Skip to main content

लेखक: space4knews

वाचापत्र कार्यान्वयन गर्ने बाटो खुल्यो, रास्वपाले के-के गर्दैछ ?

News Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट सहित सरकार बनाउने अवस्था बनेसँगै वाचापत्र कार्यान्वयनका लागि बाटो खुलेको बताएको छ।
  • रास्वपाले सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा समयसीमा तोकेर कार्य गर्ने वाचा गरेको छ।
  • रास्वपाले पाँच वर्षभित्र १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने, ३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण गर्ने र १५ हजार मेगावाट विद्युत् क्षमता हासिल गर्ने लक्ष्य राखेको छ।

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट सहित बलियो सरकार बनाउने अवस्था बनेसँगै उक्त दलले सार्वजनिक गरेको वाचापत्र कार्यान्वयनका लागि बाटो खुलेको छ ।

जनतामाझ मत माग्दा रास्वपाले बहुमत सहितको मतका लागि नागरिकसँग अपील गरेको थियो । रास्वपाले सरकार बनाउँदा पाँचभित्र गर्ने कार्यहरु उल्लेख गर्दै कार्यान्वयनको वाचा मतदाता सामू गरेको थियो ।

सुशासन, शिक्षा, स्वास्थ्य, रोजागारी लगायतका क्षेत्रमा समयसीमा तोकेर गरिने कार्यहरु वाचापत्रमा उल्लेख गरिएको छ ।

‘मुलुकमा थिति बसाउनका लागि’ आफ्नो सरकार कार्य गर्ने वाचा रास्वपाले गरेको छ । सरकार निर्माण गरेपछि सय दिनमा गरिने कार्य सहित सन् २०३५ सम्म गर्ने गरिने योजनाहरूमा लक्ष्य बनाएको छ ।

सुशासनको क्षेत्रमा राज्य संरचनाको दलीय दोहन हटाउने रास्वपाले वाचा गरेको छ । प्रक्रिया केन्द्रित भ्रष्टाचार, लाइसेन्स राज, सामान्य सेवा लिन समेत बिचौलियाको शरण पर्ने बाध्यता हटाउने रास्वपाको प्रतिबद्धता छ ।

आफ्नो नेतृत्वमा सरकार हुँदा ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्ने वाचा गरेको रास्वपाले सरकारी उच्च ओहोदामा रहेकाहरुको २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन गर्ने प्रतिबद्दता गरेको छ । अवैध रुपमा आर्जित सम्पत्ति जफत र राष्ट्रियकरण गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्ने वाचा गरिएको छ ।

नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बनाउन औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गर्ने वाचा रास्वपाले गरेको छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा ३ हजार डलर पुर्‍याउने वाचा गरेको रास्वपाले अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउने लक्ष्य बनाएको छ ।

भारतीय रुपयाँसँग स्थिर विनिमय दरलाई अध्ययनका आधारमा पुनरावलोकन गर्ने रास्वपाको वाचा छ । पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने वाचा गरेको रास्वपाले रोजगारी सिर्जना आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग, सेवा व्यापार लगायतबाट हुने जनाएको छ । औद्योगिक पूर्वाधारमा लगानी मार्फत बाध्यकारी वैदेशिक रोजगारीलाई २० प्रतिशतले न्यूनीकरण गर्ने वाचा गरिएको छ ।

सूचना प्रविधिका सेवा निर्यातलाई वार्षिक ५० अर्ब माथि पुर्‍याउँदै ‘डिटिजल नोम्याड’का लागि उच्च गतिको इन्टरनेट र ‘को वर्किङ स्पेस सहितको पूर्वाधार निर्माण गरी नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट प्रविधि केन्द्र बनाउने रास्वपाले वाचा गरेको छ ।

आगामी पाँच वर्षमा आइटी सेवा निर्यातबाट ३० अर्ब डलर पुर्‍याउने लक्ष्य राखिएको छ । नेपाललाई ग्लोबल टेक हब बनाउन सात प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गर्ने वाचा गरिएको छ ।

सरकार गठन भएको सयदिन भित्रमा सहकारीका साना वचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने वाचा रास्वपाले गरेको छ ।

बचतकर्ताको रकम सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत वचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिवद्दता गरिएको छ । कुनै सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गर्न तयार हुने र फिर्ताको योजना सहित स्रोत सुनिश्चित गरेको अवस्थामा ‘मिलापत्र’को कानुनी बाटो रास्वपाले खुला गरेको छ ।

सहकारी सञ्चालक थुना बाहिर रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर प्रदान गर्ने वाचा गरिएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन हुने सरकारले उत्पादनमुखी अर्थतन्त्र ध्यान दिने वाचा गरेको छ ।

आगामी पाँच वर्षभित्र नेपाललाई ‘रेमिट्यान्सको मात्र भर पर्ने’ परनिर्भरताबाट मुक्त गरी ‘उत्पादन र निर्यात’ उन्मुख अर्थतन्त्र बनाउने वाचा गरिएको छ ।

आन्तरिक विद्युत् खपतलाई ८ हजार मेगावाट पुर्‍याउँदै घरायसी र औद्योगिक क्षेत्रमा एलपी ग्याँसको आयातलाई ५० प्रतिशतले घटाउने प्रतिबद्धता गरिएको छ ।

३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण गर्ने वाचा गरेको रास्वपाले राष्ट्रिय गौरवका आयोजनाहरुलाई आगामी २ वर्षभित्र अनिवार्य सम्पन्न गर्ने भएको छ ।

रास्वपाले गौरवका आयोजनाहरुलाई नतिजामुखी समयवद्ध कार्ययोजना लागु गर्ने भएको छ । आगामी पाँच वर्षमा १० वटा राष्ट्रिय महत्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने लक्ष्य बनाइएको छ ।

१५ हजार मेगावाट विद्युत् जडित क्षमता र ‘स्मार्ट राष्ट्रिय ग्रीड’ मार्फत नेपाललाई उर्जा निर्यातको केन्द्र बनाउने रास्वपाको वाचा छ । उर्जा व्यापारमा नीजि क्षेत्रको संलग्नता खुला गर्ने कानुनी व्यवस्था गरिने भएको छ ।

ऊर्जा व्यापारमा विद्यमान ३५ वर्षे उत्पादन अनुमतिको व्यवस्थामा एकरुपता कायम गरी ५० वर्ष पुर्‍याउने वाचा गरिएको छ । उर्जा खपतलाई सन् २०३५ मा प्रति व्यक्ति १५ सय किलोवाट आवर पुर्‍याउने संकल्प रास्वपाले गरेको छ । आगामी दशकमा ३० हजार मेगावाट विद्युत क्षमता हासिल गर्ने लक्ष्य बनाइएको छ ।

२०८७ सालसम्ममा परम्परागत ‘धारा वितरण’ को तरिकालाई पूर्णत विस्थापित गरिने भएको छ । रास्वपाले आधुनिक प्रविधिमा आधारित वितरण प्रणाली मार्फत २४ घण्टा नै आउने स्वच्छ पानीको व्यवस्था गर्ने वाचा गरेको छ । प्रमुख सहरको वायू प्रदुषणको ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ ।

सार्वजनिक संस्थानहरुलाई वर्गीकरण गरी गाभ्ने, नीजि–सार्वजनिक मोडलमा लाने, रणनीतिक साझेदार भित्र्याउने, विकेन्द्रित गर्ने गरी फरक फरक प्रकृतिबाट छुट्याउने वाचा गरेको छ ।

‘कृषि गरेर धनी हुन सकिन्छ’ भन्ने विश्वास बढाउँदै कृषिमा उत्पादकत्व वृद्धि गर्न नीति तथा कार्यक्रम बनाउनुको साथै पर्याप्त स्रोत विनियोजन गरिने वाचापत्रमा उल्लेख छ ।

कृषि उपजको प्रशोधन तथा मूल्य अभिवृद्धि हुने उद्योगलाई कर छुट, भन्सार सहुलियत तथा लगान प्रोत्साहनका प्रभावकारी उपाय लागु गर्ने वाचा गरिएको छ ।

नागरिकलाई शत प्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्दता गरेको रास्वपाले सार्वजनिक शिक्षाको आमूल सुधार गर्ने वाचापत्रमा लेखेको छ ।

जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ’एकीकृत सामाजिक सुरक्षा’ को ग्यारेन्टी गरिने रास्वपाको प्रतिवद्दता छ ।

नेपाल घुम्न आउने पर्यटकको संख्या र उनीहरु खर्चलाई दोब्बर गराउने गरी आवश्यक नीतिहरु बनाउने वाचापत्रका उल्लेख छ ।

नागरिक उड्ययन प्राधिकरणलाई नियामकीय र सेवा प्रवाह गरी अलग–अलग बनाउने वाचा गरिएको छ । वायु सेवा निगमको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रतिस्पर्धाबाट छनोट भएको व्यवसायीक टोलीलाई प्रदान गर्ने रास्वपाको प्रतिबद्धता छ ।

नेपाल एयरलाइन्सको सुधारका लागि वित्तीय अवस्था सुधार्न ५१ प्रतिशत सरकारको स्वामित्व हुने गरी नीजि क्षेत्रको सहभागिता भित्र्याउने वाचापत्रमा उल्लेख छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन विमानहरुलाई शुल्क छुट गर्ने संकल्प रास्वपाले गरेको छ ।

यी दुई विमानस्थल प्रभावकारी बनाउने भारतसँग प्रवेश र निगर्मनमा कूटनीतिक पहल गरिने वाचापत्रमा लेखिएको छ ।

‘२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन’ –

News Summary

  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनले नेपालमा सत्तापलट भयो र नयाँ निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाइ बहुमत दियो।
  • नयाँ सरकारले ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारतसँग प्रभावकारी संवाद गरी आपूर्ति अवरोध नरोकिने वातावरण बनाउनुपर्नेछ।
  • निजी क्षेत्रले सुशासन र नीतिगत स्पष्टता दिएमा अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरिएको छ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनले नेपालमा सत्तापलट भयो र नयाँ निर्वाचन पनि भइसकेको छ । निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई करिब दुई तिहाइ बहुमत दिएको छ । तर, २३ र २४ भदौका दिन जसरी निजी क्षेत्रका व्यवसाय र उनीहरूका निवासमा छानीछानी आगजनी र लुटपाट गरियो, व्यावसायिक जगतले त्यो घाउ बिर्सन सकेको छैन । अत्यन्तै बलियो नयाँ सरकार बन्न लागेको सन्दर्भमा त्यसपछि निजी क्षेत्रको दृष्टिकोण र अपेक्षा के छन् त ? नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ उद्योगी शेखर गोल्छासँग अनलाइनखबरका लागि जनार्दन बरालले गरेको कुराकानी :

