राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्ने विधान संशोधन गर्ने तयारी गरेको छ।
संशोधनपछि संसदीय दलको नेता प्रत्यक्ष र समानुपातिक सांसदमध्ये ५० प्रतिशत मतले चयन गरिनेछ।
पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ।
२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ ।
रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।
उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् ।
रावलले अनलाइनखबरसँग भनिन्, ‘संसदीय दलको नेता चयन गर्न विधानलाई समयानुकूल बनाउन जे–जे संशोधन गर्नुपर्ने छ । संशोधन गर्छौं ।’
बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको ठहर निर्क्यौल सहित नयाँ व्यवस्था गर्न लागिएको हो ।
पार्टी सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको नेताहरूले जानकारी गराएका छन् ।
प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रुपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको छ । पार्टीले सरकारको नेतृत्व र्दा संसदीय दलको नेताले नेतृत्व गर्ने पार्टीको विधान अनुसार शाहलाई संसदीय दलको नेता बनाउन लागिएको हो ।
रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षसँग एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो । पुस १३ गते दुई पक्षबीचमा सहमति बनेको थियो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको थियो, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
समानुपातिक तर्फका उम्मेदवारले समेत निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगबाट प्राप्त गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने रास्वपाले जानकारी गराएको छ ।
२१ फागुनमा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नजिता आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मतको आधारमा रास्वपाले दुईतिहाइ नजिकको सिट (१८२) पाएको छ ।
सरकार बनाउनुअघि संसदीय दलको नेता चयन गर्नुपर्ने हुँदा विधानको व्यवस्था संशोधन गरेर शाहलाई दलको नेता बनाउन लागिएको हो । सह प्रवक्ता रावलका अनुसार समानुपातिकतर्फबाट सांसद बन्नेहरूको टुंगो लागेपछि विधान संशोधन गर्ने तयारी गरिएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको सूची पठाउन बिहीबार दलहरूलाई पत्र पठाएको छ । आयोगको पत्र अनुसार पार्टीमा छलफल गरेर समानुपातिक तर्फको सूची पठाउने जानकारी गराइन् ।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । त्यसमध्ये ४८ जना महिला समानुपातिक तर्फबाट रास्वपाले चयन गर्नुपर्दछ ।
कतार एयरवेजले मार्च १३ देखि १७ सम्म कम्तीमा १४३ विशेष उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द भए पनि कतार एयरवेजले फसेकाहरूलाई घर फर्काउन विशेष उडानहरू सञ्चालन गरिरहेको छ।
कतार एयरवेजले मार्च १७ सम्मको उडान तालिका सार्वजनिक गरेको छ, जसमा काठमाडौंबाट प्रस्थान गर्ने वा काठमाडौं आइपुग्ने उडानहरू समावेश छैनन्।
२९ फागुन, काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ।
युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता ल्याउन मद्दत गर्ने उद्देश्यले विशेष उडानहरू सञ्चालन गरिरहेको छ।
अलजजिराका अनुसार, शुक्रबार बिहानै कतार एयरवेजले मार्च १७ सम्मको आफ्नो उडान तालिका सार्वजनिक गरेको हो । यी उडानहरूमा काठमाडौंबाट प्रस्थान गर्ने र काठमाडौं आइपुग्ने कुनै उडानहरू समावेश छैनन् ।
जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्धार गरिएकी १८ वर्षीया अस्मिता नेपालीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ।
अस्मिता नेपालीलाई घरमै सुत्केरी गराउने प्रयास असफल भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियो।
विक्रम तिरुवा
२९ फागुन, जुम्ला । जुम्लामा सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएकी महिलाको मृत्यु भएको छ ।
तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।
उपचारको क्रममा राति १ बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ । घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे ।
परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवद्ध हुनसक्ने जनाएको छ।
नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने र आवेदन प्रक्रिया ढिला हुनसक्ने विभागले उल्लेख गरेको छ।
राहदानी आवश्यक पर्नेले २०८३ असोज भित्रमा नयाँ प्रणाली सुरु हुनु अघि सेवा लिन अनुरोध गरिएको छ।
२९ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवद्ध हुनसक्ने जनाएको छ ।
अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ ।
अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।
सूचनामा लेखिएअनुसार नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने छ ।
‘उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ,’ विभागले भनेको छ ।
विभागले नयाँ प्रणाली सुरू हुने मिति र उक्त अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचनामार्फत् जानकारी गराइने बताएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
एमाले सचिव पद्मा अर्यालले मोहन प्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्।
मोहन प्रसाद ओलीको पार्थिव शरीर गुण्डुस्थित ओली निवासमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।
एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् ।
केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो ।
निर्वाचन अधिकृतले धनुषा–१ मा नेकपाका मातृका यादवलाई करिब साढे १० हजार मतसहित निर्वाचित प्रमाणपत्र दिएका छन्।
रास्वपाका किशोरी साहले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट दिएका छन्।
सर्वोच्च अदालतले किशोरी साहको नाम कालोसूचीमा नरहेको भन्दै अन्तरिम आदेश जारी गरेको छ र विवाद अझै पेचिलो बनेको छ।
२९ फागुन, काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना टुंग्याए पनि त्यहाँको विवाद यथावत छ । निर्वाचन अधिकृतले करिब साढे १० हजार मत पाउने नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए ।
तर करिव ३२ हजार मत पाउने रास्वपाका किशोरी साह सर्वोच्च अदालत गएका छन् । आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने उनको माग छ । विहीबार सर्वोच्च अदालतले साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको भनी आदेश जारी गरेपछि धनुषा–१ को विवाद अझै पेचिलो बनेको छ ।
साह विरुद्धको उजुरी के हो ?
