२७ जेठ, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा चार जना उम्मेदवार रहेका छन्। मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनमा सुरुमा सात जनाले सभापतिका लागि मनोनयन दर्ता गरेका थिए। तर, तीन जनाले उम्मेदवारी फिर्ता गरेपछि चार जना मात्रै चुनावी प्रतिस्पर्धामा बाँकी छन्।
निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा सुनसरीकी निर्वर्तमान कार्यवाहक सभापति गोमा तामाङ, झापाका चन्द्रकुमार गौली (निरज), तेह्रथुमका डाक्टर खगेन्द्र कटुवाल र मोरङका चन्द्रबहादुर राई उम्मेदवार छन्। प्रदेश सदस्य पदका लागि ६९ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्। सदस्यबाट निर्वाचित मध्येबाट पार्टीको उपसभापति १, प्रदेश महामन्त्री १ र सहमहामन्त्री २ जना छनोट गरिनेछ।
सदस्यहरूको भोटबाट सर्वसम्मत छनोट नभए निर्वाचन हुने छ। नयाँ नेतृत्वका लागि आजै मतदान हुनेछ। रास्वपाले प्रदेश सभापति पदका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ। प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मनोनयन शुल्क १७ हजार ५ सय रुपैयाँ र प्रदेश सदस्य पदमा १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
फिफा विश्वकप २०२६ लाई अझ रोमाञ्चक बनाउन ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ सुविधाहरू सार्वजनिक गरेको छ। फुटबल प्रेमीहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको यी नवीन सुविधाहरूमा नयाँ कलिङ इफेक्ट, संशोधित थिम, र विश्वकपसम्बन्धी च्यानलहरू सहजै खोज्न मिल्ने प्रणाली समावेश छन्।
विश्वकप अवधिभर फुटबलप्रेमीहरूले च्याट र कलिङमा फुटबल थिममा आधारित विशेष इफेक्ट र स्टिकरहरू प्रयोग गर्न पाउनेछन्। त्यस्तै, ह्वाट्सएपले आफ्नो एप्लिकेसनभित्र रहेका च्यानल सुविधालाई थप व्यवस्थित बनाएको छ। खेलप्रेमीहरूलाई प्रतियोगितासँग जिउँदो स्टेममा जोडिराख्न सहयोग पुर्याउने उद्देश्यले फुटबल च्यानलहरूको लागि छुट्टै ‘कस्टम डिरेक्टरी’ थपिएको छ।
यस नयाँ डिरेक्टरीको माध्यमबाट प्रयोगकर्ताले मनपरेको टीम, खेल तालिका र प्रत्यक्ष नतिजाहरू एकै ठाउँबाट सजिलै अवलोकन गर्न सक्नेछन्। खेलको माहोललाई अझ बढी थिमयुक्त बनाउन ह्वाट्सएपले एपभित्र प्रयोग हुने फुटबल इमोजीलाई पनि परिवर्तन गरेको छ। अब फुटबल इमोजी पठाउँदा यसको सट्टा यस वर्षको आधिकारिक विश्वकप म्याच बल ‘ट्रायोन्डा’ देखिनेछ।
यसका अतिरिक्त फुटबल च्यानलहरूले आफ्ना अपडेट र विश्लेषणहरू ह्वाट्सएप ‘स्टेटस’ मा पनि सिधा पोस्ट गर्न सक्नेछन्। प्रतियोगिताको प्रत्येक पलको ताजा अपडेटका लागि प्रयोगकर्ताले ह्वाट्सएप भित्रै उपलब्ध ‘मेटा एआई’को सहयोग लिन सक्नेछन्। मेटा एआईमार्फत खेलको ताजा अंक तालिका, खेलाडीहरूको विवरण र आफ्नो नजिकैको उत्कृष्ट खेल हेर्न मिल्ने स्थानहरूको बारेमा तुरुन्त जानकारी प्राप्त गर्न सकिन्छ। फुटबल लोकप्रिय रहेका क्षेत्रहरूमा ह्वाट्सएपको प्रयोग अत्यधिक हुने गर्दछ।
२७ जेठ, पोखरा। गण्डकी विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन्। उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले सिफारिस गरेका ३ जना प्रतिस्पर्धीमध्येबाट भण्डारी चयन भएका हुन्। कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले बुधबार उनलाई उक्त पदमा नियुक्त गरेका छन्। समितिले डा. भण्डारीसँगै डा. श्रीकान्त खतिवडा र राजेश ठकुराठीको नाम पनि सिफारिस गरेको थियो।