नेपालमा निजी क्षेत्रले राजनीतिक र नीतिगत स्थिरता नभएका कारण विकास भएन भन्ने गरेको थियो । चुनावमा रास्वपाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेको छ । यसले राजनीतिक र नीतिगत स्थिरता दिन्छ भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

खासगरी जेनजी आन्दोलनपछि यति चाँडै निर्वाचन सम्पन्न भएर हामी नयाँ भविष्यतर्फ हेर्न सक्ने अवस्थामा पुग्नुलाई म एउटा चमत्कार मान्छु । सेप्टेम्बर ९ तिर निजी क्षेत्रको मनोबल निकै खस्किएको थियो । अब यो देशमा लगानीको वातावरण अत्यन्तै बिग्रेर जान्छ भनेर धेरैजसो लगानीकर्ता निराश थिए । निजी क्षेत्रमाथि भएका आक्रमण र विकसित अराजक परिस्थितिले यस्तो सकारात्मक नतिजा ल्याउला भनेर अत्यन्तै आशावादी मान्छेले मात्र सोच्न सक्थ्यो होला । तर, सफलतापूर्वक चुनाव भयो र युवापुस्ताले चाहे जस्तै सरकार पनि आउँदै छ । सुशासनको एजेन्डा सहित अत्यन्तै शक्तिशाली सरकार बनाउने अवस्थामा रास्वपा देखिएको छ । यसलाई म आन्दोलनको एउटा ठूलो सफलताका रूपमा देख्छु ।

निर्वाचनले रास्वपालाई निकै बलियो जनादेश दिएको छ । यो नयाँ जनादेशले लगानीकर्तामा आत्मविश्वास बढाउने ग्यारेन्टी हुन्छ ?

सोचेजस्तो सहज त छैन, तर आशाको किरण भने पक्कै देखिएको छ । तपाईंले भन्नुभए झैं भदौको आन्दोलनअघि नै बजारमा एक प्रकारको मन्दी देखिएको थियो । हामी बिस्तारै तंग्रिन खोज्दै थियौं । तर, आन्दोलनले अर्थतन्त्रलाई फेरि निराशातर्फ धकेल्यो । यद्यपि, अहिले समय बदलिएको छ । निजी क्षेत्रले यसलाई उज्यालोका रूपमा हेरेको छ । आगामी दिनमा लगानीको वातावरण सुध्रने छ भन्ने विश्वास सबैमा पलाएको छ ।

सत्तामा आउन लागेको नयाँ दलले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको छ । रास्वपाले ‘सिटिजन कन्ट्र्याक्ट’ मार्फत निश्चित समयभित्र काम गर्ने प्रतिबद्धता समेत जनाएको छ । निजी क्षेत्रको आत्मविश्वास बढाउन र अर्थतन्त्रलाई लयमा फर्काउन यो सरकारले सुरुवाती १ सय दिनभित्र के–कस्ता काम गर्नुपर्छ जस्तो लाग्छ ?

नयाँ सरकारका सामु आन्तरिक मात्र होइन, वाह्य चुनौती पनि थपिँदै छ । विशेषगरी इरान, इजरायल र अमेरिका जोडिएको युद्धका कारण हाम्रो आपूर्ति व्यवस्था प्रभावित हुने संकेत देखिइसकेका छन् । खासगरी ऊर्जा आपूर्तिमा अवरोध आउने देखिएको छ । ऊर्जाको हाम्रो शतप्रतिशत निर्भरता भारतसँग छ । इन्धन र ग्यास भारतबाटै आउँछ, जहाँ अहिले नै अभाव देखिन थालिसकेको छ । त्यसैले नयाँ सरकारको पहिलो चुनौती ‘ऊर्जा सुरक्षा’ सुनिश्चित गर्नु हो । भारतसँग प्रभावकारी संवाद गरेर ऊर्जा आपूर्ति नरोकिने वातावरण बनाउनु नै मुख्य प्राथमिकता हुनुपर्छ ।

त्यसैले अन्तर्राष्ट्रिय चुनौती बुद्धिमानीपूर्वक ह्यान्डल गर्नु नै सरकारको पहिलो कार्यभार हुनेछ । हामीले खाद्य सुरक्षा र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सकेनौं भने त्यसले ठूलो प्रभाव पर्ने छ ।

अर्कातर्फ, अब आउने सरकार धेरै ‘ब्यागेज’ (पुराना भारी) बोकेर आउने छैन । उसको ब्यागेज यो मात्रै हो कि जनताको ठूलो आशा र विश्वास । त्यसबाहेक कर्मचारीतन्त्र, कुनै निश्चित वर्ग वा कुनै अन्तर्राष्ट्रिय अलाइनमेन्टको दबाब छैन । यसले केवल विकास र सुशासनको एजेन्डा बोकेको छ । कुनै भारी नबोक्नु नै यो सरकारका लागि काम गर्ने सहज अवसर हो । त्यसैले आशा गर्ने ठाउँ प्रशस्त छ ।

निजी क्षेत्रले लामो समयदेखि राज्यको प्रणाली (सिस्टम) सँग एकाकार भएर काम गरेको छ । तपाईंको विचारमा, नेपालको निजी क्षेत्र र समग्र देशको विकासमा हाम्रो कमजोर सुशासन र प्रशासनिक अव्यवस्था कति जिम्मेवार छ ?

यसअघि निजी क्षेत्रले सामना गरिरहेको मुख्य चुनौती भनेको यस क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोण नै हो । नेपालमा कसैले सरकारी नीति र नियम–कानुनभित्र रहेर नाफा आर्जन गरेको छ भने पनि उसलाई हेर्ने नजर सकारात्मक छैन । मैले पहिले पनि भनेको छु– कर तिरेर कमाएको पैसा कसैले राजनीतिक दललाई सहयोग गर्छ वा अन्यत्र कतै खर्च गर्छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । मेरो आस्था कुनै ठाउँमा छ भने त्यहाँ मैले खर्च गर्न सक्छु । खुला बजार अर्थतन्त्र र संविधानले नै हामीलाई यो अधिकार दिएको छ । आफूले शुद्ध कमाइ गरेको र कर तिरेको पैसा परिचालन गर्न पाउनु नैसर्गिक अधिकार हो । तर, यसलाई हेर्ने दृष्टिकोण सधैं नकारात्मक रही आएको छ ।

अर्को कुरा, सरकार र निजी क्षेत्रबीचको समन्वय नेपालमा मात्रै होइन, विश्वभरि नै सामान्य प्रक्रिया हो । नीतिगत सुधारका लागि लगानीकर्ताले सरकारसँग संवाद र समन्वय गर्नु संसारभरिकै अभ्यास हो । जबसम्म नियत सफा हुन्छ, तबसम्म यसलाई शंकाको घेरामा राख्नु हुँदैन । यदि लगानीले देशमा रोजगारी सिर्जना गर्छ र मूल्य अभिवृद्धि गर्छ भन्ने मान्यता राख्ने हो भने सरकारसँग समन्वय नगरी ती उद्योगका आवश्यकताहरू कसरी थाहा हुन्छ ?

त्यसैले अब बन्ने सरकारले निजी क्षेत्रसँग नजिक रहेर काम गर्न जरुरी छ, निजी क्षेत्रले पनि सरकारसँग नजिक भएर काम गर्न जरुरी छ । निजी क्षेत्रको मनोबल केवल भाषणले मात्र उच्च हुँदैन, त्यसका लागि ठोस नीतिगत सुधार आवश्यक छ । धेरै पुराना कानुन छन्, जसलाई परिवर्तन गर्न निजी क्षेत्रले लामो समयदेखि माग गरिरहेको छ । तिनलाई परिमार्जन गर्नु आवश्यक छ ।

त्यस्तै हाम्रो अर्थतन्त्र ‘उच्च लागत’ को मारमा छ । आफ्नै बन्दरगाह नहुँदा हामी भारत वा चीनमा निर्भर हुनुपर्ने बाध्यता छ । देशभित्रै पनि व्यवसाय र उद्योग सञ्चालन गर्न निकै खर्चिलो छ । त्यसैले सरकारको लक्ष्य लागत घटाउने हुनुपर्छ, जसका लागि पूर्वाधारमा लगानी बढाउन जरुरी छ । श्रम ऐन लगायत अन्य कानुनमा पनि सुधार आवश्यक छ ।

नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता दिए निजी क्षेत्रले अर्थतन्त्र नयाँ उचाइमा पुर्‍याउँछ

हरेक देशले विकासका लागि एउटा सामर्थ्य बनाएको हुन्छ । नेपालको ठूलो सामर्थ्य भनेको ऊर्जा हो ।  हामी छिट्टै ऊर्जामा आत्मनिर्भर र बचतको अवस्थामा पुग्दै छौं । उद्योगहरूलाई सस्तोमा बिजुली उपलब्ध गराएर उत्पादन र रोजगारी बढाउने औजारका रूपमा यसलाई प्रयोग गर्न सकिन्छ । यी विषयमा सरकार र निजी क्षेत्रबीच निरन्तर छलफल र सहकार्य हुन आवश्यक छ । दुवै मिलेर समाधान निकाल्नुपर्छ जस्तो लाग्छ ।

मेरो प्रश्नको आशय के पनि थियो भने कुनै उद्यमीले कम्पनी दर्ता गर्दा, कर तिर्दा वा सरकारी अड्डाहरूमा जाँदा व्यावहारिक रूपमा कस्ता झमेला भोग्नुपर्छ ? ती साना देखिने तर झन्झटिला प्रक्रियाले लगानीकर्ताको मनोबलमा कस्तो प्रभाव पारेको छ ? त्यहाँ के–कस्ता सुधार आवश्यक छन् ?