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा १ बाट रास्वपा उम्मेदवार किशोरी साह सहित विभिन्न उम्मेदवारहरु प्रतिस्पर्धामा थिए ।
निर्वाचनको मिति नजिकिदै गर्दा साह विरुद्ध उजुरी पर्यो । उनको स्वामित्वमा रहेको कमल निर्माण सेवा प्रा.ली. कालोसूचीमा सूचिकृत रहेको भन्दै उजुरी गर्नेहरुले उनको उम्मेदवारी रद्द गर्न माग गरेका थिए ।
शुरुमा निर्वाचन आयोगले साहलाई ११ फागुनमा स्पष्टीकरण सहित पत्र पठाएको थियो । १८ फागुनमा निर्वाचन आयोगको बैठकले साहलाई धनुषा–१ को उम्मेदवार हुन अयोग्य हुने ठहर गरी पत्र पठायो । निर्वाचन आयोगको निर्णयसँगै साहको उम्मेदवारी खारेज भयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३(ज)मा रहेको ‘कालोसूचीमा रहेका व्यक्ति त्यो अवधिभर उम्मेदवार हुन मिल्दैन’ भन्ने व्यवस्था टेकेर उक्त निर्णय गरेको थियो ।
साहको उम्मेदवारी खारेजीपछि धनुषा–१ मा मतदान र त्यसपछि गणना पनि शुरु भयो । मतगणना थाल्दा सबैभन्दा बढी मत साहको पार्टी रास्वपाको चुनाव चिह्न घण्टीमा खसेको भेटियो । तर साहको उम्मेदवारी रद्द भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनको मत रेकर्ड राख्न चाहेन । त्यसपछि शुरु भएको विवाद निर्वाचन आयोगसम्म पुग्यो ।
२२ फागुनमा निर्वाचन आयोगले धनुषाका निर्वाचन अधिकृतलाई तीन बुँदे निर्देशन दियो । पहिलो, मतगणना गर्दा रास्वपाका उम्मेदवार किशोरी साहको पार्टीको चिह्न घण्टीमा छाप लागेका मतपत्र भेटिए त्यसको गणना गर्ने तर छुट्टै लगत बनाएर राख्ने ।
दोस्रो, घण्टी चिह्नमा लागेको मत गणना गरेपछि प्रतिस्पर्धामा उनले पाएको मत हिसाब नगर्ने र उनी बाहेकका उम्मेदवारको मतगणना गरी नतिजा प्रकाशित गर्ने ।
तेस्रो, त्यसका लागि आवश्यक पर्ने सुरक्षाको व्यवस्था गरी छिटो मतगणना सक्ने ।
निर्वाचन आयोगको यो निर्णय विरुद्ध किशोरी साह सर्वोच्च अदालत गए । साह सर्वोच्च गएलगत्तै निर्वाचन आयोगले फेरि अर्को परिपत्र गर्यो । आयोगले सर्वोच्च अदालतबाट कुनै आदेश नहुँदासम्म मतगणनाको नतिजा घोषणा नगर्न निर्देशन दियो । फेरि भोलिपल्ट नै मतपरिणाम घोषणा गर्नू भनी अर्को निर्देशन पठायो । २९ फागुनसम्म निर्वाचन नतिजा सार्वजनिक नगरी यथास्थितिमा राख्दा देशभरको निर्वाचन परिणाम घोषणामा असर पर्नसक्ने भन्दै निर्वाचन आयोगले अर्को निर्देशन दिएको थियो ।
निर्वाचन आयोगको निर्देशनमा भनिएको थियो, ‘धनुषा–१ को निर्वाचन परिणाममा सर्वोच्च अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल कायम रहेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्नु ।’
आयोगको पछिल्लो निर्देशनपछि घोषणा भएको मतपरिणाम अनुसार, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादव १० हजार ४३० मत सहित निर्वाचित भए । उनका प्रतिस्पर्धी कांग्रेसका रामपलटन साहले ९ हजार ५०४ मत पाएका थिए । एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मतमात्रै पाए ।
करिब ३१ हजार मत पाएका किशोरी साहको मतपरिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेन । उनले पाएको मत आधिकारिक रुपमा सार्वजनिक भएको छैन, तर प्रतिनिधिहरु र अरु व्यक्तिले फरक–फरक तथ्यांक सार्वजनिक गरेका छन् ।
आफ्नो उम्मेदवारी रद्द भएको भोलिपल्ट नै किशोरी साह सर्वोच्च अदालत गइसकेका थिए । उनले मुख्यत: तीनवटा आधार लिएर निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएको देखिन्छ ।
पहिलो, उम्मेदवारहरुमाथि दावी विरोधको अवधि सकिएपछि निर्वाचन आयोगमा उजुरी गर्नु गलत थियो । दोस्रो, उम्मेदवारलाई आफ्नो जवाफ र भनाइ राख्न नदिई प्राकृतिक न्यायको सिद्धान्त विपरीत उम्मेदवारी खारेज गरिएको हो ।
साहले गरेको अर्को दावी अनुसार, कालोसूचीमा व्यक्तिगत रुपमा उनको नाम समावेश छैन । कमल निर्माण सेवाको प्रवन्ध निर्देशकमा सञ्जित कुमार झा रहेको र आफ्नो हैसियत केवल शेयरधनीको रुपमा मात्रै रहेको भन्दै उनले आफूमाथि अन्याय भएको दावी गरेका छन् ।
त्यसपछि फेरि साहले अर्को रिट निवेदन पनि हाले । आफ्नो नाम कालोसूचीमा राखिएको भन्दै उनले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र एवं निर्वाचन आयोग र निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट निवेदन दिएका थिए ।
सुनुवाइपछि सर्वोच्च अदालतले विहीबार उनको नाम कालोसूचीमा नरहेको भन्दै अन्तरिम आदेश जारी गरेको छ । विहीबारको अन्तरिम आदेशले साहको उम्मेद्वारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय पनि कायम नरहने अवस्था भएको छ ।
शुक्रबार किशोरी साहले दर्ता गरेको शुरुको रिट निवेदनमा दुवै पक्षबिच छलफल हुनेछ । त्यसपछि उनको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भनेर सर्वोच्च अदालतको संयुक्त इजलासले कुनै आदेश गर्नेछ । त्यो आदेशपछि धनुषा–१ को निर्वाचन र त्यसको नतिजाबारे देखिएको अन्यौल टुंगिनेछ ।
सरकारले खाडी तथा मध्यपूर्वका देशमा रहेका १७ लाख २९ हजार नेपाली हालसम्म सुरक्षित रहेको जनाएको छ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले आवश्यक परेमा उद्धारका लागि सरकार तयार रहेको बताएका छन्।
परराष्ट्र मन्त्रालयले यूएई, साउदी अरब लगायत देशसँग नेपालीको सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल गरिरहेको जनाएको छ।
२८ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा रहेका नेपाली हालसम्म सुरक्षित रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपाली हालसम्म सुरक्षित नै रहेको जनाएको हो ।
इजरायल-अमेरिका र इरानबीचको बढ्दो तनावबीच सरकारले खाडी लगायत देशमा रहेका नेपाली सुरक्षित नै रहेको जनाएको हो ।
खाडी लगायतका विभिन्न देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले त्यहाँको अवस्थाबारे हरेक दिन परराष्ट्रमा रिपोर्ट हुने गरेको छ । ती देशमा रहेका १७ लाख २९ हजारमध्ये हालसम्म ६३ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइन पोर्टलमा टिपाएका छन् । तीमध्ये ५ हजार हाराहारीले आफूहरू असुरक्षित रहेको विवरण पेस गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार आफू असुरक्षित रहेको विवरण पेस गरेकाहरू समेत सुरक्षित छन् ।
‘अहिले पोर्टलमा ५ हजार जनाले ‘अनसेफ’ भनेर क्लिक गर्नुभएको छ, सुरु-सुरुमा फर्म भर्नेले अलि बढी अनसेफ भन्नुभएको थियो, तर अहिले ट्रेन्ड हेर्दा क्रमश: कम हुँदै गएको छ,’ उनले भने, ‘कतिपयले पछि फोन गरेर ‘म अहिले सेफ छु, मेरो स्टाटस अपडेट गरिदिनुस्’ पनि भन्नुभएको छ ।’
परराष्ट्रमन्त्री बालानन्द शर्माले बुधबारको पत्रकार सम्मेलनमा हालसम्म नेपालीहरू सुरक्षित रहेको र आवश्यक परेको खण्डमा उद्धार गर्न सरकार तयार रहेको बताएका थिए । त्यसका लागि राज्य संयन्त्रले काम गरिरहेको उनको भनाइ थियो ।
