फिल्म ‘वन ब्याटल अफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म घोषित भएको छ।
निर्देशक पल थोमस एन्डरसनले सोही फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।
यो फिल्मले राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको कथा प्रस्तुत गरेको छ।
लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ ।
अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो ।
यो फिल्मले सर्वश्रेष्ठ फिल्मसँगै उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ । निर्देशक पल थोमस एन्डरसनले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।
साथै, फिल्मले अन्य प्राविधिक विधाहरूमा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
‘वन ब्याटल आफ्टर एनदर’को कथा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा अघि बढ्छ । कथाले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको टकरावलाई चित्रण गर्छ ।
बहुस्तरीय कथा, शक्तिशाली अभिनय र निर्देशकको सशक्त प्रस्तुतिका कारण फिल्मले अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा बटुलेको थियो ।
प्रदर्शनपछि यो फिल्म समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन सफल भएको थियो । यसको कथा संरचना, दृश्य संयोजन र कलाकारहरूको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको थियो ।
यस वर्षको अस्करमा सर्वश्रेष्ठ फिल्म विधामा अन्य चर्चित फिल्म पनि प्रतिस्पर्धामा थिए । तीमध्ये ‘सिनर्स’, ‘ह्याम्नेट’, ‘फ्रान्केनस्टाइन’, ‘के–पप डेमन हन्टर्स’ र ‘वेपन्स’ लगायतका फिल्म मनोनयनमा परेका थिए ।
विजेता सूची
उत्कृष्ट फिल्म : वान ब्याटल आफ्टर अनदर
उत्कृष्ट अभिनेत्री : जेसी बक्ली – ह्याम्नेट
उत्कृष्ट अभिनेता : माइकल बी जोर्डन (सिनर्स)
उत्कृष्ट निर्देशक : पल थोमस एन्डरसन – वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : सेन्टिमेन्टल भ्यालु (नर्वे)
उत्कृष्ट मौलिक गीत : गोल्डेन – के-पप डेमन हन्टर्स
उत्कृष्ट छायांकन : सिनर्स
उत्कृष्ट फिल्म सम्पादन : वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट ध्वनि : एफ वान
उत्कृष्ट मौलिक सङ्गीत (ओरिजिनल स्कोर) : सिनर्स
उत्कृष्ट भिजुअल इफेक्ट्स : अवतार फायर एन्ड एश
उत्कृष्ट छोटो वृत्तचित्र (डकुमेन्ट्री) फिल्म : अल द एम्प्टी रुम्स
उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) फिचर फिल्म : मिस्टर नोबडी अगेंस्ट पुटिन
सहायक अभिनेता : वन ब्याटल आफ्टर अनदर
प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन
उत्कृष्ट मौलिक पटकथा : सिनर्स
सहायक अभिनेत्री : वेपन्स’
अनुकूलित पटकथा : “वन ब्याटल आफ्टर अनदर
मौलिक पटकथा : सिनर्स
उत्कृष्ट एनिमेटेड फिचर फिल्म : के-पप डेमन हन्टर्स
उत्कृष्ट एनिमेटेड छोटो फिल्म : द गर्ल हु क्राइड पर्ल्स
सरकारले ‘जेन जी’ आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन ‘ग्रहण गर्ने’ निर्णय गरेसँगै त्यसको कार्यान्वयनप्रति चासो बढेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले “जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने” निर्णय भएको हो।
प्रतिवेदन कार्यान्वयनप्रति विभिन्न क्षेत्रबाट आशङ्का व्यक्त भइरहँदा मन्त्री अर्यालले उक्त “निर्णयभित्र सबै चिज पर्ने” बताए।
त्यसबारे विस्तृत विवरण सोमवार गराइने जानकारी उनले दिएका थिए।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
त्यसबेला ९०० भन्दा बढी पृष्ठको प्रतिवेदन बुझाएको बताउँदै पत्रकारहरूसँग बोल्ने क्रममा आयोगका प्रवक्ता विज्ञानराज शर्माले “जसले गल्ती गरेको छ, त्यसलाई कारबाहीको सिफारिस गरेको” भनेर प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन बुझेपछि त्यसको “निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने” बताएको उनका प्रेस सल्लाहकारको भनाइ थियो।
कार्यान्वयनको ‘चरण सुरु’
तस्बिर स्रोत, PMO
पूर्वमन्त्री समेत रहिसकेका नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलका भनाइमा ‘ग्रहण गर्ने’ भनेको सरकारले उक्त प्रतिवेदन स्वामित्वमा लिएको हो।
“अब त्यसको अध्ययन गरेर कार्यान्वयनको निम्ति सम्बन्धित निकायमा पठाउन त्यसो गरेको बुझ्नु पर्छ,” उनले भने, “यसको अर्थ यो कार्यान्वयनमा जानु पर्ने भयो, त्यो प्रक्रियामा गयो भन्ने बुझ्दा हुन्छ।”
विज्ञहरूका अनुसार सरकारले कुनै पनि प्रतिवेदन कार्यान्वयन नगर्न सक्छ। तर त्यसको निम्ति थप निर्णय गरिरहनु पर्दैन।
पूर्वमन्त्री पौडेलका भनाइमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पठाउने निर्णय नगर्ने हो भने त्यस बेलासम्म यथावत् राख्ने भन्ने बुझिन्छ।
“कार्यान्वयनमा जाँदा जुन जुन निकायले त्यो कार्यान्वयन गर्नुपर्ने हो त्यो त्यो निकायमा पठाउँछ,” उनले बताए।
प्रतिवेदनबारे महान्यायाधिवक्ता भण्डारी
तस्बिर स्रोत, NurPhoto via Getty Images
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ।
महान्यायाधिवक्ता सबिता भण्डारीका अनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्न आयोगको सिफारिस अनुसार सम्बन्धित निकायहरूमा पठाउँछ।
फौजदारी अभियोगबारेको अनुसन्धानपछि मुद्दा दर्ता गर्ने अन्तिम टुङ्गो लगाउँदा महान्यायाधिवक्ता कार्यालय र उसको मातहतका निकायहरू संलग्न हुन्छन्।
“अनुसन्धान भएर अभियोजन गर्न हामी कहाँ आइपुग्छ,” महान्यायाधिवक्ता भण्डारीले जानकारी दिइन्।
आयोगले फौजदारी कसुरसँग सम्बन्धित मात्र नभई गैरसरकारी संस्थाको सञ्चालन र बजेट परिचालन लगायतका विषयमा पनि जाँचबुझ गरेको थियो।
महान्यायाधिवक्ता भण्डारी भन्छिन्, “अनुसन्धान गर्नु पर्यो भने प्रहरीले गर्छ र क्षतिपूर्ति दिनुपर्ने जस्ता विषयहरूका सन्दर्भमा सम्बन्धित निकायहरूले कार्यान्वयन गर्छन्।”
कार्यान्वयन किन चुनौतीपूर्ण?
