Skip to main content

लेखक: space4knews

पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध


१ चैतऽ धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ ।

उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए पनि शनिबार बिहानदेखि पुन: पहिरो खस्न थालेपछि समस्या भएको हो ।

प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा माटोढुंगा थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेच निर्माण कम्पनीले एक्स्काभेटर तथा जेसीभीलगायतका उपकरण प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिरहेको छ । तर, लगातार पहिरो झर्दा सडक खुलाउन कठिनाइ भएको छ ।

लगातार ढुंगा खसिरहेकाले पहिरो पन्छाउने काम असहज भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए ।

उक्त स्थानमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार सडक माथिल्लो भागबाट ढुंगा, माटो तथा रुख समेत झर्न थालेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो ।

सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ । हाल उक्त सडक थप चौडा विस्तार गरी स्तरोन्नतिको गर्ने काम समेत भइरहेको छ  ।

भेडेटार–रवि–राँके सडक हुँदै धरान र धनकुटाबाट चौबिसे क्षेत्र तथा पाँचथरसम्म नियमित रूपमा यातायात सञ्चालन हुने गरेको भए पनि पहिरोका कारण दुई दिनदेखि सम्पूर्ण सवारी साधन ठप्प भएका छन् ।

आर्मीको पहिलो हार –

News Summary

  • हिमालयन जाभा नेसनल बास्केटबल लिगमा त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ ।
  • टाइम्स इन्टरनेसनल कलेजले आर्मीलाई ८०-६८ ले पराजित गरेको हो ।
  • मनिस केसीले २२ अंक स्कोर गरी म्यान अफ दि म्याच घोषित भएका छन् ।

१ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ ।

सुरुवाती दुई खेल जितेर लयमा रहेको आर्मीलाई शनिबार राती सम्पन्न खेलमा टाइम्स इन्टरनेसनल कलेजले ८०-६८ ले पराजित गरेको हो ।

टाइम्सको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा गोल्डेनगेटसँग पराजित भएपछि टाइम्सले केभिसी हाउण्ड्सन र आर्मीलाई हराएर लगातार जित हात पारेको हो ।

आर्मीले यसअघि हाउण्ड्स र गोल्डेनगेटलाई पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीले पहिलो क्वाटरमा १५-१४ को झिनो अग्रता बनाएको थियो । दोस्रो क्वाटर टाइम्सले २३-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३७-२९ को अग्रता बनायो । त्यसपछि तेस्रो क्वाटरमा दुवै टिमले २१-२१ अंक स्कोर गरे । चौथो क्वाटरमा पनि लय कायम राख्दै टाइम्सले २२-१८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

टाइम्सका लागि मनिस केसीले सर्वाधिक २२ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै  –


१ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ । कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।

घार महिनामा ६ हजार विपद्का घटना –


१ चैत, काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् ।

विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

News Summary

  • नवाीन तन्डुकरलाई हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
  • राष्ट्रिय यू-८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे।
  • हिमालयन क्वीन्स ग्याम्बिट प्रतियोगिता काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा विश्व चेस महासंघको फिडे वुमेन्स चेस म्याराथन अन्तर्गत आयोजना हुँदैछ।

३० फागुन, काठमाडौं । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार तन्डुकारलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे ।

संकटा क्ल्बबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्डुकरले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्वपूर्ण भएको बताए ।

राष्ट्रिय यू-८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्वीन अफ दि हिमालयज २०२५ घोषित् भइन् ।

त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे । विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते ।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी (युरोपोयिन युनियनका लागि पूर्वराजदूत पनि हुन्), राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहानिर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक संघका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई प्रदान गरे । त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा राखेपका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, लक्ष्मी सनराइज बैंकका वरिष्ठ उपकार्यकारी प्रमुख सुमेद भट्टराई, राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, एतिहास रच्दै आएकी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ, पर्वतारोही पूर्णिमा श्रेष्ठ, हिमालयन आउटडोर प्रोजेक्टका सहसंस्थापक अनुप गुरुङ, राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, सदस्य कुमार लामा घिसिङ, काठमाडौं महानगर ४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।

एकेडेमीकी संस्थापक खम्बूले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुती दिएकी थिइन् । एकेडेमीले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा आयोजना गर्दैछ ।

विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एकेडेमीको यो १४ औं प्रतियोगिता हुनेछ ।

तस्बीर: हिमालयन चेस एकेडेमी

एचजेएनबीएल : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो –

News Summary

  • हिमालयन जाभा नेसनल बास्केटबल लिगमा गोल्डेनगेट ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्सलाई ९१-८७ ले पराजित गरेको छ ।
  • गोल्डेनगेटका सुदिप पौडेलले २१ अंक बनाएर म्यान अफ दि म्याच घोषित भएका छन् ।
  • लिगमा ८ टोली सहभागी छन् र शीर्ष चारले प्लेअफमा प्रवेश गर्नेछन् ।

३० फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत शनिबार भएको पहिलो खेलमा गोल्डेनगेट ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले हाउण्ड्सलाई ९१-८७ ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१६ को अग्रता लिएको थियो ।

दोस्रो क्वाटरमा पुनरागमन गर्दै हाउण्ड्सले ३०-२० ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ४६-४५ को अग्रता बनाएको थियो । तर तेस्रो क्वाटरमा गोल्डेनगेटले २६-२१ ले आफ्नो पक्षमा पारेपछि समग्रमा ७१-६७ को अग्रता बनायो ।

चौथो क्वाटर २०-२० को बराबरीमा सकिएपछि त्यही चार अंकको अग्रता कायम राख्दै गोल्डेनगेटले जित हासिल गरेको हो ।

गोल्डेटका लागि सुदिप पौडेलले सर्वाधिक २१ अंक स्कोर गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

गोल्डेनगेटको यो दोस्रो जित हो । पहिलो खेलमै टाईम्सलाई हराएको गोल्डेनगेट दोस्रो खेलमा भने त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

हाउण्ड्सको यो लगातार तेस्रो हार हो । हाउण्ड्स यसअघि आर्मी र टाईम्ससँग पराजित भएको थियो ।

शुक्रबार राती सम्पन्न खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५-८१ ले पराजित गरेको हो ।

कीर्तिपुरको यो पहिलो हार हो । कीर्तिपुरले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

घरबाट निस्किएकी छोरी फर्किनुपर्छ –


एक्काइसौँ शताब्दी- जहाँ हामी आर्टिफिसियल इन्टेलिजेन्सका कुरा गर्छौं, अन्तरिक्षमा मानिस पठाउँछौँ र औंलाका टुप्पामा संसार थाम्छौँ। तर, यही शताब्दीमा एउटी छोरीले घरबाट निस्कँदा ‘म सुरक्षित फर्कन पाउँछु कि पाउँदिन?’ भनेर सोच्नुपर्छ।

यो विडम्बना मात्र होइन, हाम्रो समाजको नग्न यथार्थ हो। र, यो यथार्थ लेख्न मलाई कुनै लाज लाग्दैन; लाज त हामी बस्ने यो समाजलाई लाग्नुपर्छ, जसले यस्तो भयावह अवस्थालाई यथार्थ बनायो।

नेपालमा कोही न कोही महिला घर फर्कँदिनन्। त्यस दिन इनिशा विक पनि घर फर्किनन्। १६ वर्षकी विज्ञान पढ्ने इनिशाले डाक्टर बन्ने सपना बोकेकी थिइन्। तर उनी घर फर्किनन्, र उनका सपनाहरू उनीसँगै त्यहीँ तुहिए। केही वर्ष अगाडि निर्मला पन्त पनि यसैगरी घर फर्किएकी थिइनन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार, वार्षिक २५०० भन्दा बढी बलात्कारका मुद्दा दर्ता हुन्छन्। विज्ञहरूका अनुसार वास्तविक सङ्ख्या योभन्दा धेरै गुणा बढी छ। सामाजिक कलंकको डर र न्याय प्रणालीप्रतिको अविश्वासका कारण अधिकांश घटना रिपोर्ट नै हुँदैनन्। रिपोर्ट भएका मुद्दाहरूमा पनि न्याय पाउनेहरूको दर अत्यन्तै निराशाजनक छ।

कहिलेकाहीँ मनमा प्रश्न उठ्छ- के हामीले नारी भएकोमा गर्व गर्नु साँच्चै उचित छ? गर्व गर्न त मन छ, तर त्योभन्दा अगाडि हामी धेरै कुरा सोच्न बाध्य छौं: आज कुन बाटो हिँड्ने? कति बजे फर्कने? साथमा को छ? मोबाइलमा ब्याट्री छ कि छैन?

यो सोचाइ हाम्रो दैनिकीको अभिन्न अङ्ग बनिसकेको छ। बिहान उठ्दादेखि राति सुत्नुअघिसम्म हामी केवल सुरक्षाको हिसाबकिताब गर्छौं। यो हाम्रो कमजोरी होइन, बाँच्नका लागि सिक्नैपर्ने बाध्यता हो। र, अब हामी थाकिसकेका छौं। यो थकान शरीरको मात्र होइन, आत्माको थकान हो। हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो कस्तो थकान हो?