‘हामीले एउटा सिचुएसन सेन्टर बनाएका छौं, जसले नियमित यस्ता विषय अद्याविधिक गर्छ र भोलि उद्धार गर्नुपर्यो भने यसले आधारका रूपमा काम गर्छ र सबै ठाउँमा सम्पर्क स्थापित गरिसकेको छ,’ मन्त्री शर्माले भने, ‘कति नागरिक छन्, कतातिर छन्, कसरी समन्वय गर्ने भन्ने कुरा मन्त्रालयले निर्देशन दिइसकेको छ र उहाँहरूले काम गरिराख्नुभएको छ, कमसेकम यो एउटा सञ्जाल सुरु भएको छ ।’
कुटनीतिक पहल
सरकारले यूएई, साउदी अरब, कतार, ओमान, बहराइन लगायत देशमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखेको जनाएको छ । त्यसका लागि सम्बन्धित देश तथा अन्य सरोकारवाला निकायसँग छलफल तथा सहकार्य भइरहेको जनाएको छ ।
प्रवक्ता पौडेलले अहिलेको अवस्थामा ट्रान्जिटमा परेका नेपालीलाई गन्तव्य पुर्याउन विभिन्न निकायसँग कूटनीतिक पहल भइरहेको बताए ।
‘ट्रान्जिटमा रहेका नेपाली सम्बन्धित गन्तव्य जान सकेनन्, त्यसका लागि कतिपय ठाउँमा नोट नै लेखेर यिनीहरूलाई पठाइदिनुस् भनिरहेका छौं,’ पौडेलले भने, ‘जस्तो कि कतारको आकाश बन्द छ, तर त्यहाँबाट बोर्डरबाट गयो भने साउदी अरबबाट उड्न भ्याइन्छ, साउदीलाई सहजीकरण गरिदेऊ भनेर हामीले कूटनीतिक पहल मार्फत काम गरिरहेका छौं ।’
नेपालले संयुक्त राष्ट्र संघीय निकायहरूसँग समेत कूटनीतिक पहल गरिरहेको छ । आईओएम, आईएलओ जस्ता राष्ट्र संघीय निकायहरूसँग समेत छलफल भइरहेको प्रवक्ता पौडेलले बताए ।
कतिपय निकायले अहिले समेत सहयोग गरिरहेका छन् भने कतिपयले आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत खाडी लगायत युद्ध प्रभावित देशका नेपालस्थित दूतावाससँग समेत छलफल गरेको छ ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले साउदी लगायत देशमा रहेका दूतावासका अधिकारीहरूसँग छलफल गरेर नेपालीको सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले श्रम गन्तव्य देशहरूसँग समेत नेपालीको सुरक्षा र आवश्यक परेको खण्डमा उद्धारका विषयमा समेत छलफल भइरहेको जनाएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले पश्चिम एसियामा उत्पन्न सुरक्षा चुनौतीलाई नेपाल सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको बताएका छन् ।
बुधबारको पत्रकार सम्मेलनमा सचिव राईले मन्त्रालयमा गठन भएको इमर्जेन्सी रेस्पोन्स टिम बैठकले विभिन्न निर्णय गरेको र ती कार्यान्वयन चरणमा रहेको बताएका थिए ।
ती निर्णय विभिन्न निकाय तथा नेपाली नियोगबाट कार्यान्वयन भइरहेको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले हालसम्म दैनिक र कहिलेकाहीँ बिहान तथा बेलुका दुई पटकसम्म आफ्ना नियोगहरूमा सम्पर्क गरेर विकसित घटनाक्रमसँग सुसूचित भइरहेको जनाएको छ ।
अहिलेसम्मको विश्लेषण अनुसार तत्कालै नेपाली नागरिकलाई सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नुपर्ने अवस्था नरहेको सचिव राईले बताए ।
श्रमिक पठाउने देशहरूसँग समेत सँगसँगै काम भइरहेको उनको भनाइ छ । ‘जो श्रमिक पठाउने देश छन्, तिनीहरूसँग पनि हामीले सँगसँगै काम गरिराखेका छौं, हामीले बंगलादेश, भार, पाकिस्तान, श्रीलंका, अरू देशका दूतावासका साथीहरूसँग पनि कुराकानी गरिरहेका छौं,’ सचिव राईले भने, ‘हाम्रा राजदूतहरू हुनुहुन्छ, उहाँहरूले प्रत्येक दिन श्रमिक पठाउने देशका मिसनहरूसँग समन्वय गरिराख्नुभएको छ, उहाँहरूले के सोच्दै हुनुहुन्छ, कसरी गरिराख्नुभएको छ, आफ्ना श्रमिक सुरक्षाका लागि र त्यही अनुसार हामी पनि तयारीमा छौं ।’
२८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमानजिकैको पोखरीमा बुधबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मृतक महिला औरही–५ निवासी करिब २२ वर्षीया खुश्बु यादव रहेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार औरही–५ की चन्द्रकला यादवले पोखरीमा भेटिएको शव आफ्नी बुहारी खुश्वु यादवको रहेको सनाखत गरेकी हुन् । मृतकका श्रीमान् सरोजकुमार यादव हाल वैदेशिक रोजगारीमा रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार, खुश्बु मंगलबार दिउँसो ‘घाँस काट्न जान्छु’ भन्दै बोरा र हँसिया लिएर घरबाट निस्किएकी थिइन् । तर केही समयपछि उनी घर नफर्किएपछि खोजीका क्रममा बुधबार बिहान पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा शव भेटिएको थियो ।
शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्ट नआएसम्म घटनाको कारणबारे केही भन्न नसकिने प्रहरीले जनाएको छ । पोखरीको उत्तरतर्फको डिलमा मृतकले बोकेको बोरा, हँसिया र चप्पल समेत भेटिएको प्रहरीले जनाएको छ ।
श्रीमान् विदेशमा रहेकाले खुश्बु प्राय: माइतीमै बस्दै आएकी थिइन् । माइती पक्षका अनुसार उनी करिब १५ दिनअघि मात्रै ससुरा लिन आएपछि उनी फर्किएकी थिइन् ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
३० वर्षीय शिव यादवले सिरहा–२ मा फराकिलो मतान्तरले चुनाव जिते र मधेशमा ठेकेदारी प्रथा भत्किएको बताए।
यादवले जेनजी आन्दोलनकै पृष्ठभूमिमा भएको चुनावमा सक्रिय अभियन्ता निर्वाचित हुनु अर्थपूर्ण रहेको उल्लेख गरे।
उनले भ्रष्टाचार अन्त्य, सुशासन र युवा मुद्दा सदनमा निरन्तर उठाउने प्रतिबद्धता जनाए।
३० वर्षीय शिव यादवले सिरहा–२ मा फराकिलो मतान्तरले चुनाव जिते । उनकै तर्कअनुसार, यसपटक चुनावमा मधेशमा चल्दै आएको ठेकेदारी प्रथा र पुराना दलका गढ सबै भत्किए । स्वच्छ हिसाबले भएको चुनावमा मतदाताले असामान्य तरिकाले मत हाले ।
यो मत परिणामले मधेश प्रदेशको वैकल्पिक राजनीतिको उदयलाई पनि प्रतिबिम्वित गर्छ । अझ जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनावमा जेनजी आन्दोलनकै सक्रिय अभियन्ता निर्वाचित हुनु झन् अर्थपूर्ण रहेको यादवको बुझाइ छ ।
यादव आफैंमा जेनजी आन्दोलनका सक्रिय कार्यकर्ता थिए । विगत ७–८ वर्षदेखि सडक संघर्षमा रहेका उनी सामाजिक न्याय, भ्रष्टाचारविरुद्ध र युवा मुद्दामा आवाज उठाउँदै कयौं पटक गिरफ्तार भइसकेका व्यक्ति हुन् ।सामाजिक मुद्दामा बोल्दै गर्दा पटकपटक प्रहरी दमनसमेत सहे ।
हुन त, यादवका लागि यो चुनाव पहिलो होइन । यसअघि २०७९ को निर्वाचनमा पनि उनी लौरो चिह्नबाट सिरहा–२ मै चुनाव लडेका थिए । त्यतिबेला पनि मतदाताको घरदैलोमा उनी पुगेका थिए । तर पार्टीको राष्ट्रिय स्तरको प्रभाव कम थियो ।
पहिलाको चुनावको तुलनामा प्रतिस्पर्धाका हिसाबले यो चुनाव एकदमै सहज भएको अनुभव यादवको छ । रास्वपाको देशव्यापी लहरसँगै उनको जित सहज देखियो । सिरहा–२ मा उनले फराकिलो मतान्तरले जिते । चुनावी अभियानमा शिवले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिए । पुरानै शैलीमा चुनाव जितिन्छ भन्ने भ्रम चिर्न सुरुबाटै लागिपरे ।