आयोगले भदौ २३ गते भएको आन्दोलनकारीको मृत्यु, सुरक्षाकर्मीहरूबाट त्यसबेला भएको बल प्रयोगका साथै त्यसक्रममा फिल्डमा तैनाथ सुरक्षाकर्मी सहित राजनीतिक नेतृत्व समेतका बारेमा प्रतिवेदनमा उल्लेख गरेको समाचारहरूमा जनाइएको छ।
आयोगमा सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा रहेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले बीबीसीसँग भनेका थिए, “२३ र २४ गतेका दुइटै अपराध हुन्। दुइटै अपराधलाई हामीले त्यही हिसाबले हेरेका छौँ।”
यसअघिका आन्दोलनबारेका प्रतिवेदनहरू कार्यान्वयन नभएको सन्दर्भमा कतिपयले पछिल्लो प्रतिवेदनको अवस्था पनि त्यस्तै हुने आशङ्का गरेको पाइन्छ।
पूर्वमन्त्री तथा कानुनविद् माधव पौडेल यस्ता प्रतिवेदनको कार्यान्वयन सहज नहुने बताउँछन्।
“कसैलाई अनुदान दिने, सुविधा दिने, पुनर्निर्माण गरिदिने भए सजिलै कार्यान्वयन हुन्छ, थप अनुसन्धान र तहकिकात गर्नु पर्दैन,” उनी भन्छन्, “कुनै मुद्दा चलाउने वा कारबाही गर्ने सिफारिस रहेछ भने विस्तृत अनुसन्धान सम्बन्धित अधिकारीले गर्नुपर्छ।”
उनकाअनुसार अनुसन्धानबाट प्रमाणहरू भेटिए मुद्दाको निम्ति सरकारी वकिल समक्ष पेस गरिन्छ, प्रमाण फेला नपरेमा मुद्दा चलाउने अवस्था नहुन सक्छ।
भदौ २३ गतेको घटनामा कैयौँ प्रदर्शनकारीहरू मारिएपछि त्यसको भोलिपल्ट देशभरि व्यापक आगजनी तथा तोडफोडका घटनाहरू भएका थिए।
अनुसन्धानमा साढे ५ महिना लगाएको आयोगले दुई सय जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको थियो।
उच्च अधिकारी र राजनीतिक नेतृत्व तहबारे प्रतिवेदनको धारणा र सिफारिसप्रति धेरैले चासो राखेको पाइन्छ।
त्यसमा पनि प्रतिवेदन कार्यान्वयनको चुनौती जोडिन पुग्ने कतिपयको आकलन छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
२ चैत, काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ ।
शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशनमा आइतबार मध्यरात सर्वसम्मत नेतृत्व चयन भएको हो ।
विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई छुट्टाछुट्टै संघ क्रियाशील थिए । यसले एनआरएनए विभाजनको अवस्थामा थियो । सहमतिका पटकपटकका प्रयास सफल भएका थिएनन् ।
गत २३ र २४ को जेनजी आन्दोलनपछि भने पूर्वअध्यक्षहरूको प्रयासमा दुवै समूह एकता महाधिवेशनका लागि तयार भएका थिए । त्यसका लागि गत मंसिर दोस्रो साता दुवै समूहबीच १०बुँदे सहमति भएको थियो । सोहीअनुसार शनिबारदेखि एकता महाधिवेशन भएको हो ।
अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मतको बाटो खुलेको एक पदाधिकारीले बताए ।
विधान संशोधनको काम टुंगगिएपछि सोमबार नै नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन टुंग्याइने भएको छ ।
अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन भएसँगै सबै सहमतिको आधारमा सम्पूर्ण पदाधिकारीको खाका तयार पारिएको छ । उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष चुनिएका छन् ।
अन्य उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने, युकेका रामशरण सिम्खडा, कतारका प्रवीन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोजकुमार श्रेष्ठ छन् ।
महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका)र युवा उपाध्यक्षमा पोर्चुगलका भीमसेन थापा निर्विरोध भएका छन् ।
महासचिव पदमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का चयन भएका छन् । उपमहासचिवमा जापानका टंकप्रसाद गैरे, बेलायतका दिनेशकुमार घिमिरे, अस्ट्रेलियाका डा. ज्ञानेन्द्र रेग्मी, जापानका पारसमणि पोखरेल चयन भएका छन । सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङको टुंगो लागेको छ ।
महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा (कञ्चन) तथा कोषाध्यक्ष पदमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन् । सह–कोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सह–कोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा छन ।
युवा संयोजकमा जापानका नवीन निउरे टुंगिँदा मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एशिया प्याशिफिक क्षेत्रीय संयोजकमा दीपक कँडेल, युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बू निर्विरोध चयन भएका छन्।
क्षेत्रीय तहमा संस्थाको सञ्जाल विस्तार गर्न क्षेत्रीय संयोजकहरूलगायतका सबै पद सर्वसम्मत चयन भएका छन् ।
तस्बिरको क्याप्शन, एक पटकमा नाकको एउटा प्वालले मात्र सास फेर्छ भन्ने तपाईँलाई थाहा छ?Article Information
दिनमा कैयौँ पटक हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालले पालैपालो सास तान्ने र फाल्ने काम गरिरहेका हुन्छन्।
यसलाई ‘नासिका चक्र’ भनिन्छ र यसले हाम्रो नाकको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
रुघा लागेको बेला वा एलर्जी भएका बेला नाक बन्द भएर सास लिन र छाड्न मुस्किल पर्छ।
तर त्यस्तो विरामी नपरेको बेलामा पनि तपाईँले लामो सास तान्दा याद गर्नु भएको होला नाकको एउटा प्वालबाट मात्र हावा भित्र प्रवेश गरेको हुन्छ।
तर यो आत्तिनु पर्ने कुरा होइन तपाईँ जे अनुभव गरिरहनुभएको छ त्यो वास्तवमा एक स्वाभाविक शारीरिक प्रक्रिया हो।
हामी जागा रहेका बेला हरेक दुई घण्टामा हाम्रो नाकको प्वालबाट हावा भित्र जाने र बाहिरिने पालो
परिवर्तन भइरहने विज्ञहरू बताउँछन्।
तर निदाएका बेला भने त्यस्तो परिवर्तन हुने दर कम हुन्छ किनभने हाम्रो शरीरभित्र प्रवेश गर्ने र निस्कने हावाको मात्रा नै कम हुन्छ।
नासिका चक्रको दुई पक्ष हुन्छः एउटा नाक साँघुरो हुने र अर्को नाक फुक्ने।
साँघुरो अवस्थामा एउटा नाकबाट बहने हावाको मात्रा कम हुन्छ र खुलेको नाकको प्वालबाट भने हावाको प्रवाह धेरै हुन्छ।
