गृहमन्त्री सुदन गुरुङ काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे स्थल निरीक्षणका लागि काठमाडौंबाट प्रस्थान गर्ने तयारीमा छन्। यस क्रममा उनले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष अवलोकन गरी अत्यधिक जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन्। साथै, वर्षा सुरु हुनुअघि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने कार्य गर्नेछन्।
गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणका लागि जाने कार्यक्रम रहेको छ। गृहमन्त्री गुरुङसहितको टोली आज बिहान ९ बजे काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ। हरेक वर्षको वर्षायाममा हुने बाढीका कारण स्थानीयवासीहरूमा उत्पन्न समस्या समाधानका लागि उनी यस पटक सिधा अवलोकन गर्न लागेका हुन्। निरीक्षणको क्रममा उनले प्रभावित क्षेत्रहरूको अवस्था बुझ्दै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको यथार्थ स्थिति अध्ययन गर्नेछन्। साथै वर्षा सुरु हुनुअघि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना र समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने जानकारी पनि उपलब्ध गराइएको छ।
फाइल फोटो २४ चैत, बुटवल। रुपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। घाइते व्यक्ति रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरिया निवासी विशाल यादव हुन्। बायाँ खुट्टाको पिडुलामा गोली लागेर घाइते यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका ४ कोटहवा क्षेत्रमा लागुऔषध ओसारपसारको सूचनाका आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा उनीहरू भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो।
लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली चलाएर लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको डीएसपी चन्दले बताएका छन्। प्रहरीले गोली चलाएर विशाल यादव, भारत तुलसीपुर महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी डीएसपी चन्दले दिएका छन्।
डीएसपी चन्दका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। प्रहरीले काठमाडौँको गौशाला-पिंगलास्थान क्षेत्रमा लागुऔषध कारोबारको आशंकामा गोली चलाएर दुई भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ।
इरानले अमेरिका र इजरायलसँग जारी युद्धलाई सधैंका लागि अन्त्य गर्ने उद्देश्यसहित पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारेको छ। इरानले अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै आफ्ना सर्तहरूमा आधारित दीर्घकालीन समाधान आवश्यक रहेको जनाएको छ। तेहरानले क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमा सुरक्षित आवागमन, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउने मागहरू समेटिएको शान्ति सन्देश प्रस्तुत गरेको छ।
अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावलाई करिब दुई हप्तासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत आफ्नो शान्ति प्रस्ताव अघि सारेको जानकारी प्राप्त भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई मंगलबारसम्मको समयसीमा दिएको थिए। यदि स्ट्रेट अफ होर्मुज खुला नगरेमा इरानका विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी समेत ट्रम्पले दिएका थिए।
मंगलबारसम्मको म्याद सकिनुभन्दा एक दिन अघि इरानले युद्धलाई सधैंका लागि अन्त्य गर्ने शान्ति सन्देश दिएको हो। अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देशहरूको आदान–प्रदान भएको पुष्टि गरेका थिए। तर उनले तेहरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गरेको समेत बताएका थिए।
आई.आर.एन.एको अनुसार, इरानको १० अनुच्छेदको जवाफमा युद्धविरामको अवधारणालाई ‘विगतका अनुभवहरू’का आधारमा अस्वीकार गरिएको छ। यसको सट्टा इरानले आफ्ना सर्तहरूमा आधारित दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ। एजेन्सीका अनुसार तेहरानले प्रस्तुत गरेको शान्ति सन्देशको कागजातमा क्षेत्रीय द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन सुनिश्चितता, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउने व्यवस्था लगायतका विभिन्न मागहरू उल्लेख छन्।