‘मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गर्थे, यो टोल मेरो, यो तेरो भनेर,’ उनले भने, ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’
विगतमा क्षेत्रीय दलहरूले मधेश मुद्दा उठाउने गरे पनि जनताले विश्वास गर्न छोडेको यादवको तर्क छ ।
मधेश प्रदेशका हरेक क्षेत्रमा यस्तो देखिएको शिवको दाबी छ । यतिसम्म कि, मधेशमा मधेशकै मुद्दा केन्द्रित गरेर उदाएका मधेशवादी दलले एक सिट पनि जितेनन् । सिंगो मधेशको एक सिटबाहेक सबै रास्वपाकै पक्षमा आयो ।
यादवको तर्क छ, विगतमा क्षेत्रीय दलहरूले मधेश मुद्दा उठाउने गरे पनि जनताले विश्वास गर्न छोडेका थिए । त्यसैले यसपालि रास्वपाले मधेश आन्दोलनलाई स्वीकार गरेको र बालेन शाहले जनकपुरकै सभाबाट दिएको सन्देशले काम गर्यो । मधेशका अधिकांश मतदाताले आफ्नो प्रतिनिधिको अनुहार बालेनमा देखेकाले पनि चुनावमा अझ सहज प्रतिस्पर्धा भएको उनको ठम्याइ छ ।
त्यसैले होला, चुनाव खर्च पनि सोचे जस्तो धेरै भएन । ‘यो पटक साढे सात लाखदेखि आठ लाख रुपैयाँ जति खर्च भयो । निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै तल खर्च भयो,’ उनले भने, ‘तर यसअघि सामान्य तरिकाले एक्लै लड्दा भने दुई–तीन लाख मात्र खर्च भएको थियो । यसपटक त्योभन्दा केही धेरै भयो । साथीभाइले पनि आवश्यक गाडी फ्रीमा दिए, अलिअलि नगद सहयोग गरे ।’
चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा यादवले महत्त्वाकांक्षी विकासको वाचा गरेनन् । बरु सामान्य मतदाताका आधारभूत कुरामा जोड दिए । स्थानीय समस्या समाधानमा पनि नीतिगत पहल गर्ने वाचा गरे । ‘रास्वपाले बहुमत नपाए सरकार बनाउन नसक्ने अवस्था आयो भने काम गर्न कठिन हुन्छ । त्यसैले झुटो आश्वासन दिनु हुँदैन भन्ने लाग्यो,’ उनले भने ।
तर, जब बहुमत पक्का भयो उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सुधार हुने आश्वासन बाँडे । चुनावअघि दिनुपर्ने आश्वासन विजयी भएपछि दिएको उनको दाबी छ ।
जनताका अन्य अपेक्षा चाहिँ कस्तो छ ? यादवले घरदैलोमा सुनेका अनुभव बताए, ‘इमानदार नेतृत्व चाहियो । सुशासन चाहियो । सरकारी कार्यालयमा घुसखोरी र बिचौलिया सकियोस् । सरकारी स्कुल र स्वास्थ्य केन्द्र सुधार होस् । युवा विदेश जान नपरोस् । जनताले खोजेका यस्तै सामान्य आधारभूत कुराहरू नै हुन् ।’
यादवका लागि सबैभन्दा आदर्श नेता प्रदीप गिरि हुन् । उनी गिरिको विचारलाई सम्मान गर्छन् । ‘पार्टीभन्दा व्यक्ति र इमानदारिताले फरक पार्छ,’ उनले भने, ‘प्रदिप गिरि कांग्रेसमा हुनुहुन्थ्यो, म रास्वपामा छु । तर उहाँको वैचारिक बहस र इमानदारिताको म सधैं सम्मान गर्छु । मैले उहाँबाट सिक्नुपर्ने कुरा अथाहा छ ।’
बालेन शाह प्रधानमन्त्री बन्दा र रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थलाई प्राथमिकता दिएकोमा अब देशले गति लिनेमा उनी पूर्ण विश्वस्त छन् ।
प्रदीप गिरिका विगतबाट प्रेरणा लिँदै संसद्मा अब युवा र मधेशका मुद्दा सशक्त ढंगले उठाउने यादवको भनाइ छ । साथै आफू जेनजी आन्दोलनमा सक्रिय रूपमा लागेकाले पनि ती मुद्दा (जेनजी आन्दोलनको भावना) सधैं बोक्ने उनले बताए ।
‘भ्रष्टाचार अन्त्य, सुशासन, युवा राजनीतिमा प्रवेश, यी मुद्दा सदनमा निरन्तर उठाउँछु,’ यादवले प्रतिबद्धता जनाए ।
जेनजी आन्दोलनले देशलाई पाँच वर्षको राजनीतिक स्थिरता दिएको बताउँदै उनले अब डेलिभरी दिने पालो आएको बताए । बालेन शाह प्रधानमन्त्री बन्दा र रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थलाई प्राथमिकता दिएकोमा अब देशले गति लिनेमा उनी पूर्ण विश्वस्त छन् ।
‘र, अर्को कुरा फेरि दोहोर्याउन चाहन्छु– मधेशी दलहरू हारे पनि मधेशको मुद्दा अब कमजोर हुँदैन,’ उनले भने, ‘किनकि रास्वपामा मधेश आन्दोलनका युवा, दलित, मुस्लिम, जनजातिका मुद्दा बोकेका सांसदहरू आएका छन् । पार्टी नेतृत्व आफैंले मधेशप्रति प्रतिबद्धता जनाइसकेको छ । यो देश जोड्ने अभियान पनि हो ।’
अब जेनजी आन्दोलनका अगुवा शिव यादव सांसद बनेका छन् । उनले कुल ३९ हजार ५६१ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याउँदा नेकपा (एमाले) का नवीनकुमार यादवले ६ हजार ७१३, नेकपाका मुक्तिनारायण सिंहले ३ हजार ६८०, जनता समाजवादी पार्टी (नेपाल) का सञ्जीवकुमार यादवले ३ हजार ८७ मत र जनमत पार्टीका विनोदकुमार यादवले २ हजार ३५९ मत प्राप्त गरेका छन् ।
२८ फागुन, काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ ।
५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा, पत्नी र एक बहिनीको पनि सोही आक्रमणमा मृत्यु भएको थियो । तर, उक्त भीषण बमबारीका समयमा मोजतबा त्यहाँ उपस्थित नरहेका कारण उनी सुरक्षित रहेको बताइएको छ ।
आफ्ना पिताको अभ्यासविपरीत ५६ वर्षीय मोजतबाले अहिलेसम्म आफूलाई सार्वजनिक भूमिकाबाट टाढै राख्दै आएका छन् । खामेनीले आफूलाई धेरै हदसम्म ‘लो-प्रोफाइल’ मा राखेका छन् ।
उनले कहिल्यै कुनै सरकारी पद धारण गरेका छैनन्, न त कुनै सार्वजनिक भाषण वा अन्तर्वार्ता नै दिएका छन् । उनका सीमित सङ्ख्यामा मात्र तस्वीर र भिडिओ सार्वजनिक भएका छन् ।
तर, इरानको सत्तामा पर्दा पछाडिबाट उनको निकै ठुलो प्रभाव रहने गरेको चर्चा वर्षौँदेखि चल्दैआएको छ ।
सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा मोजतबा खामेनीलाई ‘पर्दा पछाडिको वास्तविक शक्ति’ का रूपमा व्याख्या गरिएको थियो ।
समाचार संस्था एपीका अनुसार ती दस्ताबेजहरूमा उनलाई इरानी शासन संयन्त्रभित्र एक ‘सक्षम र शक्तिशाली’ व्यक्तित्वका रूपमा चित्रण गरिएको थियो ।
मोजतबा खामेनीको चयन अझै पनि विवादास्पद साबित हुनसक्ने देखिन्छ । सन् १९७९ मा राजतन्त्रको अन्त्य भएपछि स्थापना भएको इस्लामिक गणतन्त्रको विचारधाराअनुसार सर्वोच्च नेताको चयन वंशानुगत उत्तराधिकारका आधारमा नभई धार्मिक निष्ठा र प्रमाणित नेतृत्व क्षमताका आधारमा गरिनुपर्ने प्रावधान छ ।
आफ्नो शासनकालमा आयतुल्लाह अली खामेनीले इस्लामिक गणतन्त्रको भावी नेतृत्वका बारेमा केवल सामान्य रूपमा मात्र चर्चा गर्ने गरेका थिए । सर्वोच्च नेताको चयन गर्ने शक्तिशाली निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ का एक सदस्यले दुई वर्षअघि बताएअनुसार उनले आफ्ना छोरा भावी नेतृत्वको उम्मेदवार बन्ने विचारको विरोध गरेका थिए ।
यद्यपि, उनले यस्ता अड्कलबाजीका बारेमा सार्वजनिक रूपमा कहिल्यै केही उल्लेख गरेका थिएनन् ।
अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका इरानका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनी
को हुन् मोजतबा खामेनी ?