धेरै हावा भित्र लगेको नाकको प्वाल थाक्छ हावाले त्यसलाई सुक्खा बनाइदिन्छ र त्यसमा कीटाणुहरू बस्ने सम्भावना बढ्छ। त्यसैले नाकको प्वालले सास फेर्ने कार्य पालै पालो गर्ने गर्छन्।
नाकको यो चक्र स्वचालित हुन्छ र मष्तिष्कमा रहेको हाइपोथलामसले यसलाई नियन्त्रित गरेको हुन्छ।
यद्यपि केही मानिसहरू जो चाहिँ हाइपोथलामसमा समस्या भएका हुन्छन् उनीहरूमा नासिका चक्र चलिरहेको हुँदैन।
दायाँ हात प्रमुख रहेर काम गर्नेहरूमा बायाँ नाकको प्वाल धेरै सक्रिय हुने गरेको बताइन्छ।
तस्बिर स्रोत, Getty Images
अध्ययनहरूले देखाएका छन्- जब नाकको दायाँ प्वाल सक्रिय हुन्छ त्यसबेला शरीर बढी सतर्कताको स्थिति या तनावको स्थितिमा रहेको हुन्छ।
जब बायाँ प्वाल सक्रिय हुन्छ त्यसबेला शरीर आरामको स्थितिमा रहन्छ।
धेरै कारणले ‘नासिका चक्र’ महत्त्वपूर्ण मानिन्छ।
पहिलो यसले नाक र श्वास प्रणालीको माथिल्लो तहलाई जोगाउँछ।
हाम्रो नाकबाट हरेक दिन १२,००० लिटर हावा भित्र बाहिर गरिरहेको हुन्छ र त्यसो गर्दा कीटाणुबाट जोगाउन भूमिका खेल्ने बचाउ प्रणालीको रूपमा यो प्रकृयाले काम गर्छ।
फरक फरक प्वालबाट हावा भित्र बाहिर गर्दा क्षतिको खतरा कम हुन्छ।
नाकलाई पनि आराम गर्न जरुरी हुन्छ। हावाको सम्पर्कमा आउने हुनाले हावाले यसलाई सुक्खा बनाइदिन्छ।
त्यसैले आराम नगर्ने हो भने कीटाणुले यसलाई नोक्सान पुर्याउने स्थिति बन्न सक्छ।
नाक बन्द हुँदा नाकका नशाहरूमा रक्त प्रवाह बढ्छ।
यसले गर्दा नाकको प्वालको सतह मर्मतका लागि भिजेकै रहिरहन्छ। र हावा यो सतह हुँदै बग्दा तातो र वाष्पयुक्त बन्न पुग्छ।
नासिका चक्रको कार्य
नाकको नियमित कार्यलाई कैयौँ कारकले प्रभावित पार्छन्।
रुघा लागेका बेला नाकमा सिँगानको मात्रा बढी हुन्छ। यसले नाकको प्वाललाई पालैपालो काम गर्नमा समस्या आउन सक्छ।
पराग कण या धुलोका कण जस्ता पदार्थले नाकको कोशिकामा गम्भीर सुजन गराउन सक्छन् यसले गर्दा पनि नासिका चक्रको काममा बाधा उत्पन्न हुन्छ।
केही औषधिहरू – जस्तो कि उच्च रक्त चापको उपचारमा प्रयोग हुने जस्ता औषधिले नाकको सतहमा समस्या पैदा हुन सक्छ। त्यो किनभने त्यस्ता औषधिले शरीरभरिका कोषिकामा प्रभावित पारेका हुन्छन्।
नाक बन्द भएका बेला प्रयोग गरिने औषधिहरू पाँच दिनभन्दा बढी प्रयोग गर्ने हो भने राइनिटीस मेडिकामेन्टोसा भन्ने स्थिति बन्न सक्छ जुन औषधि धेरै प्रयोग गरेका कारण नाक बन्द हुने स्थिति हो।
नाकमा अचानक सुजन भयो भने पनि नासिका चक्रमा समस्या आउँछ।
नाकभित्रको संरचनाले पनि नासिका चक्रलाई प्रभावित पार्छ।
नासिकामा हुने पोलिपहरू जसबाट ४ प्रतिशत मानिसहरू प्रभावित भएका हुन्छन् त्यसले पनि नासिका चक्रलाई प्रभावित पार्छ।
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, परागकणका कारण एलर्जी हुँदा नाकका कोषमा गम्भीर सुजन हुन सक्छ र त्यसले नासिका चक्र प्रभावित हुन सक्छ
यस्तो अवस्थामा नाकको दुवै प्वालबाट हावा भित्र बाहिर गर्ने प्रक्रियामा समस्या ल्याउँछ र नाक बन्द हुने अवस्था आउँछ।
नाकभित्रको कुनै अंश सामान्य भन्दा फरक रहेको अवस्थामा पनि सधैँ नाक बन्द हुने स्थिति बन्न सक्छ। यस्तो अवस्थामा सास फेराइ सहज बनाउन र निन्द्रा गुणस्तरीय होस् भनेर कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।
विछ्यौनामा पल्टिरहेको अवस्थामा वा झुकेको अवस्थाले पनि नाकमा हावा प्रवाह प्रभावित पार्न सक्छ। पल्टेका बेला तपाईँको नाकमा रगत जम्मा हुन पुग्छ। र गुरुत्वाकर्षणका कारण तपाईँको नासिकाको साइनस तकियातर्फ ढल्किन सक्छ। यसले एउटा नाकको प्वाल बन्द गर्न सक्छ। जसले गर्दा नासिकामा हुने हावा बहने कार्य प्रभावित हुन सक्छ।
यदि तपाईँमा नाक बन्द हुने समस्या छ भने धेरैजसो चाहिँ रुघा लागेको हुन सक्छ। त्यो मार्ग खुला हुन दुई हप्तासम्म लाग्न सक्छ। पिनास भयो भने चाहिँ चार हप्तासम्म त्यो अवस्था हुन सक्छ।
पराग कण पनि नासिकामा समस्या ल्याउने कारक बन्न सक्छ। यसको लक्षण पनि हप्तौँ रहन सक्छ। त्यसैले एलर्जी नियन्त्रण गर्ने औषधि लिने हो भने पनि नाकको प्वाल खुला राख्न सहयोग गर्न सक्छ।
यदि तपाईँको नाकको एउटा प्वाल दुई हप्ता भन्दा बढी समयसम्म बन्द रह्यो भने तपाईँले डाक्टरको परामर्श लिनु ठिक हुन्छ। खासगरी तपाईँको नाकबाट निस्कने सिँगान सामान्यभन्दा फरक मात्रामा छ भने त परामर्शमा जानु नै ठिक हुन्छ।
*एडम टेलर संयुक्त अधिराज्यस्थित ल्याङ्कास्टर विश्वविद्यालयमा एनाटोमी विषयका प्राध्यापक हुन्
*यो लेख मूल अंग्रेजी रूपमा द कन्भरसेशन पत्रिकामा प्रकाशित छ र यहाँ क्रिएटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुवाद गरेर पुनः प्रकाशन गरिएको हो। मूल अंग्रेजी लेख पढ्न यहाँ क्लिक गर्नुहोस्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
२ चैत, काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार हेर्दाहेर्दैमा राखेका थिए ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आइतबार लागि पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
१ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पुनः संघीय संसद् सदस्य हुने भएका छन् ।
नेकपा एमालेले उनलाई जनजाति पुरुष कलस्टरअन्तर्गत राखेर समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष नाम सिफारिस गरेको छ । यो सँगै बादल पुनः सांसद बन्ने भएका हुन् ।
२०१२ साल वैशाखमा कडागाउँ गुल्मीमा जन्मिएका उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा बादलले प्रचण्डपछिका शक्तिशाली सैन्य कमाण्डरको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
