Skip to main content

लेखक: space4knews

बालुवाटार पुगेर कांग्रेसका नेताहरूले भेटे प्रधानमन्त्री


१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् ।

कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

बैठक स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिका रहेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

साथै, चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरिन् ।

भारतमा इन्दिरा गान्धीले चुनाव हार व्यहोर्दा पनि विचलित नभएको पृष्ठभूमि समेत जोड्दै उनले नेताहरूलाई अघि बढ्न आग्रह गरेकी थिइन् ।

सामाजिक सद्भाव र समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद कार्यक्रम आयोजना हुने

News Summary

  • काठमाडौं मोडेल कलेज र त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागले चैत ३ गते नीति संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
  • कार्यक्रम विश्व सामाजिक कार्य दिवसको अवसरमा सामाजिक सद्भाव, समावेशी विकास र सामाजिक न्याय विषयमा नीति संवाद र अनुभव आदान–प्रदानका लागि हुनेछ।
  • कार्यक्रममा पर्वतारोही पुर्णिमा श्रेष्ठ, प्रतिनिधि सभा सदस्य बासना थापा, जेनजी नेपाल अध्यक्ष प्रतिष श्रेष्ठ लगायतका विज्ञ सहभागी हुने कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए।

१ चैत, काठमाडौं । काठमाडौं मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको सह–आयोजनामा नीति संवाद कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रमलाई यूडब्लूएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयले सहकार्य गरेको छ । विश्व सामाजिक कार्य दिवसको अवसरमा चैत ३ गते ‘सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवद्र्धनका लागि नीति संवाद’ हुने भएको हो ।

कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ६ बजसेम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

विश्व सामाजिक कार्य दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘आशा र सद्भावको सहनिर्माण : विभाजित समाजलाई एकता गर्न सामुहिक सहकार्यको आह्वान’ केन्द्रमा राखी आयोजना हुन लागेको उक्त कार्यक्रममा नीति निर्माणकर्ता, सामाजिक क्षेत्रका विज्ञ, नागरिक समाजका प्रतिनिधि, युवा अभियन्ता तथा विद्यार्थीहरूको सहभागिता रहने सामाजिक कार्य विभागका विभागीय प्रमुख अमितराज श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत विभिन्न विषयमा नीति संवाद, अनुभव आदान–प्रदान तथा अन्तर्क्रिया गरिनेछ । सामाजिक सद्भाव, समावेशी विकास, सामाजिक न्याय र नीति सुधारका विषयमा सहभागीहरूबीच छलफल हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा वक्ताको रुपमा पर्वतारोही तथा फोटो पत्रकार पुर्णिमा श्रेष्ठ, नव निर्वाचित प्रतिनिधि सभा सदस्य बासना थापा तथा दिपक कुमार शाह, घाइते जेनजी नेपालका अध्यक्ष प्रतिष श्रेष्ठ, लैंगिक समानता तथा सामाजिक समावेशिता विज्ञ डा. मिना पौडेल, राष्ट्रिय कार्य समन्वय समुहका अध्यक्ष ऋतु भट्टराई लगायताका विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहने जानकारी कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए ।

 

मस्कोको पर्यटन मञ्चमा नेपाल प्रवर्द्धन –

News Summary

  • नेपाल पर्यटन बोर्डले मस्कोमा आयोजित एमआईटीटी २०२६ मा हिमालयन साहसिक पर्यटन, पदयात्रा, धार्मिक पर्यटन र सांस्कृतिक विविधता प्रस्तुत गरेको छ।
  • एमआईटीटी २०२६ मा ३० भन्दा बढी देशका पर्यटन व्यवसायी सहभागी थिए र करिब १६ हजार आगन्तुकले अवलोकन गरेको अनुमान गरिएको छ।
  • नेपाल र रूसबीच ७० वर्षको कूटनीतिक सम्बन्धको सन्दर्भमा पर्यटन सहकार्य विस्तार गर्न एमआईटीटी २०२६ महत्वपूर्ण भएको बोर्डले जनाएको छ।

१ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले रूसको राजधानी मस्कोमा आयोजना गरेको प्रतिष्ठित पर्यटन मेला मस्को इन्टरनेसनल ट्राभल एन्ड टुरिजम् एक्जिविसन (एमआईटीटी) २०२६ मा नेपालको विविध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गरिएको छ । मस्कोस्थित क्रोकस एक्स्पो सेन्टरमा मार्च ११ देखि १३ सम्म ३२ औँ संस्करणका रूपमा आयोजित एमआईटीटी–२०२६ मा ३० भन्दा बढी देशका पर्यटन गन्तव्य, सेवा प्रदायक र पर्यटन व्यवसायी सहभागी थिए ।

तीन दिनसम्म सञ्चालन भएको मेलामा करिब १६ हजारभन्दा बढी आगन्तुकले अवलोकन गरेको अनुमान गरिएको छ । यस प्रदर्शनीमा नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको पर्यटन अनुभवलाई समग्र रूपमा प्रस्तुत गरेको बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले जानकारी दिए । उनका अनुसार सात निजी क्षेत्रका ट्राभल तथा टुर कम्पनीसहित सहभागी भएको बोर्ड नेतृत्वको टोलीले हिमालयन साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहण, बौद्ध तथा हिन्दु धार्मिक पर्यटन, प्रकृति–आधारित अनुभव र सांस्कृतिक विविधतालाई प्रस्तुत गरेको छ ।

प्रदर्शनीमा राखिएको नेपाल पभेलियनमा नेपालबारे जानकारी लिन आउने आगन्तुकलाई हिमालयको अनुपम सौन्दर्य, लुम्बिनीको आध्यात्मिक शान्ति, साहसिक पदयात्रा मार्गहरू तथा नेपाली संस्कृतिको विविधताबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । प्रतिनिधिमण्डलमा बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत भट्ट सहभागी थिए ।

मेलाको अवसरमा रूसी तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियाका क्रममा प्रतिनिधिमण्डलले नेपाललाई सुरक्षित, विविधतायुक्त र अविस्मरणीय पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलका प्रमुख तिवारीले एमआईटीटी जस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरू नेपालको पर्यटन प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले भने, ‘रूसजस्तो ठूलो पर्यटन बजारमा नेपालका सम्भावनाहरू प्रस्तुत गर्ने अवसर मिल्यो। रूसी पर्यटक साहसिक यात्रा, हिमाली पदयात्रा र सांस्कृतिक अनुभवप्रति निकै आकर्षित हुन्छन्, जसले नेपालका लागि ठूलो सम्भावना देखाउँछ ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक पन्तले रूसी बजारलाई नेपालको उदीयमान पर्यटन बजारका रूपमा उल्लेख गर्दै भने, ‘नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र आध्यात्मिक अनुभवले भरिएको गन्तव्य हो । रूसी पर्यटकहरू नयाँ र अनौठो गन्तव्यको खोजीमा रहने भएकाले नेपालको पर्यटन अनुभव उनीहरूका लागि अत्यन्त आकर्षक हुन सक्छ ।’ यस प्रदर्शनीमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले एमआईटीटी–२०२६ रूसी बजारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रभावकारी अवसर बनेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच रूसस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत महेश्‍वरमणी त्रिपाठीले नेपाली पभेलियनको अवलोकन गर्दै कार्यक्रमलाई सफल बनाउन सहजीकरण गर्नुका साथै नेपाल र रूसबीचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।

यस वर्ष नेपाल र रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । यही ऐतिहासिक सन्दर्भमा एमआईटीटी–२०२६ नेपालको सहभागिताले दुई देशबीच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने बोर्डका वरिष्ठ अधिकृतले बताएका छन् । उनले थपे, ‘मस्कोमा सम्पन्न एमआईटीटी–२०२६ नेपालको सहभागिताले रूसी पर्यटन बजारमा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास हामीले लिएका छौं ।’

आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन सम्भावनालाई विश्वभर प्रवद्र्धन गर्दै लैजाने बोर्डको रणनीति, योजना र कार्यक्रमहरु रहेको उनले बताए । पर्यटन तथ्यांक अनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने रूसी पर्यटकको संख्या १५ हजारभन्दा बढी पुगेको थियो ।

