलाई पनि धन्यवाद । विशेषगरी, म जस्तै देखिने सबैलाई धन्यवाद ।’

आँखा रसाउँदै उनले थपिन्, ‘हामीलाई यस्ता फिल्ममा आफ्नै प्रतिनिधित्व देख्न यति लामो समय कुर्नुपरेकोमा म दुःखी छु । तर अब यस्तो फिल्म बनेको छ । यसको अर्थ अब आउने पुस्ताले यस्तो प्रतीक्षा गर्नुपर्दैन । यो कोरियाका लागि र संसारभर रहेका सबै कोरियनहरूका लागि हो ।’

यो फिल्मको सिक्वेल निर्माण हुने घोषणा पनि यसै साता गरिएको छ । आगामी फिल्मलाई पुनः म्यागी काङ र क्रिस एपलहन्सले नै निर्देशन र लेखन गर्नेछन् । नयाँ सिक्वेल सन् २०२९मा प्रदर्शन गर्ने लक्ष्य राखिएको बताइएको छ । यो फिल्मसँगै काङ र एपलहन्सले नेटफ्लिक्ससँग एनिमेसन क्षेत्रमा बहुवर्षीय विशेष लेखन तथा निर्देशन सम्झौता सुरु गरेका छन् ।

रास्वपा उम्मेदवार किशोरी साहको अन्तरिम आदेशको माग सर्वोच्चद्वारा अस्वीकार

किशोरी साह

तस्बिर स्रोत, kishorisah/facebook

पढ्ने समय: २ मिनेट

सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै साहको उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च अदालत पुगेका थिए।

न्यायाधीशहरू विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन नमानेको हो।

यसअघि सर्वोच्च अदालतले उनलाई कालोसूचीमा नराख्न भने आदेश दिएको थियो।

आज उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्धको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डले बीबीसीसँग भने, “उहाँ आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध अदालत आउनु भएको थियो, तर अन्तरिम आदेश भएन।”

‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म –

अवार्ड लिँदै वान ब्याटल आफ्टर एनदरका निर्देशक पौल थोमर्स एन्डर्सन ।


News Summary

  • फिल्म ‘वन ब्याटल अफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म घोषित भएको छ।
  • निर्देशक पल थोमस एन्डरसनले सोही फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।
  • यो फिल्मले राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको कथा प्रस्तुत गरेको छ।

लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ ।

अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्मसँगै उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ । निर्देशक पल थोमस एन्डरसनले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।

साथै, फिल्मले अन्य प्राविधिक विधाहरूमा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

‘वन ब्याटल आफ्टर एनदर’को कथा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा अघि बढ्छ । कथाले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको टकरावलाई चित्रण गर्छ ।

बहुस्तरीय कथा, शक्तिशाली अभिनय र निर्देशकको सशक्त प्रस्तुतिका कारण फिल्मले अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा बटुलेको थियो ।

प्रदर्शनपछि यो फिल्म समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन सफल भएको थियो । यसको कथा संरचना, दृश्य संयोजन र कलाकारहरूको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको थियो ।

यस वर्षको अस्करमा सर्वश्रेष्ठ फिल्म विधामा अन्य चर्चित फिल्म पनि प्रतिस्पर्धामा थिए । तीमध्ये ‘सिनर्स’, ‘ह्याम्नेट’, ‘फ्रान्केनस्टाइन’, ‘के–पप डेमन हन्टर्स’ र ‘वेपन्स’ लगायतका फिल्म मनोनयनमा परेका थिए ।

विजेता सूची

उत्कृष्ट फिल्म : वान ब्याटल आफ्टर अनदर

उत्कृष्ट अभिनेत्री : जेसी बक्ली – ह्याम्नेट

उत्कृष्ट अभिनेता : माइकल बी जोर्डन (सिनर्स)

उत्कृष्ट निर्देशक : पल थोमस एन्डरसन – वन ब्याटल आफ्टर अनदर

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : सेन्टिमेन्टल भ्यालु (नर्वे)