साना देखिने तर प्रशासनिक झमेलाहरूले लगानीकर्तालाई निकै दिक्क बनाउँछन् । राहदानी वा सवारी चालक अनुमतिपत्र जस्ता सामान्य सेवासमेत व्यवस्थित गर्न नसक्नु लाजमर्दो कुरा हो । उद्योग व्यवसाय गर्न प्रशासनिक बाहेक पनि अनेक अवरोध छन् । जग्गाप्राप्ति, वनको समस्या तथा स्थानीय माग पूरा गर्नुपर्ने अनेक समस्याका पहाड नै छन् । यसले गर्दा उद्यमीहरूमा निराशा पैदा भएको छ ।

एउटा कुरा स्पष्ट हुनुपर्छ, जब निजी क्षेत्रले लगानी गर्छ, उसले स्वाभाविक रूपमा नाफाको अपेक्षा राख्छ । नाफा भएपछि मात्र उसले थप रोजगारी सिर्जना गर्न, कर तिर्न र सम्पत्ति सिर्जना गर्न सक्छ । कसैले ‘म नाफाका लागि होइन, केवल समाजसेवा वा रोजगारीका लागिमात्र उद्योग खोल्दै छु’ भन्छ भने त्यो दिगो हुँदैन । त्यसैले, नियम–कानुनको परिधिभित्र रहेर निजी क्षेत्रलाई कसरी नाफा कमाउन दिने र लगानी सुरक्षित गर्ने भन्नेतर्फ राज्यको सोच हुनुपर्छ । यस्तो वातावरण बनेमा लगानी आफैं आकर्षित हुन्छ । कसैले उद्योग खोलेर सयौँलाई रोजगारी दिन चाहन्छ भने सरकारले उसलाई प्रशासनिक उल्झनमा पार्ने होइन, ‘रेड कार्पेट’ बिछ्याएर स्वागत गर्नुपर्छ ।

यहाँले स्पष्ट संकेत गर्नुभयो कि हाम्रो समाज, सरकार र कर्मचारीतन्त्रमा अझै पनि व्यवसाय विरोधी (एन्टिबिजनेस) मनोविज्ञान छ । जेनजी आन्दोलन क्रममा निजी क्षेत्रमाथि भएका भौतिक आक्रमणले युवामा पनि यो भावना गहिरो गरी गडेको देखिन्छ । यो नकारात्मक सेन्टिमेन्ट सुधार्न के गर्नुपर्छ जस्तो लाग्छ ?

एकातिर निजी क्षेत्र अझ बढी जिम्मेवार र पारदर्शी हुनुपर्छ भन्नेमा दुई मत छैन । तर, अर्कातर्फ युवाहरूमा जुन निराशा देखिएको छ, त्यसको मुख्य कारण म ‘कुशासन’ लाई नै मान्छु । सबैका लागि समान अवसर नहुँदा र केही सीमित वर्गले मात्र लाभ पाउने स्थिति देख्दा आक्रोश हुनु स्वाभाविक हो । त्यसैले सुशासनको माग एकदमै जायज छ ।

अघिल्लो आन्दोलनमा निजी क्षेत्रमाथि जुन आक्रमण भयो, त्यो त्यही निराशाको उपज हो । निजी क्षेत्रले बुझाउन सकेनौं कि, गलत काम गर्ने १–२ प्रतिशत होलान्, त्यसको कारणले समग्र निजी क्षेत्रलाई अविश्वास गर्नु हुँदैन । धेरैजसो निजी क्षेत्रले कर तिरेको छ, देशको विकास होस्, रोजगारी सिर्जना होस् भन्ने चाहन्छन् । हाम्रो ‘जीडीपी–कर’ अनुपात दक्षिण एसियामै उत्कृष्ट हुनुले पनि यो पुष्टि गर्छ ।

केहीले ‘सेटिङ’ मा व्यापार गरेका होलान्, तर ती २ प्रतिशतका कारण बाँकी ९८ प्रतिशतलाई हेर्ने दृष्टिकोण नकारात्मक हुनु हुँदैन । कसैले आफ्नो वैध कमाइबाट गाडी किन्छ र त्यसमा २ सय ४० प्रतिशत कर तिरेको हुन्छ, त्यसअघि नै आयकर तिरेको कमाइबाट उसले गाडी किन्न सकेको छ । त्यस्ता व्यक्तिलाई प्रोत्साहित गर्ने कि उसको घर जलाउने ? यो कुरा समाजलाई बुझाउन जरुरी छ ।

तपाईंले नै भन्नुभयो, थोरै मात्रामा भए पनि निजी क्षेत्र पनि सुध्रिन बाँकी छ । भारतमा एयर इन्डियाको निजीकरण हुँदा त्यहाँ जनताले उत्सव मनाए, तर नेपालमा नेपाल एयरलाइन्स निजीकरण गर्ने कुरा उठ्दा विरोध हुन्छ । नेपालमा निजी क्षेत्रले जनताको विश्वास जित्न किन नसकेको हो ?

यो धेरै हदसम्म नेपालको राजनीतिक भाष्यका कारण भएको हो जस्तो लाग्छ । त्यसका कारण आम मानसिकता नै निजी क्षेत्रको विरोध गर्ने किसिमको बनेको छ ।

सरकारको काम उद्योग–व्यवसाय चलाउने होइन । सरकारले उद्योग चलाउँदा त्यो कहिल्यै प्रतिस्पर्धी र नाफामूलक हुन सक्दैन, राम्रो मूल्य अभिवृद्धि गर्न सक्दैन । नेपाल विद्युत् प्राधिकरण वा टेलिकम जस्ता संस्थालाई अझै प्रभावकारी बनाउन निजीकरणको मोडेलमा लैजानुपर्छ । सरकारको वास्तविक जिम्मेवारी नियमन गर्ने, सामाजिक सुरक्षा दिने, पूर्वाधार बनाउने र सुशासन कायम गर्नेमात्र हुनुपर्छ । सरकार उद्योग–व्यवसाय चलाउने झमेलामा अल्झिनु हुँदैन ।

सुरक्षा र सुशासनको ग्यारेन्टी भयो भने निराशा कम होला

रास्वपाले ‘प्रो–प्राइभेट सेक्टर’ नीति लिने र करको दर घटाउने प्रतिबद्धता जनाएको छ । तर, प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहले भने उदयपुर सिमेन्ट उद्योग अगाडि उभिएर सरकारी उद्योगको संरक्षण र संवर्द्धन गर्नुपर्ने कुरा उठाएका थिए । यदि नयाँ सरकार सरकारी उद्योग आफैं चलाउने दिशामा गयो भने त्यसको नतिजा कस्तो होला ?

हामीले विश्वव्यापी अभ्यास हेर्नुपर्छ । भारतमा धेरै क्षेत्र निजीकरण भइसकेका छन्, चीन राजनीतिक रूपमा कम्युनिस्ट भए पनि उद्योग व्यवसायमा निजी क्षेत्र छ । कुनै पनि देशको सरकारले उद्योग चलाएर जनतालाई ठोस प्रतिफल दिएको उदाहरण मैले पाएको छैन । त्यसैले हामीले अर्कै बाटो समातेर सफल हुन्छौं भन्नु एउटा नौलो प्रयोग त होला, तर यसको सफलतामा शंका छ ।

सीमित नै होला, २–४ व्यवसायी नै होलान्, तर  राज्यका शक्तिसँग मिलेर लाभ लिने ‘क्रोनी क्यापिटलिज्म’ को अभ्यास नेपालमा तीव्र छ । त्यसकै कारण समग्र व्यवसायप्रति जनताको धारणा बिग्रिएको भन्नेमा यहाँ सहमत हुनुहुन्छ ?

पक्कै पनि, केही सीमित वर्गले अनुचित लाभ लिँदा समग्र निजी क्षेत्रप्रति मानिसको रिस उठेको हो । यो यथार्थ म स्वीकार गर्छु । तर, ९५ प्रतिशत व्यवसाय देशको कानुन पालना गरेरै चलेका छन् । अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।

रास्वपाले आफूलाई निजी क्षेत्रमैत्री भनेको छ र करको दर घटाउने प्रतिबद्धता पनि जनाएको छ । उनीहरूको प्रतिबद्धता कार्यान्वयन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि आफ्नो घोषणापत्र पूरा गर्न सकेन भने त्यो निकै निराशाजनक हुनेछ । रास्वपाका घोषणापत्रका विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विषयहरू उत्साहजनक छन् । तर, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भन्ने विषय राजनीतिक रेटोरिक बनिसकेको छ । साँच्चै प्रोत्साहन गर्ने हो भने त्यो नतिजामा देखिनुपर्छ । यहाँ त सरकारले कुनै नीति परिवर्तन गर्दा कुनै उद्योगलाई फाइदा भयो भने त्यसमा कुनै न कुनै निहित स्वार्थ होला भनेर प्रतिक्रिया जनाउने प्रवृत्ति छ । यस्ता टिप्पणी सामना गर्दै सही नीति अघि बढाउने आँट सरकारसँग हुनुपर्छ । यदि निजी क्षेत्रलाई नियमसंगत नाफा कमाउने अवसर नै दिइएन भने रोजगारी सिर्जना र राजस्व संकलन कसरी सम्भव हुन्छ ? मलाई विश्वास छ, यो नयाँ सरकारसँग त्यस्तो आँट हुनेछ ।

नयाँ सरकारलाई तपाईंका सुझाव चाहिँ के छन् ?