सन् १९६९ सेप्टेम्बर ८ मा इरानको उत्तर-पूर्वी सहर मसहदमा जन्मिएका मोजतबा आयतुल्लाह अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् ।
उनले आफ्नो माध्यमिक शिक्षा तेहरानको धार्मिक ‘अलावी स्कुल’ बाट प्राप्त गरेका थिए । इरानी सञ्चारमाध्यमका अनुसार मोजतबाले १७ वर्षको उमेरमा इरान-इराक युद्धका क्रममा केही छोटो अवधिको लागि सैन्य सेवा गरेका थिए ।
मोजतबा खामेनी अझै पनि मध्यमस्तरका धर्मगुरु मात्र हुन्, जसले गर्दा उनलाई नयाँ सर्वोच्च नेताका रूपमा स्वीकार गरिनुमा बाधा उत्पन्न हुनसक्ने देखिन्छ ।
आठ वर्षसम्म चलेको उक्त रक्तपातपूर्ण सङ्घर्षले इरानी शासनलाई अमेरिका र पश्चिमा देशहरूप्रति थप सशङ्कित बनाएको थियो, किनभने उनीहरूले त्यस युद्धमा इराकलाई समर्थन गरेका थिए ।
सन् १९९९ मा मोजतबा आफ्नो धार्मिक शिक्षालाई निरन्तरता दिन शिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोम गए । यहाँ एउटा उल्लेखनीय कुरा के छ भने, उनले त्यस समयसम्म धार्मिक पोसाक लगाएका थिएनन् ।
सामान्यतया युवावस्थामा नै मदरसा वा धार्मिक विद्यालय जाने चलन भए तापनि उनले ३० वर्षको उमेरमा किन यस्तो निर्णय गरे भन्ने कुरा अझै स्पष्ट छैन । मोजतबा खामेनी अझै पनि मध्यमस्तरका धर्मगुरु मात्र हुन्, जसले गर्दा उनलाई नयाँ सर्वोच्च नेताका रूपमा स्वीकार गरिनुमा बाधा उत्पन्न हुनसक्ने देखिन्छ ।
मोजतबा खामेनीको चयन हुनुअघि नै केही सञ्चारमाध्यम र इरानी सत्ता केन्द्रका निकटवर्ती अधिकारीहरूले उनलाई वरिष्ठ धार्मिक पदवी ‘आयतोल्लाह’ भन्न सुरु गरेका थिए ।
पर्यवेक्षकहरूका अनुसार उनको धार्मिक स्तर उकास्न र उनलाई एक विश्वसनीय नेताका रूपमा प्रस्तुत गर्न यस्तो प्रयास गरिएको हो । धार्मिक विद्यालय (मदरसा) प्रणालीमा ‘आयतोल्लाह’ को पदवी हुनु र उच्च तहका कक्षाहरूमा अध्यापन गराउनुलाई व्यक्तिको विद्वत्ता र ज्ञानको मापन मानिन्छ ।
साथै, यी कुराहरूलाई भावी सर्वोच्च नेता बन्नका लागि आवश्यक पूर्वशर्त र आधारका रूपमा समेत हेर्ने गरिन्छ ।
उनका पिता अली खामेनी सन् १९८९ मा इरानको दोस्रो सर्वोच्च नेता बनेलगत्तै उनलाई पनि द्रुत गतिमा ‘आयतोल्लाह’ को पदवीमा पदोन्नति गरिएको थियो ।
राजनीतिक हस्तक्षेपको आरोप
मोजतबा खामेनीको नाम पहिलो पटक सन् २००५ को राष्ट्रपतीय निर्वाचनका बेला सार्वजनिक चर्चामा आएको थियो, जतिबेला कट्टरपन्थी पपुलिस्ट नेता महमुद अहमदिनेजाद विजयी भएका थिए ।
सुधारवादी उम्मेदवार मेहदी करौबीले सर्वोच्च नेता खामेनीलाई एउटा खुला पत्र लेख्दै मोजतबाले ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) र बासिज मिलिसियाका तत्त्वहरू प्रयोग गरी चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
उनका अनुसार अहमदिनेजादलाई जिताउन धार्मिक समूहहरूलाई पैसा वितरण गरिएको थियो ।
त्यसको चार वर्षपछि मोज्तबाले पुन: सोही प्रकृतिको आरोपको सामना गर्नुपर्यो । अहमदिनेजादको पुन: निर्वाचित हुने प्रक्रियाले देशभर जनआन्दोलन निम्त्यायो, जसलाई ‘ग्रिन मुभमेन्ट’ को रूपमा चिनिन्छ ।
त्यस समयमा केही प्रदर्शनकारीहरूले मोजतबा आफ्ना पिताको उत्तराधिकारीका रूपमा इरानको सर्वोच्च नेता बन्नसक्ने सम्भावनाको विरोध गर्दै नाराबाजी समेत गरेका थिए । तत्कालीन गृह उपमन्त्री मुस्ताफा ताजजादेहले उक्त निर्वाचन परिणामलाई ‘निर्वाचन कू’ को संज्ञा दिएका थिए ।
उनलाई सात वर्षको जेल सजाय सुनाइएको थियो, जसको पछाडि उनले ‘मोज्तबा खामेनीको प्रत्यक्ष इच्छा’ रहेको दाबी गरेका थिए। सन् २००९ को निर्वाचनपछि दुई सुधारवादी उम्मेदवारहरू मिर-होसेन मुसाभी र मेहदी करौबीलाई नजरबन्दमा राखिएको थियो ।
इरानी स्रोतहरू अनुसार, फेब्रुअरी २०१२ मा मोज्तबाले मुसाभीसँग भेट गरी उनलाई आफ्नो विरोध प्रदर्शन त्याग्न आग्रह गरेका थिए ।
भावी चुनौती र सैन्य सम्बन्ध
इरानका नवनियुक्त सर्वोच्च नेताका रूपमा मोजतबा खामेनीले आफ्ना पिताको कट्टरपन्थी नीतिहरूलाई नै निरन्तरता दिने धेरैले अपेक्षा गरेका छन् । अमेरिकी र इजरायली आक्रमणमा आफ्ना पिता, माता र पत्नीलाई गुमाएका व्यक्तिले पश्चिमा देशहरूको दबाबका सामु घुँडा टेक्नसक्ने सम्भावना निकै कम रहेको विश्लेषण समेत कतिपयले गरेका छन् ।
यद्यपि, उनीसामु इस्लामिक गणतन्त्रको अस्तित्व जोगाउने र राजनीतिक तथा आर्थिक रूपमा जर्जर बनेको देशलाई सही नेतृत्व दिन आफू योग्य पात्र भएको कुरा जनतामाझ प्रमाणित गर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको छ ।
मोजतबा खामेनीको नेतृत्व क्षमता अझै पनि परीक्षण हुन बाँकी छ । इस्लामिक गणतन्त्र विस्तारै ‘वंशानुगत प्रणाली’ तर्फ ढल्किँदै गएको जनमानसको बुझाइले सार्वजनिक असन्तोषलाई थप गहिरो बनाउन सक्ने देखिन्छ ।
साथै, मोजतबा अहिले इजरायलको निशानामा समेत परेका छन् । इजरायली रक्षामन्त्रीले गत हप्ता मात्र अली खामेनीको उत्तराधिकारीका रूपमा जो सुकै चुनिए पनि उनी ‘उन्मूलनका लागि स्पष्ट निसाना’ हुने चेतावनी दिएका थिए ।
मोजतबा खामेनीले सन् १९८० को दशकको इरान-इराक युद्धका क्रममा ‘हबिब बटालियन’ मा रहेर विभिन्न सैन्य कारबाहीहरूमा सहभागी हुँदाका बखतदेखि नै आईआरजीसीभित्र आफ्नो बलियो सम्बन्ध विस्तार गर्न सुरु गरेका थिए ।
त्यस समयमा उनीसँगै रहेका कतिपय धर्मगुरु लगायतका सहयोद्धाहरू पछि गएर तत्कालीन इस्लामिक गणतन्त्रको सुरक्षा र गुप्तचर निकायका उच्च पदहरूमा पुगेका थिए ।
रिपोर्टहरूका अनुसार अमेरिका र पश्चिमा मुलुकहरूको प्रतिबन्धमा रहेका खामेनीले विभिन्न देशहरूमा फैलिएको एक विशाल आर्थिक साम्राज्य समेत खडा गरेका छन् ।
ती कारोबारहरूमा प्रत्यक्ष रूपमा उनको नाम कतै उल्लेख नभए तापनि, उनले इरानी सत्तासँग जोडिएका भित्री व्यक्तिहरू र सहयोगीहरूको सञ्जालमार्फत वर्षौँदेखि अर्बौँ डलर परिचालन गरिरहेको बताइएको छ ।