उत्कृष्ट मौलिक गीत : गोल्डेन – के-पप डेमन हन्टर्स

उत्कृष्ट छायांकन : सिनर्स

उत्कृष्ट फिल्म सम्पादन : वन ब्याटल आफ्टर अनदर

उत्कृष्ट ध्वनि : एफ वान

उत्कृष्ट मौलिक सङ्गीत (ओरिजिनल स्कोर) : सिनर्स

उत्कृष्ट भिजुअल इफेक्ट्स : अवतार फायर एन्ड एश

उत्कृष्ट छोटो वृत्तचित्र (डकुमेन्ट्री) फिल्म : अल द एम्प्टी रुम्स

उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) फिचर फिल्म : मिस्टर नोबडी अगेंस्ट पुटिन

सहायक अभिनेता : वन ब्याटल आफ्टर अनदर

प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन

उत्कृष्ट मौलिक पटकथा : सिनर्स

सहायक अभिनेत्री : वेपन्स’

अनुकूलित पटकथा : “वन ब्याटल आफ्टर अनदर

मौलिक पटकथा : सिनर्स

उत्कृष्ट एनिमेटेड फिचर फिल्म : के-पप डेमन हन्टर्स

उत्कृष्ट एनिमेटेड छोटो फिल्म : द गर्ल हु क्राइड पर्ल्स

कस्ट्युम डिजाइन : फ्रान्केनस्टाइन

उत्कृष्ट कास्टिङ : वन ब्याटल आफ्टर अनदर

लाइभ-एक्सन छोटो फिल्म : द सिङ्गर्स

मेकअप तथा हेयरस्टाइलिङ : फ्रान्केनस्टाइन

प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन

‘जेन जी’ आन्दोलनसम्बन्धी प्रतिवेदनको कार्यान्वयन ‘प्रक्रिया सुरु’, चुनौती के?

सरकारले ‘जेन जी’ आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन ‘ग्रहण गर्ने’ निर्णय गरेसँगै त्यसको कार्यान्वयनप्रति चासो बढेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले “जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने” निर्णय भएको हो।

प्रतिवेदन कार्यान्वयनप्रति विभिन्न क्षेत्रबाट आशङ्का व्यक्त भइरहँदा मन्त्री अर्यालले उक्त “निर्णयभित्र सबै चिज पर्ने” बताए।

त्यसबारे विस्तृत विवरण सोमवार गराइने जानकारी उनले दिएका थिए।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

त्यसबेला ९०० भन्दा बढी पृष्ठको प्रतिवेदन बुझाएको बताउँदै पत्रकारहरूसँग बोल्ने क्रममा आयोगका प्रवक्ता विज्ञानराज शर्माले “जसले गल्ती गरेको छ, त्यसलाई कारबाहीको सिफारिस गरेको” भनेर प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन बुझेपछि त्यसको “निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने” बताएको उनका प्रेस सल्लाहकारको भनाइ थियो।

कार्यान्वयनको ‘चरण सुरु’

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री

तस्बिर स्रोत, PMO

पूर्वमन्त्री समेत रहिसकेका नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलका भनाइमा ‘ग्रहण गर्ने’ भनेको सरकारले उक्त प्रतिवेदन स्वामित्वमा लिएको हो।

“अब त्यसको अध्ययन गरेर कार्यान्वयनको निम्ति सम्बन्धित निकायमा पठाउन त्यसो गरेको बुझ्नु पर्छ,” उनले भने, “यसको अर्थ यो कार्यान्वयनमा जानु पर्ने भयो, त्यो प्रक्रियामा गयो भन्ने बुझ्दा हुन्छ।”

विज्ञहरूका अनुसार सरकारले कुनै पनि प्रतिवेदन कार्यान्वयन नगर्न सक्छ। तर त्यसको निम्ति थप निर्णय गरिरहनु पर्दैन।

पूर्वमन्त्री पौडेलका भनाइमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पठाउने निर्णय नगर्ने हो भने त्यस बेलासम्म यथावत् राख्ने भन्ने बुझिन्छ।

“कार्यान्वयनमा जाँदा जुन जुन निकायले त्यो कार्यान्वयन गर्नुपर्ने हो त्यो त्यो निकायमा पठाउँछ,” उनले बताए।