मुख्यतया म चार वटा सुझाव दिन चाहन्छु । पहिलो, समय सान्दर्भिक नभएका करिब २० वटा पुराना कानुन तत्काल परिवर्तन गर्नुपर्छ । दोस्रो, राजस्व न्यायाधीकरणलाई शक्तिशाली बनाउनुपर्छ, त्यसमा निजी क्षेत्रको पनि सहभागिता होस् । यसको निर्णय अन्तिम होस् र एउटै प्रकृतिका मुद्दा सर्वोच्च अदालतमा दशकौंसम्म अल्झिन नपरोस् ।

निजी क्षेत्रलाई नियमसंगत नाफाको अवसर दिने आँट नयाँ सरकारसँग हुने विश्वास छ

तेस्रो, हाम्रा मुख्य सामर्थ्य भएका क्षेत्र ऊर्जा, श्रम, सुशासन र पर्यटनलाई पहिचान गरी तिनबाट लाभ लिन सक्नुपर्छ । हामीसँग सम्पदा छन्, त्यसबाट फाइदा लिन सकेका छैनौं ।

बुद्ध र सीताको जन्मभूमि अनि पशुपतिनाथ जस्ता पवित्र स्थललाई भारतको अयोध्या वा दक्षिण भारतीय मन्दिरहरूको मोडेलमा विकास गरी आर्थिक लाभ लिन सकिन्छ । हामीले सधैं कम खर्च गर्ने पर्यटकलाई मात्र ध्यान दियौं, अब हिमाल र भौगोलिक सुन्दरता देखाएर उच्च खर्च गर्ने पर्यटक तान्ने पूर्वाधार बनाउनुपर्छ । राज्यले पूर्वाधार मात्रै बनाइदिए पुग्छ, त्यसबाट आर्थिक लाभ लिन सकिन्छ । नेपालमा यस्ता ठाउँ छन्, जहाँबाट कैलाश पर्वत नजिकैबाट देख्न सकिन्छ । त्यहाँसम्म राज्यले पूर्वाधार बनाइदिने हो भने त्यहाँ निजी क्षेत्रले लगानी गर्छ, जसबाट ठूलो फाइदा लिन सकिन्छ ।

हामी कहिलेकाहीँ अतिराष्ट्रवादतर्फ जान्छौं, जसबाट कुनै लाभ हुँदैन । हाम्रो परराष्ट्र नीति ‘नेपाल फर्स्ट’ हुनुपर्छ । जसले आर्थिक लाभ र रोजगारी सिर्जना गर्छ, त्यो नै वास्तविक राष्ट्रियता हो । केवल भावनात्मक अति–राष्ट्रवादले हामीलाई कतै पुर्‍याउँदैन ।

नयाँ सरकारमा यहाँले कस्तो अर्थमन्त्री देख्न चाहनुहुन्छ ?

विगतका सरकारले सामाजिक सुरक्षा र वित्तीय व्यवस्थानमा धेरै खर्च गर्थ्यो । पूर्वाधारमा खर्च गर्ने बजेट बाँकी रहन्नथ्यो । यो सरकारले त्यस्तो कुनै ‘ब्यागेज’ बोकेको छैन, त्यस्तो खर्च घटाएर पूर्वाधारमा खर्च गर्नुपर्छ, त्यो गर्न सक्ने अर्थमन्त्री हुनुपर्छ । निजी क्षेत्रलाई विश्वासमा लिने अर्थमन्त्री हुनुपर्छ । विश्वव्यापी परिवर्तन (जस्तै: कृत्रिम बुद्धिमत्ता (एआई) बुझ्ने अर्थमन्त्री चाहिन्छ । केवल राजस्व संकलनमा मात्र नभई उत्पादन र रोजगारीमा केन्द्रित हुने सोच भएको व्यक्ति हुनुपर्छ । हाम्रो करको दर दक्षिण एसियामै उच्च छ, यसलाई घटाएर उपभोग बढाउने आँट भएको व्यक्ति चाहिन्छ । भारतमा जीएसटीको दर घटाउँदा उपभोग ३० प्रतिशत बढेको थियो । त्यसो हुँदा उत्पादन र उपभोग बढाउने सोच भएको अर्थमन्त्री चाहिन्छ । अहिले चर्चामा रहेका डा. स्वर्णिम वाग्ले जस्तो अन्तर्राष्ट्रिय अनुभव र स्पष्ट दृष्टिकोण भएको व्यक्तिले यो परिवर्तन ल्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।

हाम्रोमा बंगलादेश, भियतनाम, लाओस, क्याम्बोडिया जस्ता देशसँग तुलना गर्दा वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा नेपाल अत्यन्तै कमजोर छ । यसमा के गर्‍यो भने सुधार होला ?

वैदेशिक लगानी रहर गरेर मात्रै आउँदैन, सभासम्मेलनमा राम्रो प्रस्तुति दिएर पनि आउँदैन । यसका लागि प्रतिफलको सुनिश्चितता चाहिन्छ । स्वदेशी र विदेशी लगानीकर्ताका लागि समान अवसर हुनुपर्छ । यद्यपि, कृषि र डेरीजस्ता संवेदनशील क्षेत्रमा वैदेशिक लगानी ल्याउँदा हाम्रा किसान र स्थानीय इकोसिस्टममा पर्ने दीर्घकालीन असरबारे सोच्न जरुरी छ । अहिले बैंकहरूमा पर्याप्त तरलता छ, नेपाली लगानीकर्ता आफैं लगानी गर्न सक्षम छन् । उदाहरणका लागि सिमेन्टमा पहिले नै उत्पादन बढी छ भने त्यहाँ थप विदेशी लगानी किन चाहियो ? वैदेशिक लगानीले प्रविधि त ल्याउँछ, तर यसले लाभांशका रूपमा पूँजी बाहिर पनि लैजान्छ । त्यसैले यसलाई फिल्टर गरेर रणनीतिक रूपमा पूर्वाधार र पर्यटन जस्ता क्षेत्रमा मात्र आकर्षित गर्नुपर्छ ।

नेपालीहरूलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने तर विदेशीलाई मात्र ल्याउने नीति कत्तिको व्यावहारिक छ ? नेपालीलाई पनि विदेशमा लगानी गर्न दिएर रेमिट्यान्स मात्रै होइन, लाभांश पनि भित्र्याउने वातावरण बनाउनुपर्दैन ?

विदेशमा लगानी गर्न दिनुपर्छ भन्नेमा सहमत छु । हाम्रा स्थापित उद्योगहरूलाई विदेशमा लगानी गर्न दिने हो भने त्यसको लाभांश कानुनी रूपमै देशमा भित्रिन्छ । यसले हाम्रा उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढाउनुका साथै देशलाई नै फाइदा पुर्‍याउँछ । त्यसो हुँदा नेपालमा उत्कृष्ट काम गर्ने बोनाफाइड उद्योगलाई विदेशमा लगानी गर्न खुला गर्नुपर्छ ।

जेनजी आन्दोलन क्रममा निजी क्षेत्रमा भएको आक्रमणको त्रास अझै बाँकी छ कि छैन ?

त्यो त्रास सकियो त कसरी भनौं । २४ भदौमा निजी क्षेत्रमाथि भएको आक्रमणको डर सकिएको छैन । त्यस्ता घटना फेरि नहुने ग्यारेन्टी कसैले दिने हो भने स्वीकार्न सकिन्छ । त्यसबेला जुन मूल्य निजी क्षेत्रले चुकायो, त्यो सुशासनका लागि थियो, अब सुशासन कायम हुन्छ भन्ने ग्यारेन्टी राज्यले दिन्छ भने त्यो पनि स्वीकार गर्न सकिन्छ । सुरक्षा र सुशासनको ग्यारेन्टी भयो भने जेनजी आन्दोलनबाट निजी क्षेत्रमा छाएको निराशा बिस्तारै कम होला भन्ने आशा गर्न सकिन्छ । तर, त्यसो भन्दै गर्दा निजी क्षेत्रमा भएको आन्दोलन जेनजीले गरेका होइनन् भन्ने पनि बिर्सनु हुँदैन । आन्दोलनको आडमा लुटपाट र हिंसा गर्नेहरूलाई कानुनी दायरामा ल्याउनैपर्छ । त्यसो नगर्ने हो भने हामी यस्तो वर्गलाई जन्म दिनेछौं, जसले म कसैको घर जुनसुकै बेला लुट्न सक्छु जे पनि जलाइदिन सक्छु भन्ने सोच राख्ने छ । दण्डहीताले त्यो मानसिकतालाई प्रोत्साहन गर्ने छ ।

यस सन्दर्भमा अन्तरिम सरकारबाट कस्तो व्यवहार पाउनुभयो र नयाँ सरकारबाट के अपेक्षा छ ?

नयाँ सरकारले यसअघि जाहेरी परेका घटनाहरूको निष्पक्ष छानबिन गरोस् भन्ने मेरो अपेक्षा छ । आगजनी र लुटपाट गर्ने उद्देश्यले आएकालाई सरकारले कानुनी दायरामा ल्याओस् भन्ने अपेक्षा छ ।

धेरै समयपछि आशाको किरण देखिएको छ । म निजी क्षेत्रका साथीहरूलाई विगतका अप्रिय घटना बिर्सेर लगानी बढाउन आग्रह गर्छु । यदि सरकारले आफ्नो प्रतिबद्धता अनुसार प्रोत्साहन गर्ने हो भने आगामी ५ वर्ष नेपालका लागि ‘स्वर्ण युग’ हुन सक्छ ।

तस्वीर तथा भिडियो  : आर्यन धिमाल/अनलाइनखबर

भारतीय स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते


२९ फागुन, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् ।

बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेडओ ७७७ नम्बरको भारतीय स्कारपियोले पैदल हिँडिरहेका बरहथवा–९ का ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए । पछि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रौतहटको दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल टाउकोमा गम्भीर चोट लागेको छ । उनको बरहथवास्थित हनुमन्त अस्पतालमा उपचार भइरहेको छ । अन्य १० जना घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्कारपियो र चालक बरहथवा नगरपालिका–१२ लौकठका ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोलो र प्लेबक्स एरेना विजयी –

News Summary

  • हिमालयन जाभा नेसनल बास्केटबल लिग मा सोलो बास्केटबलले लगातार दोस्रो जित हासिल गरेको छ ।
  • सोलोले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९-६९ ले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
  • प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८५-८१ ले पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

२९ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सोलो बास्केटबल र प्लेबक्स एरेना विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारै साँझ सम्पन्न खेलमा सोलो बास्केटबलले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९-६९ ले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ ।

सोलोले पहिलो क्वाटरमा २४-१३ र दोस्रो क्वाटरमा १४-१० को अग्रता लिँदै हाफटाइमसम्म ३८-२३ को अग्रता बनाएको थियो । रोएल्सले तेस्रो क्वाटर २५-१९ ले आफ्नो पक्षमा पार्दे दूरी घटाउने प्रयास गरेको थियो । तर चौथो क्वाटर सोलोले २२-२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

सोलोको यो लगातार दोस्रो जित हो । यसअघि सोलोले पहिलो खेलमा प्लेबक्स एरेनालाई पराजित गरेको थियो । सोलोका प्रगुन महर्जनले सर्वाधिक २६ अंक जोडे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

रोएल्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा रोएल्स कीर्तिपुरसँग पराजित भएको थियो ।

शुक्रबार राती सम्पन्न अर्को खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५-८१ ले पराजित गरेको हो ।