मोजतबा अहिले इजरायलको निशानामा समेत परेका छन् । इजरायली रक्षामन्त्रीले गत हप्ता मात्र अली खामेनीको उत्तराधिकारीका रूपमा जो सुकै चुनिए पनि उनी ‘उन्मूलनका लागि स्पष्ट निसाना’ हुने चेतावनी दिएका थिए ।
ब्लूमबर्गले खामेनीको सम्बन्ध अली अन्सारीसँग रहेको उल्लेख गरेको छ । अन्सारीको ‘बैंक आयन्दे’ टाट पल्टिएपछि राज्यले जबरजस्ती विघटन गरेको थियो । बैंकको विघटनले इरानको तीव्र मुद्रास्फीतिलाई थप उकास्न मद्दत पुर्यायो, जसका कारण इरानीहरू झनै गरिब बन्न पुगे ।
खामेनी वा अन्सारी कसैले पनि उनीहरूबीचको सम्बन्ध र युरोपेली देशहरूमा विलासी सम्पत्ति खरिद गरेको विषयमा लागेका आरोपहरूका बारेमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् ।
मोजतबा खामेनीको धार्मिक योग्यताको विषय पनि विवादको घेरामा रहँदै आएको छ । उनी ‘आयतोल्लाह’ जस्तो उच्च पदमा नभई मध्यम स्तरका धर्मगुरु ‘होजतोलेस्लाम’ मात्र हुन् ।
यद्यपि, सन् १९८९ मा उनका पिता अली खामेनी सर्वोच्च नेता बन्दा उनी पनि आयतोल्लाह थिएनन् र उनलाई उक्त पदमा समाहित गर्नका लागि कानुनमा संशोधन गरिएको थियो । मोजतबाका हकमा पनि यस्तै प्रकारको सम्झौता वा कानुनी बाटो अपनाउन सकिने सम्भावना छ ।
इंग्ल्यान्डको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली लेगस्पीनर सन्दीप लामिछाने अनसोल्ड भएका छन्।
सन्दीपले विदेशी खेलाडी क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए।
उनलाई कुनै पनि टिमले लिन इच्छुक देखिएन र उनी यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा अनुबन्ध भएका थिए।
२८ फागुन, काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् ।
सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन ।
अन्तिम चरणमा टिमलाई खेलाडी रोज्न दिइएको भएपनि उनलाई कुनै पनि टिमले लिन इच्छुक देखिएनन् ।
सन्दीप यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्डमा अनुबन्ध भएका थिए । यद्यपी कुनै खेल भने खेलेनन् ।
सन्दीपले आईपीएल, बीबीएल, बीपीएल, सीपिएलजस्ता विश्वका चर्चिच फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
नेकपा एमालेमा २०६४ सालको निर्वाचनभन्दा पनि खराब नतिजापछि नेतृत्व परिवर्तन र नीति पुनर्गठनको बहस सुरु भएको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव योगेश भट्टराईले नेतृत्व परिवर्तनको सार्वजनिक प्रतिबद्धता जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट करिब ५० हजार मतान्तरले पराजित भएका छन् र पार्टी इतिहासकै कमजोर नतिजा आएको छ।
२८ फागुन, काठमाडौं । २०६४ सालको निर्वाचन भन्दा पनि खराब नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ । सामाजिक सञ्जाल, मिडिया र संवादमार्फत नेताहरूले नीति र नेतृत्व परिवर्तनको बहस थालेको देखिन्छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले नीति र नेतृत्व परिवर्तनको अग्ररसता लिने सार्वजनिक प्रतिबद्धता गरेपछि पार्टीभित्र यो बहस सघन बनेको छ । उपाध्यक्ष पौडेलले फेसबुक स्टाटस लेखेर कार्यकर्ता पंक्तिलाई निराश नहुन आग्रह गर्दै पार्टी बदल्ने कामको अग्रसरता लिने बताएका छन् ।
‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ पौडेलले लेखेका थिए ।
पौडेलकै जस्तो भाषामा भट्टराईले पनि नेतृत्व परिवर्तनको प्रस्तावअगाडि सारेका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आपूभित्र सर्वाङगीण रूपान्तरणमार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनुपर्छ,’ भट्टराईको प्रस्ताव थियो ।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा त भट्टराईले ओलीको राजीनामा नआए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीकै भाषामा बोलेका छन् । पदाधिकारी तहबाटै ओलीलाई राजीनामाको दबाव बढेपछि यो बहस तल्लो तहसम्मै पुगेको देखिन्छ ।
रूपन्देही-३ बाट निर्वाचन हारेका वासुदेव घिमिरेको स्टाटसलाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । उनले एमाले नेताहरूलाई पञ्चसँगै तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरुको रटान उही- सबै ठीक छ, महाराज,’ घिमिरेको व्यंग्यात्मक स्टाटसमा लेखिएको छ ।
‘यति खराब नतिजा अपेक्षित थिएन । तर जनताले आफ्नो अधिकार प्रयोग गरेर दिएको नतिजा स्वीकार्नैपर्छ,’ शाही भन्छन् ।
नेतृत्व फेर्नुपर्ने बहसको प्रतिवादमा भने सदाझै महासचिव शंकर पोखरेल उभिएका छन् । बिहीबार साँझ मात्रै स्टाटस लेखेर पोखरेलले पार्टीलाई कमजोर भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ । यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन–२०८२ को समग्र समीक्षा गरिनेछ,’ पोखरेलले लेखेका छन्, ‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडिया मार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएको भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु ।’
विगतमा पनि पोखरेलले यस्तै तर्क गर्ने गर्थे । सुदृढीकरण र पुनर्गठनको एजेन्डा नेताहरूले उठाउँदा उनी जनताबिच एमाले लोकप्रिय रहेको रिपोर्ट तयार पार्थे । यो निर्वाचनपछि पनि पार्टी संकटमा देखिएकाले सतिसालझैँ उभिनुपर्ने भाष्य जबर्जस्त आफू पक्षधरमार्फत फैलाउने प्रयत्नमा छन् ।
ओलीको एकलौटी चल्ने एमालेले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया अथवा निर्णय सार्वजनिक गरेको छैन । महासचिव पोखरेलसहितका केही नेताको संकेत हेर्दा ओलीको राजीनामा आउने देखिन्न ।
प्रचार संयोजक मीनबहादुर शाही पार्टीको बैठकबाट निर्णय आउने बताउँछन् । ‘अब सचिवालय बैठक बस्ला, त्यसले केन्द्रीय कमिटी बोलाउछ र समीक्षा हुन्छ,’ शाही भन्छन्, ‘तर बैठक कहिले बस्छ भन्ने चाहिँ जानकारी छैन ।’