हामी घरमै पनि सुरक्षित छैनौँ। समाजले घरलाई सुरक्षाको सबैभन्दा ठूलो प्रतीक मान्छ। तर, राष्ट्रिय महिला आयोगका तथ्याङ्कहरूले भन्छन्- महिलाविरुद्ध हुने हिंसाको ठूलो हिस्सा तिनै चार दिवारभित्र हुन्छ। घरेलु हिंसाविरुद्धको कानुन त छ, तर उजुरी गर्ने साहस जुटाउनु, ‘परिवार टुट्छ’ भन्ने डरलाई जित्नु र त्यसपछि पनि न्याय पाइन्छ भन्ने भरोसा राख्नु एकैसाथ कत्ति पनि सजिलो छैन।

हामी कार्यस्थलमा पनि सुरक्षित छैनौँ। शिक्षा हासिल गरेर, अनेक सङ्घर्ष गर्दै घरबाहिर निस्किने महिलाहरूले कार्यालयमा अर्को छुट्टै युद्ध लड्नुपर्छ। अनुचित टिप्पणी, अनावश्यक स्पर्श, बढुवाका लागि योग्यताभन्दा बढी सम्झौता गर्नुपर्ने दबाब- यी कुराहरू कतिपय कार्यालयमा ‘सामान्य’ बनिसकेका छन्।

नेपालमा ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन’ छ, तर कतिजना महिलालाई आफूसँग उजुरी गर्ने अधिकार छ भन्ने थाहा छ? अनि उजुरी गरिसकेपछि साँच्चिकै न्याय पाइन्छ भन्ने भरोसा कतिलाई छ?

सडक पनि हाम्रो होइन। बाटोमा हिँड्दा हामी सुरक्षित छैनौँ। सार्वजनिक यातायातमा अनावश्यक स्पर्श सहनुपर्छ। रातको समयमा एक्लै बाहिर निस्किनु नै आफूलाई ‘दोषी’ ठहर्‍याउनु जस्तो भान हुन्छ।

हामी विश्वविद्यालय जान्छौं, पढ्छौं, अब्बल हुन्छौं, अफिस जान्छौं, घर सम्हाल्छौं, बच्चा हुर्काउँछौं, आमाबुबा हेर्छौँ। यति धेरै जिम्मेवारी पूरा गर्दागर्दै पनि जब हामी आफ्नो पीडा बोल्न खोज्छौं, समाज भन्छ- ‘चुप लाग!’

हामी नारी भएकोमा गर्व गर्ने कुरा गर्छौं। तर, गर्व गर्नु त्यतिबेला मात्र सम्भव हुन्छ जब हामीले सुरक्षाको प्रत्याभूति पाउँछौं, जब हाम्रो अस्तित्व निर्बाध स्वीकारिन्छ र जब हाम्रा पीडाहरू सुनिन्छन्।

यी केवल भावनात्मक कुराहरू मात्रै होइनन्; तथ्याङ्कले पनि यही भन्छन्। ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०२३’ मा नेपाल १४६ देशमध्ये ९८औँ स्थानमा छ। संविधानले समानताको ग्यारेन्टी दिए तापनि, विशेषगरी दलित र सीमान्तकृत समुदायका महिलाहरू आज पनि चरम भेदभावको सामना गरिरहेका छन्।

युनिसेफको तथ्याङ्कअनुसार नेपालमा करिब ४० प्रतिशत छोरीहरूको विवाह १८ वर्ष पुग्नुअघि नै हुन्छ, जुन एसियामै उच्च दरमध्ये एक हो। विवाह हुनेबित्तिकै उनीहरू स्कुलबाट, सपनाबाट र आफ्नै भविष्यबाट टाढा धकेलिन्छन्। यति हुँदाहुँदै पनि नेपाली महिलाहरू माथि उठ्छन्; सगरमाथा चढ्छन्, संसदमा बस्छन्, समुदाय जोगाउँछन् र परिवार थाम्छन्। यो उनीहरूको अदम्य शक्ति हो। तर, यो शक्ति बाध्यताको जगबाट उब्जिएको हो, र बाध्यताबाट जन्मेको शक्तिलाई मात्र सराहना गर्नु पर्याप्त छैन। उनीहरूलाई सर्वोपरी सुरक्षा चाहिन्छ।

नेपालमा चाँडै नयाँ सरकार गठन हुँदैछ। राजनीतिक परिवर्तनको यो सङ्घारमा मेरो एउटै प्रश्न छ- के यसपटक महिला सुरक्षा र लैङ्गिक न्याय साँच्चिकै राज्यको प्राथमिकतामा पर्ला? कागजमा हेर्ने हो भने नेपालको कानुन कमजोर छैन।

बलात्कारीलाई कठोर सजायको व्यवस्था छ, घरेलु हिंसाविरुद्ध ऐन छ, कार्यस्थलमा हुने यौन दुर्व्यवहार निवारण कानुन छ। तर, कार्यान्वयन पक्ष बिलकुल खोक्रो छ। अनुसन्धान सुस्त हुन्छ, न्याय महँगो छ, र अदालतको ढोकासम्म पुग्दापुग्दै धेरैजना पीडितहरू थाकेर फर्किसकेका हुन्छन्।

सुरक्षित महसुस गर्नु, निर्भय भएर हिँड्नु र आफ्नो नारीत्वमाथि गर्व गर्न पाउनु हाम्रो कुनै माग वा विशेष अधिकार होइन; यो प्रत्येक मानव अस्तित्वको न्यूनतम र आधारभूत अधिकार हो।

नयाँ सरकारसँग हाम्रा आवश्यकताहरू स्पष्ट छन्: बलात्कारका मुद्दाहरूको छिनोफानो गर्न कडा समयसीमा, पीडितमैत्री न्याय प्रक्रिया, दलित र सीमान्तकृत महिलाका मुद्दामा विशेष प्राथमिकता, र विद्यालय तहदेखि नै लैङ्गिक शिक्षाको अनिवार्यता।

परिवर्तन कानुनबाट मात्रै आउँदैन, यो मानसिकतामा पनि आउनुपर्छ। तर, जबसम्म सरकारले दह्रो इच्छाशक्ति देखाउँदैन, तबसम्म मानसिकता बदल्ने काम पनि अधुरै रहन्छ। इतिहासले बारम्बार प्रमाणित गरेको छ- सरकारहरू आउँछन् र जान्छन्, तर महिलाको पीडा उही ठाउँमा जमेर बस्छ। यसपटक फरक होस्; यसपटक आश्वासनका शब्दभन्दा बढी राज्यको काम बोलोस्।

यो लेख लेख्दै गर्दा ती तमाम बलात्कृत दिदीबहिनीहरू सम्झेर मेरा हातहरू काँपिरहेका छन्। किनकि यो कुनै टाढाको वा अर्कै ग्रहको कुरा होइन। यो मेरो कुरा हो, तिम्रो कुरा हो र हामी सबैको साझा कुरा हो।

हरेक नेपाली महिलाले यी शब्दहरूमा आफूलाई प्रतिविम्बित भएको पाउँछिन्; किनकि हामी सबैले यो डर बाँडेका छौं, यो थकान सहेका छौं र यो अनुत्तरित प्रश्न मनमा गुम्साएर राखेका छौं। हामी यहाँ हार्न आएका होइनौं, हामी बाँच्न आएका हौँ- पूर्ण गर्व र निर्भयताका साथ।

तर, त्यो उज्यालो दिन आउनका लागि समाज बदलिनुपर्छ, कानुनको कठोर कार्यान्वयन हुनुपर्छ र सत्तामा बस्नेहरूले गहिरिएर बुझ्नुपर्छ कि- एउटी महिलाको सुरक्षा कुनै ‘राजनीतिक एजेन्डा’ होइन, यो राज्यको प्राथमिक ‘मानवीय दायित्व’ हो।

एउटी छोरी बिहान ६ बजे घरबाट निस्कन्छे, र उसले सकुशल फर्किनुपर्छ।

यति मात्र हो।

र, यति नै काफी छ।

फेरिएको थवाङ –


३० फागुन, रोल्पा । राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने रोल्पाको एक गाउँ हो– थवाङ । थवाङ गाउँ चर्चामा रहनुको मुख्य कारण त्यसले बोक्ने राजनीतिक इतिहास हो ।

नेपालको कम्यनिस्ट आन्दोलनको उद्गम भूमि मानिने थवाङ गाउँ त्यही इतिहासका कारण पछिल्लो समय कम्युनिस्टहरूको अध्ययन केन्द्र पनि मानिन्छ ।

नेपालको राजनीतिमा पछिल्लो दुई दशक कम्युनिस्ट शक्तिको बोलबाला रहँदा त्यो बोलवालाको जग रोल्पाका थवाङ जस्तै तमाम गाउँले बसाली दिएका थिए । पञ्चायत कालका प्रतिबिन्धत दिनमा थवाङले नै कम्युनिस्ट विचारधारालाई मलजल गरिरहेको थियो । त्यही जगमा देशभरी कम्युनिस्ट फैलँदो थियो ।

थवाङको त्यो विद्रोही मुहार पञ्चायतकालमा मात्रै सीमित रहेन । न बहुदलकालसम्म सीमित रह्यो । गणतन्त्र स्थापना भएपछि पनि थवाङ विद्रोही गाउँका रूपमा चर्चामा थियो ।