सभामुख डीपी अर्याल २४ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेबाट सुरु हुने भएको छ । आजको बैठकमा तीनवटा सम्भावित कार्यसूचीहरू समावेश हुने अपेक्षा गरिएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गरिने कार्यसूचीमा रहेका छन् ।
लामो समयदेखि स्थिरता र महत्त्वाकाङ्क्षाको केन्द्र रहेकै साउदी अरब, यूएई, कुवेत, कतार, ओमान र बाहरेनजस्ता खाडी राष्ट्रहरूले लगानीकर्ता, ठूला कम्पनी र दक्ष कामदारहरूलाई ठूलो संख्यामा आकर्षित गर्दै आएका छन्। ती देशका विमानस्थलहरू विश्वव्यापी ‘हब’ का रूपमा विकसित भएका छन् भने सहरहरू वित्तीय तथा पर्यटकीय केन्द्र बन्न सफल भएका छन्। तर, अमेरिकामाथि इजरायलले इरानविरुद्ध थालेको युद्धले यस प्रभावमा ठूलो चुनौती ल्याएको छ। इरानी क्षेप्यास्त्र र ड्रोनहरूले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य शिविरहरू लक्षित गरिरहेका छन्, साथै त्यहाँका गैरसैन्य तथा ऊर्जा संरचनामा पनि प्रहार भइरहेका छन्। केही देशहरूले छिट्टै जनजीवनलाई सामान्य बनाउन प्रयास गरिरहेका छन्। उदाहरणका लागि, कतार सरकारले घरबाट काम गर्ने अनुमति खारेज गरी विश्वविद्यालयका कक्षाहरू पुनः सञ्चालनमा ल्याएको छ। तथापि, कतिपय विश्लेषकहरूका अनुसार खाडी राष्ट्रहरूले युद्धबाट केही धक्का सहने भए तापनि यसले त्यहाँ रणनीतिक पुनर्विचार गर्न बाध्य पार्नेछ। वाशिङ्टनस्थित मिडल ईस्ट इन्स्टिट्यूटका एलेक्स भ्याटनले भने, “तपाईं इरानबाट हुने आक्रमणलाई रोक्न सक्नुहुन्न किनभने यो भू-राजनीति र निकटता संग सम्बन्धित विषय हो। जस युद्धमा उनीहरूको प्रत्यक्ष भाग थिइन, ती देशहरू अग्रिम मोर्चामा परेका छन् र ठूलो आर्थिक मूल्य भाँचिरहेका छन्।”
सर्वोच्च अदालतले ओली र लेखकको पक्राउलाई कानूनसम्मत ठहर गर्दै उनीहरुलाई थुनामुक्त गर्न अस्विकार गरेको छ। अदालतले भनेको छ कि उनीहरुको विभिन्न अवस्थाहरुलाई ध्यानमा राख्दै छिटो अनुसन्धान टुंग्याउन प्रहरीलाई निर्देशन दिएको छ। यसले अनुसन्धान प्रक्रियामा तीव्रता ल्याउने अपेक्षा गरिएको छ।
२३ चैत, पोखरा । पोखराको फेवाताल किनारमा बनेका संरचनामा शनिबार बिहान झिसमिसेमै डोजर संचालन भएपछि देशभर चर्चा भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० कार्यसूचीमा समेटे लगत्तै, गृहमन्त्री सुदन गुरुङको निर्देशनमा शनिबार बिहान भत्काइएको भनिएका ती संरचना फेरि उस्तै रूपमा तयार भएका छन्। प्रधानमन्त्री शाह, गृहमन्त्री गुरुङ र पोखराका मेयर धनराज आचार्यको समन्वयमा शनिबार बिहानै फेवातालको ६५ मिटर मापदण्डभित्र रहेको खपौंदी क्षेत्रका ३२ वटा संरचनामा डोजर चलाइएको थियो।
स्थानीय जग्गामा बनेका संरचना साथै पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टको प्रांगण र त्यहाँ रहेको स्वीमिङ पुलमाथि पनि डोजर चलाइएको अवस्थामा पर्यटकहरू समेत सुतिरहेको थियो, जसविरुद्ध विरोध भएको थियो। डोजर चलाएको रातोपाटीमा चर्चाको विषय भएपछि ती संरचनाहरू फेरि पहिले जस्तो नै अवस्थामा आइसकेका छन्। महानगरले स्थानीय बासिन्दा र व्यवसायीहरूसँग समन्वय नगरी डोजर चलाएर आतंक मच्चाएको भन्दै विरोधमा उत्रिएका व्यवसायीहरूले पुनः ती संरचनाहरू उठाएर आफ्नो व्यापार सुरु गरिसकेका छन्।
फेवातालमा संरचनाको जग पर्न थुप्रै संरचना भएपनि महानगरले ३२ वटा संरचनामा मात्रै केही भाग डोजरले भत्काएको थियो। संरचनाका पर्खाल, होडिङ बोर्डदेखि वाटर फ्रन्टको स्वीमिङ पुल र बगैंचा सम्म डोजरले क्षति पुर्याएको थियो। तर, दुई दिन भित्र अधिकांश संरचना पुनः निर्माण भइसकेका छन् र ती संरचनाबाट व्यापार पनि सुरु भइसकेको छ। प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा हतारमा डोजर चलाउँदा विवाद भएको थियो, जसका कारण आइतबार जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिकासहितका कार्यालयहरूमा स्थानीय जग्गाधनी र व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका थिए।