२०३७ सालदेखि पार्टीगत राजनीतिमा सक्रिय उनी माओवादी माओवादी शान्ति प्रक्रियामा आएपछि राजकीय जिम्मेवारीमा पुगेका थिए ।
२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्ब २ बाट विजयी भए । उक्त निर्वाचनबाट तत्कालीन माओवादी सबैभन्दा ठूलो दल बनेर उदायो ।
चुनावपछि बनेको प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा बादल रक्षामन्त्री बने । तर, तत्कालीन प्रधानसेनापति रुक्मांगद कट्वाललाई हटाउने प्रयास गर्दा प्रचण्ड नेतृत्वको सरकार ढल्यो । त्यसबेला बादलको समन्वयकारी भूमिकालाई लिएर कतिपयले पार्टीभित्र प्रश्न उठाएका थिए ।
पार्टीभित्र प्रभावशाली रहेका उनी २०६५ सालमा तत्कालीन माओवादीको महासचिव बने । तर, प्रचण्डसँगको उनको सहकार्य लामो समय जान सकेन । २०६८ सालमा बादलले प्रचण्ड नेतृत्वको पार्टी छाडे । त्यससपछि मोहन वैद्य नेतृत्वको पार्टीको महासचिव बने । २०७० सालको निर्वाचनमा वैद्य नेतृत्वको पार्टीले भाग लिएन । ३ जेठ २०७३ मा बादल पुनः प्रचण्ड नेतृत्वको पार्टीमा फर्किए ।
२०७४ सालमा तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेले वाम तालमेल गरे र संयुक्त घोषणापत्रमार्फत निर्वाचन लडे । त्यसबेला प्रचण्डले नै चितवनबाट चुनाव लड्ने भएपछि बादल उम्मेदवार भएनन् ।
बरु सोही वर्ष भएको राष्ट्रिय सभाको निर्वाचनमा उनी मकवानपुरबाट उम्मेदवार भए । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर संघीय संसद्मा दोस्रो पटक पुगे ।
२०७४ को चुनावबाट प्रतिनिधि सभामा वाम गण्बन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गर्यो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शक्तिशाली सरकार बन्यो । ओेली नेतृत्वको उक्त सरकारमा बादल गृहमन्त्री बने ।
१४ फागुन २०७४ मा गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका बादल २०७८ साल ५ वैशाख २०७८ सम्म रहे ।
नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकता नै भंग गरिदिएपछि बादल एमालेमै बसेका थिए । एमालेमै बसेका बादललाई माओवादीले सांसद पदबाट निलम्बन गरेपछि उनको गृहमन्त्री पद गयो ।
बादलको सांसद पद खारेज भएपनि ६ महिनाका लागि गैर सांसदलाई मन्त्री बनाउन सकिने संवैधानिक प्रावधानमा टेकेर तत्कालीन प्रधानमन्त्री ओलीले पुनः बादललाई गृहमन्त्री नै बनाए । पछि सर्वोच्च अदालतले उक्त नियुक्ति पनि बदर गरिदियो ।
बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै रिक्त रहेको उक्त पदमा २०७८ वैशाख २४ मा उपनिर्वाचन भयो । बादल पुनः उम्मेदवार भए तर, चुनाव जितेनन् । बादललाई हराउँदै डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए ।
यो सँगै बादलको दोस्रो संसदीय यात्रा बीचमै रोकिएको थियो । २०७९ सालको निर्वाचनमा कतै उम्मेदवार भएनन् । यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा छिर्दा उनी तेस्रो पटक विधायक हुनेछन् ।
यसपटक एमालेले उनलाई जनजाति कलस्टर अन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा राखेको थियो । जसका कारण पार्टीले विगतको तुलनामा निकै मत मत समानुपातिकतर्फ पाउँदा समेत बादलले सांसद बन्ने अवसर प्राप्त गरे ।
प्रत्यक्षतर्फ उम्मेदवार रहेका एमालेका पदाधिकारी सबै पराजित भएका छन् । यो बेला एमालेको पदाधिकारीको तर्फबाट बादलले संसद्मा नेतृत्व गर्नेछन् ।
१ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ ।
त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’
एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीसँग गोलरहित बराबरी खेलेको छ ।
एपीएफले ११ खेलमा चौथो बराबरी खेलेर अपराजित यात्रा कायम राखेको छ ।
चर्च ब्वाइज युनाइटेडले फ्रेण्ड्स क्लबसँग २-० ले पराजित भएको छ ।
१ चैत, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा आइतबार चित्लाङ एफसीसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीले एपीएफको शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो ।
पछिल्लो चार खेलमा एपीएफको यो तेस्रो बराबरी हो । विभागीय डर्बी नेपाल पुलिस क्लब र त्यसपछि प्लानिङ ब्वाइज युनाइटेडसँग बराबरी खेलेको एपीएफले अर्को विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई हराएको थियो । तर फेरि चित्लाङ एफसीसँग बराबरीमा रोकिएको हो ।
११ खेलमा चौथो बराबरी खेलेको एपीएफले अपराजित यात्रा कायम राखेपनि शीर्ष स्थानमा उक्लने अवसर गुमायो । ११ खेलबाट मछिन्द्र एफसी समान २५ अंक जोडेपनि एपीएफ दोस्रो स्थानमै छ ।
चित्लाङ १२ खेलबाट ८ अंकसहित १५औं स्थानमै छ ।
आइतबारै साँझ दशरथ रंगशालमा भएको खेलमा उपाधि दाबेदारमध्ये एक चर्च ब्वाइज युनाइटेड फ्रेण्ड्स क्लबसँग २-० ले पराजित भएको छ । फ्रेण्ड्सका लागि मासाय ताहारले २८औं र मौसम सुब्बाले ४५औं मिनेटमा गोल गरे ।
लिगमा ११ खेल खेल्दा चर्च ब्वाइजको यो दोस्रो हार हो । यो हारले चर्च ब्वाइजले शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । चर्च ब्वाइज १० खेलबाट २२ अंकसहित चौथो स्थानमै छ ।
फ्रेण्ड्सको भने यो दोस्रो जित हो । १० खेलबाट १२ अंक जोडेको फ्रेण्ड्स ११औं स्थानमा छ ।
१ चैत, काठमाडौं । जेनजी आन्दोलनपछि संकटमा पुगेको मुलुकलाई राजनीतिक र संवैधानिक ट्र्याकमा ल्याउन प्रधानमन्त्री सुशीला कार्कीले सफल निर्वाचन गराएपछि उनको कार्यकारी भूमिका प्रशंसा भइरहेको छ । चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केही दिनमै नयाँ सरकार बनेपछि सुशीला कार्कीको बिदाइ हुनेछ ।
चुनाव सम्पन्न गराएर वाहीवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले ‘दाँतमा ढुंगा’ लागे जस्तो भएको छ । सामाजिक सञ्जालहरूमा उनको निर्णयको आलोचना भइरहेको छ । निर्णय हो- जाँदाजाँदै आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई दिएको प्रकृति संरक्षण कोषको नियुक्ति ।