२०७० को संविधानसभा निर्वाचनमा सिंगो थवाङ गाउँ चुनावमै सहभागी भएन । त्यसबेला थवाङी जनताले मत बहिष्कार गर्दा राष्ट्रियस्तरमा चर्चा पाएको थियो ।

त्यो बेलासम्म थवाङ देशभरमा मात्रै नभई रोल्पाकै पनि बिकट गाउँमा सीमित थियो । सोही कारण थवाङ विद्रोही थियो ।

मुलुक संघीयतामा प्रवेश गरेपछि भने थवाङले काँचुली फेर्न थालेको हो । थवाङ अहिले विस्तारै विकासको लयमा अघि बढेको छ । परम्परागत शैलीबाट आधुनिक परिवेशतर्फ अघि बढेको थवाङ भौतिक रूपमै देख्न सकिन्छ ।

अहिले थवाङमा परम्परागत काठको छवाली, माटो, ढुङ्गा र काठबाट बनेका घर घट्दै गएका छन् । बालुवा, सिमेन्ट, सरियाबाट बनेका कंक्रिटका भवन थवाङमा थपिँदैछन् ।

अहिले थवाङमा विकासको हावा लाग्दा परम्परागत शैलीलाई बचाउन कठिन भइरहेको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषीकेशव बुढा मगरले बताए । ‘हामीले थवाङको मौलिकतालाई बचाउन प्रयास नगरेका होइनौँ । तर जनताले सहरका जस्तै घर बनाउन चाहे,’ उनी भन्छन्, ‘अब उहाँहरूको चाहना नै भए कसरी रोक्न सकिन्छ र !’

थवाङमा अहिले गाउँपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, वीर बलभद्र नमुना माध्यमिक विद्यालय बनेका छन् । राष्ट्रिय विद्युत प्रशारण लाइन विस्तार भएको छ । गाउँमै ईलाका प्रहरी कार्यालय र विभिन्न साना उद्योगसमेत सञ्चालनमा भइरहेका छन् ।

जसले थवाङ अहिले विद्रोही मात्र नभएर राज्यको मूलप्रवाहमा जोडिएको छ ।

कम्युनिस्ट मत खुम्चिँदा किन सम्झिइँदैछ पश्चिम बंगाल ?

News Summary

  • प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाई सिट जितेर पुराना राजनीतिक शक्तिहरूलाई खुम्चाएको छ।
  • पश्चिम बंगालमा ३४ वर्ष शासन गरेको कम्युनिस्ट शक्ति २०११ मा पतन भएको थियो र नेपालका कम्युनिस्ट दलहरू पनि पतनको जोखिममा छन्।
  • नेपालमा कम्युनिस्ट दलहरूमा नेतृत्व संकट, असन्तोष र नयाँ राजनीतिक शक्तिको उदय देखिएको छ, जसले भविष्यमा पश्चिम बंगालजस्तै स्थिति आउन सक्ने चेतावनी दिएको छ।

३० फागुन, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको करिब दुईतिहाई सिटको विजयले नेपालका पुराना सबै राजनीतिक शक्तिहरूलाई खुम्चाएको छ ।

यो परिणामले कांग्रेस, मधेशवादी, राजावादी मात्र होइन निकै ठूलो जनमत रहँदै आएका कम्युनिस्ट पार्टीहरूलाई पनि साँघुरो स्थानमा धकेलेको छ ।

कुनै बेला करिब ६० प्रतिशत जनमत होल्ड गर्ने कम्युनिस्टहरू यो चुनावबाट करिब २१ प्रतिशतमा झरेपछि कम्युनिस्ट वैचारिक शिविरभित्र पश्चिम बंगालको चर्चा हुन थालेको छ ।

दक्षिण एशियाको कम्युनिस्ट राजनीतिमा बारम्बार चर्चा हुने दुई स्थान छन् नेपाल र भारतको पश्चिम बंगाल ।

दुबै ठाउँमा कम्युनिस्ट आन्दोलनले लामो समयसम्म जनसमर्थन प्राप्त गरेको इतिहास छ । पश्चिम बंगालमा कम्युनिस्टहरूले झन्डै तीन दशक शासन गरेका थिए । नेपालमा पनि कम्युनिस्ट दलहरू दशकौंसम्म शक्तिशाली राजनीतिक शक्ति रहँदै आएका छन् । तर, यो चुनावबाट इतिहासकै कमजोर हालतमा पुगे ।

के नेपालका कम्युनिस्ट दलहरू पनि पश्चिम बंगालका कम्युनिस्टहरूको जस्तै पतनको बाटोमा लागेका हुन् ?

बामपन्थी राजनीतिलाई निजकबाट नियाल्ने प्राध्यापक कृष्ण पोखरेलको जवाफ छ- ‘खतराको घण्टी चाहिँ बजेको हो । पश्चिम बंगाल र यहाँको सन्दर्भ चाहिँ केही फरक छ ।‘

पश्चिम बंगालमा कम्युनिस्ट शक्तिको उदय र पतनको इतिहास रोचक छ । जुन इतिहासको पाठ पढ्दा नेपालका कम्युनिस्ट दलहरूको वर्तमान अवस्था र उनीहरूको भावी गतव्य कता लक्षित छ भन्ने बुझ्न चाहिँ सकिन्छ ।

कसरी ढल्यो ३४ वर्षे कम्युनिस्ट शासन ?

भारतमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष नाघिसकेको छ । मानवेन्द्रनाथ रोय नामक बंगाली क्रान्तिकारी युवाको प्रेरणाबाट भारतीयहरूले सन् १९२० मै तुर्किस्तानको तासकन्दमा भेला भएर भारतीय कम्युनिष्ट पार्टी गठन गर्ने घोपणा गरेका थिए ।

तर पछि भारतकै कारपुरमा अर्को सम्मेलन भयो त्यहाँबाट चाहिँ भारतीय कम्युनिस्ट पार्टीको औपचारिक गठन भयो ।

यही आन्दोलनको धारबाट विकशित हुँदै आएका कम्युनिस्टहरू भारतको पश्चिम बंगाल राज्यमा भने सन् १९७७ पछि शक्तिशाली रुपमा उदाए ।

चारु मजुम्मदार लगायतका नेताहरूको समूह सशस्त्र क्रान्तिको बाटोमा लागिरहेका बेला ज्योति वसु लगायतका नेताहरूको भाकपा मार्क्सवादीले चाहिँ संसदीय राजनीतिको बाटो समायो ।

१९७७ को विधानसभा चुनावमा कम्युनिस्टहरूको नेतृत्वमा रहेको वाम मोर्चाले जित्यो । यस गठबन्धनको प्रमुख शक्ति थियो, भाकपा मार्क्सवादी ।

त्यसअघि पश्चिम बंगालमा भारतीय राष्ट्रिय कांग्रेसको शासन थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्थीले १९७५ मा लगाएको २१ महिने कठोर संकटकालका कारण भारतभरि कांग्रेसविरुद्ध असन्तोष बढेको थियो । यही राजनीतिक पृष्ठभूमिमा वाममोर्चा पश्चिम बंगालमा सत्ताको नेतृत्वमा आयो ।

१९७७ बाट सुरू भएको कम्यनिस्टहरूको शासन सन् २०११ सम्म अर्थात् करिब ३४ वर्ष लगातार चल्यो । यो अवधिमा २४ वर्ष ज्योति वसु मुख्यमन्त्री भए । त्यसपछि बुद्धदेव भट्टाचार्यले शासन गरे ।

ज्योति वसु/बुद्धदेव भट्टाचार्य

भारतीय लोकतान्त्रिक इतिहासमा एउटै राजनीतिक धारले कुनै पनि राज्यमा यति लामो समयसम्म शासन गरेको छैन ।

त्यसैले कम्यनिस्टहरूको लामो शासनको उदाहरणको रुपमा पश्चिम बंगालको नाम आउँछ ।

३४ वर्ष शासन गरेका कम्युनिस्टहरूको अहिले पश्चिम बंगालमा अस्तित्व छैन ।

त्यसैले नेपालमा कम्युनिस्ट जनमत खस्कँदा त्यसको कारण कतै पश्चिम बंगालको शैली त होइन भन्ने प्रश्न उठेको हो ।

शासनको सुरुवाती चरणमा पश्चिम बंगालका कम्युनिस्टहरूले केही ऐतिहासिक सुधारहरू गरे, जसले उनीहरूलाई ग्रामीण समाजमा बलियो आधारभूमि तयार भयो ।

उनीहरूको सबैभन्दा चर्चित कार्यक्रम थियो, भूमि सुधार । ‘अपरेसन वर्ग’ नामक कार्यक्रममार्फत भूमिहीन किसानहरूलाई जमिनको अधिकार सुरक्षित गरे । यसले किसान र श्रमिक वर्गमा वामपन्थी दलको लोकप्रियता बढ्यो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि राज्य सरकारले सार्वजनिक सेवाहरू विस्तार गर्‍यो । सरकारी विद्यालय र स्वास्थ्य केन्द्रहरूको नेटवर्क विस्तार भयो । ग्रामीण क्षेत्रमा स्थानीय स्वशासनलाई बलियो बनाउन पञ्चायत प्रणालीलाई सक्रिय बनायो ।

सुरूवाती कालमा गरेका यी सुधारहरूले पश्चिम बंगालमा कम्युनिस्टहरूको राजनीतिक वैधता बलियो भयो । धेरै वर्षसम्म उनीहरूलाई किसान, मजदुर र बौद्धिक जमातको समर्थन प्राप्त भयो ।