सोमबारसम्म लगभग सबै संरचना पहिलाको झैँ नै पुनः स्थापित भइसकेका थिए। पोखराका मेयर धनराज आचार्यले अब पहिलेजस्तो केही समयका लागि मात्र भत्काउने र पछि पुनः पुरानै स्थिति हुने अवस्था नआउने दाबी गरेका थिए। तर, पोखरा पर्यटन परिषद्को अध्यक्ष तारानाथ पहारीले मेयर आचार्यलाई अभिव्यक्ति दिन ठाउँमा स्थानीय र मापदण्डको वास्तविकतालाई नबुझेका कारण मात्र यस्तो स्टन्टबाजी गरिएको बताएका छन्। स्थानीय भावना र फेवातालको मापदण्डको सही जानकारी नहुँदा प्रधानमन्त्री र गृहमन्त्रीको नाममा विवाद सिर्जना गरिएको छ भनी प्रभाबित स्थानीय हरि भुजेलले बताएका छन्।
भुजेलको भनाइ छ, “चर्चाको लागि डोजर चलाउने होइन, दीर्घकालीन योजना बनाएर स्थानीय अभिव्यक्ति सुन्नुपर्छ।” मापदण्डको कार्यान्वयन सबै व्यवसायी र स्थानीयले चाहेकाले होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भनेका छन्, “पर्यटक सुतिरहेका बेला आतंक मच्चाउने होइन, संवाद गरेर मात्र समस्या समाधान हुन्छ, मापदण्ड कार्यान्वयन गर्ने नाममा स्थानीयलाई आतंकित नबनाओस्।”
२३ चैत, काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति हाँस्य कलाकार सागर लम्साल ‘बले’लाई बूढानीलकण्ठबाट पक्राउ गर्यो। बले पक्राउ परेका बेला उनीमाथि गम्भीर आरोप लागेको थियो। अमेरिका बसोबास गरेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलेमाथि बलात्कारको आरोप लगाएकी थिइन्। ती युवतीले पहिल्यैदेखि चिनजान भएको व्यक्तिका रूपमा बलेलाई कोठामा आएपछि आफूलाई जबरजस्ती करणी (बलात्कार) गरेको आशय व्यक्त गरेकी थिइन्। बलेमाथि बलात्कारको गम्भीर आरोप लागेपछि ती युवतीलाई उद्धृत गर्दै समाचार प्रकाशन र प्रसारण पनि भएका थिए। त्यसपछि सेफ्टी काठमाडौं अपरेशन चलाएको परिसर काठमाडौंले बलेलाई पनि पक्राउ गर्यो। त्यस राति बलेसहित १९५ जनालाई परिसर काठमाडौंले पक्राउ गरेको थियो। शुक्रबार पक्राउ परेका बलेलाई शनिबार सार्वजनिक बिदा भएकाले आइतबार म्याद थप गरियो। तर, जुन आरोप सार्वजनिक भएपछि बले पक्राउ परेका थिए, त्यसमा म्याद नलिई प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेको छ। परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा प्रशासनले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ। अहिले उनी परिसरको भद्रकालीस्थित हिरासतमा छन्।
यता बलेमाथि युवतीले गम्भीर आरोप लगाउनु र त्यसको केही समयमै उनी पक्राउ पर्नुले बलात्कार आरोपमा पक्राउ जस्ता विषय सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति नै निकालेर यसको खण्डन समेत गरेको छ। एसपी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको व्यक्तिमाथि भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न अनुरोध गर्दछौं।’ बहिर्क्षेत्रीय अधिकार प्रयोग गरेर बलेमाथि हुनसक्छ अनुसन्धान। अमेरिकामा बलात्कारको गम्भीर आरोप लागेका बले पक्राउ परेपनि उनीमाथि अहिले अभद्रको मात्रै अनुसन्धान भएको प्रहरीले प्रष्ट्याएको छ। प्रहरी स्रोतका अनुसार, यदि पीडित महिलाले उजुरी दिएको अवस्थामा भने उनीमाथि अनुसन्धान अघि बढ्छ। ‘अहिलेसम्म पीडित वा उहाँको परिवार आफन्त कतैबाट उजुरी आएको छैन। उजुरी आएको बखत हामी अनुसन्धान अघि बढाउँछौं,’ परिसर स्रोतले भन्यो।
अमेरिकामा बलात्कार गरेको आरोप लागे पनि त्यसको अनुसन्धान भने काठमाडौंबाट पनि हुने प्रहरीले प्रष्ट्याएको छ। पहिलोपटक मुलुकी फौजदारी अपराध संहिता २०७४ मा बहिर्क्षेत्रीय अधिकार समेटिएको छ। मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद-१ को दफा २ मा बहिर्क्षेत्रीय प्रयोगको बारेमा उल्लेख गरिएको छ। जस अनुसार, कसैले नेपाल बाहिर कुनै कसुर गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने उक्त दफामा उल्लेख गरिएको छ। दफा २ को उपदफा ३ मा यसको व्याख्या गरिएको छ। ‘कुनै नेपाली नागरिकले नेपाल बाहिर रहेको कुनै नेपाली नागरिक विरुद्ध ज्यान लिए, ज्यान मार्ने उद्योग गरे, षड्यन्त्र गरे, अंगभंग गरे, अपहरण शरीर बन्धक तथा गैरकानूनी थुनामा राखे, बलात्कार गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने छ’ संहितामा उल्लेख गरिएको छ। संहिताको यही प्रावधानमा टेकर प्रहरीले बलेमाथि काठमाडौंबाटै अनुसन्धान अघि बढाउन सक्नेछ।