अल्जाइमरविरुद्ध नेपाली वैज्ञानिक पौडेलको विशेष खोज- पैदलमैत्री शहर अनिवार्य

News Summary

  • अस्ट्रेलियामा कार्यरत नेपाली न्यूरो वैज्ञानिक प्राध्यापक गोविन्द पौडेलले शहरी योजना र मस्तिष्क स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको अनुसन्धान प्रकाशित गर्नुभएको छ।
  • पौडेलको टोलीले सिड्नीका ७० देखि ९० वर्ष उमेरका ५ सयभन्दा बढी वृद्धवृद्धाको मस्तिष्क म्यापिङ गरेर पैदल यात्रीमैत्री शहरमा मस्तिष्क स्वस्थ हुने देखाएको छ।
  • अनुसन्धानले शहरी संरचना सुधार गरी पैदल हिंड्न मिल्ने वातावरण बनाउँदा दीर्घकालीन मस्तिष्क स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र डिमेन्सिया रोकथाममा मद्दत पुग्ने बताएको छ।

अस्ट्रेलियामा कार्यरत नेपाली न्यूरो वैज्ञानिक प्राध्यापक गोविन्द पौडेलले गरेको एक पछिल्लो अनुसन्धानले शहरी योजना र मानिसको मस्तिष्क स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छ ।

‘नेचर सिटिज’ जर्नलमा केही दिनअघि प्रकाशित यस खोजले पैदल यात्रीमैत्री शहरहरूमा बस्ने वृद्धवृद्धाहरूको मस्तिष्कको स्मरणशक्ति र नेभिगेसन गर्ने भाग (हिप्पोक्याम्पल टेल) अन्यको तुलनामा बढी बलियो र स्वस्थ हुने देखाएको हो ।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा आबद्ध प्राध्यापक पौडेल र उनको टोलीले सिड्नीका ७० देखि ९० वर्ष उमेरका ५ सय भन्दा बढी व्यक्तिहरूको ६ वर्षसम्म निरन्तर मस्तिष्क म्यापिङ गरेर यो निष्कर्ष निकालेका हुन्।

अनुसन्धानका अनुसार व्यस्त सडक पार गर्ने, चोकहरूमा ध्यान दिने र जटिल शहरी बाटोहरूमा हिँडडुल गर्ने प्रक्रियाले मस्तिष्कलाई निरन्तर अभ्यास गराउँछ । यसले अल्जाइमर जस्ता डिमेन्सियाका रोगहरू लाग्नबाट बचाउन वा त्यसको गतिलाई ढिलो बनाउन मद्दत गर्ने रिपोर्टमा उल्लेख छ ।

नेपालमा पनि डिमेन्सियाका बिरामीहरूको संख्या बढ्दै गइरहेको सन्दर्भमा यो अनुसन्धानलाई सान्दर्भिक मानिएको छ । ‘नेपालको जनसंख्या पनि विस्तारै बुढ्यौलीतर्फ जाँदै गरेको र तीव्र शहरीकरण भइरहेकाले आगामी दिनमा यो समस्या अझै विकराल बन्न सक्छ,’ प्राध्यापक पौडेलले भनेका छन् ।

उनी थप्छन्, ‘काठमाडौंजस्ता ठूला शहरहरूमा केवल हिंड्न सजिलो शहर बनाउनु मात्र पर्याप्त छैन । वायु प्रदूषणजस्ता समस्याले मस्तिष्क स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले स्वच्छ र प्रदूषणरहित वातावरणसँगै पैदल यात्रीमैत्री शहरी संरचना निर्माण गर्नु आवश्यक छ ।’

यदि हाम्रा शहरहरू सुरक्षित र व्यवस्थित भए भने यसले मानिसहरूलाई बढी हिंड्न प्रेरित गर्ने प्राध्यापक पौडेल बताउँछन् । ‘दीर्घकालमा मस्तिष्कको संज्ञानात्मक क्षमता जोगाउन मद्दत पुर्‍याउँछ,’ उनले भने ।