तर, शासन लम्बिँदै जाँदा उनीहरूप्रतिको असन्तोष पनि भुसको आगोजस्तो सल्किइसकेको थियो । लामो समय सत्तामा बस्दाका कमजोरीहरू संगठित हुँदै गएका थिए ।

सरकारी प्रशासन संयन्त्रमा पार्टीको अत्यधिक प्रभाव बढ्न थाल्यो । स्थानीय तहदेखि सरकारी कार्यालयसम्म पार्टी संरचनाले प्रभाव जमाउन थाल्यो । समाजका हरेक क्षेत्रमा पार्टीको नियन्त्रण हुन थाल्यो ।

यसका कारण भ्रष्टाचारका आरोपहरू बढ्न थाले। स्थानीय स्तरमा कार्यकर्ताहरूले राजनीतिक पहुँच प्रयोग गरेर प्रशासनिक निर्णय प्रभावित पार्न थाले ।

राज्यको अर्थतन्त्र पनि अपेक्षित गतिमा अघि बढ्न सकेन । पश्चिम बंगाल कुनै समय भारतको प्रमुख औद्योगिक क्षेत्र थियो । तर उद्योगहरू बिस्तारै कमजोर हुँदै गए । नयाँ उद्योगहरूलाई सरकारले आकर्षित गर्न सकेन । जबकी भारतका अन्य राज्यहरूको आर्थिक विकास बढ्न थाल्यो । पश्चिम बंगालमा भने अपेक्षित सुधार भएन ।

रोजगारीको अवसर घट्दै गयो । धेरै युवा कामको खोजीमा अन्य राज्यतिर जान थाले । यसले वाम सरकारको आर्थिक नीतिमाथि प्रश्न उठ्यो

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भए पनि दीर्घकालीन संरचनात्मक सुधारहरू पर्याप्त भएनन् । सिंचाइ, कृषि प्रविधि र बजारको पहुँचमा समस्या देखिन थाले ।

भूमि सुधारले प्रारम्भिक लाभ दिएको भएपनि कृषि उत्पादकत्व धेरै बढ्न सकेन । किसानहरूको आम्दानी स्थिर रह्यो । ग्रामीण पूर्वाधारको विकास पनि अपेक्षाअनुसार अघि बढेन ।

यही अवस्थाले गाउँ क्षेत्रमा असन्तोष बढ्दै गयो ।

सिंगुर र नन्दीग्राम : सत्ता ढाल्ने आन्दोलन

२००६ र २००७ मा दुईवटा ठूला आन्दोलन पश्चिम बंगालको कम्युनिस्ट सत्ता ढाल्ने करिब निर्णायक आन्दोलनको रुपमा आए । २००६ मा राज्य सरकारले सिंगुर क्षेत्रमा उद्योग स्थापनाका लागि ठूलो भूभाग अधिग्रहण गर्ने निर्णय गर्‍यो ।

उद्योग स्थापनाका लागि जमिन सरकारले लिन थालेपछि स्थानीय किसानहरू आन्दोलित भए । सिंगुर आन्दोलन ठूलो राजनीतिक मुद्दा बन्यो । किसानहरूले आफ्नो जमिन खोसिएको आरोप लगाए । सरकारको औद्योगिकीकरण नीति नै विवादमा पर्‍यो ।

त्यसको एक वर्षपछि २००७ मा नन्दीग्राममा अर्को ठूलो आन्दोलन भयो । यहाँ पनि विशेष आर्थिक क्षेत्र (सेज) बनाउने योजनाका कारण जमिन अधिग्रहणको विषय उठ्यो ।

आन्दोलन हिंसात्मक बन्यो । सुरक्षाकर्मी तथा आन्दोलनकारीबीच झडप भयो । यसरी आन्दोलन चर्किन थालेपछि पश्चिम बंगाललाई केन्द्र बनाएर लगानी गर्न आउने कम्पनीहरू पनि गुजरात, महाराष्ट्र लगायतर्फ सिफ्ट भए ।नन्दीग्राम घटनाले वाम सरकारको छविमा गम्भीर धुमिल आयो ।

तृणमुल कांग्रेसको उदय

किसानमैत्री भनेर चिनिने कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला उनीहरूलाई संगठित गर्ने गरी पश्चिम बंगालमा तृणमुल कांग्रेस पार्टीको उदय भयो । पार्टीको नेतृत्वमा थिइन्, ममता बनर्जी ।

उनले सिंगुर र नन्दीग्राम आन्दोलनमा सक्रिय भूमिका खेलिन् । आफूलाई किसानहरूको नेताको रुपमा उभ्याइन् । ममता बनर्जीको आक्रामक आन्दोलन शैली, ग्रामीण क्षेत्रमा सक्रियता र युवा वर्गको समर्थनले वाम मोर्चाको राजनीतिक आधार कमजोर कमजोर बन्यो ।

ममता बनर्जी

अन्ततः २०११ को विधानसभा चुनावमा तृणमूल कांग्रेसले ऐतिहासिक विजय हासिल गर्‍यो । ३४ वर्षसम्म सत्तामा रहेको वामपन्थीको किल्ला भत्कियो ।

त्यसपछि पश्चिम बंगालको राजनीतिबाट बाहिरिएका कम्युनिस्टहरू अहिलेसम्म फर्किन सकेका छैनन् । कम्युनिस्टहरू पतनको एक बिम्बको रुपमा मात्र इतिहासमा पढिन्छन् मात्र ।

नेपालका कम्युनिस्ट त्यही बाटोमा छन् ?

पश्चिम बंगालको इतिहासको आँखाबाट नेपालतिर फर्केर हेरौ, के नेपालका कम्युनिस्ट दलहरूको अवस्थाले पनि यस्तै संकेत देखाउँछ ?

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास भारतको जस्तै लामो छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको करिब ७५ वर्षे इतिहास छ ।

यो बीचमा कम्युनिस्टहरू भारतमा जस्तै यहाँ पनि विभिन्न समूह र दलमा विभाजित भए । फुट र जुटका कारण अनेकौ धारमा रहेपनि विशेष गरी एमाले र माओवादीको कम्युनिस्ट राजनीतिक धारले नेपालमा २०५१ सालदेखि करिब तीस वर्ष कुनै न कुनै प्रभाव राखिरहेको छ ।

२०५१ सालमा नै एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाएपछि कम्युनिस्टहरू संसदीय राजनीतिक धारबाटै सत्तामा आएर लोकप्रिय सरकार चलाउन सक्छन् भन्ने स्थापित भयो ।

संसदीय लोकतान्त्रिक राजनीतिक धारमा जान चाहने कम्यनिस्टहरूलाई एमालेले संगठित गर्दै लग्यो ।

यता २०५२ सालमा माओवादीको राजनीतिक धार चाहिँ संसदीय लोकतान्त्रिक बाटो होइन सशस्त्र युद्धको बाटोमा लाग्यो । सशस्त्र क्रान्ति थालेको माओवादीले तल्लो वर्गको साथ लिएर १० वर्ष आन्दोलन गर्‍यो ।

संसदीय लोकतन्त्र र सशस्त्र युद्ध दुवै धारमा कम्यनिस्ट पार्टीहरू रहे । २०६३ सालमा माओवादी पनि शान्तिपूर्ण राजनीतिक धारमा आएर संसदीय लोकतन्त्रको बाटो पक्रेपछि भने नेपालमा कम्युनिस्टहरूको संगठित शक्ति आर्जन भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि त कम्युनिस्ट दलहरू अत्यन्त शक्तिशाली बने ।

गणतन्त्र स्थापना, समावेशिता लगायतका ठूला राजनीतिक उपलब्धिमूलक काममा नेपालका कम्युनिस्टहरूको योगदान नै छ । यहि उपलब्धीहरूको जगमा उनीहरू फरक फरक दलको रुपमा भए पनि संसदमा करिब ६० प्रतिशतसम्मको जनमत होल्ड गरेका थिए ।

२०७४ सालमा भने सबै कम्युनिस्टहरूको एकताको नारा चर्कियो । मुख्य दुई धारमा रहेका एमाले र माओवादीले पार्टी एकतासहितको योजनामा२०७४ को चुनावमा बामगठबन्धन बनाए ।

बामपन्थीहरूले एकलौटी सरकार चलाउन पाए भने नेपालमा ठूलो परिवर्तन हुनसक्छ भन्ने मान्यता राख्नेहरूलाई गठबन्धन गर्ने यो निर्णयले ठूलो प्रभाव पार्‍यो । जसका कारण एमाले र माओवादीको बाम गठबन्धनले करिब दुई तिहाई मत प्राप्त गर्‍यो । पछि दुवै दलले पार्टी एकता गरेर नेकपा भन्ने एकीकृत पार्टी पनि बनाए ।

तर, त्यसपछि राजनीतिक परिदृश्य छिटो बदलियो । दुई तिहाइको विश्वास जोगाउन सकेनन् । तीन वर्षमै पार्टी विभाजन भयो । नेतृत्वको टकराव सुरू भयो । असमयमै संसद् विघटन भयो । यसले कम्युनिस्टहरूप्रति नागरिकको मोहभंग हुँदै गयो ।