पूर्व नायव महान्यायाधीवक्ता गोपाल रिजाल पनि केही कसुरहरुमा मुलुकी अपराध संहिता ऐन, २०७४ को बहिर्क्षेत्रीय प्रयोग हुनसकने बताउँछन्। तर, त्यसका लागि घटना भएको मुलुक (बारदातस्थल) भएको मुलुकमा सम्बन्धित व्यक्तिमाथि कारवाही नचलेको हुनुपर्छ। ‘कुनै कसुरमा एउटा व्यक्तिमाथि दुई ठाँउबाट कारवाही हुन सक्दैन,’ रिजाल भन्छन्, ‘नेपालको कानूनले नै बहिर्क्षेत्रीय प्रयोग हुने भनी स्विकारेको कसुरमा नेपालमा कारवाही अघि बढ्नसक्छ।’ वारदातस्थल भएको मुलुकमा कारबाही अघि बढेमा भने दोहोरो खतराको सिद्धान्त अनुसार सम्बन्धित व्यक्तिमाथि अर्को मुलुकमा पनि कारवाही अघि बढाउन मिल्दैन। अर्थात्, बलेमाथि काठमाडौंमा अनुसन्धान भएर कारबाही भएको अवस्थामा अमेरिकामा भने मुद्दा चलाउन मिल्दैन। रिजालका अनुसार, नेपालको भूमिबाहेकको ठाँउमा नेपालीले अर्को नेपालीमाथि गरेको कारवाहीमा तथ्यविवरणदेखि अरु प्रमाण जुटाउने काम भने त्यही मुलुकमा नै हुनुपर्छ। त्यसका लागि दुई मुलुकहरूले पारस्परिक कानूनी सहायता वा अरु विधि अपनाउन सक्छन्। रिजाल भन्छन्, ‘वारदातस्थलमा जाने अवस्था छैन भने आरोपित व्यक्ति भएकै ठाँउबाट अनुसन्धान अघि बढाउनुपर्छ भन्ने मान्यता छ।’ मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २ मा बलात्कारको कसुरमा पनि बहिर्क्षेत्रीय क्षेत्राधिकार आकर्षित हुने परिकल्पना छ। बलात्कारको घटनालाई अमेरिकी कानूनले पनि कसुर मानेको छ। त्यहाँ कुनै कानूनी प्रक्रिया अघि नबढाई नेपाली नागरिक रहेको पीडित पक्षले नेपालमा कानूनी उपचार अघि बढाए अनुसन्धान अघि बढ्ने जानकारहरु बताउँछन्। प्रहरीले यसअघि बहिर्क्षेत्रीय अधिकार प्रयोग गरेर मुद्दा समेत चलाइसकेको छ। वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापा शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या घटनामा प्रहरीले बहिर्क्षेत्रीय अधिकार प्रयोग गरेर अनुसन्धान गरेको थियो। मलेसियामा सँगै काम गर्ने अर्का नेपाली महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय अनिलकुमार साहले प्रधानको मलेसियामा हत्या गरेका थिए। एक कम्पनीमा ‘स्वीपर’को रूपमा साह काम गर्थे भने उनको ‘हाकिम’ प्रधान थिए। काम लगाउने जिम्मेवारीमा रहेका प्रधान र साहबीच कामको कुरामा विवाद हुने गरेको थियो। त्यही रिसइबीले साहले प्रधानलाई २ मंसिर २०८० मा हत्या गरेका थिए। हत्यापछि नेपाल आएका उनी ३० मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए। २६ पुसमा उनी कारागार चलान भएका थिए। यस घटनाको अनुसन्धान गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेल मुद्दा कसरी स्थापित गरियो भन्नेबारे भन्छन्, ‘मलेसियन प्रहरीले उठाएको घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्ट, इन्टरपोलको सहयोग, साहसँगै काम गर्ने व्यक्ति र प्रत्यक्षदर्शीहरूसँग भीडिओ कन्फ्रेन्समार्फत बयान लियौं, मलेसियन प्रहरीसँग पोस्टमार्टम रिपोर्ट मगायौं। र, आरोपितले समेत घटना स्वीकार्न बाध्य भए।’ प्रहरी सहचारी नहुँदा अनुसन्धान समस्या नेपाली समाजको डायस्पोरा विश्वभर फैलिँदै गएको, युरोप, अमेरिका र खाडीका केही देशमा नेपालीहरुको बाक्लो उपस्थित हुँदै आएको छ। नेपालीहरुको संख्या बाक्लो भएका ठाउँहरुमा यस्तै समस्याहरु आउन सक्ने भन्दै प्रहरी सहचारी राख्नुपर्ने माग पनि पटक–पटक उठ्दै आएको छ। विदेशमा रहेका नेपालीहरु विभिन्न समस्यामा पर्ने हुँदा प्रहरी सहचारी भएको अवस्थामा ती समस्याहरुलाई सम्बन्धित देशको प्रहरी र सरोकारवाला निकायसँग समन्वय गरेर हल गर्न सहज हुन्छ। तर अहिलेसम्म नेपालले भारत बाहेक अन्य देशमा प्रहरी सहचारी राखेको छैन। अहिले अमेरिकामा प्रहरी सहचारी भएको अवस्थामा यो घटनामा पनि पीडितसँग सोझै सम्पर्क गरेर वा प्रत्यक्ष भेट्नेदेखि अमेरिकामै मुद्दा चलाउनुपर्ने अवस्थामा पनि त्यहाँको प्रहरीसँग समन्वय गर्ने वा त्यहाँको प्रहरीले तयार पारेको घटनास्थल मुचुल्का लगायतका रिपोर्ट नेपाल पठाउन सक्ने हुँदा अनुसन्धान प्रक्रिया सहज हुने जानकारहरु बताउँछन्। नेपालीको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी हुँदा समस्या समाधानदेखि उद्धारसम्म सहज हुने भन्दै प्रहरी सहकारीको माग गर्दै आएको छ। दानबहादुर कार्कीले आईजीपीको दर्ज्यानी चिन्ह लगाए लगत्तै गत २७ कात्तिकमा गृह मन्त्रालयमा गरेको सम्बोधनमा पनि प्रहरी सहचारीको विषय उठान गरेका थिए। ‘राज्यको आर्थिक विकासको लागि ठूलो संख्यामा प्रवासमा रहेर योगदान पुर्याउने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिहरूका लागि जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा अपेक्षा गरेको छु,’ कार्कीले भनेजस्तै नेपाल प्रहरीले यसअघि पटक–पटक खाडीका विभिन्न मुलुकहरूका साथै अमेरिका, चीन र युरोपका केही देशहरूमा प्रहरी सहचारी राख्नुपर्ने माग गर्दै आएको छ। तर अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन।
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकम (प्रालि) का अध्यक्ष धर्मराज भुसालले ५० प्रभावशाली महिलाको हरेक कथा आफैंमा एउटा विश्वविद्यालय जस्तो भएकाले यी प्रभावशाली कार्यहरुलाई इतिहासले सदाका लागि सम्झने बताएका छन्। २०८२ सालका प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गर्न आयोजित कार्यक्रममा अध्यक्ष भुसालले महिलाहरूलाई ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ भनेर मात्र चित्रण गर्ने प्रयास विफल भएको बताए। ‘हाम्रो समाजले महिलालाई लामो समय ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ भनेर मात्र देखाउन खोज्यो, तर आज यहाँ रहेका ५० अनुहारहरुले त्यो परम्परागत दृष्टिकोणलाई राम्रोसँग भत्काइसक्नुभएको छ,’ अध्यक्ष भुसालले भने, ‘तपाईंहरूले परम्परागत सीमा, अभाव र नीतिगत कमजोरीहरूलाई तोडी आफ्नै बाटो बनाउनुभएको छ।’
‘अनलाइनखबर ५० प्रभावशाली महिला’ अभियान उनीहरुको योगदानलाई सम्मान गर्ने एउटा सानो प्रयास हो भने अध्यक्ष भुसालले बताए। सत्ताको वरिपरि मात्र नघुम्ने, तर भुइंमान्छेहरुको पसिना र संघर्षलाई मुख्यधारामा ल्याउनु सञ्चार माध्यमको दायित्व रहेको उनको भनाइ थियो। ‘आजको मिडियाको काम मात्र राजनीतिज्ञका भाषण रेकर्ड गर्नु वा नकारात्मक घटनालाई मात्र हेडलाइन बनाउनुलाई सीमित छैन। पत्रकारिताको बदलिँदो अवस्था हामीलाई सोधिरहेको छ– के हामी हाम्रो समाजको साँच्चिकै तस्बिर देखाउँछौं? सञ्चार माध्यमको काम सत्ता र शक्तिमाथि मात्र घुम्नु होइन भनेको छ। भुइँमान्छेका पसिना, संघर्ष र सफलताको कथा पनि सुनाउनु हो,’ अध्यक्ष भुसालले भने।
उनले सूची तयार पार्दा पद वा पदवीलाई मुख्य आधार नबनाएको बताए। ‘हामीले यो सूची तयार गर्दा खास पद वा जिम्मेवारीलाई मानक बनाएका छैनौँ। हाम्रो मूल मापदण्ड भनेको समाजमा प्रभावकारी कर्म कोले गरेको हो भन्ने हो,’ उनले स्पष्ट पारे।
प्रधान आतिथ्यमा सम्माननीय कामु प्रधानन्यायाधीशज्यू, विशिष्ट अतिथिगण, देशभरका विभिन्न भौगोलिक क्षेत्रका आदरणीय दिदीबहिनीहरू, र यहाँ उपस्थित सबै अतिथिहरू, नमस्कार। आफ्नो व्यस्त समयको बाबजुद हामीलाई अगाडि बढाउन सहयोग पुर्याउनुभएकोमा म अनलाइनखबर परिवार र व्यक्तिगत रुपमा सबैलाई हार्दिक स्वागत र धन्यवाद व्यक्त गर्दछु। आजको कार्यक्रममा उपस्थित हुँदा म एउटा विशेष ऊर्जा महसुस गरिरहेको छु। यो ऊर्जा मात्र औपचारिक नभएर सपना, संघर्ष र बदलिँदो नेपालको प्रतिबिम्ब हो। आज हामी यहाँ ’५० प्रभावशाली नेपाली महिला’ को सूची सार्वजनिक गर्दैछौँ। सबै महान महिलाहरुलाई म हार्दिक बधाई र सम्मान अर्पण गर्दछु।