कीर्तिपुरको यो पहिलो हार हो । कीर्तिपुरले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।

समानुपातिक सांसद छनोटले हर्क साम्पाङको टाउको दुखाइ

News Summary

  • निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण गरेपछि श्रम संस्कृति पार्टीमा सांसद आकांक्षीहरूको दौडधुप सुरु भएको छ।
  • पार्टी अध्यक्ष हर्क साम्पाङले समानुपातिक सांसद छनोटमा विवाद हुँदा सामाजिक सञ्जालमा भात खाऊ, मेरो टाउको नखाऊ लेखेर असन्तुष्टि व्यक्त गरेका छन्।
  • समानुपातिक सांसद बन्ने नाम तीन दिनभित्र आयोगलाई बुझाउनुपर्ने भएकाले पार्टीभित्र महिला र जातीय प्रतिनिधित्वसम्बन्धी दबाब र विवाद बढेको छ।

२९ फागुन, सुनसरी । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण गरे लगत्तै श्रम संस्कृति पार्टीमा सांसदका आकांक्षीहरूको दौडधुप सुरु भएको छ । समानुपातिकको बन्द सूचीमा नाम भएका कतिपयले सामाजिक सञ्जालमार्फत आफू सांसद बन्न पाउनु पर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।

समानुपातिक तर्फ ४ सिट जितेको यो पार्टीका अध्यक्ष हर्क साम्पाङलाई सांसद छनोट टाउको दुखाइ भइसकेको छ । यो कुरा साम्पाङले सामाजिक सञ्जाल फेसबुक समेत लेखेका छन् ।

सुनसरी–१ बाट निर्वाचित सांसद समेत रहेका साम्पाङले लेखेका छन्, ‘भात खाऊ । मेरो टाउको नखाऊ ।’ यति लेखेर चित्त नबुझेर होला उनले अझै प्रष्ट पार्दै लेखेका छन्, ‘समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु । हद भो !’

श्रम संस्कृतिले आयोगमा बुझाएको बन्दसूचीमा रहेकी समला साम्पाङ राई, आशा लामा लगायतले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्नो आकांक्षा सार्वजनिक गरिसकेका छन् ।

समलाले अध्यक्ष साम्पाङले आफूलाई नै समानुपातिक सांसद बनाउनुपर्ने भन्दै फेसबुकमा पोष्ट समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘दाजु (हर्कराज साम्पाङ) कुरा गर्नु छ भन्दा नि पर जा पर जा भन्ने नत्र बहिनी यस्तो समस्या छ, तिमीहरूले दुःख गर्‍यौ, समानुपातिकमा यो समस्या छ । अरू जाओस् भनेर एकपटक सम्झाउनु भयो । मैले कुरा कति राख्न खोज्दा । साम्पाङ भाषाबाट पनि भनिन कि, मैले हरेक कुरामा बचाउने मेरो कुरा सुनुवाइ किन भएन, कारण के हो ? बाध्यता भयो मिडियामा बोलिहालेँ । के म गलतै छु त भने कोही कसैले भन्नुहोला ।’

पार्टीको साधारण सदस्य समलाले धरानका अन्य मिडियालाई पनि समानुपातिक सांसद आफू हुनुपर्ने अडान राख्दै अन्तर्वार्ता दिएकी छन् । उनले बिहीबार राति सामाजिक सञ्जालमा पार्टीमा आफ्नो धेरै योगदान रहेकाले सांसद बन्न पाउनु पर्ने उल्लेख गरेकी छन् ।

समलाको नाम आदिवासी जनजाति महिलाको १६औं नम्बरमा छ ।

त्यस्तै, बन्दसूचीमा नाम भएकी आशा लामाले समानुपातिकमा आफूलाई नलगे हर्क साम्पाङको घरमा धर्ना बस्ने धम्की दिएको उल्लेख गरेकी छन् । आदिवासी जनजाति महिला तर्फ लामाको नाम तेस्रो नम्बर छ । लामा आफू नै समानुपातिक सांसद हुनुपर्ने भन्दै दबाब दिन काठमाडौंबाट धरान आएकी छन् ।

प्रत्यक्षतर्फबाट निर्वाचित अध्यक्ष साम्पाङ, ध्रुवराज राई र आरेन राई तीनै जना आदिवासी जनजाति क्लस्टरका पुरुष हुन् । श्रम संस्कृतिले समानुपातिकका चार मध्ये तीन सांसद महिला पठाउनु पर्ने देखिन्छ । किनभने उसको कुल सात मध्ये ३३.३३ प्रतिशत महिला हुनै पर्दछ ।

लैंगिक मात्र होइन खसआर्य, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू क्लस्टर पनि मिलाएर पठाउनु पर्ने हुन्छ ।

आयोगले समानुपातिकबाट सांसद बन्नेहरूको नाम तीन दिनभित्र बुझाउन भनेको छ ।

इरानी राजदूत –


२९ फागुन, काठमाडौं । भारतका लागि इरानी राजदूत मोहम्मद फतालीले मध्यपूर्व तनावका बिच स्टे«ेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिने बताएका छन् । इजरायल–अमेरिकासँगको युद्धमा इरानले स्टे«ेट अफ हर्मुज बन्द गरेको छ । जसले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको संकट पैदा भएको छ ।

सोही प्रसंगमा भारतस्थित इरानी राजदूत फतालीसँग पत्रकारले इरानले भारतलाई सुरक्षित बाटो दिने वा नदिने भन्ने प्रश्न सोधेका थिए ।

जसको जवाफमा फतालीले भने, ‘दिन्छौँ । किनभने भारत हाम्रो मित्र हो ।’ भारत र इरानबिच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध छ । सोही कारण भारतले इरानबाट ठुलो मात्रामा इन्धन आयात गर्दै आएको छ ।

‘हाम्रो मान्यता छ कि इरान र भारत मित्र हुन र हाम्रा हितका मुद्दा समान छन्,’ पत्रकारको प्रश्नमा राजदूत फतालीले भने, ‘भारतमा इरानको राजदूत हुनुको नाताले भारत सरकार यस स्थितिमा युद्धपछि अलग–अलग क्षेत्रमा इरानको मद्दत गर्नेछ भन्ने अपेक्षा छ ।’

शुक्रबार भारतको पेट्रोलियम र ग्यास मन्त्रालयले स्टे«ट अफ हर्मुजमा भइरहेको नाकाबन्दीलाई लिएर चिन्ता प्रकट गरेको थियो । मन्त्रालयकी सचिव सुजाता शर्माले भनेकी थिइन्, ‘स्ट्रेट अफ हर्मुज भएर हाम्रो ठुलो तेल आयात हुन्छ ।’ यद्यपि नाकाबन्दीका बाबजुत पनि हालसम्म स्टक नरित्तिएको उनले दाबी गरेकी थिइन् ।

नेपालमा पनि भारतबाटै पेट्रोलियम पदार्थ आयात हुन्छ । भारतमा नै त्यसको संकट भएको अवस्थामा नेपालमा झन् कठिनाइ हुने चिन्ता बढिरहेको छ ।

सम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमको चासो


२९ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रस्तावित गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपपछि घरमै आराम गरिरहेका छन् । धुलोधुँवासहितको लगातार यात्राका कारण उनी हल्का बिरामी रहेका हुन् ।

छाती र खुट्टामा हल्का समस्या देखिएपछि आराम गरिरहेका पार्टी सभापति रवि लामिछानेलाई बिहीबार निवासमा गएर भेट्नेबाहेक बालेन कसैसँग भेट गरिरहेका छैनन् । सभापति लामिछाने र बालेनबीच आगामी सरकारको सम्भावित खाकाबारे मोटामोटी कुराकानी भए पनि उनीहरू मन्त्रीहरूको नाम र कार्यविभाजनको मुद्दामा प्रवेश गरिनसकेको बालेनका सहकर्मीले अनलाइनखबरलाई बताए ।

‘रवि दाइलाई सन्चो नभएकाले बालेन भेट्न गएका हुन्, खासमा उनलाई पनि सन्चो छैन,’ बालेन टिमले भन्यो, ‘कसैसँग भेट गर्ने कुरै भएन । फेसबुकमा मन्त्रीको नाम आइरहेको छ, तर रवि दाइ र बालेनले नै यो विषयमा प्रवेश नगरेपछि अरुले भन्दै हिँड्नुको अर्थ पनि छैन ।’

समानुपातिक तर्फका सांसदको संख्या बल्ल किटान भए पनि नाम फाइनल नभएको अवस्थामामा सरकारको टिमबारे बोल्न हतारो नगर्न बालेन टिमले आग्रह गरेको छ ।

‘१२–१३ जनाभन्दा धेरै मन्त्री सायद हुँदैनन् भन्नेमा नेताहरू प्रष्ट छन्, तर को को कुन मन्त्रालय जाने भन्नेमा अहिले प्रवेश नै भएको छैन,’ एक सहकर्मीले भने, ‘पहिले रेस्ट गर्न दिउँ न । आफू पनि रेस्ट गरुँ । नेपालीहरूले मरीमरी काम गर्न पनि जानेका छैनन्, रेस्ट गर्न पनि जानेका छैनन् ।’

रास्वपाको विधानमा पार्टी सदस्यहरुले समेत संसदीय दल नेता छान्ने उल्लेख भए पनि बालेनसँग लामिछानेले गरेको पूर्वसहमतिकै स्पिरिटमा विधान संशोधन गर्न लागिएको पार्टीले जानकारी दिएको छ ।

यसअघि ०७९ को चुनावमा समेत सांसदकै निर्णयले संसदीय दल नेता चुनिएको भन्दै नेताहरूले यसपल्ट पनि सोही बमोजिम निर्णय हुने बताए ।

सभापति लामिछाने र वरिष्ठ नेता बालेन दुवै स्वास्थ्यलाभ गरिरहेकाले अनावश्यक अनुमान र टिप्पणीमा नओर्लन रास्वपा नेतृत्वले पार्टीपंक्ति र आकांक्षीलाई सजग गराएको छ । आफूहरू मन्त्रीको विषयमा प्रवेश गर्नै बाँकी रहेको नेताहरूले बताएका छन् ।

अर्थमन्त्रीमा हालका मन्त्री रामेश्वर खनालको नाम ल्याउँदै प्रचार गरिएकोमा बालेन टिमले चासो देखाएको छ । यसअघि रास्वपाको एक कार्यक्रममा सभापति लामिछानेले उपसभापति स्वर्णिम वाग्लेलाई बजेट लेख्ने तयारी गर्न मञ्चबाटै आग्रह गरेका थिए ।