नेतृत्वबीचको प्रतिस्पर्धा र वैचारिक स्पष्टताको अभावले पनि कार्यकर्ताहरूमा निराशा पैदा गर्‍यो ।

May be a graphic of text

पश्चिम बंगालमा पनि अन्तिम चरणमा यस्तै समस्या देखिएको थियो । पुरानो नेतृत्व बलियो भए पनि नयाँ नेतृत्वमा आकर्षण र ऊर्जा कम देखिएको थियो।

कम्युनिस्ट आन्दोलनको शक्ति जनतासँगको प्रत्यक्ष सम्बन्धमा हुन्छ । तर, समयसँगै यदि पार्टी संरचना अत्यधिक सत्ताकेन्द्रित भयो भने त्यो सम्बन्ध कमजोर हुन्छ । पश्चिम बंगालमा पनि त्यस्तै भएको थियो यहाँ पनि क्रमश त्यही बाटोमा गयो ।
विकास, रोजगारी र सुशासनजस्ता मुद्दामा अपेक्षित परिणाम नपाएपछि युवाहरूमा फ्रस्टेसन बढ्दै गयो ।

पश्चिम बंगालमा जसरी वामपन्थीहरूको पतनसँगै नयाँ राजनीतिक शक्ति उदायो । नेपालमा पनि २०७९ को चुनावबाटै रास्वपा नयाँ शक्तिको रुपमा प्रवेश गरेको गर्‍यो । यो दलले सबै प्रकारका राजनीतिक दलहरूमाथि प्रश्न उठाउन थालेको थियो ।

युवाहरूको चुलिँदो आक्रोशकाबीच गत भदौमा कम्युनिस्ट पार्टी एमालेकै नेतृत्वमा रहेको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो । त्यही निर्णयको विरोधको नाममा भएको दुई दिने जेजनी विद्रोहले तत्कालीन सत्ता मात्र ढालेन हालै सम्पन्न चुनावले निकै साँघुरो स्थानमा खुम्च्यायो ।

नेपालमा निकै ठूलो कम्यनिस्ट जनमत रहेको भन्ने दलहरू यसपटक सबै भन्दा कमजोर बने ।

‘२०७४ सालमा जुन वेभ आएको थियो त्यो पक्रिन सकेको भए हुन्थ्यो । तर उनीहरूले जनमतलाई संगाल्न सकेनन्,’ प्राध्यापाक पोखरेल भन्छन्,’कोही कांग्रेससँग मिलेर चुनाव लडे कोही राप्रपासँग गठबन्धन गरे ।‘

के छ समानता र फरक ?

नेपाल र पश्चिम बंगालको राजनीतिक परिस्थितिमा केही समनता र केही परकपन पनि छन् । पश्चिम बंगालमा एउटै कम्युनिस्ट गठबन्धनले ३४ वर्ष शासन गरेको थियो । तर, नेपालमा कम्युनिस्टहरूको लगातार सत्ता थिएन । यहाँका अधिकांस कम्युनिस्ट नेतृत्वका सरकार अन्य दलसँगको गठबन्धनबाट बनेका थिए ।

३० वर्षमा ३४ सरकार बने । यहाँ सरकारको स्थिरता भएन । तर कम्युनिस्टहरू गठबन्धनका नाममा पटक पटक सरकार गए ।

केपी ओली चारपटक, पुष्पकमल दाहाल तीन पटक, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई गरी पाँच जनता त प्रधानमन्त्री नै बने । उनीहरूले अन्यभन्दा तात्विक फरकपन ल्याउन सकेनन् । बरु सत्तामा रहेका बेला उनीहरूकै पार्टीभित्रको किचलोका कारण सत्ता ढले ।

केही संरचनात्मक समानता भने देखिन्छ । लामो समयको राजनीतिक प्रभुत्वपछि बढ्ने असन्तोष, नेतृत्व संकट,नयाँ राजनीतिक शक्तिको उदय,जनतासँग दूरी बढ्दै जाने अवस्थामा भने पश्चिम बंगाल र यहाँ समानता देखिन्छ ।

पश्चिम बंगालमा कम्युनिस्ट शक्तिको पतन अचानक भएको थिएन । दशकौंसम्म चुलिइरहेको असन्तोष, राजनीतिक गल्ती, नेतृत्व संकट र सामाजिक परिवर्तनको परिणाम थियो ।

‘नेपालका कम्युनिस्ट दलहरू अहिले त्यही चरणमा पुगेका हुन् वा हैनन् भन्ने प्रश्नको निश्चित उत्तर दिन अझै समय बाँकी छ’ प्राध्यापक पोखरेल भन्छन्,’यहाँ अहिले कम्युनिस्टहरू मात्रै होइन अन्य शक्तिहरू पनि नयाँ वेभले बढारिएका छन् । त्यसैले यो क्षति कम्यनिस्टहरूलाई मात्र भएको हो भन्न हतारो हुन्छ ।’

तर, पछिल्लो चुनाव परिणाम र राजनीतिक घटनाक्रमले एउटा चेतावनी भने अवश्य दिएको छ । यदी, पार्टीहरूले आत्मसमीक्षा गर्न, नेतृत्व र नीतिमा नयाँ ऊर्जा ल्याउन सकेनन् भने पश्चिम बंगालको हालतमा पुग्ने दिन नअउला भन्ने चाहिँ छैन ।

भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

News Summary

  • ललितपुर भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा २३ र २४ भदौको जेनजी आन्दोलनमा २६ ब्लकमा आगजनी र तोडफोड भएको थियो।
  • शहरी विकास मन्त्रालयले ११ ब्लक पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको छ र असार मसान्तभित्र काम सक्ने लक्ष्य राखेको छ।
  • नयाँ बानेश्वरस्थित संसद् भवन निर्माण ६ वर्षसम्म पूरा नहुँदा नयाँ सांसदको बसाइमा अन्योल छ र काम तीव्रता दिइएको छ।

३० फागुन, काठमाडौं । झन्डै ३ अर्ब रुपैयाँ खर्चिएर निर्माण सम्पन्न भएको ललितपुर भैंसेपाटीस्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहरप्राय: छ ।

संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख निवास समेत रहेको यो परिसरमा मन्त्रीहरू बस्न थालेको एक वर्षमात्र भएको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो ।

रक्षामन्त्री निवास बनाइएको एकमात्र भवनमा सामान्य क्षति भएको थियो । सोही भवन मर्मत र रङरोगन सम्पन्न भएपछि अहिले मन्त्री माधवप्रसाद चौलागाईं बसिरहेका छन् ।

शहरी विकास मन्त्रालय मातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार यसबाहेक ११ ब्लक पुनर्निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ । ११ ब्लकको काम असार मसान्त भित्रै सक्ने गरी ठेक्का दिने तयारी छ ।

कण्ठका अनुसार चालु आर्थिक वर्षभित्र ११ ब्लकको काम सकेर भवन प्रयोग गर्न योग्य बनाउने लक्ष्य छ । तर, नयाँ सरकार गठन भई नयाँ मन्त्रीहरू भने आगामी साता भित्रै आउनेछन् । त्यो अवस्थामा भने वैकल्पिक व्यवस्थापन गरिने उनी बताउँछन् ।

 

‘सर्वप्रथम कति सदस्यीय मन्त्रीमण्डल बन्छ, मन्त्रीज्यू कति जना हुनुहुन्छ, सोही अनुसार योजना बनाउनुपर्ने हुन्छ,’ कण्ठले अनलाइनखबरसँग भने, ‘निवास व्यवस्थापनको काम त्यसपछि गर्छौं ।’

उनका अनुसार काठमाडौंमा घर भएका मन्त्री भए निजी निवासमै सरकारले दिने सुविधा (सुरक्षा लगायत) उपलब्ध गराउने एउटा विकल्पमा छलफल भइरहेको छ । दोस्रो विकल्प घर भाडामा लिनु हो ।

भाडामा घर लिँदा समेत विभिन्न विकल्प रहेको उनको भनाइ छ । छुट्टाछुट्टै घर भाडामा लिने वा सामूहिक आवास नै भाडामा लिएर सरकारी सुविधा उपलब्ध गराउने भन्नेमा समेत छलफल भइरहेको उनले बताए । यद्दपि, यो निर्णय कार्यालय एक्लैले भने नलिने उनको भनाइ छ ।

‘उच्चस्तरीय निर्णय कुर्छौं, जे निर्देशन आउँछ, सोही अनुसार हामी व्यवस्थापनका लागि तयार छौं,’ उनले भने । ११ ब्लकको काम अगाडि बढेसँगै बाँकी ब्लक पुनर्निर्माणको काम समेत अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

२३ र २४ भदौको आन्दोलनमा भएको क्षति मूल्यांकन गर्न गठन भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माणको योजना तयार गर्न गठित समितिले तयार पारेको प्रतिवेदन अनुसार कुल ८४ अर्ब ४५ करोड ७७ लाख बराबर क्षति भएको थियो । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को १.३८ प्रतिशत र चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको ४.३० प्रतिशत बराबर हो ।

यसमध्ये मन्त्री निवासका पहिलो ११ ब्लक पुनर्निर्माणमा मात्र ११ करोडभन्दा माथि लागत लाग्ने अनुमान सहरी विकास मन्त्रालयले गरेको छ ।