आदरणीय अतिथिगण, म एउटा सानो स्पष्टीकरण र इमानदार स्वीकारोक्तिसहित अघि बढ्न चाहन्छु। अनलाइनखबरले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो सूची सार्वजनिक गर्ने परम्परा राख्दै आएको छ। तर यस वर्ष हामीले इतिहासकै ठूलो राष्ट्रिय दायित्व पूरा गर्नुपर्यो। फागुन २१ अर्थात मार्च ५ मा भएको आम निर्वाचनका कारण हामीलाई चुनावी अपडेट दिन र लोकतन्त्रलाई सफल बनाउन सम्पूर्ण सम्पादकीय टिमले ज्याला खटाउनु पर्यो। त्यसैले मार्च ८ मा यो सूची सार्वजनिक गर्न नसकेर केही महिना ढिलो भएको हो।
हामीले गत चार महिनामा ४६० भन्दा बढी नामका गहन छलफल गर्यौं। हिमालदेखि तराई र प्रवाससम्मका महिलाहरूको कथा सुन्दा नेपाल वास्तवमै महिलाको काँधमा अडिएको महसुस भयो। मिडियाको भूमिका केवल राजनीतिक भाषण रेकर्ड गर्नु वा नकारात्मक घटनालाई हेडलाइन बनाउन सीमित छैन। यसको दायित्व भुइँमान्छेहरुको पसिना, संघर्ष र साधनालाई मूलधारमा ल्याउनु हो। ‘अनलाइनखबर ५० प्रभावशाली महिला’ त्यो जिम्मेवारीको एक महत्वपूर्ण प्रयास हो।
हाम्रो समाजले महिलालाई लामो समय ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ बनाएर देखाउने प्रयास गर्यो, तर यहाँ रहेका ५० महिला अनुहारले त्यो मिथकलाई भत्काइसकेका छन्। ती महिलाले परम्पराको साँघुरो घेरा, अभावको पहाड र नीतिगत अभावलाई तोडेर आफ्नो बाटो तोडेका छन्। हामीले सूची तयार गर्दा पद वा भूमिकालाई मापदण्ड बनाएका छैनौँ, बरु नमुनायोग्य कर्मलाई आधार मानेका छौँ।
जाजरकोटबाट रत्नपाथर प्रशोधन गरी विश्व बजारमा पु¥याउने एक मजदुर सफल व्यवसायी भएको कथा असाधारण छ। दश वर्षको उम्रमै विवाह गरिन्छ कि भन्दै गर्दा स्वतन्त्र भएर हजारौंलाई आत्मनिर्भर बनाउने महिला, अस्पतालको भुइँपुछ्ने कुचीकार भएर दलित महिलाका न्यायका फाइल थन्क्याउने साहसी महिला सबै एक–एक विश्वविद्यालय हुन्। तीन वर्षकै उमेरमा ज्योति गुमाएर पनि ब्रेल लिपिमा उपसचिव बनेकी, नवजात शिशुलाई कृत्रिम श्वास दिइने समर्पित महिला, विदेशसम्म लड्दै दाइको प्राण रक्षा गर्ने किशोरी सबै इतिहासले सदाका लागि सम्झने छन्।
तपाईंहरू नै नेपालका वास्तविक ‘इन्फ्लुएन्सर’ हुनुहुन्छ। तपाईंहरुको प्रभाव सामाजिक सञ्जालका भ्युहरूमा होइन, भुइँमान्छेको जीवनस्तरमा पर्दछ। यस वर्ष हामीले ‘५० प्रभावशाली महिला एलुम्नाई’ नामक सञ्जाल गठन गर्ने घोषणा गर्दैछौँ। यो सञ्जालले सम्मानित महिलाहरुलाई जोड्ने, सहकार्यको बाटो खोल्ने र नयाँ पुस्ताका लागि मार्गदर्शकको काम गर्नेछ।
अन्त्यमा, हाम्रो सीमितता र क्षमता अनुसार ५० जनालाई मात्र समावेश गर्दा पनि हजारौं अन्य प्रभावशाली महिलाहरु हुनुहुन्छ। ती सबैको योगदान समाजमा स्वर्ण अक्षरमा अंकित छ। हामीले आगामी दिनमा पनि तपाईंहरूको कथा सम्प्रेषण गर्दै जानेछौँ। निर्वाचनपछिको नयाँ समयमा यहाँ उपस्थित ऊर्जावान् महिलाहरुले नेपालको भविष्य सुरक्षित रहेको स्पष्ट देखिन्छ। तपाईंहरू नै ती ‘जुनकिरी’ हुनुहुन्छ जसले अन्धकारमा प्रकाश दिने सामर्थ्य राख्नुहुन्छ। हालैको जेनजी आन्दोलनले नेपाललाई पहिलो महिला प्रधानमन्त्री दिएको र संसदमा युवा महिला तथा युवाको उपस्थिति बढेकोमा गौरव छ। अब महिलाका लागि नीतिगत सुधार र हिंसा भोगेकाहरूलाई छिटो न्याय दिलाउन पहल आवश्यक देखिन्छ।
अनलाइनखबरको तर्फबाट म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु— हामी तपाईंजस्ता सङ्घर्षशील महिलाको आवाजलाई मर्न दिन्ने छैनौं र सधैं आशा, सङ्घर्ष र सफलताको पक्षमा पत्रकारितामा उभिइरहनेछौँ। यस अभियान सफल बनाउन सहयोग गर्ने निर्णायक मण्डल, सहकर्मी, व्यवसायिक साझेदार र पाठकहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको यात्रा सदाको लागि निरन्तर रहोस्। समानता र सहअस्तित्वको यो यात्रामा अनलाइनखबर सधैं तपाईंहरूको साथमा छ। फेरि सबैलाई स्वागत र सम्मानित हुने व्यक्तित्वहरूलाई हार्दिक बधाई छ। धन्यवाद।