विगतका सरकारहरूले सरकारबाट बाहिरिने बेलामा यस्ता निर्णयहरू गर्ने गरेका थिए । यस्तै विकृतिहरूमाथि समेत जेनजी आन्दोलनका क्रममा प्रश्न उठेका थिए । प्रधानमन्त्री कार्कीको यो निर्णयले त्यस्तै खालको दृश्य सम्झाएको भन्दै प्रश्न उठेको छ ।
जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रश्न गरेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’
उनले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झना पनि गरेकी छन् । रक्षाको चेतावनी छ’,होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’
मन्त्रिपरिषद्को बैठकले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय पनि गरेको थियो । तर यो निर्णय भन्दा बढी आलोचना चाहिँ प्रमुख स्वकीय सचिव श्रेष्ठको नियुक्तिप्रति भइरहेको छ ।
श्रेष्ठ प्रधानमन्त्री कार्कीकै स्वकीय सचिवालयमा नियुक्त भएपछि पनि विवादमा आएका थिए । उनले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा आफ्नै श्रीमति सहितका नातेदारहरूलाई नियुक्ति दिएको खुलेपछि विवाद भएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयमा भएका ती सबै नियुक्तिहरू खारेज गरिएको थियो । अरु नियुक्ति खारेज गरे पनि प्रमुख स्वकीय सचिवमा श्रेष्ठ नै निरन्तर रहे ।
प्रधानमन्त्री कार्कीका अनुसार श्रेष्ठ उनलाई सहयोग गर्ने निकट व्यक्ति हुन् । त्यही व्यक्ति भएका कारण उनले श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएकी हुन् । कोषको संरक्षक प्रधानमन्त्री हुन्छन् । प्रधानमन्त्रीले अध्यक्षमा नियुक्ति दिन सक्ने व्यवस्था छ । त्यही अधिकार प्रयोग गरेर बालुवाटार छोड्नुअघि उनले स्वकीय सचिवलाई नियुक्तिको प्रबन्ध गरिदिएकी हुन् ।
आइतबार मात्र प्रधानमन्त्री कार्कीले राससलाई दिएको अन्तर्वार्तामा स्वकीय सचिव श्रेष्ठको प्रशंसामा लामो व्याख्या गरेकी छन् ।
‘निर्वाचन र सरकारलाई सफल पार्न कसको कस्तो सहयोग मिल्यो ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीको जवाफ यस्तो छ-
सरकारको मूल कार्यभार निर्वाचन गराउने थियो । यसको ५० प्रतिशत श्रेय म निर्वाचन आयोगलाई दिन चाहन्छु । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीन आयुक्तको नेतृत्वमा भएको योगदान इतिहासले बिर्सन सक्ने छैन । आयोगमा पाँच जना पदाधिकारी हुनुपर्नेमा तीन जनाले पनि यति ठूलो काम गर्नुभयो । म प्रधानमन्त्रीका हैसियतले तीनै जना पदाधिकारीलाई र सिङ्गो आयोगलाई धन्यवाद दिन चाहन्छु । मन्त्रीमण्डलमा सबैभन्दा धेरै धन्यवाद म गृहमन्त्री ओमप्रकाश अर्याललाई दिन चाहन्छु । दिनरात मेहनत गर्नुभएको छ । अरू मन्त्रीहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।
सरकारले यो सफलता पाउनुमा प्रत्येक नागरिकको उत्तिकै योगदान छ । चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि एकीकृत सुरक्षा योजना बनाउन र प्रभावकारी रूपमा लागु गरी मुलुकलाई यो ठाउँमा सुरक्षित अवतरण गर्न ठूलो भूमिका खेल्नुभएको छ ।
मलाई सफल पार्नका लागि मेरो निकट रहेर दुई सहयोगी व्यक्तित्व प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाउनुभएको छ । रावल जी पत्रकार मात्रै होइन, उहाँमा इमानदारी र मानिसलाई सहयोग गरुँ भन्ने भावना मात्रै छ ।
प्रमुख स्वकीय सचिव श्रेष्ठ अदालतको कर्मचारी हो । अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हो । धेरै प्रधानन्यायाधीशको निजी सहायकका रुपमा काम गरेको व्यक्ति हो ।
म प्रधानन्यायाधीश हुँदा पनि निजी सहायक नै थियो । सचिवालयमा २०/२५ जनाले गर्ने काम यिनीहरूले गरे ।
लामो समय अदालतमा काम गरेको, आईटी र कानुनमा राम्रो दख्खल भएको व्यक्ति हो ।
धेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायक भएर सबैको विश्वास जितेर काम गरेको हो । यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ । उसैको देनका कारण सम्भव भयो । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा पहिला ४०–५० जना कर्मचारी हुन्थे । म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।
—–
प्रधानमन्त्री कार्कीले आफ्नो सफलतामा स्वकीय सचिव श्रेष्ठको ७५ प्रतिशत भूमिका रहेको भन्दै उनीप्रतिको आफ्नो दायित्व खुलाएकी छन् । प्रधानमन्त्री वा अन्य कुनै राजनीतिक उपल्लो भूमिकामा रहेका बेला आफ्ना र निकट व्यक्तिहरूलाई नियुक्ति दिने परम्परालाई कार्कीले निरन्तरता दिएकी छन् । यस्तो नियुक्ति दिँदा कुन व्यक्तिलाई कुन स्थानमा दिने भन्ने ख्याल गरिएको छैन ।
प्रकृति संरक्षण कोष राजनीतिक नियुक्तिका दृष्टिले आकर्षक मानिन्छ । यो जैविक विवधता संरक्षण गर्नका लागि बनेको सरकारी संस्था हो । यसले संरक्षण क्षेत्रहरूको व्यवस्थापनदेखि जैविक विविधता क्षेत्रका अध्ययन अनुसन्धानको काम गर्छ । यहाँ वातावरण क्षेत्रका विज्ञ र वैज्ञानिकहरू हुन्छन् । यो संस्थाले विदेशी दातृ निकाहरूसँग सिधै सहयोग लिएर पनि काम गर्छ । वार्षिक करिब डेढ अर्ब भन्दा बढी बजेट यो संस्थाले चलाउँछ । अध्यक्षको शीर्षकमा खर्च गर्न छुट्टै बजेट पनि हुन्छ । मुलुकभरका संरक्षण क्षेत्रको नेटवर्क पनि यो संस्थाबाट हुन्छ ।
१ चैत, काठमाडौं । नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् ।
आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूका अनुसार यो रकेट प्रक्षेपणका कारण देखिएको दृश्य हुनसक्छ । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेटहरू प्रक्षेपण गर्दा धेरै माथि जान्छ र रातको समयमा त्यसको उज्यालो देखिएको हुनसक्छ ।