मन्त्री निवास शिलान्यास १३ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । २०८१ भदौसम्म अघिल्लो मन्त्रीमण्डलका धेरै सदस्य यो निवासमा सरिसकेका थिए । यसअघि पुल्चोकमा रहेको मन्त्री निवास अहिले न्यायाधीश निवासमा परिणत गरिएको छ ।

निर्माण चरणमै छ संसद् भवन

२३ र २४ भदौको जेनजी आन्दोलनको निशानामा परेको नयाँ बानेश्वरस्थित संसद् भवन जलेर ध्वस्त अवस्थामा छ । विकल्पमा सिंहदरबारमा नयाँ संसद् भवन बनिरहेको छ । सरकारले १ असोज २०७६ मा शिलान्यास गरेको यो भवन निर्माण थालिएको ६ वर्षसम्म पनि पूरा नहुँदा नयाँ सांसद कहाँ र कसरी बस्ने भन्ने अन्योल छ ।

मन्त्रालयका अनुसार अहिले कामलाई तीव्रता दिइएको छ । नयाँ संसद् बैठक बस्ने मिति तय भइसकेको छैन । तर, निर्माण व्यवसायीले व्यापक कामदार खटाएर काम गरिरहेका कारण कम्तीमा नयाँ भवनबाटै बैठक सञ्चालन हुने आशामा संसद् सचिवालय छ ।

यस भवनमा ७ सय सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष बन्दै छ । सभा हल ४ सय र बाल्कोनीमा ३ सय सिट क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २ सय ९० सिट क्षमता छ । ३ सय ५० सिट अट्ने संयुक्त लबी छ । साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाइएको छ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अतिविशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैँचा र सानो चौर रहने छ । प्रेस र छपाइ भवन सहित ७ सय सवारीसाधन पार्किङ गर्न मिल्ने पूर्वाधार सहित सुरक्षाकर्मी भवन बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।

एमाले सांसद : समानुपातिकबाट पदाधिकारी, प्रत्यक्षबाट युवा

संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ । सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ ।

राष्ट्रिय लिग फुटबलमा दुबै खेल बराबर, नव जन जागृतिलाई पहिलो अंक

News Summary

  • राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र नव जन जागृति युवा क्लबले १-१ गोलको बराबरी खेलेका छन् ।
  • नव जन जागृतिले दशौँ खेलमा आएर अंकको खाता खोलेको हो ।
  • एनआरटी र श्री भगवती क्लबले दशरथ रंगशालमा १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

३० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएका दुवै खेल बराबरीमा सकिएका छन् ।

लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नव जन जागृति युवा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिगमा लगातार नवौँ हारपछि दशदँ खेलमा आएर बाराको नव जन जागृतिले अंकको खाता खोल्दै १ अंक जोडेको छ ।

खेल विक्रम थोकरको गोलबाट नव जन जागृतिले नै २६औं मिनेटमा पहिले अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न सकेन ।

सातदोबाटोका अरुण लामाले ४८औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीपछि सातदोबाटो १० खेलबाट ८ अंक जोड्दै १४औं स्थानमै यथावत छ भने समान खेलबाट १ अंकसहित नव जन जागृति पूछार (१७औं स्थान) मै छ ।

यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार साँझ सम्पन्न भएको एनआरटीले श्री भगवती क्लबलसँग १-१ कै बराबरी खेल्दै अंक बाँडेको छ ।

कप्तान अन्जन विष्टले अन्तिममा गरेको गोलमा एनआरटीले हार टारेको हो । अन्जनले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल फर्काएका थिए ।

त्यसअघि बाखरोमजोन तुर्गुनपुलातोभले ६६औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिले अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन ।

एनआरटीको यो लगातार दोस्रो बराबरी हो । यो बराबरीपछि एनआरटीले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । ११ खेलबाट २० अंक जोडेको एनआरटी सातौं स्थानमै छ । एक खेल कम खेलेकको त्रिभुवन आर्मी एफसीको पनि समान २० अंक रहेपनि गोल अन्तरमा एनआरटी पछि छ । श्री भगवती ११ खेलबाट ९ अंक जोड्दै १२औं स्थानमा उक्लेको छ ।

तस्बीर: एन्फा

 

मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटना –


३० फागुन, गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।

बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही हताहतको शंका गरिएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

उद्योगसँग निगमले भन्यो- एलपी ग्यास अनावश्यक भण्डारण नहोस्, हरेक दिन विवरण दिनुस्


३० फागुन, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो ।

निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित बनाएर उपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने व्यवस्था गर्न आधा सिलिन्डरको व्यवस्था गरेको जनाएको छ । यस्तै अर्को व्यवस्था नभएसम्म उद्योगहरूले सिलिन्डरमा ७.१ केजी ग्यास ९५५ रुपैयाँमा बजारीकरण गर्ने व्यवस्था मिलाइएको भनेको छ ।

यस्तै निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आफ्ना विक्रेताको विक्री गर्ने मात्रा, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजे भित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन अनुरोध गरेको छ । सो जानकारी उपभोक्तालाई समेत दिन निगमले निर्देशन दिएको छ ।

अहिलेलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास विक्री वितरण गर्न भनेको छ ।

मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यासको विश्वव्यापी असर परे पनि निगमले नेपालमा नियमित रूपमा आपूर्ति गरी विक्री–वितरणको व्यवस्था मिलाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आशा, आक्रोश र आवेगको मिश्रण –


प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भई परिणाम समेत आइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेशवादी दललाई मूर्छित बनाएको छ । झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भने आगामी दिशाबारे विमर्शमा छ ।

सत्ता प्राप्तिको अप्राकृतिक खेल र गठबन्धनबाट दिक्क भएका जनताले अबको पाँच वर्ष एकमना सरकार बन्ने भयो भनेर सन्तोषको सास फेरेका छन् । विश्वास गर्ने हो, आउने सरकारले राम्रै गर्छ । विश्वास आर्जन गर्ने काम सरकार हाँक्नेहरूको हो अन्यथा पाँच वर्षपछि यिनीहरूको पनि हविगत हुने उस्तै नै हो ।

देशको सत्ता समीकरणमा उलटपुलट ल्याएको यो निर्वाचनले केही महत्वपूर्ण सन्देश दिएको छ । यो लेखमा बुँदागत रूपमा ती सन्देशबारे छोटो विश्लेषण गर्ने प्रयास गरिएको छ ।

भाषण होइन, काम हेर्न चाहन्छन् जनता

कांग्रेस, एमाले र नेकपाले आकाश–पाताल जोड्ने भाषण प्रशस्तै गरे । २०४८ देखि २०८२ को आम निर्वाचनसम्म आइपुग्दा जनताले अनुभूत गर्ने गरी बोलेका कुरा पूरा गर्न सकेनन् । दलहरूले केही पनि गरेनन् भन्ने भाष्य सत्य होइन । तर जति आश्वासन दिए सबै पूरा गर्न सकेनन् । कामभन्दा भाषण बढी गरे । सपना देखाइरहे विपनामा सक्रियता देखाएनन् ।

रास्वपा सभापति रवि लामिछाने पनि भाषणमा कम होइनन् । अझ आवेग र आक्रोश मिश्रित उत्तेजित भाषण गर्न माहिर छन् उनी । तर यो दलका प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारको छोटो र जनबोलीको भाषाले लोभ्यायो जनतालाई । उनले भनिरहे– म भाषण गर्न आएको होइन, काम गर्न आएको हुँ । त्यसैले धेरै बोल्नु छैन । विशाल आमसभामा समेत ३ मिनेटमा आफ्नो सन्देशमूलक भाषण सके उनले ।

पात्र, प्रवृत्ति र चरित्र नहेरिएको निर्वाचन  

यो निर्वाचनमा मतदाताले शायदै उम्मेदवारको बारेमा सोधपुछ गरे । उम्मेदवारको पृष्ठभूमि, योग्यता, चरित्र आदिको बारेमा जान्न आवश्यक नै ठानेनन् मतदाताले । कैयौं उम्मेदवारले जिल्लाको विकास निर्माणको नेतृत्व गरेका थिए । उनीहरू जनताको समस्याका बारेमा भलिभाँती जान्दथे र ती समस्या समाधानका लागि जिल्लामै बसेर निरन्तर खटिरहेका पनि थिए । तर यो निर्वाचनमा उनीहरूले लज्जास्पद हार बेहोरे । कारण उनीहरू कांग्रेस, कम्युनिस्ट वा मधेशवादी दलबाट उम्मेदवार भए ।

नेपाली जनता कांग्रेस, एमाले, नेकपा र मधेशवादी दलभित्रको बेथिति, अस्तव्यस्तता र मौलाउँदै गएको आसेपासेवादबाट वाक्क भएका थिए । सरकारमा एकपटक यीभन्दा बाहिरका दलबाट प्रतिनिधित्व भएको हेर्न चाहन्थे मतदाता । त्यसैले जनताले कतै बालेनको नाममा भोट दिए त कतै घण्टीको नाममा । उम्मेदवारी नै खारेज भएको क्षेत्रमा समेत बहुमत उसैलाई दिए ।