प्रतिनिधि सभाको बैठकले २१ सदस्यीय प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। समितिमा अच्युतम लामिछाने, अफ्साना बानु, आर्यन राई लगायत २१ सांसदहरू रहेका छन्। २३ चैत, काठमाडौं। सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यस समिति गठन गर्न स्वीकृति दिएको हो। समितिमा निम्न सांसदहरु प्रतिनिधित्व गर्दैछन् : १. अच्युतम लामिछाने २. अफ्साना बानु ३. आर्यन राई ४. केपी खनाल ५. कामिनी चौधरी ६. क्रान्तिशिखा धिताल ७. खुस्वु ओली ८. गणेश सिंह ठगुन्ना ९. गुरुप्रसाद बराल १०. गंगा लक्ष्मी अवाल ११. तपेश्वर यादव १२. देवराज पाठक १३. नरेन्द्र कुमार केरुङ १४. प्रकाश चन्द्र परियार १५. निशा डाँगी १६. बोध नारायण श्रेष्ठ १७. मीना कुमारी यादव १८. युवराज दुलाल १९. राजन गौतम २०. डा. राम लामा २१. विपिन कुमार आचार्य।
नेपाल सरकारले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा दलित र सीमांतित समुदायप्रति औपचारिक माफी माग्ने घोषणा गरेको छ। यो ऐतिहासिक कदमले भारतीय सञ्चारमाध्यमहरूमा समेत उल्लेखनीय चर्चा पाएको छ। भारतीय सांसद चन्द्रशेखर आजादले यो पहललाई उदाहरण प्रस्तुत गर्दै भारत सरकारलाई दलित समुदायप्रति माफी माग्न आग्रह गरेका छन्। २३ चैत, काठमाडौं।
नेपालको इतिहासमा सम्भवतः पहिलोपटक राज्यले दलित र ऐतिहासिक रूपमा सीमांतित समुदायप्रति औपचारिक माफी माग्ने तयारी गरेको छ। नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठन भएको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकमा १०० बुँदे शासन सुधार एजेन्डा पारित गर्दै १५ दिनभित्र माफी माग्ने घोषणा गरेको हो। माफीसँगै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापका लागि विशेष सुधार कार्यक्रमहरू कार्यान्वयन गरिने बताइएको छ।
यस कदमलाई दलित आन्दोलनका कार्यकर्ताहरूले ‘ऐतिहासिक’ ठहर गरेका छन् भने यसले दक्षिण एसियाली मुलुकहरूमा जातीय विभेद सम्बन्धी नयाँ बहसलाई जन्म दिएको छ। भारतीय लोकसभामा समेत यो विषय मुखरित भएको छ। सांसद चन्द्रशेखर आजादले नेपालको निर्णयलाई उदाहरण दिँदै भारत सरकार र संसदलाई दलित र सीमांतित समुदायप्रति औपचारिक माफी मागेर ऐतिहासिक अन्यायको नैतिक जिम्मेवारी लिन आग्रह गरेका थिए।
भारतमा जातप्रथा हजारौं वर्ष पुरानो भएकाले अझै पनि यो भारतीय जीवन र राजनीतिमा गहिरो प्रभाव राख्दछ। सन् १९५० मा भारतीय संविधानले जातभेदको पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो। तथापि, ठूला शहरहरू बाहेक देशभरि अझै पनि जातीय भेदभाव विभिन्न रूपमा जारी छ। दलित समुदाय प्रायः भेदभावको सामना गर्दै आएका छन्। नेपालमा पनि नेपाली समाज हिन्दु वर्णव्यवस्थामा आधारित छ। रास्वपा सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागिसकेका छन्। यो घटनाले नेपाल-भारतबीचको साझा सामाजिक र सांस्कृतिक विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।
२३ चैत, काठमाडौं। चैत महिनाभरि हालसम्म २३ ठाउँमा बर्डफ्लु रोग देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, यस वर्ष चैतअघि बर्डफ्लु पुष्टि भएको थिएन, तर चैत महिनामा मात्रै २३ स्थानमा बर्डफ्लु देखिएको छ। वर्षको पहिलो बर्डफ्लु चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैपटक दुई स्थानमा देखिएको थियो। सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई, चितवनमा एक र काठमाडौंमा एउटा स्थानमा बर्डफ्लु देखिएको डा. दाहालले जानकारी दिए।
उनी भन्छन् कि प्रत्येक ठाउँलाई नियन्त्रणमा लिएर बर्डफ्लुको फैलावट रोकिएको छ। दाहालका अनुसार ती स्थानहरूमा जम्मा एक लाख चार हजार कुखुरा र हाँस नष्ट गरिसकिएको छ। काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागहरूमा पनि बर्डफ्लु पुष्टि भएको थियो। सुनसरी, झापा र मोरङ जिल्लामा बर्डफ्लुको सङ्क्रमण फैलिँदा, ती जिल्लामा पशुपन्छी ओसारपसारमा रोक लगाइएको छ। ‘हामीले बर्डफ्लु देखिने क्षेत्रलाई घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले प्रभावित पशुपन्छीलाई नष्ट गर्ने कार्य गरिरहेको छ’, डा. दाहालले भने, ‘यसले गर्दा जिल्लामा बर्डफ्लुको सङ्क्रमण थप फैलिएको छैन।’ सरकारले बर्डफ्लु देखिएपछि प्रभावित हाँस कुखुरा नष्ट गर्ने र ती किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था गर्दै आएको छ।
काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई लागुऔषध कारोबारमा संलग्न भएको आशंका गरिएको छ। उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको छ। २४ चैत, काठमाडौं।
काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रमा लागुऔषध कारोबारको शङ्का गरी दुई भारतीय नागरिक पक्राउ परेका छन्। मध्यराति लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ती दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाले लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
वन तथा वातावरण मन्त्रालयले कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवनको टिकौली क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। कृष्णसार लोपोन्मुख वन्यजन्तुमा सूचीकृत छ र नेपालको जनसंख्या ५०० भन्दा बढी पुगेको मन्त्रालयले जानकारी दिएको छ। स्थानान्तरणका लागि २० हेक्टर क्षेत्रफलमा घेराबार र पूर्वाधार निर्माण गरी सुरक्षित वातावरण तयार गरिनेछ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवनको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्न लागिएको हो। मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गरिनेछ। २०३३ सालमा बर्दिया खैरापुरमा कृष्णसारको संख्या ९ वटा मात्रै सीमित थियो। प्रभावकारी संरक्षणका कारण त्यसपछि यसको जनसंख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयले बताएको छ।
नेपालमा कृष्णसारको संख्या बढाउन विगत दशकमा सदर चिडियाखाना र खैरापुरबाट कुल ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा स्थानान्तरण गरिसकिएको छ। मन्त्रालयका अनुसार वन्यजन्तुलाई एक निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित परिस्थितिहरूले गर्दा प्रजाति एकैचोटि लोप हुने जोखिम रहन्छ।
यसै अभ्यास र आवश्यकतामाथि ध्यान दिँदै मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदन सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाको आधारमा करिब २० हेक्टर क्षेत्रमा घेराबार (इन्क्लोजर) र न्यूनतम पूर्वाधार निर्माण गरी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो।
नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ। क्यानले २०८३ सालको वैशाख २७ र २८ गते विराटनगरमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको छ।
२३ चैत, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ। बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार अवधि थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषदअन्तर्गत सञ्चालन हुँदै आएको तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, “त्रिभुवन विश्वविद्यालयसँगको करार अवधि समाप्त हुन लागेको उक्त मैदानलाई सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भई फ्लड लाइट समेत जडान भइसकेको र त्यो मैदान नेपाली क्रिकेटको विकासका लागि आवश्यक भएकाले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थप गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।”
त्यसैगरी, चार वर्षे कार्यकाल सकिएका २० जिल्लाका कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप गरिएको र साधारण सभापछि अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आय–व्यय विवरण अनुमोदन गरिएको छ। एनपीएलबाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको र करिब २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ। खर्च कटाएर करिब २५ करोड ३९ लाख रुपैयाँ बाँकी रहेको छ। ८ फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत रकम वितरण गरिएको छ भने क्यानलाई करिब ९ करोड २१ लाख रुपैयाँ प्राप्त हुनेछ। यसका साथै, आईसीसीको निर्देशनअनुसार महिला क्रिकेट विकासका लागि वार्षिक ५ लाख अमेरिकी डलर लगानी गर्ने निर्णय पनि गरिएको छ।