अहिले स्पेस एक्सले फलोरिडा र क्यालिफोर्नियाबाट यस्ता प्रक्षेपणहरू गरिरहेको छ । त्यसको कारण पनि देखिएको हुनसक्छ । तर यो कहाँबाट प्रक्षेपण गरेका कारण यहाँ दृश्य देखिएको हो भन्ने अहिले नै भन्न गार्हो छ । यस्तो दृश्यलाई ‘स्पेस जेलिफिस’पनि भनिन्छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराई पनि यो सामान्य दृश्य भएको बताउँछन् । ‘मान्छेहरू अहिले आकाशमा हेर्न थालेका छन् । पहिला पनि हुन्थ्यो तर हेर्दैनथिए । आजकाल चाहिँ हेर्न थालेका छन् । पब्लिकले चाहिँ भ्यालिडेट विषयहरू मात्रै सेयर गर्नुपर्ने हुन्छ । यतिकै सामाजिक सञ्जालमा आएका विषयलाई पत्याउन हुँदैन’ उनले भने ।
सोसाइटीले उक्त दृश्यबारे आइतबार आफ्नो पेजमा लेखेको छ- ‘आज साँझ नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट होइन। सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना हो ।’
रकेट यति धेरै उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास धेरै फैलिन्छ र पृथ्वीका हजारौँ किलोमिटर टाढासम्मबाट पनि देखिन सक्छ । त्यसैले नेपाल, भूटान, भारतको असम लगायतका क्षेत्रबाट पनि एकै समयमा यो दृश्य देखिएको हुन सक्छ।
‘महत्वपूर्ण कुरा के हो भने, यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन। त्यो धेरै टाढा, सम्भवतः नेपालभन्दा उत्तरतर्फ चीन वा तिब्बतको आकाशमाथि रहेको हुन्छ। तर अत्यन्त उचाइका कारण यसको उज्यालो धुवाँ नेपालबाट पनि देखिन्छ ।यस प्रकारको घटनालाई वैज्ञानिक भाषामा “ट्वाइलाइट रकेट प्लुम” भनिन्छ, जुन उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ देखिने सामान्य खगोलीय दृश्य हो।’
चीनको समाचार संस्था सिजिटिएनका अनुसार चीनले आइतबार याओगान–५० ०२ रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । यो उपग्रह ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार राति ९:२२ बजे लङ मार्च–६ रकेटको परिमार्जित संस्करणमार्फत प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको सिजीटिएनले जनाएको छ ।
तर आज साँझ नेपालको आकाशमा देखिएको दृश्य चीनको प्रक्षेषणकै हो भन्ने यकिन चाहिँ बैज्ञानिकहरूले गर्न सकेका छैनन् । अनुमान मात्र गरेका छन् ।
म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको छ ।
ओल्डट्राफोर्टमा प्राप्त जितपछि युनाइटेडले ३० खेलबाट ५४ अंक जोडेको छ ।
कासेमिरो, माथ्युज कुन्हा र बेन्जामिन सेस्कोले गोल गरेपछि युनाइटेडले जित हात पारेको हो ।
१ चैत, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार राती सम्पन्न खेलमा एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
घरेलु मैदान ओल्डट्राफोर्टमा प्रभावशाली जितपछि तेस्रो स्थानको युनाइटेडले एस्टल भिल्लामाथि ३ अंकको अग्रता बनाएको छ ।
युनाइटेडको ३० खेलबाट ५४ अंक भएको छ भने समान खेलबाट भिल्लाको ५१ अंक छ ।
कासेमिरोले ५३औं मिनेटमा गोल गर्दै एस्टन भिल्लाई अग्रता दिलाएका थिए । रोस बार्कलेले ६४औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काएका थिए । तर माथ्युज कुन्हाले ७१औं मिनेटमा गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो । बेन्जामिन सेस्कोले ८१औं मिनेटमा गोल गरेपछि युनाइटेडले सहज जित हात पारेको हो ।
लिगकै अन्य खेलमा क्रिस्टल प्यालेस र लिड्स युनाइटेड तथा नटिङहम फरेस्ट र फुलहमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा नवलपुर–१ क्षेत्रबाट फराकिलो मतान्तरसहित विजय हासिल गरे।
गौतमले स्थानीय विकास र नीति दुवैमा सन्तुलित भूमिका खेल्ने र मुख्य मुद्दा रोजगारी रहेको बताएका छन्।
उनी हाल रास्वपाको गण्डकी प्रदेश सभापति हुन् र नवलपुरवासीलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन्।
१ चैत, काठमाडौं । नवलपुर–१ लामो समयदेखि नेपाली कांग्रेसको अभेद्य किल्ला मानिन्थ्यो । तीन दशकदेखि कांग्रेसले प्रभाव जमाउँदै आएको यो क्षेत्रमा सो पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि पटक–पटक निर्वाचन जितेका थिए ।
तर, २०८२ को प्रतिनिधिसभा निर्वाचनमा यो पुरानो इतिहास पूर्ण रूपमा उल्टियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतमले फराकिलो मतान्तरसहित विजय हासिल गरे । गौतमले ५० हजार ९४५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत मात्र ल्याए । एमालेका भगिरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा रहे ।
३४ हजार ६५२ मतको विशाल अन्तरले जनताको विश्वास पुराना दलहरूबाट टाढा सरेको र नयाँ शक्तिप्रति आकर्षित भएको स्पष्ट सन्देश दियो । त्यसैले अब यो क्षेत्रलाई ‘जनताको गढ’ भन्नुपर्ने बताउँछन् रास्वपाका गौतम । कुनै एक दलको होइन, जनताले आफ्नो अपेक्षा पूरा गर्ने शक्तिलाई रोजेको प्रमाण रहेको उनको भनाइ छ ।
३९ वर्षीय गौतम नवलपुरको देवचुलीमा सुकुम्बासी परिवारमा जन्मिएका हुन् । उनी सानैदेखि मेधावी विद्यार्थी थिए ।
ध्रुवज्योति प्राविबाट प्राथमिक तहमा ‘होल्ड फर्स्ट’ हुँदै देवचुली माविबाट १२ कक्षासम्म ‘फर्स्ट ब्वाई’ बनेर पास गरे । परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टर बन्ने सपना अधुरो रह्यो । उच्च शिक्षाका लागि भरतपुर वा काठमाडौं जान नसकेपछि स्थानीय स्कुलमै ‘मेजर म्याथ’ लिएर पढे ।
ट्युसन पढाएर परिवार पाल्दै ब्याचलर्स र मास्टर्स (एमएड) पूरा गरे । पछि एमबीबीएस फाइनान्स पनि गरे । शिक्षण पेसामा उनको यात्रा निकै उल्लेखनीय रह्यो ।
२०७१ सालमा मात्र २८ वर्षको उमेरमा देवचुली कलेजको प्रमुख बने । नेपालभरिका सामुदायिक क्याम्पसहरूमा सबैभन्दा कान्छो क्याम्पस प्रमुखको कीर्तिमान बनाए । सुरुमा उमेरका कारण चुनौती सामना गर्नुपरको अनुभव उनीसँग छ । जस्तो, कतिपय ठाउँमा उनलाई अन्य कर्मचारी जस्तै ठानियो, पटकपटक आइडी कार्ड देखाउनुपर्यो । तर योग्यता, हुटहुटी र मिहिनेतले सफलता दिलाएको दाबी उनको छ ।