दल र सरकार दुवैमा युवाको नेतृत्व देख्न चाहन्छन् जनता

रास्वपा युवाले नेतृत्व गरेको दल हो । त्यहाँ जे निर्णय हुन्छ युवाकै वर्चस्वमा हुन्छ । रास्वपाले यस पटकको निर्वाचनमा प्रशस्तै युवालाई उम्मेदवार बनाएको थियो । प्रस्तावित प्रधानमन्त्री बालेन ३६ वर्षे युवक हुन् । यस कारण पनि युवाहरूको रोजाइ रास्वपा हुन पुग्यो ।

युवाको नेतृत्व त कांग्रेसमा पनि आएको थियो । तर यो नेतृत्व नियमित प्रक्रियाबाट स्थापित भएको थिएन । युवाहरूको जबरजस्त विद्रोहबाट अस्वाभाविक भएको थियो । दलका करिब ४५ प्रतिशत नेता–कार्यकर्ता यो प्रक्रियासँग सहमत नहुँदा नहुँदै स्थापित भएको नेतृत्व हो यो ।

कांगे्रसमा स्थापित युवाको नेतृत्वले उसका कार्यकर्ता र केही हदसम्म नेपाली जनतालाई उत्साहित नबनाएको होइन । तर अत्यन्त कम समय, विशेष महाधिवेशनका विपक्षमा रहेकाहरूको युवा नेतृत्वलाई देखाइदिने क्रियाकलाप आदिका कारण कांग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न सकेन ।

एमाले र नेकपामा युवाहरू नभएका होइनन् । तर उनीहरूको सोच, विचार र चाहना अनुसारको निर्णय हुँदैन ती दलमा । नेकपा एमालेमा गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, शंकर पोखरेल, बिन्दा पाण्डे, गोकुल बास्कोटा, विष्णु पौडेल र प्रदिप ज्ञवालीहरू सुनिन पनि मसिनु सुनिन्छन्, लिखितमा देखिन त परै जाओस् । माओवादीका देव गुरुङ, पम्फा भुसाल, शशि श्रेष्ठ, लीलामणि पोखरेल, वर्षमान पुन, लेखनाथ न्यौपाने, गिरिराजमणि पोखरेलहरू न सुनिन्छन् न दलको निर्णयमा देखिन्छन् ।

खासगरी वामपन्थी दलका निर्णयहरूमा त्यस्तो नेतृत्व हावी भएको छ जो आफूलाई सर्वज्ञ र सर्व दृष्टिवाला ठान्छ । आफूले देखेको र जानेको कुरा नै अन्तिम सत्य मान्छ र विना छलफल, विना वादविवाद, विना प्रश्नोत्तर निर्णयहरू गराउँछ र लागू गर्न फर्मान जारी गर्छ ।

जनताको इच्छा ठिक विपरीत छ । जनता भन्छन्, तिमीहरूले २०४८ देखि अनवरत नेतृत्व गर्‍यौ, अब अवकाश लेऊ । अभिभावकको भूमिकामा बस र युवाहरूलाई सम्पूर्ण रूपमा नेतृत्व सुम्प ।

जनताको आँखामा कांग्रेस, एमाले, माओवादी र मधेशवादी उस्तै देखिए

पुराना भनिने यी दलहरूले आफूलाई जे–जस्तो विशेषण दिए पनि जनताले सबै दललाई एउटै डालोमा हालेको देखियो । हुन पनि हो आजसम्मको बेथिति, कुशासन, भ्रष्टाचार, कमजोर सेवा प्रवाह, लाभका पदमा दलीय भागबण्डा आदि यी सबै दलमा देखियो । पाउँदा र आफू भान्सामा हुँदा कसैले छोडेनन् । यी दलहरू कति अलोकप्रिय भइसकेका रहेछन् भन्ने त उनीहरूले पाएको मतले नै देखाइहाल्यो ।

संसद्मा यी पुराना भनिने दलहरू विगतमा कहिले सत्ता पक्षको बेञ्चमा बसे होलान्, कहिले प्रतिपक्षको बेञ्चमा । तर २०४८ देखि आजसम्म सत्तामा यिनीहरूले नै आलोपालो गरिरहेकोले जनताको नजरमा यी सबै दलहरू राज्य सञ्चालक र संस्थापन पक्षका दलहरू हुन् । प्रतिशतमा घटबढ भए पनि आजसम्मको बेथितिको भागीदार यी सबै दलहरू हुन् ।

काम गरेन परम्परागत प्रचार शैलीले

यो निर्वाचनले स्पष्ट भन्यो कि, ठूलाठूला आमसभा गरेर, केन्द्रबाट नेताहरू खटाएर, टोल र गाउँका नेताहरूलाई भेटेर वा परिचालन गरेर भोट बढ्ने वाला छैन । अब त यस्ता क्रियाकलापले मत झन् झन् घट्छ । टोलको अगुवाले कसैलाई भोट दिन छिमेकीहरूलाई भन्यो भने के फाइदा लिइस् तैंले भन्ने जमाना आएको छ । विगतमा जनता आफ्नो उम्मेदवारलाई आफ्नै घरदैलोमा आफैं भेट्न चाहन्थे । आफ्ना समस्या, गुनासा र सरोकारका विषयहरू उम्मेदवारका कानमा आफैं सुनाउन चाहन्थे ।

तर, यस पटक सामाजिक सञ्जालले सबै किसिमका प्रचारशैलीलाई उछिन्यो । सबैका हातमा इन्टरनेट सहितको मोबाइल फोन भएको अवस्थामा टिकटक, रिल्स, स्टोरी, फेसबुक आदि चुनाव प्रचारका साधन बने । कतिपय उम्मेदवारले प्रतिस्पर्धीका बारेमा झुटा सूचना फैलाएर चुनाव आफ्नो पक्षमा पार्ने प्रयास गरेको समेत पाइयो । अबका निर्वाचनमा यी माध्यम अझ सशक्त र प्रभावकारी रूपमा प्रयोग हुनेछन् ।

मतदातालाई मतलब छैन भ्रातृ संगठन र पद

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य सबै दलका भ्रातृ संगठनहरू यति छन् कि गाउँका सबैलाई कुनै न कुनै पद बाँड्न पुग्छ । शिक्षक, युवा, विद्यार्थी, किसान, मजदुर, कर्मचारी, पूर्व सेना, विभिन्न जातीय संगठनहरू गिन्ती गरेर साध्य छैन यिनीहरूका भ्रातृ र शुभेच्छुक संगठनहरू ।

तर, अहिले करिब दुई तिहाइ मत प्राप्त गर्ने रास्वपा र पूर्वमा समानुपातिक मतमा कांग्रेस–एमालेलाई पछि पारेको श्रम संस्कृति पार्टीको न कुनै भ्रातृ संगठन छन् न वडासम्म समिति निर्माण गर्न नै भ्याएका थिए । जनता भने यिनकै पक्षामा उर्लिए ।

जनताले चाहँदा न सदस्य चाहिंदो रहेछ न कुनै समिति । न कुनै शुभेच्छुक संस्था चाहिने रहेछ न भ्रातृ संस्था । विना सदस्य, विना पद, विना संगठन पनि भोट ओइर्‍याउँदा रहेछन् भन्ने उदाहरण हो यो निर्वाचन ।

त्यसैले यो निर्वाचनको अर्को महत्वपूर्ण सन्देश यी अनावश्यक भ्रातृ र शुभेच्छुक संस्थाहरू खारेज गर भन्ने पनि हो । यस्ता संस्थाका सदस्यहरूले आफ्नो प्रमुख जिम्मेवारीका काम नगरेर दलको काममा खटेको देख्दा सर्वसाधारण जनताको उक्त दलप्रतिको आस्था र विश्वास खस्कँदै गएको छ ।

जनता भन्छन्– भ्रष्टाचारी र व्यभिचारीप्रति कठोर बन 

पूर्ण लोकतन्त्र, वाक् स्वतन्त्रता र स्वतन्त्र सञ्चारमाध्यम भएको नेपाल जस्ता देशमा साना–साना अनियमितता समेत समाचारमा आउँछन्, जुन लोकतन्त्रको सुन्दर पक्ष हो । भ्रष्टाचारको आरोप लागेका वा अदालतले प्रमाणित गरेकालाई सम्बन्धित दलले कस्तो व्यवहार गर्छ भनेर जनता हेरिरहेका हुन्छन् ।

कम्युनिस्ट देश हुन् वा पश्चिमा देशहरू, त्यहाँ जुनसुकै पदको व्यक्ति होस् भ्रष्टाचारमा मुछियो भने दलले कारबाही गर्छ र त्यस्तो नेतालाई पद दिएर अगाडि बढाएकोमा जनतासँग माफी माग्छ ।

तर, हाम्रोमा भ्रष्टाचार प्रमाणित भएर जेल परेका नेता जेलबाट छुट्दा दलका नेता–कार्यकर्ता फूलमाला लिएर स्वागत गर्न पुग्छन् अनि नेतृत्वमा पुन: स्थापित गर्छन् । विभिन्न काण्डहरूमा मुछिएको व्यक्तिलाई दलले उम्मेदवार बनाउँछ । संसद्मा कुरा उठ्यो भने प्रतिवादमा उत्रन्छ ।

त्यसैले यो निर्वाचनको अर्को सन्देश सबै राजनीतिक दलहरू भ्रष्टाचारी र व्यभिचारीप्रति कठोर बन र त्यस्ता व्यक्तिलाई दलको ढोका बन्द गर भन्ने पनि हो ।