पार्टी अनपेक्षित पराजय बेहोर्नु परेकाले गम्भीर समीक्षा हुने उनी बताउँछन् । ‘यति खराब नतिजा अपेक्षित थिएन । तर जनताले आफ्नो अधिकार प्रयोग गरेर दिएको नतिजा स्वीकार्नैपर्छ,’ शाही भन्छन् ।
पार्टी इतिहासकै कमजोर
२०६४ सालमा झिनो अन्तरले पराजित भएकोबाहेक सबै निर्वाचनमा सजिलै जित्दै आएको झापा–५ मा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लज्जास्पद पराजय बेहोरेका छन् ।
६८ हजार ३४८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन जित्दा १८ हजार ७३४ मतमा ओली समेटिएका छन् । नेपालको संसदीय निर्वाचनमा यो तहको मतान्तरमा कुनै नेताले जितेका थिएनन् । तर ओलीकै निर्वाचन क्षेत्रबाट झन्डै ५० हजारको मतान्तरमा बालेनले जितेका छन् ।
गत ०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर जित्दा आफू समकालीन नेताहरूमध्ये सर्वाधिक लोकप्रिय रहेको दाबी गरेका थिए । ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत मात्र ल्याउँदा मतान्तर २८ हजार ५७६ थियो ।
ओलीकै जस्तै दाबी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि गर्थे । २०६४ सालको निर्वाचनमा गोरखा-२ बाट ४६ हजार २७२ मत ल्याएर जितेका भट्टराईका निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले ६ हजार १७१ मत मात्र पाएका थिए ।
तर यसपटक रास्वपाका उम्मेदवारहरूले अनेक कीर्तिमान बनाए । बालेनको भन्दा ठुलो मतान्तरमा रास्वपाकै डा.लेखजंग थापाले जितेका छन् । रूपन्देही–३ बाट ५८ हजार ८१४ मत पाएर थापाले निर्वाचन जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्रै पाए । यहाँ ५० हजार बढीको मतान्तर छ ।
पार्टी गठनको चार वर्ष नहुँदै दुई तिहाइ नजिकको शक्ति बन्न पुगेको रास्वपाले कीर्तिमानी नतिजा ल्याउँदा एमाले इतिहासकै कमजोर बन्न पुगेको छ । एमालेका सबै पदाधिकारी पराजित भएका छन् ।
भावी प्रधानमन्त्री घोषित ओलीकै जति मतान्तर नभएपनि देशैभर एमाले उम्मेदवारहरूको अवस्था दयालाग्दो छ । ४९ जना उम्मेदवारको जमानत जफत भएको छ ।
श्रम संस्कृति पार्टीले नयाँ मतदाता तान्दा कोशीका पहाडी क्षेत्र र रास्वपाको प्रभाव कम रहेको सुदूरपश्चिम पहाडका केही क्षेत्र गरी ९ सिटमा मात्रै एमालेले जितेको छ । रास्वपाका उम्मेदवारलाई निकटतम प्रतिस्पर्धी बनाएर जित्ने मोहम्मद इस्तियाक राई एमालेका एक्लो नेता भए । बाँके-२ बाट जितेका उनी नवप्रवेशी हुन् ।
भावी प्रधानमन्त्री घोषित ओलीकै जति मतान्तर नभएपनि देशैभर एमाले उम्मेदवारहरूको अवस्था दयालाग्दो छ । ४९ जना उम्मेदवारको जमानत जफत भएको छ ।
४१ क्षेत्रमा मात्रै एमाले उम्मेदवार निकटतम प्रतिस्पर्धी छन् । एमाले दोस्रो भएका क्षेत्र मध्ये २७ क्षेत्रमा रास्वपा, २ क्षेत्रमा श्रम संस्कृति पार्टी र एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार छन् । बाँकी ८ क्षेत्रमा कांग्रेस र ३ क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । अर्थात् रास्वपा नभए एमालेले थप २७ क्षेत्र मात्रै जित्ने रहेछ ।
समानुपातिक मतको अवस्था उस्तै खराब छ । उदाहरणका लागि झापालाई नै लिन सकिन्छ । रास्वपाले झापाबाट समानुपातिक तर्फ २ लाख ४८ हजार १३८ मत ल्याउँदा एमालेको प्रतिस्पर्धी शक्ति हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी बन्न पुगेको छ । ५५ हजार २५१ मत पाएर एमाले दोस्रो हुँदा श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत पाएको छ ।
झापाकै जस्तो कमजोर नतिजा अरू क्षेत्रबाट समेत आउँदा अघिल्लो निर्वाचन भन्दा एमालेले १४ लाख कम मत पाएको छ । निर्वाचन आयोगको अन्तिम नतिजा अनुसार एमालेले समानुपातिकतर्फ यसपटक १४ लाख ५३ हजार १४९ (१३.४६ प्रतिशत) मत पाएको छ । यो नतिजा २०४८ साल यता निर्वाचनमा भाग लिदै आएको एमाले इतिहासको सवभन्दा कमजोर हो ।
माओवादी दबदबा रहेको २०६४ सालमा समेत एमालेले २०.३३ प्रतिशत (२२ लाख ८३ हजार ३७०) मत ल्याएको थियो । प्रत्यक्षतर्फ ३३ र समानुपातिक तर्फ ७० गरी १०३ सिटको पार्टी हुँदा पनि तत्कालीन पार्टी प्रमुख माधवकुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
माधव नेपालले राजीनामा दिएपछि झलनाथ खनाल कार्यवाहक महासचिव र आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएर ०७० सालमा एमालेलाई फेरि बलियो बनाएका थिए ।
झलनाथपछि नवौं महाधिवेशनबाट नेतृत्वमा आएका ओलीको नेतृत्वमा एमाले यसपटक पार्टी इतिहासकै सानो शक्ति बनेको छ । समानुपातिकतर्फ १६ सिट पाएको एमाले २५ सिटसहित तेस्रो शक्ति बनेको छ ।
नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् ।
News Summary
नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग-२ सिरिजका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको छ तर मध्यपूर्व तनावका कारण सिरिज सुरु हुन सकेन।
प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल क्याम्पमा परेनन् र खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले असन्तुष्टि व्यक्त गरे।
नेपालले आईसीसी लिग-२ मा २० खेलमध्ये ५ मा मात्र जित निकालेको छ र ओपनिङ ब्याटरहरूको कमजोर प्रदर्शनले समस्या बढाएको छ।
२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि ओमान र यूएईसँगको एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई क्याम्पमा बोलायो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको उक्त सिरिजका लागि क्यानले अधिकांश राष्ट्रिय टोलीका खेलाडीलाई समेट्दै क्याम्पमा बोलाएको हो । तर, मध्यपूर्वमा बढेको तनावका कारण सिरिज सुरु हुनै सकेन ।
नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् । जय ट्रफीमा गरेको प्रदर्शनलाई आधार मानेर क्यानले २० खेलाडीलाई क्याम्पमा बोलायो ।