यसअघि मस्तिष्क स्वास्थ्यलाई केवल स्वास्थ्य सेवासँग मात्र जोडेर हेर्ने गरिए पनि प्राध्यापक पौडेलको यो खोजले यसलाई शहरी योजनासँग जोड्नुपर्ने नयाँ बहस सुरु गरेको छ । सडकको संरचना, हरियाली क्षेत्र, र पैदल हिंड्न मिल्ने वातावरणले मानिसको दैनिक गतिविधि र दीर्घकालीन मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।

विश्वका अग्रणी विज्ञहरूले सामान्य जीवनशैली परिवर्तन र वातावरणीय सुधारबाट लाखौं डिमेन्सियाका केसहरू रोक्न सकिने सुझाव दिइरहेका हुन्छन् ।

यस्तो बेला पौडेलको यो अनुसन्धानले नेपालजस्ता विकासोन्मुख देशका नीति निर्माताहरूलाई पनि शहरी पूर्वाधार विकास गर्दा जनस्वास्थ्यलाई केन्द्रमा राख्न दबाब दिएको छ ।

समन्वयकारी राष्ट्रिय रणनीति र सुरक्षित सहरी डिजाइन विना रोकथाम गर्न सकिने मानसिक स्वास्थ्यका समस्याहरू भविष्यमा अझ बढ्दै जाने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ज्ञारेन्टी दिनुपर्छ : बम –

News Summary

  • जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ को नियति पुनः नदोहोरिने ग्यारेन्टी दिनुपर्ने बताएकी छिन्।
  • उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन्।
  • बमले भनिन्, ‘जनताका छोराछोरी मार्न पाइँदैन’ र सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गरिन्।

१ चैत, काठमाडौं । जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुन: दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छिन् ।

आइतबार माइतीघर मण्डलामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन् ।

अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्पन गर्नुपर्ने उनको भनाइ छ ।

‘एउटा महत्त्वपूर्ण कुरा के हो भने अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ज्ञारेन्टी चाहीँ हामीलाई दिनुपर्छ । उनीहरुले शपथ ग्रहण गर्नु अगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ होला कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस्,’ उनले भनिन् ।

राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने उनले बताइन् ।

बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताए ।

‘जनताका छोराछोरी मार्न पाइँदैन । जतिसुकै शक्तिशाली सरकार भएपनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ । अरु त समयक्रमसँगै परिवर्तन हुने कुराहरू हुन् । उहाँहरूले सुशासनका कुरा बुझ्नुभएको छ । त्यसैले आशावादी रहँदै खबरदारीपूर्ण समर्थन गर्छौं,’ बमले भनिन् ।

राप्रपाको समानुपातिकमा खुश्बुदेखि सरस्वतीसम्मको नाम सिफारिस

News Summary

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
  • पार्टीले पाएको चार सिटका लागि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गरेको छ।
  • उनीहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

१. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी
२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही
३. खुश्बु  ओली- खस आर्य महिला- झापा
४. सरस्वती लामा- जनजाति महिला- धादिङ 

सिमकोटमा खानेपानी अभाव –

News Summary

  • हुम्ला जिल्लाको सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव छ।
  • यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि स्थानीय तीन घण्टा हिँडेर पानी ल्याउन बाध्य भएका छन्।
  • कृषि विकास कार्यालय हुम्लाले ५५० जना किसानलाई रु २७५ प्रति बिरुवा दरले ३८७६ ओखर र स्याउका बिरुवा वितरण गरेको छ।

१ चैत, हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ ।

यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।

सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताए ।

नाम्खा गाउँपालिका-१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको सङ्कट देखा पर्न थालेको उनको भनाइ छ ।

पहिले-पहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गरे ।

कृषि विकास कार्यालय हुम्लाले जुम्लाको फार्मबाट तीन हजार ८७६ वटा ओखर तथा स्याउका बिरुवा खरिद गरी ५५० जना किसानलाई अनुदानमा बिरुवा वितरण गरेको छ ।

प्रतिबिरुवा रु २७५ का दरले किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिए । रासस