दर्शन, सिद्धान्त र विचारप्रतिको विकर्षण

कांग्रेस र कम्युनिस्ट जनहितकारी, लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृति अनुरुपको दर्शन, विचार, सिद्धान्त र नीतिलाई आधार मानेर स्थापना भएका दलहरू हुन् । तर व्यवहारमा लागू भएको देखिंदैन ।

तर, वैकल्पिक शक्ति भनिने दलहरूको दर्शन, सिद्धान्त के हो ? राज्य प्रणाली कस्तो हुने हो ? अर्थ व्यवस्था, परराष्ट्र नीति, शिक्षा नीति आदि कस्ता हुने हुन् ? स्पष्ट र बुझिने गरी कहीं व्याख्या विश्लेषण गरेको पाइँदैन । संविधान र संघीयताका बारेमा नेतापिच्छे फरक धारणा सुनिन्छ ।

काम कसरी गर्ने, कुन पद्धति अपनाउने, स्रोत र साधन कसरी जुटाउने, मित्र राष्ट्रहरूसँगको सम्बन्ध केका आधारमा अगाडि बढाउने, वैदेशिक सहायता के–कस्तो अवस्थामा स्वीकार गर्ने वा नगर्ने आदिको बारेमा कुनै स्पष्टता देखिंदैन ।

तर पनि मतदाताहरू समाजवादी वा साम्यवादी, प्रजातान्त्रिक वा लोकतान्त्रिक कुनै दर्शन, सिद्धान्त वा विचारको पछि लाग्न रुचि राख्दैनन् भन्ने प्रमाणित गर्‍यो यो निर्वाचनले ।

आशा गरौं, रास्वपाको नेतृत्वलाई राज्य सञ्चालन गर्न लोक रिझाउने भाषणले मात्र पुग्दैन भन्ने कुरा जानकारी छ । विश्वास पनि गरौं– यो दलले आगामी दिनमा आफ्ना सैद्धान्तिक र वैचारिक धरातल स्पष्ट पार्दै एक जिम्मेवार दलको रूपमा राज्य सञ्चालन गर्नेछ ।

युवा चाहना– सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र रोजगारी  

युवामा आक्रोश छ– देशमा भ्रष्टाचार व्याप्त छ, देश कुशासनमा डुबेको छ, नियम, कानून र विधिले काम गर्दैन ।

नेपालको संविधानले सबै नागरिकलाई रोजगारीको हक प्रदान गरेको मात्र होइन, प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हक समेत व्यवस्था गरेको छ । तर व्यवहारमा जस्तोसुकै काम पाए पनि गर्छु भन्ने लाखौं नागरिक बेरोजगार छन् । निजामती, प्रहरी, सेना, शिक्षक र केही संस्थानमा खुल्ने केही हजार रोजगारी बाहेक अन्यत्र कहाँ पाइन्छ जागिर नेपालमा ?

सानोतिनो उद्योग व्यवसाय, व्यापार, खेती गरेर परिवार पाल्छु भन्नेहरूले भोग्नुपर्ने नियति त किसानका उत्पादनले उचित मूल्य नपाएर वा नबिकेर फालिएकोे अवस्थाले स्पष्ट पार्छ ।

वित्तीय संस्थाबाट ऋण लिएर केही गर्छु भन्ने युवाहरूको चर्को व्याजको कारण प्रगति हुनु त परै जाओस् भएको पैतृक सम्पत्ति पनि धितो लिलाम भएर सडकमा आइपुगेका हजारौं उदाहरण छन् ।

शिक्षा र स्वास्थ्य नि:शुल्क

युवाले उठाएको अर्को मुद्दा हो नि:शुल्क शिक्षा र स्वास्थ्य उपचार पाउने संवैधानिक प्रावधानको कार्यान्वयन । हामीले देखेका छौं, कसैका छोराछोरी मासिक १ लाख शुल्क तिरेर महङ्गो विद्यालयमा पढ्छन् भने कोही विद्यालयको पोशाक, कापी र कलम किन्न नसकेर विद्यालय छाड्न बाध्य छन् ।

यस्तो विभेदकारी शिक्षा अस्तित्वमा रहुञ्जेल भोलि ती दुवै वर्गले एकै किसिमको रोजगारी पाउने, समान आय आर्जन गर्ने र एउटै स्तरको जीवनयापन गर्ने सुनिश्चितता कसरी हुन्छ ? अनि यही परिपाटीको पालनपोषण गर्ने दललाई कसरी भोट दिन सकिन्छ भनेर युवादेखि प्रौढसम्मले प्रश्न गर्न थालिसकेका थिए ।

जनताले उठाउने अर्को विषय हो स्वास्थ्य सेवा । नेपालमा कतिपय सुविधासम्पन्न अस्पताल छन्, जहाँ एकरात बिरामी सुतेको मात्र १५ हजारभन्दा बढी तिर्नुपर्छ । सरकारी अस्पतालमा समेत उपचारका लागि सर्वसाधारणलाई बेड पाउन मुश्किल छ ।

रास्वपाको सरकार बन्यो भने खल्तीमा पैसा नहुनेले पनि गुणस्तरीय शिक्षा र बिरामी हुँदा उपचार पाउँछन् भन्ने बालेनको वाक्यले सर्वसाधारणको मन जितेको छ । यही कुरा अन्य दलले पनि भनेका थिए तर विगतमा बोलेका वचन पूरा नगर्ने व्यवहारका कारण जनताले पत्याएनन् ।

सन्तानको अभिमतलाई अभिभावकको अनुमोदन

कारण जेसुकै होस्, यसपटक युवाहरू रास्वपाप्रति आकर्षित भए । खासगरी वैदेशिक रोजगारीमा रहेका युवा मतदाताले आफ्ना बा–आमा, श्रीमान्–श्रीमतीलाई अनुरोध गरेर हुन्छ कि, घुर्क्याएर हुन्छ मत परिवर्तन गराए । कतिपयले त अन्यथा गरे पैसा नपठाउने वा घर नआउने जस्ता कठोर निर्णय समेत सुनाए । उनीहरूको बढी आशा केही छैन मात्र, देशमै रोजगार भएर परिवारसँग बस्न पाए हुन्थ्यो भन्ने हो ।

यो पटक प्रौढ मतदाताले पनि मौन रूपमा तर खुसीका साथ सन्तानको भनाइ माने र घण्टीमा छाप लगाए । आशा गरौं नयाँ सरकारले उनीहरूको चाहना पूरा गर्नेछ । विदेशिएका युवा चाँडै स्वदेश फर्कने छन् र रोजगार हुनेछन् ।

समान र सुलभ न्याय

संविधानमा ‘सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन’ भनिएको छ । तर के हामी सबैलाई यो प्रावधान समान र निष्पक्ष रूपमा लागू भएको छ ? समान कसुर र गल्तीमा के सबैले समान दण्ड सजाय पाएका छन् ? एउटै प्रकृतिको कसुर र अपराधमा व्यक्तिको आर्थिक हैसियत, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारी, प्रहरी आदिसँगको सम्बन्ध र पहुँचका आधारमा दण्ड सजाय फरक–फरक हुन्छ ।

अझ न्याय प्राप्तिमा हुने ढिलाइ त कुरा गरिसाध्य छैन । तल्लो अदालतको निर्णयानुसार व्यक्ति दशौं वर्ष जेल बस्छ अनि जेल भुक्तानी हुने बेलातिर माथिल्लो अदालतले निर्दोष प्रमाणित गरिदिन्छ । उसको लागि यो न्यायको के अर्थ ! यस पटक रास्वपाले न्यायालय पुनर्संरचनाको कुरा पनि उठाएकोले जनता त्यसप्रति आकर्षित भएको पाइयो ।

अन्त्यमा

संविधानको व्यवस्था कार्यान्वयनमा ढिलाइ, राजनीतिक दल र नेताहरूको बोलाइ अनि गराइको फरकले युवादेखि वृद्धसम्म एक प्रकारको निराशा छाएको छ ।

डाक्टर, वकिल, शिक्षक, पत्रकार कर्मचारी लगायत सम्पूर्ण क्षेत्रमा जरा गाडेको राजनीतिक ध्रुवीकरण र यसले सार्वजनिक सेवा प्रवाहमा पारेको नकारात्मक असरले सबैलाई आजित बनाएको छ ।

जनतामा सरकार, राजनीतिक दल, नेता तथा नेपालको कर्मचारीतन्त्र प्रति आक्रोश र वितृष्णा छ भने राज्यले उपलब्ध गराउने सेवा, सुविधा र अवसरमा पनि असन्तुष्टि ।

यी सबै बेथिति भोगेका जनताले २०७९ को निर्वाचनमा नै कांग्रेस, एमाले, तत्कालीन माओवादी र मधेशवादी दललाई सुध्र कि सकिन तयार होऊ भनेर सङ्केत गरेकै थिए । तर उनीहरू झन् बिग्रिए, सुध्रिएनन् ।

नेल्सन मण्डेला भन्नुहुन्थ्यो– यदि नागरिकमा राज्यप्रतिको आड, भरोसा र विश्वास गुम्न थाल्यो भने राज्य असफलताको बाटोमा अगाडि बढ्छ । नेपालीका लागि अहिले सबभन्दा गम्भीर विषय यही हो ।