४ टोली मात्र सहभागी गराउँदा पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुनसहित धेरै खेलाडी जय ट्रफी खेल्न पनि पाएनन् । अर्जुन क्याम्पमा नपरेको विषयमा खेलाडी छनोट समितिको पूर्वसंयोजक दीपेन्द्र चौधरीले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘अर्जुन क्याम्पमा डिजर्ब गर्ने प्लेयर हुन् ।’
सानै उमेरमा राम्रो प्रभाव छाडेका अर्जुन पछिल्लो समय भने उपेक्षामा पारिँदै आएको आरोप क्यानमाथि लाग्दै आएको छ ।
गत मंसिरमा भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलमा अवसर पाएका अर्जुनले आफूलाई प्रमाणित गरेका थिए । पोखरा एभेन्जर्सको अन्तिम खेलमा ओपनरको रुपमा मैदानमा आएका अर्जुनले २० ओभर नै टिकेर टोलीलाई जित दिलाएका थिए ।
पहिलो संस्करणको एनपीएलमा प्रतियोगिता भर नै अर्जुनले खेल्ने अवसर पाएनन् । कमै अवसर पाउने अर्जुनले पाएका अवसरमा भने आफूलाई प्रमाणित गर्दै आएका छन् । विकेटलाई होल्ड गरेर ब्याटिङ गर्ने र क्रिजमा धैर्यता राख्ने उनको विशेषता हो ।
२०२१ मार्च १९-२८ सम्म ओमानमा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अर्जुन पहिलोपटक सिनियर टोलीको क्याम्पमा परेका थिए । १५ वर्षको उमेरमै क्याम्पमा परेका अर्जुन अन्तिम टोलीमा भने पर्न सकेनन् । त्यसपछि पनि अर्जुनले राम्रो प्रर्दशन गर्दै आएका छन् ।
उनी घरेलु क्रिकेटदेखि उमेर समूहमा राम्रो छाप छोड्न सफल छन् । तर, अहिलेसम्म छनोट समिति, प्रशिक्षक र कप्तानको रोजाइमा पर्न सकेका छैनन् । अर्का पूर्वसेलेक्टर भन्छन्, ‘कप्तान र प्रशिक्षकको इन्पुटले पनि खेलाडी छनोटमा काम गर्छ ।’
छनोट समितिले कप्तान र प्रशिक्षकको राय लिएर खेलाडी छनोट गर्नुपर्छ । तर, छनोट समिति कप्तान र प्रशिक्षकबाट केही हदसम्म प्रभावित हुनसक्ने ती सेलेक्टरको भोगाइ छ ।
टी-२० विश्वकपका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको क्यानले लिग-२ सिरिजका लागि २० खेलाडीलाई मात्र बोलायो । क्याम्प सानो बनाउँदा पनि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर नपाउने गरेको खेलाडी छनोट समितिका पूर्वसंयोजक चौधरी बताउँछन् । ‘हामी हुँदा क्याम्पको आकार ठूलो हुन्थ्यो । धेरै खेलाडीले क्याम्पमा क्षमता देखाउने अवसर पाउँथे, उनी भन्छन्, ‘अहिले क्याम्पको आकार सानो हुँदा धेरै खेलाडीले क्षमता देखाउन पाउँदैनन् ।’
उमेर समूहमा न्युजिल्याण्ड र अफगानिस्तानविरुद्धको प्रदर्शन तथा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ टिमबाट हानेको शतक जसले अर्जुनलाई सम्झाइरहन्छ । आत्मविश्वासी ब्याटिङ गर्ने उनले हालसम्म उमेर समूहमा दुई र ‘ए’ टिमबाट एउटा शतक प्रहार गरिसकेका छन् ।
नेपाल ‘ए’ बाट एक शतक हानेका अर्जुनले दुई खेल खेल्ने मात्र अवसर पाएका छन् । उनी छनोट नभएको विषयमा एक प्रशिक्षक भन्छन्, ‘छनोटमा खेलाडी र कोचले मात्र भनेर हुँदैन । जिल्ला, प्रदेशले पनि कुरा उठाउनुपर्छ । प्रतियोगिताको उत्कृष्ट ब्याटरलाई तपाईंले मौका नदिने भए हामीले किन खेलाडी ल्याउने भन्न त मिल्यो नि त ।’
खेलाडी छनोट समिति संयोजकबाट एलबी क्षेत्रीले केही समयअघि राजीनामा दिइसकेका छन् । त्यसयता क्यानले संयोजक तोकिसकेको छैन । छनोट समितिका सदस्य रहेका युनिल श्रेष्ठ र मुर्तुजा हवारीले नै लिग-२ अन्तर्गत ओमन-युएई सिरिजका लागि २० खेलाडीलाई क्याम्पका बोलाएका थिए । संयोजक नहुँदा सदस्यहरुबाट खेलाडी छनोट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय अनुभव, प्रदर्शन र घरेलु प्रतियोगिताको प्रदर्शनकाआधारमा खेलाडी छनोट गर्ने गरेको छनोट समितिका पूर्वसंयोजक क्षेत्री बताउँछन् ।
‘अन्तर्राष्ट्रिय अनुभव, छनोट हुने फर्म्याट कस्तो प्रकारको प्रदर्शन गरेको छ । अम्पायर, कोचको भरोसा कस्तो छ । र घरेलु क्रिकेटमा कस्तो प्रदर्शन गरिराखेको छ । यी सबै कुरालाई ध्यानमा राखेर खेलाडी छनोट गरिन्छ,’ उनी भन्छन् ।
‘टपअर्डरमा लिड गर्ने र लामो इनिङ खेल्ने क्षमता छ’
अर्जुनले उमेर समूहदेखि नै टोलीमा ओपनिङ ब्याटरको रुपमा खेल्दै आएका छन् । बाल्यकालदेखि नै भारतमा क्रिकेट सिकेका अर्जुनको ब्याटिङ अरु नेपाली खेलाडीभन्दा फरक छ । अझै पनि उनी बेला-बेलामा भारतमा गएर क्रिकेट सिक्ने गर्छन् । टाइमिङ र कभर ड्राइभ अर्जुनको ब्याटिङ शैली हो ।
अर्जुनलाई उमेर समूहदेखि नै प्रशिक्षण गराएका जगता टमाटा टपअर्डरमा लिड गर्ने क्षमता अर्जुनमा रहेको बताउँछन् । ‘उमेर समूहदेखि नै उसले ओपनिङ गर्दै आएको छ । अर्जुन टपअर्डरमा लिड गर्न सक्ने खेलाडी हो,’ उनी भन्छन् ।
अर्जुन लामो इनिङमा राम्रो खेल्ने क्षमता भएको खेलाडी भएको टमाटाको अनुभव छ । उनी थप्छन्, ‘क्याम्पमा पार्ने, नपार्ने टिम म्याजेनमेन्टको कुरा हो । तर, मेरो ठाउँबाट भन्ने हो भने क्याम्पमा अवसर दिएको भए राम्रो हुन्थ्यो । धैर्यता र क्यालिटी भएको खेलाडी हो ।’
एकदिवसीयमा धरमराएको नेपाल
आईसीसी लिग–२ मा २० खेलमध्ये ५ खेलमा मात्रै जित निकालेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ । शीर्ष ४ मा रहँदै एकदिवसीय मान्यता कायम गर्न र विश्वकप छनोटमा पुग्ने नेपाललाई चमत्कारिक प्रदर्शन गर्न जरुरी देखिन्छ ।
लिग–२ अन्तर्गतको पछिल्लो सिरिजमा नेपालले ४ वटै खेलमा पराजित भएको थियो । पछिल्ला वर्षयता नेपालको ओपनिङ कुशल भुर्तेल र आसिफ शेखले गर्दै आएका छ ।
सुरुवातका केही खेलमा आशा जगाएका उनीहरुले पछिल्लो ओपनिङमा निराशा पैसा गरेका छन् । पछिल्ला १० ओडीआईमा आसिफले एउटा पनि अर्धशतक पूरा गरेका छैनन् । कुशलले एउटा अर्थशतकबाहेक सम्झनालायक ब्याटिङ गर्न सकेका छैनन् ।
नेपालको ओपनिङ ब्याटर धरमराउँदा पूरै खेल कोल्याप्स हुने समस्या कायमै छ । न ओपनिङ जोडी फर्ममा आउनसकेको छ न प्रशिक्षकले उनीहरुको विकल्प खोज्ने प्रयास गरेका छन् । जसका कारण अर्जुनजस्ता खेलाडीहरू क्याम्पमा समेत पर्दैनन् ।