बहराइन र साउदीको फर्मुला वान इभेन्ट रद्द –

News Summary

  • मध्यपूर्वमा जारी द्वन्द्वका कारण फर्मुला वानले बहराइन र साउदी अरेबियामा हुने अप्रिलको दुई ग्राँ प्रि रद्द गरेको छ ।
  • फर्मुला वानले यी दुई इभेन्ट पुनःतालिका नगर्ने र प्रतिस्थापन नगर्ने निर्णय गरेको छ ।
  • यी इभेन्ट रद्द हुँदा फर्मुला वानलाई १०० मिलियन पाउन्डभन्दा बढी आर्थिक क्षति हुने अनुमान गरिएको छ ।

१ चैत, काठमाडौं । मध्यपूर्वमा भइरहेको युद्धका असर अन्तर्राष्ट्रिय मोटरस्पोर्टमा पनि परेको छ। जसको कारण अप्रिलमा हुने तय भएका फर्मुला वानको दुई इभेन्ट रद्द भएको छ ।

बहराइनमा हुने बहराइन ग्राँ प्रि र साउदी अरेबियामा हुने साउदी अरेबिया ग्राँ प्रि रद्द गरिएको हो ।

फर्मुला वान (एफ वान) ले सावधानीपूर्वक मूल्याङ्कन पछि उक्त क्षेत्रभरि जारी द्वन्द्वका कारण यी दुवै प्रतियोगिता आयोजना गर्न सुरक्षित नभएको  निष्कर्षमा पुगेको जनाएको छ ।

बहराइनको बहराइन इन्टरनेशनल सर्किटमा हुने प्रतियोगिता अप्रिल १०-१२ का लागि तय गरिएको थियो, भने साउदी अरबको जेद्दाहमा हुने अर्को प्रतियोगिता त्यसको एक सातापछि आयोजना हुने कार्यक्रम थियो ।

फर्मुला वानले यी दुई इभेन्ट पुनःतालिका (रिसेड्युल) नगर्ने र अन्य कुनै इभेन्टले प्रतिस्थापन पनि नगर्ने जनाएको छ ।

त्यसैले यस सिजनको एफ वान क्यालेन्डरमा २२ प्रतियोगिता मात्र हुनेछ । मार्च २७-२९ मा हुने जापानिस ग्राँ प्रि र मे १–३ मा हुने मायमी ग्राँ प्रि को बीचमा पाँच साताको अन्तर हुने छ।

एफ वान का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्टेफानो डोमेनिकालीले यो कठिन निर्णय भएको बताए । ‘यो निर्णय लिन निकै कठिन थियो, तर मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दा यो नै सही निर्णय हो’ उनले भने, ‘म यस अवसरमा फेडेरेसन इन्टरनेनसल डे अटोमोबाइल (एफआईए) र हाम्रा उत्कृष्ट प्रमोटरहरूलाई उनीहरूको सहयोग र पूर्ण समझदारीका लागि धन्यवाद दिन चाहन्छु । उनीहरू सधैंझैं ऊर्जा र उत्साहका साथ हामीलाई स्वागत गर्न उत्साहित थिए । परिस्थिति अनुकूल भएलगत्तै हामी फेरि त्यहाँ फर्किन आतुर छौँ ।’

बहराइन इन्टरनेसनल सर्किटका प्रमुख कार्यकारी अधिकृत शेख सल्माल बिन इसा अल खालिफाले फर्मुला वानको निर्णयलाई पूर्ण समर्थन गर्ने र एफ वान र एफआईएको सहयोग तथा दीर्घकालीन साझेदारीप्रति आभारी रहेको बताए ।

उनले एफ वान फेरि बहराइन फर्किँदा विश्वभरका दर्शकलाई बहराइनमा स्वागत गर्न उत्साहित रहेको पनि बताए ।

यी दुई इभेन्ट रद्द हुँदा व्यावसायिक रूपमा एफ वान लाई लाई १०० मिलियन पाउन्डभन्दा बढीको आर्थिक क्षति हुने अनुमान गरिएको छ। बहराइन र साउदी अरब एफ वान क्यालेन्डरका सबैभन्दा ठूलो होस्टिङ शुल्क तिर्ने देशहरूमध्ये पर्दछन् । उक्त रकम खेलको आम्दानी संरचनाअनुसार ११ टोली र एफ वान बीच बाँडिने गर्दछ।