डा. भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) का पूर्व कार्यकारी निर्देशक हुन्। हाल उनी सेन्टर फर इन्भाइरोन्मेन्टल एन्ड सस्टेनेबल एग्रिकल्चरल रिसर्च (सिजार) मा कार्यकारी निर्देशकको रूपमा कार्यरत छन्। नेपाल र जर्मनीमा डेढ दशकभन्दा बढी समय शैक्षिक नेतृत्व, अनुसन्धान व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति निर्माण र संस्थागत विकासमा कार्यरत रहेका छन्। जर्मनीको जस्टस लिबिग विश्वविद्यालयबाट उनीले प्राकृतिक विज्ञानमा विद्यावारिधि (पीएचडी) पूरा गरेका छन्। इरास्मस मुन्डस छात्रवृत्तिमा जर्मनी, नर्वे र फ्रान्सका विश्वविद्यालयहरूबाट एड्भान्स्ड स्पेक्ट्रोस्कोपी इन केमिस्ट्रीमा स्नातकोत्तर गरेका छन्।
पोखरा विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातक गरेका भण्डारीले शिक्षण, अनुसन्धान र प्रशासनलाई सँगसँगै अघि बढाएका छन्। पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई जिपास्टको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए। त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारले जिपास्ट खारेज गरिदिएको थियो। जिपास्टमा उनले प्रशासनिक संरचना विकास, कर्मचारी भर्ती प्रणाली सुधार, वैज्ञानिक प्रयोगशाला स्थापना र गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि नीतिको मस्यौदा निर्माणमा नेतृत्व दिएका थिए।
डा. भण्डारी औषधि विज्ञान, विश्लेषणात्मक रसायनशास्त्र, खाद्य सुरक्षा, मेटाबोलोमिक्स, लिपिडोमिक्स, प्रोटियोमिक्स र उच्चस्तरीय मास स्पेक्ट्रोमेट्री इमेजिङका विज्ञका रूपमा परिचित छन्। उनका ४० भन्दा बढी अनुसन्धान लेख प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यावारिधि तहका अनुसन्धानार्थीहरूको सह–सुपरिवेक्षकका रूपमा कार्यरत छन्। विश्वविद्यालय प्रशासन, अनुसन्धान व्यवस्थापन, स्रोत परिचालन, नीति निर्माण र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा अनुभव हासिल गरेका डा. भण्डारीको नियुक्तिले गण्डकी विश्वविद्यालयको शैक्षिक र अनुसन्धान क्षमतामा थप मजबुती आउने अपेक्षा गरिएको छ।
२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभामा आएर विपन्न चलचित्र विधेयक, २०८२ को दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ‘दफावार छलफलका लागि सम्बन्धित समितिको बैठकमा पठाइयोस्’ भनी प्रस्ताव राखेका थिए। सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि चलचित्र विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको हो।
सरकारले २०२६ सालदेखि लागु भइरहेको पुरानो चलचित्र ऐनलाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्दै संघीय संरचना, समावेशिता र नयाँ प्रविधि अनुसार कानुनी व्यवस्था आवश्यक भएको बताउँदै नयाँ विधेयक अघि बढाएको हो। चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनमूलक माध्यम मात्र नभई सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगको रूपमा विकास गर्न नयाँ ऐन आवश्यक रहेको भन्दै सञ्चार मन्त्रालयले यो विधेयक प्रस्तुत गरेको हो।
चलचित्रमार्फत् नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन अघि अनिवार्य जाँचको व्यवस्था गर्ने तथा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र नियमन प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको छ। विधेयक तयार गर्दा नेपालको संविधान, राष्ट्रिय आम सञ्चार नीति २०७३ र राष्ट्रिय चलचित्र नीति २०७१ लाई आधार बनाइएको जानकारी दिइएको छ। संविधानको व्यवस्थाअनुसार सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित नीतिमा भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण तथा विकासका लागि नयाँ कानुन आवश्यक रहेको जनाइएको छ।