कलेजसँगै अमर र कुमारवर्ती मावि, ओएसिस बोर्डिङ स्कुलमा पनि पढाए । शिक्षा क्षेत्रमा उनको योगदानले उनलाई स्थानीय स्तरमा बलियो पहिचान दियो ।
तर, त्यसबेलासम्म राजनीतिबारे सोचेका थिएनन् । राजनीतिमा प्रवेश भने २०७४ को स्थानीय तह निर्वाचनबाट ‘क्लिक’ भएको थियो । उनका अनुसार, त्यसअघि उनी भोटर मात्र थिए, कुनै पार्टीको सदस्य थिएनन् । तर देशमा परिवर्तन चाहने चाहना बढ्दै गयो ।
गौतमको परिवारको मतदान ट्रेन्ड पनि उस्तै छ । हजुरबुवाले २०१५ मा कांग्रेसलाई, बुवाले २०४८ मा एमालेलाई, आफैंले २०६४ मा माओवादीलाई भोट दिए । तर हरेक पटक अपेक्षा पूरा नभएपछि आफूले पनि मत मात्र फेरेनन्, उम्मेदवार नै बनेर खडा भए । ‘पटकपटक अपेक्षा गर्दा पनि नजितेपछि मेरो परिवार स्विङ भोटर बन्यो,’ उनले सुनाए ।
२०७९ मा रास्वपा गठन भएसँगै उनी जोडिए । त्यसलगत्तै आएको अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा २४ हजार ३०५ मत ल्याएर दोस्रो भए । शशांक कोइरालाले २७ हजार ६७ मत ल्याएर जिते । तर समानुपातिकमा रास्वपाले सबैभन्दा बढी २५ हजार ७७४ मत ल्यायो । यो नतिजाले उनलाई क्षेत्रको बलियो दाबेदारको रूपमा यसअघि नै स्थापित गरेको थियो ।
त्यसैले २०८२ को चुनावमा गौतमले सुरुदेखि नै आत्मविश्वास देखाए । घरदैलोमा जाँदा जनताको आँखा र अभिव्यक्तिले जितको संकेत दिएको उनी बताउँछन् । ‘एक जना भोट दिनेले अर्कोलाई पनि दिनुस्’ भन्दै मत माग्नुभयो । त्यसबेलै मलाई त चुनाव जित्छु होला जस्तो लागेको थियो । नभन्दै जितियो,’ उनले भने ।
शान्तिपूर्ण चुनाव भयो, पुराना गढ भत्किए । जनताले कांग्रेसको विश्वास तोडेको उनको भनाइ छ । यस पटक गौतमलाई जिताएका मतदाताको अपेक्षा पनि मिश्रित छ– बाटो पिच जस्ता विकास–निर्माणका कामसँगै नीति निर्माण तहमा राम्रो भूमिका खेल्ने ।
गौतम स्थानीय विकास र नीति, दुवैलाई सन्तुलित रूपमा हेर्ने बताउँछन् । उनका अनुसार, अहिलेको अवस्थामा मुख्य मुद्दा रोजगारी हो । पहिलो चरणमा खाडी मुलुकबाट फर्काउने, नेपालमा आम्दानी बढाउने योजना छ । भारत–चीनबीचको भौगोलिक अवस्थितिलाई सदुपयोग गर्ने, स्किल म्यानपावर विकास गर्ने ।
उनका अनुसार, उच्च शिक्षामा विद्यार्थी घट्दै गएका छन् । कलेजहरू बन्द हुने अवस्थामा छन् । प्रावि तहका स्कुल पनि बन्द हुने डर बढेको छ । यसलाई रोक्न रास्वपालाई दुई तिहाइ हाराहारी मत दिएको जनताको विश्वास पूरा गर्ने उनको संकल्प छ ।
गौतम अहिले रास्वपाको गण्डकी प्रदेश सभापति पनि रहेका छन् । हाल काठमाडौंमा रहेका उनको ‘काठमाडौंमै हराउने माननीय’ भन्दै पुरानो गुनासो यस पटक नदोहोरिने प्रतिबद्धता छ ।
‘जसरी हुन्छ, नवलपुरवासीलाई निराश नबनाउने गरी काम गर्छु । उहाँहरूले प्रतिनिधि भएको अनुभूति हुने गरी सक्रिय हुन्छु । नीति निर्माणमा पनि उत्तिकै सक्रिय हुन्छु । युवा छु, जोस छ, जनताले काम गर्न चुन्नुभएको छ । अब उहाँहरूको विश्वास कायम गर्छु,’ उनले भने ।
जेनजी अगुवाहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले कार्की आयोगको प्रतिवेदनमा ७६ जनाको मृत्युको सत्यतथ्य खुलाउन सरकारलाई दबाब दिएका छन्।
सरकारले मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन अध्ययन गर्ने निर्णय गरेको र विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ।
१ चैत, काठमाडौं । २३ र २४ भदौमा आन्दोलन गर्ने अधिकांश जेनजी अगुवाका ‘प्रोफाइल पिक्चर’ बनेको छ– कार्की आयोगको पूरा प्रतिवेदन खोइ ? रातो पृष्ठभूमिमा जेनजी आगुवाले प्रतिवेदन माग गर्दै लेखिएको तस्वीर प्रोफाइल पिक्चर बनाएका देखिन्छन् ।
केही दिनयता समाजिक सञ्जालबाटै सरकारमाथि दबाब छेडेका यी जेनजी आइतबार भने माइतीघर मण्डलामा देखिए । गत भदौमा आन्दोलनको आँधी–बेहरी ल्याएका उनीहरू यस पटक चैते हावाहुरी छलेर सडकमा उभिए ।
जेनजी अगुवामा डर देखिन्थ्यो– कतै यसअघिका आयोगका प्रतिवेदनझैँ जेनजी आन्दोलनको प्रतिवेदन पनि लुकाइँदै त छैन ? जेनजी नेता लक्ष्मी घिमिरेले बोकेको प्लेकार्डले सन्देहपूर्वक प्रश्न गरिरहेको थियो, ‘मल्लिक आयोग प्रतिवेदन पढ्न ३५ वर्ष र अझै, रायमाझी आयोग प्रतिवेदन पढ्न १९ वर्ष र अझै, लाल आयोग प्रतिवेदन पढ्न ८ वर्ष र अझै, अब कार्की आयोगको कहिले सक्किने हो कुन्नि ?’
यसरी विभिन्न नारा बोकेका प्लेकार्ड देखाउँदै उनीहरू प्रदर्शनमा थिए । जेनजी अगुवा ऋषि थापाको प्लेकार्डले भन्दै थियो– रिलिज द रिपोर्ट ! रिलिभ द ट्रुथ !
ऋषि थापा
माइतीघरमा प्रदर्शन गरिरहेका प्रदीप ज्ञवालीका अनुसार, भदौ २३ गते आन्दोलनकारीमाथि गोली चलाइयो, २४ गते संसद् भवन, सिंहदरबार जलाइयो । कसले गोली चलायो, किन चलायो र संसद् भवन किन जले ? यसको सत्यतथ्य सबै नागरिकले थाहा पाउनुपर्छ । त्यसैले गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने भन्दै आफूहरू आन्दोलनमा आएको उनको भनाइ छ ।
‘१० हजार पन्नाभन्दा बढीको भनिएको यो प्रतिवेदन तयार भइसके पनि सार्वजनिक भएको छैन । जसका कारण सरकारमाथि प्रश्न उठेको छ । आम नागरिकले त्यो दिन के भयो भन्ने थाहा पाउनुपर्छ,’ ज्ञवालीले भने, ‘यो सरकारले मुख्य कार्यभार सम्हालिसकेपछि प्रतिवेदन सार्वजनिक गर्नु यो सरकारको अन्तिम जिम्मेवारी हो । मल्लिक, लाल, लामिछाने आयोगका प्रतिवेदन जस्तै यो पनि दराजमा थन्किन नदिन हामी दबाब दिइरहेका छौं । हाम्रो पुस्ताले गरेको विद्रोहको सत्य निष्पक्ष रूपमा आम नागरिकसामु आउनुपर्छ ।’
प्रदीप ज्ञवाली
यही सरकारले बनाएको आयोगले प्रतिवेदन तयार गरेकोले यसैले सार्वजनिक गर्नुपर्ने जोड ज्ञवालीको छ । उनले प्रतिवेदन सार्वजनिक नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