प्रतिवेदनबारे महान्यायाधिवक्ता भण्डारी

आन्दोलन

तस्बिर स्रोत, NurPhoto via Getty Images

महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ।

महान्यायाधिवक्ता सबिता भण्डारीका अनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्न आयोगको सिफारिस अनुसार सम्बन्धित निकायहरूमा पठाउँछ।

फौजदारी अभियोगबारेको अनुसन्धानपछि मुद्दा दर्ता गर्ने अन्तिम टुङ्गो लगाउँदा महान्यायाधिवक्ता कार्यालय र उसको मातहतका निकायहरू संलग्न हुन्छन्।

“अनुसन्धान भएर अभियोजन गर्न हामी कहाँ आइपुग्छ,” महान्यायाधिवक्ता भण्डारीले जानकारी दिइन्।

आयोगले फौजदारी कसुरसँग सम्बन्धित मात्र नभई गैरसरकारी संस्थाको सञ्चालन र बजेट परिचालन लगायतका विषयमा पनि जाँचबुझ गरेको थियो।

महान्यायाधिवक्ता भण्डारी भन्छिन्, “अनुसन्धान गर्नु पर्‍यो भने प्रहरीले गर्छ र क्षतिपूर्ति दिनुपर्ने जस्ता विषयहरूका सन्दर्भमा सम्बन्धित निकायहरूले कार्यान्वयन गर्छन्।”

कार्यान्वयन किन चुनौतीपूर्ण?

प्रतिवेदन

आयोगले भदौ २३ गते भएको आन्दोलनकारीको मृत्यु, सुरक्षाकर्मीहरूबाट त्यसबेला भएको बल प्रयोगका साथै त्यसक्रममा फिल्डमा तैनाथ सुरक्षाकर्मी सहित राजनीतिक नेतृत्व समेतका बारेमा प्रतिवेदनमा उल्लेख गरेको समाचारहरूमा जनाइएको छ।

आयोगमा सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा रहेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले बीबीसीसँग भनेका थिए, “२३ र २४ गतेका दुइटै अपराध हुन्। दुइटै अपराधलाई हामीले त्यही हिसाबले हेरेका छौँ।”

यसअघिका आन्दोलनबारेका प्रतिवेदनहरू कार्यान्वयन नभएको सन्दर्भमा कतिपयले पछिल्लो प्रतिवेदनको अवस्था पनि त्यस्तै हुने आशङ्का गरेको पाइन्छ।

पूर्वमन्त्री तथा कानुनविद् माधव पौडेल यस्ता प्रतिवेदनको कार्यान्वयन सहज नहुने बताउँछन्।

“कसैलाई अनुदान दिने, सुविधा दिने, पुनर्निर्माण गरिदिने भए सजिलै कार्यान्वयन हुन्छ, थप अनुसन्धान र तहकिकात गर्नु पर्दैन,” उनी भन्छन्, “कुनै मुद्दा चलाउने वा कारबाही गर्ने सिफारिस रहेछ भने विस्तृत अनुसन्धान सम्बन्धित अधिकारीले गर्नुपर्छ।”

उनकाअनुसार अनुसन्धानबाट प्रमाणहरू भेटिए मुद्दाको निम्ति सरकारी वकिल समक्ष पेस गरिन्छ, प्रमाण फेला नपरेमा मुद्दा चलाउने अवस्था नहुन सक्छ।

भदौ २३ गतेको घटनामा कैयौँ प्रदर्शनकारीहरू मारिएपछि त्यसको भोलिपल्ट देशभरि व्यापक आगजनी तथा तोडफोडका घटनाहरू भएका थिए।

अनुसन्धानमा साढे ५ महिना लगाएको आयोगले दुई सय जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको थियो।

उच्च अधिकारी र राजनीतिक नेतृत्व तहबारे प्रतिवेदनको धारणा र सिफारिसप्रति धेरैले चासो राखेको पाइन्छ।

त्यसमा पनि प्रतिवेदन कार्यान्वयनको चुनौती जोडिन पुग्ने कतिपयको आकलन छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।