पछिल्लो दिनमा रास्वपाभित्र टकराव बढेकाले वाग्लेको विकल्प खोजिन थालेको प्रचार भए पनि टिम बालेनले त्यसलाई खारेज गर्‍यो । अहिले भएकै सांसदहरुबाट मन्त्री बनाइने संविधान अनुरूप कार्यान्वयन गरिने उनीहरूले जानकारी दिएका छन् ।

‘खनालजीलाई अर्थमन्त्री प्रस्ताव गरिएको भन्ने हल्ला पूर्णत: झुटो हो, त्यो कहाँबाट के उद्देश्यका लागि फैलाइयो भन्ने थाहा भएन,’ बालेननजिक रहेका नेताहरूले अनलाइनखबरलाई भने, ‘यो भन्दा पहिलेका मन्त्रिपरिषद् गठन गर्दा जुन खाले लफडाहरू भए, ती अब हुँदैनन् । हामी आवश्यकताले जे देखाउँछ त्यो मात्रै गर्छौँ ।’

निर्वाचन आयोगले आइतबार साँझसम्ममा समानुपातिक सूची प्राप्त गरिसक्ने, त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रम छ । त्यसपछि मात्रै संसदीय दल नेता चयन, अनि सम्भावित मन्त्रीको नामबारे पार्टीभित्र छलफल हुने रास्वपाले बताएको छ ।

‘विशेष परिस्थितिमा भएको चुनावले अभूतपूर्व मत दिएको छ, त्यसको सन्देश पार्टीका सबैले बुझ्नुभएको छ,’ रास्वपा उच्च तहका नेताले भने, ‘त्यसैले रवि दाइ र बालेनबीचको सहमति जे हुन्छ, त्यसैलाई पार्टीले संस्थागत रूप दिने हो । विशेष परिस्थिति हो यो ।’

ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ


२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् ।

ओलीलाई समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’

केही समयअघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको बताए ।

‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेखेका छन् ।

नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृ…

नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥

पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।
‘पात्र एक, भूमिका अनेक।’
केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। 😥
पूर्व प्रधानमन्त्री K. P. Sharma Oli ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।

Source

इरानीलाई नेपालको ‘अन अराइभल भिसा’ बन्द –

News Summary

  • नेपाल सरकारले इरानका नागरिकलाई अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय गरेको छ।
  • इरानी नागरिकले अब नेपाल आउन सरकारी वा कूटनीतिक राहदानी बाहेक नेपाली दूतावासबाट भिसा लिनुपर्ने छ।
  • नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको संख्या १३ पुगेको छ, जसमा अफगानिस्तान र सिरिया पनि छन्।

२९ फागुन, काठमाडौैं । नेपालले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ ।

नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन् ।

अब नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको सूची १३ पुगेको छ । नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले यसअघि नै अन अराइभल भिसा दिँदैन । साथै, शरणार्थी हैसियतका नागरिकले समेत भिसा लिएर मात्र नेपाल आउन पाउँछन् ।

खानेपानी अभावपछि रित्तियो गाउँ –

News Summary

  • तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा पानी अभावका कारण आधाभन्दा बढी घर खाली भइसकेका छन् र बसाइँ सरेको छ।
  • आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भए पनि पानी वितरणमा समस्या भइरहेकाले स्थानीयले पानीको अभाव भोगिरहेका छन्।
  • स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीले विसं २०७४ देखि वर्षा नहुँदा र पिउने पानीका मुहान सुक्दा बसाइँ सर्नुको मुख्य कारण भएको बताए।

२९ फागुन, पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ ।

ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो । हाल विद्यालय अगाडिपट्टी कालुराम कार्की र तलपट्टी एक अर्को गरी केवल दुई परिवारको बसोबास छ । यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ ।

विद्युत् पनि विस्तार भएकाले अँध्यारोमा बस्नुपरेको छैन । ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन राखिएको छ । ढुकुरेभन्दा मुनि तमोर करिडोरमा पर्ने लखुवा दोभानदेखि तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ । यहाँ विकास गाउँ पस्दैछ, तर मान्छे बसाइँ सर्दैछन् । गाउँमा मानिसहरु भेट्न मुस्किल छ ।

स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अधिकांश छिमेकीले बस्ती छोडिसकेका छन् । उनी भने गाउँ छोडेर नजाने अठोटमा छन् । ‘मेरो घरछेउका पाँचवटा घर र अन्य गरी एउटै गाउँबाट ११ घर बसाइँ  सरेपछि बस्ती सुनसान रहेको देखिसक्नु भयो,’ उनले भने, ‘जङ्गलले ढाक्दै लगेको छ । बस्नेहरुको मनमा कुनै चमक छैन, न भविष्यप्रतिको कुनै आशा नै छ ।’

कार्कीका अनुसार यहाँ बसाइँ सर्नुको मुख्य कारणमा पानीको अभाव हो । ‘विसं २०७४ देखि केही वर्ष यहाँ वर्षा भएको छैन । वर्षा त हुन छाडेकै थियो, त्यसमाथि पिउने पानीका मुहान पनि सुक्दै गएका छन् । खानेपानीको हाहाकारजस्तै छ । त्यसैले पनि यहाँ बस्ने अवस्था छैन’ उनले भने ।

गर्भवती आधारभूत विद्यालयको आसपासबाट ११ परिवार मात्रै होइन, ढुकुरेको तल्लो गाउँबाट पनि सात घर बसाइँ सरिसकेका छन् । कार्कीका अनुसार डाँडागाउँभन्दा माथिबाट मात्रै १७ घर बसाइँ सरेका छन् ।

‘६० भन्दा बढी घर भएको ढुकुरेमा हाल २५ परिवार मात्रै छौँ होला । आधाभन्दा बढी बसाइँ सरिसकेका छन्’, उनले भने, ‘अब हामी मात्रै बाँकी रहने अवस्था बनेको छ । यहाँ सडक र विद्युत् सुविधा सहज भएको छ, तर खानेपानीको अभाव भएकाले समस्या भएको हो । यो समस्या समाधान भए बसाइँसराइ रोकिन्थ्यो कि !’

जमिन सुक्खा भएपछि आम्दानीका स्रोत पनि सुक्दै गएका छन् । आम्दानी नभएपछि जीवन गुजारा गर्न पनि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ ।

यहाँ करोडौँको लगानीमा आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको छ, तर पनि सबै ठाउँमा खानेपानी सुविधा दिन सकिएको छैन । ‘पम्पिङ खानेपानी पनि जोडेका छौँ, पानी आउँछ भनेको पनि धेरै भइसक्यो, तर चल्छ जस्तो लागेको छैन’, कार्कीले भने, ‘चार ठाउँबाट पम्पिङ गरेर पानी माथि ल्याउनुपर्ने हुन्छ । कहिले विद्युत् अवरुद्ध हुने त कहिले मेसिन बिग्रने समस्या छ । गाउँपालिकाले सञ्चालन गर्ने त भन्छ, तर काम भएको छैन ।’

कालुमानकी श्रीमती सरिता कुनै समय गुल्जारजस्तै लाग्ने बस्ती खाली भएको देख्दा आफूलाई उदेक लागिरहेको बताउँछिन् । ‘पहिले त छरछिमेक थिए, दुःख सुख बाँड्थ्यौँ, अहिले बाँझा घर हेरर उदेक लाग्छ । दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ’, उनले भने ।

लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सुरेन्द्रकुमार दाहालको घर छ । उनको घरमा बस्ने लीला दाहाल यहाँबाट बसाइँ सरेर तुम्बेवा–१ कै पसलटार गएकी छन् । पानी नभएपछि बसाइँ हिँड्नुपरेको उनको गुनासो छ ।

‘यहाँ नजिकै खानेपानीका मुहान छैनन् । धेरै माथिबाट ल्याएको सानो पानी सबैले बाँडेर खानुपरेको छ । हुन त पम्पिङ गरेर पानी ल्याइएको छ, त्यसले काम गरेको छैन । अभाव भएपछि के गर्नु, बसाइँ सर्नुको विकल्प छैन’, दाहालले भनिन्, ‘पसलटारमा खानेपानीको केही सुविधा छ, यहाँ (ढुकुरेमा) पानीको हाहाकार हुने अवस्था आएपपछि उतै सर्न लागेका हौँ ।’

छपन्न वर्षीया टुकमाया दाहालका छरछिमेकी पनि सकिँदै गएका छन्, उनको परिवार भने यही बसिरहेको छ । ‘वरिपरिका सबै छिमेकी र आफन्त बसाइँ सरिसके । हाम्रो त मधेसमा जग्गा जमिन छैन, यहाँ दुःख गर्नुको विकल्प पनि रहेन’ उनले भनिन् ।

तुम्बेवा गाउँपालिका–१ आहालेका लालबहादुर घिसिङ पानीको समस्या नै बसाइँसराइको प्रमुख कारण बनेको बताउँछन् । आहाले क्षेत्रका २३ परिवारले नजिकको मुहान सुकेपछि करिब निकै समस्या भोग्नुपरेको उनले बताए ।  ‘हाल घण्टौँ लगाएर पानी थाप्नुपर्छ । दिनमा जम्मा चार÷पाँच गाग्री पानी थाप्न पाइन्छ । पानी थाप्नकै लागि अरू काम छोड्नु परिरहेको छ’ उनले भने ।

आहालेकै कुलबहादुर तामाङका अनुसार आङ्ना–मौवा बृहत् खानेपानी आयोजना गत स्थानीय तहको निर्वाचनअघि नै उद्घाटन गरिएको थियो । अधिकांश क्षेत्रमा पाइपलाइन विस्तार भएको छ भने उपभोक्ताले धारा जडान गरिसकेका छन्, तर पानी वितरण भएको छैन ।

‘चुनावअघि खानेपानी आउँछ भनेर आयोजनाको उद्घाटन गरियो, तर हालसम्म पानी आएको छैन’, तामाङले भने, ‘फेरि चुनाव आयो तर पानी आएन ।’

तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्की खानेपानी अभावले निकै समस्या भोग्नुपरेको बताउँछिन् । ‘ट्याक्टरमा पानी ल्याएर गुजारा गरिरहेका छौँ । ट्याक्टरले पनि भनेको बेला ल्याइदिँदैन, त्यो पनि खोलाकै पानी ल्याइदिन्छ’, उनले सुनाइन्।

तुम्बेवा–३ मौवा बजारका सीताराम थापाले खानेपानीका लागि पुराना मुहानकै भर पर्नुपरेको र ती मुहान सुक्दै गएकाले अभाव बढ्दै गएको बताए । खानेपानी आयोजनाले लगानीअनुसार प्रतिफल दिएको भए यस्तो समस्या नआउने उनको बुझाइ छ ।

आङ्ना मौवा बृहत् खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवान भने तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि खानेपानी पम्पिङको काम सहज हुँदै गएको बताउँछन्। सम्पवेलमा पानी सङ्कलन र सञ्चालन राम्रोसँग भए पनि वितरण हुन नसकेको उनले बताए ।

‘समस्या समाधानको प्रयासमै छौँ । पानी वितरणका लागि सबैले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता छ । समितिसँग मर्मतसम्भार र संरचना निर्माण गर्ने बजेट छैन । गाउँपालिकाले बजेट छुट्याएको सुनेका छौँ, तर तत्कालै निकासा हुने अवस्था छैन । बजेट व्यवस्थापन भएमा विगतका जस्तो समस्या हुँदैन’ उनले भने ।

आइटी व्यवसायमा सक्रिय डुम्रे अब संसद् प्रवेश –


२९ फागुन, स्याङ्जा । सूचना प्रविधि (आइटी) तथा अन्य व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका स्याङ्जाका युवा झविलाल डुम्रे प्रतिनिधिसभामा निर्वाचित भएका छन् । स्याङ्जा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका डुम्रे फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

डुम्रेले २५ हजार ३५४ मतसहित जित निकाल्दा कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गरे ।

विजेता डुम्रे राजनीतिमा नयाँ भएपनि सामाजिक र सङ्गठनात्मक गतिविधिमा भने लामो समयदेखि सक्रिय छन् । रास्वपा स्थापना भएपछि उनले संगठन विस्तारमा सक्रिय भूमिका खेलेका थिए ।

वालिङ नगरपालिका- १४ छोरेखर्कमा २०४९ साल साउन ५ गते जन्मिएका डुम्रेले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । व्यावसायिक क्षेत्रमा सक्रिय उनी आफ्ना उद्योगमार्फत करिब दुई सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।

पछिल्लो समय पोखरा कर्मथलो बनाएर व्यवसाय र सामाजिक कार्यमा सक्रिय रहेका डुम्रे अब संसद् यात्रा गर्दै छन् । चुनावी अभियानका क्रममा उनले रोजगारी सिर्जना, उद्यमशीलताको विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा स्याङ्जामा कृषि, पर्यटन र उद्योगको सम्भावना उपयोग गर्ने एजेन्डा अघि सारेका थिए ।

‘स्याङ्जा–२ को विकासलाई केन्द्रमा राखेर अघि बढ्नेछु,’ डुम्रेले भने, ‘रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास र सुशासन स्थापनामा मेरो ध्यान केन्द्रित हुनेछ ।’ स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्योग तथा लगानी भित्र्याउने र विकासका योजनामा पारदर्शिता कायम गर्ने उनको प्रतिबद्धता छ ।

उपसचिव हुँदाहुँदै सुदूरपश्चिमका कृषि र भेटेनरी कार्यालय अधिकृतकै भरमा

News Summary

  • सुदूरपश्चिम प्रदेशमा उपसचिवस्तरका कर्मचारीलाई मन्त्रालय र निर्देशनालयमै थन्क्याएर अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।
  • मुख्यमन्त्री कार्यालयले कृषि, भेटेनरी, लाइभस्टक एन्ड डेरी समूहका उपसचिवको सट्टा छैटौँ र सातौँ तहका अधिकृतलाई कार्यालय प्रमुख बनाएको छ।
  • भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालयले उपसचिवस्तर कर्मचारी सरुवा अधिकारबारे एकअर्कालाई जिम्मेवारी देखाएर पन्छिरहेका छन्।

२९ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा उपसचिवस्तरका कर्मचारीलाई मन्त्रालय र निर्देशनालयमै थन्क्याएर अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको पाइएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ज्ञान केन्द्र एवं भेटेनरी तथा पशु सेवा केन्द्रको प्रमुख उपसचिवस्तरको कर्मचारी हुने प्रावधान छ ।

उपसचिव (नवौँ तह) का कर्मचारीको सरुवा गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छ । तर मुख्यमन्त्री कार्यालयले कृषि, भेटेनरी, लाइभस्टक एन्ड डेरी समूहका उपसचिव स्तरका कर्मचारीको सट्टा अधिकृतस्तर (छैटौँ र सातौँ तह) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।

प्रदेश लोकसेवा आयोगका अनुसार कृषि समूहतर्फ खुला प्रतिस्पर्धा र बढुवा गरेर १८ जना उपसचिव भएका छन् । तर मुख्यमन्त्री कार्यालयले उनीहरूमध्ये केहीलाई मात्र कृषि ज्ञान केन्द्रको जिम्मेवारी दिएको छ भने बाँकीलाई निर्देशनालयमा कामकाज गर्नेगरी खटाएको छ ।

कृषि ज्ञान केन्द्र डोटीमा दुर्गादत्त ओझा (सातौँ तह), बैतडीमा हरिदत्त जोशी (छैटौँ तह), बाजुरामा जशराम सहनी (छैटौँ तह) र बझाङमा जनक सिंह (सातौँ तह) लाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा र अछाममा भने दरबन्दीअनुसार नै उपसचिवलाई नै कृषि ज्ञान केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ । अन्यलाई कृषि मन्त्रालय र निर्देशनालयमै कामकाज गर्नेगरी खटाइएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पनि उपसचिवस्तरको कर्मचारी हुँदाहुँदै तल्लो स्तरकै कर्मचारीलाई प्रमुख बनाइएको छ । प्रदेशमा हालै बढुवा तथा खुला प्रतिस्पर्धाबाट भेटेनरी र लाइभस्टक एन्ड डेरी समूहमा ६ जना उपसचिव बनेका छन् ।

तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीअनुसार उनीहरूलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाएको छैन । बरु कृषि ज्ञान केन्द्र जस्तै उनीहरूको ठाउँमा निमित्तकै भरमा कार्यालय चलाइरहेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलाली, कञ्चनपुर र डडेलधुरा बाहेकका सबै जिम्मा निमित्तकै भरमा छन् ।

संगठन संरचनाअनुसार उपसचिवस्तरका कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी नदिएर तल्लो तहकालाई दिइएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिकामाथि प्रश्न उठेको छ । किनभने, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई आठौँ तहसम्मका कर्मचारी सरुवा गर्ने अधिकार छ भने उपसचिवस्तरका कर्मचारीको सरुवा मुख्यमन्त्री कार्यालयले गर्ने गरेको छ ।

हालै वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री कमलबहादुर शाहले पाँच लाख घुस मागेको आरोप लगाउँदै नदिएपछि आफ्नो सरुवा गरिएको दाबी गरेका छन् । आर्थिक चलखेलकै कारण कृषि ज्ञान केन्द्र तथा भेटेनरी तथा पशु सेवा केन्द्रमा समेत तल्लो तहको कर्मचारीलाई जिम्मेवारी दिइएको आरोप लाग्न थालेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भने यो विषयमा एकअर्कालाई देखाएर पन्छिरहेका छन् । कृषि मन्त्रालयका सचिव शंकर शाहले उपसचिव (नवौँ तह) को कर्मचारी सरुवा तथा पदस्थापन गर्ने अधिकार मन्त्रालयको नभएको बताए ।

‘हाम्रो मन्त्रालयलाई उपसचिवस्तरको कर्मचारीको सरुवा गर्ने अधिकार छैन,’ सचिव शाहले भने, ‘यो काम मुख्यमन्त्री कार्यालयबाटै हुने भएकाले हामीलाई थाहा हुँदैन । उतै बुझ्नुहोला ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्यालले भने कर्मचारीलाई नियुक्ति गर्ने काम भए पनि बाँकी कुरा सम्बन्धित मन्त्रालयले नै गर्ने दाबी गरे ।

‘हामीले कर्मचारीलाई नियुक्ति दिने हो । बाँकी सबै प्राविधिक कुरा मलाई पनि थाहा हुँदैन,’ अर्यालले भने, ‘यो विषयमा मैले पनि प्राविधिक कुरा बुझेको छैन । सम्बन्धित मन्त्रालयमै सोध्नुहोला ।’

कमरेडहरू भन्दैछन्– बालेनले के राजनीति जान्या छ ! –


एउटा युग नै बदलिएको सन्देश जाने गरी पछिल्लो चुनावी जनमत आयो नेपालमा। खासमा मलाई आज अरू नै कुरा गर्न थियो । तर यो एस्प्रेसो तयार पार्ने प्रेरणा मलाई मिल्यो, कमरेड खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्डबाट। ‘बालेनले के राजनीति जान्या छन्’ भन्ने प्रश्नबाट उनको चुनावी अभियान अघि बढेको रहेछ। यस्तै प्रश्न तीन वर्षअघिको आम चुनावका बेला रघुजी पन्त र लीलामणि पोखरेलले उठाएका थिए।

हामी एउटै टिभी अन्तर्वार्तामा बसेका बेला रघुजी र लीलामणि दुवैले ठोकुवा गरे, ‘नयाँ पुस्ताले मोबाइल चलाउन जानेको छ, राजनीति बुझेको छैन। हामीले नयाँ पुस्तालाई प्रशिक्षण दिनुपर्छ।’

वामपन्थीहरू त्रिकालदर्शी छन्। उनीहरूलाई कसैको शिक्षादीक्षा खाँचो पर्ने त होइन। द्वन्द्वात्मक भौतिकवादी ज्ञानले उनीहरू सम्पन्न छन्। तर उनीहरूले माग्दै नमागेको, उनीहरूलाई चाहिंदा पनि नचाहिएको कुरो आज गरिहालुँ। एक अर्थमा यसलाई लास्ट लेक्चर पनि भन्न सकिन्छ, किनभने सच्चिने कि सक्किने भन्ने प्रश्नमा छिर्न उनीहरू तयार देखिंदैनन्।

‘बालेनले के राजनीति जान्या छ’ भन्ने प्रश्न खड्गबहादुर विश्वकर्मा मात्रै होइन, अरू थुप्रै वामपन्थी गरिरहेका छन्। बालेन स्वयंले कति राजनीति बुझ्या छन् या छैनन्, भोलिका दिनमा देखिएला। तर उनीहरूले आजसम्म बुझें भनेको राजनीति चाहिं कस्तो छ त ?