त्यस्तै, जेनजी अगुवा मोनिका निरौला पनि कार्की आयोगको प्रतिवेदन खोज्दै माइतीघरमा थिइन् । उनको प्लेकार्डमा पनि लेखिएको थियो– रिलिज द रिपोर्ट । रिलिभ द ट्रुथ ।
‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्यो भन्ने हाम्रो माग हो । संक्षिप्त वा सजाइएको होइन, पूरै प्रतिवेदन सार्वजनिक हुनुपर्छ,’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘यो हाम्रो सूचनाको हक पनि हो । ७६ जनाले ज्यान गुमाए, के कारणले गुमाए, को जिम्मेवार छ भन्ने सत्य थाहा पाउनुपर्छ ।’
प्रतिवेदन हातमा पर्दा पनि सार्वजनिक नहुनुले पुराना आयोगहरू जस्तै यो पनि लुकाइने हो कि भन्ने संशय बढेको निरौलाको भनाइ छ । ‘सार्वजनिक गरेर कार्यान्वयनमा लानुपर्छ । प्रतिवेदन आएन भने हामी निरन्तर सडक संघर्ष गर्छौं,’ उनले भनिन् ।
निरौलाका अनुसार, उनीहरूले ज्ञापनपत्र बुझाए, मिडियामार्फत सन्देश सुनाए, प्रधानमन्त्रीसँग पटक–पटक भेट्ने कोसिस पनि गरे । चुनावअघिदेखि नै प्रयास जारी राखे । फागुन २१ पछि पनि प्रयास छाडेनन् । तर समय नमिलेपछि अब सडकमै आएर प्रदर्शन गर्नुको विकल्प नदेखेको निरौलाको भनाइ छ ।
‘यो आज मात्र होइन, निरन्तर चल्छ । भोलि पनि ११ बजे यहीँ भेट्छौं । सडकमा नआउँदै पनि सामाजिक सञ्जालमा ‘कार्की आयोगको प्रतिवेदन खै ?’ अभियान चलाएकै थियौँ,’ उनले भनिन् ।
जेनजी अगुवा माजिद अन्सारी माइतीघरमा जेनजी अगुवाहरूको घेरा भित्र माइकिङ गरिरहेका थिए । उनले ‘ए, लाजले मर’ भन्दा अरूले ‘हाहाहा…’ गर्दै प्रदर्शन गरिरहेका थिए । अन्यभन्दा सिर्जनात्मक देखिएको यो शैलीलाई कतिपयले भारतीय विश्वविद्यालय जेएनयूको झल्को दिने किसिमको प्रदर्शन भन्दै दाँजिरहेका थिए ।
माजिद अन्सारी
अन्सारीका अनुसार, आम जनताले यस विषयमा सत्यतथ्य थाहा पाउनुपर्छ भनेर दबाब दिइएको हो । भदौ २३ गते के भयो, २४ गते के भयो ? कसले गोली चलाउन लगायो ? कसले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपतिको कार्यलय जलायो ? नेपाली जनताले थाहा पाउनु पर्छ ।
‘हामी हाम्रै सरकारले बनाएको प्रतिवेदनबाट सत्यतथ्य थाहा पाउन चाहन्छौँ, कुनै विदेशी एजेन्सी र संस्थाको न्यारेटिभ होइन,’ अन्सारीले भने, ‘हामीलाई फ्याक्ट चाहिएको छ । हामी राजा–महाराजाको पालामा छैनौं, संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ । सार्वभौम जनताले सत्य थाहा पाउने अधिकार प्रयोग गर्न पाउनुपर्छ ।’
प्रतिवेदन सार्वजनिक गर्नु यो सरकारको दायित्व रहेको अन्सारीले बताए । प्रधानमन्त्रीले चुनाव गराएपछि आफूले ड्युटी पूरा भएको बताए पनि त्यो सत्य नभएको उनको दाबी छ । ‘सरी ! म्याडम प्राइममिनिस्टर, कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी तपाईंको दायित्व पूरा हुँदैन,’ उनले भने ।
लक्ष्मी घिमिर
जेनजी अगुवा लक्ष्मी घिमिरको खोज पनि कार्की आयोगको प्रतिवेदन नै हो । माइतीघर आएकी उनी भन्छिन्, ‘भदौ २३ गते युवाहरूको रगत बग्यो । २४ गते देश जल्यो । त्यसको छानबिनका लागि गठित कार्की आयोगले चुपचाप प्रतिवेदन बुझायो ।’
घिमिरेका अनुसार, उनीहरूले आयोगले पटकपटक म्याद थप्दा पनि समय दिएर सहयोग गरे । तर अब यो चुपचाप हस्तान्तरण स्वीकार्य छैन । लोकतन्त्रमा सत्य उजागर हुनुपर्छ । मल्लिक आयोग ३५ वर्ष, रायमाझी १९ वर्ष, लाल आयोग ८ वर्षदेखि सार्वजनिक भएन । यो पनि दराजमा थन्क्याइने हो कि भन्ने डर छ ।
‘जनताले सत्य जान्नुपर्छ, न्याय अनुभूति गर्नुपर्छ । पहिला पूर्ण सार्वजनिक गरेर मात्र कार्यान्वयन हुनुपर्छ । अन्यथा पारदर्शिता र जवाफदेहिता हुँदैन,’ उनले भनिन् ।
डालिया पाठक
माइतीघरमा प्रदर्शन गरिरहेकी डालिया पाठकले अनलाइनखबरसँग भनिन्, ‘शहीदहरूले न्याय पाउनुपर्छ । के भयो ? कसले घुसपैठ गर्यो ? सरकार र पार्टीहरूको संलग्नता के थियो ? यो थाहा नपाई न्याय हुँदैन ।’ यसरी माइतीघरमा उभिएर प्रदर्शन गरिरहेकी उनको प्लेकार्डमा लेखिएको थियो, ‘मल्लिक, रायमाझी, लाल अनि अब कार्की ?’
जेनजीहरूलाई कार्की आयोगको प्रतिवेदन किन अहिले नै चाहियो ? अर्को सरकार आउला अनि गर्ला भन्ने पनि होला नि ? सामाजिक सञ्जालमा यदाकदा आफूले देखेका यस्ता प्रश्नबारे जवाफ दिँदै जेनजी अगुवा अर्नब चौधरीले थपे, ‘यो आन्दोलनबाट जन्मेको सरकार हो । त्यसैले यसैले हातमा परिसकेको प्रतिवेदन सार्वजनिक गर्नु विश्वसनीय हुन्छ । अरूले सत्य लुकाउने डर छ ।’
अर्नब चौधरी
प्रतिवेदन सार्वजनिक नै नगरी कार्यान्वयन जाँदा चाहिँ के समस्या ? यस्तो अवस्थामा पारदर्शितामा प्रश्न उठ्ने चौधरीको भनाइ छ । ‘ब्ल्यांकेटमा राखेर आफ्नालाई बचाउने, एकतर्फी कारबाही गर्ने भयो भने को जिम्मेवार हुन्छ ?,’ चौधरीको प्र्रश्न छ ।
यिनै विषयमा बोल्दै जेनजी अगुवा अमित खनाल ‘ऊर्जा’ सन्देह व्यक्त गर्छन्, ‘यो स्वतन्त्र सरकार बनाउनुको मुख्य उद्देश्य नै निष्पक्ष छानबिन थियो, कुनै राजनीतिक प्रभाव नहोस् भनेर । अब पनि काटछाँट गरेर सार्वजनिक गरे हामीले कसरी न्यायपूर्ण मान्ने ? कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर निष्पक्ष छानबिन गरेर अपराधीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाओस् ।’
अमित खनाल
तर, सरकारले भने प्रतिवेदन अध्ययन गर्ने गरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको थियो । यद्यपि, सोमबारसम्ममा प्रतिवेदन विस्तृतमा आउने पनि बताएका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताउँदै अर्यालले भने, ‘प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले भएको निर्णय यत्ति हो । यो भित्र सबै चिज पर्छ । यसको विस्तृत चाहिँ भोलि आउँछ । यति बुझ्नुस् न अहिले ।’