साउदी अरबका खेलमन्त्री प्रिन्स अब्दुलाजिज बिन तुर्की अल पैसलले पनि फर्मुला वानले लिएको निर्णयलाई सम्मान गर्ने बताएका छन् । साथै उनले यसअघि आयोजना गरिएका पाँच संस्करणको सफलतालाई निरन्तरता दिँदै जेद्दामा फेरि प्रतियोगिता आयोजना गर्न साउदी अरब पूर्ण रूपमा तयार रहेको पनि बताए ।

उज्यालो नेपाल पार्टीको चुनावी समीक्षा– भविष्यको मजबुत राजनीतिक आधारशीला

News Summary

  • उज्यालो नेपाल पार्टीले २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टीलाई दीर्घकालीन राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ।
  • पार्टीले प्रत्यक्षतर्फ कुनै सिट पाउन सकेन र समानुपातिकतर्फ उम्मेदवार समावेश हुन पाएका थिएनन्।
  • समीक्षामा सीमित समय र स्रोतसाधनका बाबजुद देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गरेको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ बनाउने निष्कर्ष निकालिएको छ।

१ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीले गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गरेको छ ।

पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार, शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन विशेष समीक्षा भएको थियो ।

पार्टीलाई केवल चुनावी शक्तिका रुपमा मात्रै नभइ जनविश्वास, सुशासन, समृद्धि र सामाजिक न्यायको दीर्घकालीन राजनीतिक अभियानका रुपमा विकास गर्नुपर्नेमा बैठकमा सहभागीहरूले जोड दिएको थापाले बताएका छन् ।

कुलमान घिसिङ नेतृत्वमा गठन भएको यो पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि पाएन । समानुपातिकतर्फ सो पार्टीका उम्मेदवारहरू समावेश हुन पाएका थिएनन् ।

‘प्रदेश तथा जिल्ला संयोजकहरूबीच भएको गहन छलफलमा निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको स्वरूप, संगठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौतीहरू तथा छोटो समयमा पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिबारे विस्तृत समीक्षा गरिएको थियो,’ प्रवक्ता डा. थापाले भनेका छन्, ‘सहभागीहरूले अत्यन्त सीमित समय, न्यून स्रोतसाधन तथा प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएकोमा सन्तुष्टि व्यक्त गर्दै यसलाई भविष्यको मजबुत राजनीतिक आधारशीलाको रूपमा लिएका थिए ।’

समीक्षाहरू प्रस्तुत भएपछि आगामी दिनमा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको पनि प्रवक्ता थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रास्वपाबाट मुस्लिम क्लस्टरमा समानुपातिकबाट पाँचमध्ये ३ जना हुनेछन् सांसद


१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्लिम क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएका पाँचमध्ये तीन जना प्रतिनिधि सभा सदस्य हुने भएका छन् ।

रास्वपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा मुस्लिम समुदायबाट पाँच जनालाई उम्मेदवार बनाएको थियो । उक्त समुदायमबाट दुई जना पुरुष र तीन जना महिलाको नाम बन्दसूचीमा राखिएको छ ।

बाँकेका सैय्यद वकार अहमद शाह, कपिलवस्तुका मिर्जा राशिद वेग, चितवनकी समिना मिया, काठमाडौंकी अफ्सना बान र रौतहटकी गजाला शमिम मिकरानी समानुपातिकका उम्मेदवार छन् ।

जसमध्ये तीन जना समानुपातिकमा निर्वाचित हुने भएका हुन् ।

रास्वपाले समानुपातिकबाट ५७ जना मध्ये ४८ जना महिलाबाट निर्वाचित हुनेछन् । रास्वपालाई प्राप्त ५७ सिटमा ९ जना मात्रै पुरुषबाट छनोट हुने हुँदा मुस्लिम क्लस्टरबाट पनि महिला निर्वाचितको संख्या बढी हुन्छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसद छान्ने

News Summary

  • नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन परिणामपछि पहिलोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु गरेको छ।
  • बैठकमा समानुपातिक बन्दसूचीका उम्मेदवारमध्ये दलले प्राप्त सिट संख्याको आधारमा सदस्य छनोट गर्ने निर्णय गरिनेछ।
  • कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ।

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको पनि बताइएको छ ।

रास्वपाले टुंग्यायो सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।

यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।