राजनीति बुझ्ने भनेपछि हाम्रामा दुई चार सिद्धान्तका बुँदा घोकेर कण्ठस्थ पारेको, पार्टीका प्रशिक्षण कार्यक्रममा गएर फरर्र बोल्न सक्ने भन्ने बुझिन आयो, धेरै वर्षसम्म। व्यसासनमा बसेको पण्डितले खरर्र पुराण भने झैं शास्त्र र सूत्र फलाक्नु, अनि बाँकीले सुन्ने श्रोताले त्यसमध्येका दुई–चार सूत्र कण्ठ पार्नु चाहिं राजनीतिक बुझेको भन्ठान्ने हो भने त्यस्तो राजनीति बुझेर के काम ?

राजनीति बुझ्नु भनेको आजको युगको सबैभन्दा अप्ठेरो समस्या के हो भनेर बुझ्नु हो, नम्बर एक। नम्बर दुई, त्यो समस्यालाई सबैभन्दा सजिलो किसिमले समाधान गर्न कसरी सकिन्छ भनेर बुझ्नु हो। जस्तो कि काठमाडौंमा फोहोरको समस्या छ, धरानमा खानेपानीको समस्या छ, सिरहामा दलित छात्राहरूको बीचैमा कक्षा छाड्ने र बालविवाह हुने समस्या छ भने त्यही समस्यालाई सकेसम्म राम्रो गरी समाधान गर्नु चाहिं राजनीति बुझेको हो।

अहिले इरानमाथि अमेरिकी र इजरायली आक्रमणको कुरा गर्न जति महत्वपूर्ण छ, त्योभन्दा बढ्ता महत्वपूर्ण सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी किशोरी इनिशा विकको न्यायबारे बोल्नु बढ्ता महत्वपूर्ण छ। यहाँ थुप्रै वामपन्थी भनिनेहरू यस्ता विषयमा मौन रहन्छन्। नागरिकहरूले प्लेकार्ड बोकेर सडकमा आए भने एनजिओ र विदेशी चलखेल देख्न थाल्छन्।

सधैंजसो भूराजनीतिका लागि बाँचिरहेका, अनि राष्ट्रवादको कम्युनिस्ट भर्सन चलाइरहेका हाम्रा वामपन्थीजीहरूलाई यो कुरा कसले बुझाइदिने ! २०७२ को संविधान निर्माण हुने बेला हामी एउटा छलफलमा थियौं। तत्कालीन सद्भावना पार्टीमा रहेका मनीष सुमन, जो जसपा नेपालमा अहिले छन्, उनलाई एक वामपन्थी नेताले सोधे, ‘मधेशमा दाइजो प्रथा छ, बोक्सी प्रथा छ, भ्रष्टाचार मधेशमा छ। तपाईंहरूले खै समाधान गरेको ?’

सोध्दैगर्दा ती वामपन्थीले यो बिर्से कि २००६ सालमा खुलेको कम्युनिस्ट पार्टीले समाधान गर्न नसकेको समस्या सानो क्षेत्रीय पार्टीले समाधान गर्नुपर्ने भयो। यो त अस्ति केपी ओलीले महोत्तरीका गुइँठा दमकमा बालेर के काम भने जस्तो भयो। बालेनलाई हियाउने नाममा ओलीले आफू चारपल्ट प्रधानमन्त्री भएकै देशको नागरिकमाथि अपमान गरेका थिए।

घनश्याम भूसालले भनेका छन्, ‘देश नालायकले चलाएका थिए, अब लफङ्गाहरूले चलाउने छन्। म चाहन्छु, समयक्रममा म गलत सावित हुन सकुँ।’

विप्लव पनि त्यस्तै पारामा आए। यो बीचका १८ वर्षमा कहिले एकीकृत जनक्रान्तिका नाममा मजदुरको ज्यान जाने गरी बम हानेर, कहिले चुनावको सक्रिय बहिष्कारका नाममा आफैं एक्सपोज भएपछि भोट हाल्न गएका विप्लवले भनेका छन्, ‘यो चुनाव परिणाम जे आए पनि पूँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहन्छ।’

घनश्याम भूसालको पार्टीले समानुपातिकमा ल्याएको अति थोरै तर ‘क्वालिटी’ मतबारे यहाँ चर्चा नगरुँ। यी केवल मत होइनन्, आम नागरिक र आफ्ना बीचमा कति किलोमिटरको दूरी बनिसकेको छ भन्ने प्रमाण हुन्। त्यो दूरीलाई चुनावले देखाइदिएको मात्र हो। यथार्थमा त्यो दूरी पहिल्यै बनिसकेको थियो। यो कुरा सबैभन्दा बढ्ता एमाले र माओवादी अर्थात् नेकपाले बुझ्नुपर्छ।

मादलको खरी झरिसक्दा पनि नेतृत्व नछाड्ने नारायणमान बिजुक्छे र गिलास फुटिसक्दा पनि उही रट लगाइरहने चित्रबहादुर केसीहरूले बुझेर पनि अब खास पार लाग्ने देखिंदैन।

उखानै बन्या छ नि, ताउलोमा जाउलो छैन, प्रधान शत्रु अमेरिका ! खड्गबहादुर विश्वकर्मा प्रकाण्डले यो सबै विदेशी डिजाइनमा भइरहेको छ, बालेनहरू प्रयोग मात्रै भइरहेका हुन् भन्ने कुरा विना प्रमाण र आधार खरर्र भन्दिन सक्छन्। आजसम्म के, किन, कसरी भनेर कसैले सोध्ने लेठो पनि गरेको छैन। सोध्यो भने उनी शास्त्र, सूत्र पेलेर सोध्नेलाई नै हायलकायल पारिदिन्छन्।

त्यसैले लु है, कम्निस्टहरू। तपाईंहरू आफैं विचार गर्नुहोस्। ३० हजार मतान्तरले ०७९ को चुनाव जितेका नेमकिपाका प्रेम सुवाल यसपल्ट रास्वपाका रुकेश रन्जितसँग ५ हजार मतले हारे। केपी ओली आफ्नै क्षेत्रमा ५० हजारजति मतान्तरले हारे। प्रचण्ड त जित्नैका लागि भए पनि रुकुमपूर्व पुगेका थिए। बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई भोट हाल्ने निर्णय लिए। माधव नेपालदेखि शंकर पोख्रेलसम्मको हारबारे यहाँ लामो कुरा नगरुँ। यी केवल शिक्षा हुन्, लिने नलिने आआफ्नो रुचि र क्षमताको कुरो।

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

News Summary

  • पोखरामा सांसद महावीर पुनसँग किताब बेच्ने विषयमा विवाद हुँदा अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन्।
  • महावीर पुनले आफूलाई अपमानित गरिएको महसुस गरेपछि मुद्दा अगाडि बढाउन अनिच्छुक देखिनुभएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले बताए।
  • महावीर र विकासबीच भनाभन हुँदा विकासले \’थुक्क\’ भनेका थिए भने महावीरले पनि सोही शब्द फर्काएका थिए।

२९ फागुन, पोखरा । पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।

२५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको थियो । प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचनासमेत भइरहेको थियो ।

सांसद महावीर नै मुद्धा अगाडि बढाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

‘पूर्वमन्त्री तथा सांसदलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सोधपुचका लागि बोलाएका हौं,’ एसपी कार्कीले भने, ‘माननीयज्यूले नै गल्ती महसुस गरिसकेपछि मुद्दा अगाडि बढाउन अनिच्छुक देखिनुभयो र उहाँले पनि गल्ती महसुस गरेपछि छाडेका छौं ।’

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा जनताले नीति बनाउन जिताइसकेपछि पृथ्वीचोकमा किताब बेचिरहेका पुनसँग सांसदको काम किताब बेच्ने हो कि होइन भनेर सोधेको तर सोध्ने क्रममा आफूलाई रिस उठेको गुरुङले बताएका छन् ।

महावीरले पनि चर्केर जवाफ दिएपछि आफूलाई रिस उठेर बोलेको तर सांसदलाई अपमान गर्न हुँदैन थियो भन्ने पछि महसुस भएको विकासको भनाइ छ ।

कास्की प्रहरी प्रमुख कार्कीले के कारणले त्यति रिस उठेको रहेछ, सार्वजनिक ठाउँमा माननीयप्रति किन त्यस्तो व्यवहार भयो भनेर अनुसन्धानका लागि ल्याइएको तर सुनियोजित कुनै कारण नभएको र गल्ती महसुस गरेपछि छाडिएको बताए ।

महावीर पुनसँग सांसदको काम किताब बेच्ने हो भन्दै प्रश्न गरेका व्यक्तिबीच भनाभन हुँदै अपमानजनक व्यवहार भएको भन्दै प्रश्नसमेत उठेको थियो । महावीर र ती व्यक्तिबीच भनाभन हुँदै एकअर्काले ‘थुक्क’ भनेको भिडियो भाइरल बनेको थियो । महावीरमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरी र सुरक्षामाथि पनि प्रश्न उठेपछि सोधपुछका लागि पोखरा वडा नम्बर १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई पक्राउ गरेको थियो ।

‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा विकासले महावीरलाई सांसदको काम किताब बेच्ने नभएको बताएका थिए भने त्यही क्रममा भनाभन हुँदै अपमानजनक व्यवहारसमेत भएको थियो । महावीरले कृषि औजार चलाउन किताब बेचेको बताएका थिए ।

‘तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ?’ महावीरलाई उनले प्रश्न सोधेका छन्, ‘तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन्, त्यही गर्नु न ।’

जनताले कारखाना चलाउन म्यान्डेड दिएको महावीरले जवाफ फर्काएका थिए । उनलाई फेरि ती व्यक्तिले प्रश्न गर्छन्, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त ?’ नोकझोंकै क्रममा विकासले महावीरलाई लक्षित गर्दै ‘थुक्क’ भनेका थिए भने महावीरले पनि त्यही शब्द फर्काएका थिए ।