२७ जेठ, काठमाडौं । नेपालमा संघीयता सुरु भएयता पहिलो पटक संघ र प्रदेश सरकारले पूर्णतः फरक राजनीतिक दलका प्रतिनिधिहरूबाट बजेट तयार गरेका छन्। संघीय सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ। सोही बजेटका अधिकांश स्रोतहरूमा आधारित भएर प्रदेश सरकारहरूले १ असार २०८३ मा आउने आवको बजेट सार्वजनिक गर्नेछन्। ७ वटा प्रदेशमा रास्वपाको उपस्थिति छैन। ‘लिगेसी’ बोकेका दलहरूले नेतृत्व गरेको प्रदेशहरूको आगामी बजेटलाई संघीय सरकारले ल्याएको बजेटसँग तालमेल राख्दै अघि बढाउने प्रयास भइरहेको देखिन्छ। सबै प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरिसकेका छन्। यी दस्तावेजहरूको आधारमा प्रदेश सरकारले पनि आगामी बजेटलाई सुशासनतर्फ मोड्ने संकेत गरेका छन्। आयोजना बैंकको प्रभावकारिता बढाउँदै आयोजना कार्यान्वयनमा प्राथमिकता दिने र समयमै आयोजना सम्पन्न गर्नु निर्देशन दिइएको छ।
कोशी प्रदेशले आगामी आव २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रममा आन्तरिक राजस्व दायरा विस्तार, वित्तीय सुशासन र दिगो विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधारमा बजेट लक्षित हुनेछ। बढ्दो बसाइँसराइ न्यूनीकरण र दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधि केन्द्रित पूर्वाधार निर्माणमा जोड दिइने तयारी छ। कोशीले सार्वजनिक–निजी साझेदारी र निजी क्षेत्रबाट लगानीमार्फत परियोजना विकास र कार्यान्वयनमा जोड दिने भनिएको छ। स्थानीय अर्थतन्त्र विकासका लागि पर्यटनलाई प्रमुख आधार बनाउने लक्ष्यसमेत राखिएको छ।
मधेस प्रदेशले कृषि, उद्योग र पर्यटनको दिगो विकास लक्षित गरी बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार आगामी आवमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’ नारासहित देशलाई खानेकुरा पुर्याउने प्रदेशका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ। हरेक स्थानीय तहमा कृषि संकलन केन्द्र, चिस्यान केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गर्ने नीति रहेका छन्। यस प्रदेशले आगामी बजेटमा बाँझो जमिन राख्न नदिने नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। आगामी आवमा प्रादेशिक लगानी सम्मेलन गरी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरि ठूला आयोजना सञ्चालन गर्ने घोषणा नीति तथा कार्यक्रममा छ।
बागमती प्रदेशले आगामी आवमा सुशासन, पारदर्शिता र नतिजामुखी सार्वजनिक प्रशासनलाई मुख्य प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम तयार गरेको छ। आगामी वर्ष बागमती प्रदेश मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम ल्याउने घोषणा गरेको छ। यस आवमा अनलाइन प्रोजेक्ट मनिटरिङ प्रणाली निर्माण गरी कार्यान्वयन गर्ने र विद्युतीय रूपान्तरण कार्ययोजना तयार गरी लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
गण्डकी प्रदेशले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी’ नारा सहित आगामी आवको बजेट ल्याउने तयारी गरेको छ। कृषि आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण, व्यावसायीकरण र बजारीकरणमा समेत बजेट केन्द्रित हुने नीति तथा कार्यक्रममा उल्लेख छ। लुम्बिनी प्रदेशले आफ्नो बजेटलाई कृषि क्षेत्र केन्द्रित बनाउने प्रयास गरेको छ। कर्णाली प्रदेशले कृषि उत्पादन र उत्पादकत्व बढाउँदै खाद्य उत्पादनमा आत्मनिर्भर र निर्यात प्रवर्द्धन गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ।
सुदूरपश्चिम प्रदेशले आयोजना छनोट मापदण्ड र आयोजना बैंकलाई आधार बनाएर कार्यक्रम विकास र कार्यान्वयन गर्ने तयारी गरेको छ। आगामी आवमा प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने तयारी छ।
२७ जेठ, काठमाडौँ । पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा विद्रोहीहरूको ठेगाना लक्षित गर्दै हवाई आक्रमण गरेको छ। यस सैन्य कारबाहीमा कम्तीमा २६ विद्रोही मारिएका छन्। पाकिस्तानका जानकारी मन्त्री अताउल्लाह तरारले बुधबार यस घटनाको पुष्टि गर्दै आधिकारिक जानकारी दिएका थिए। तालिबानका अधिकारीहरूको अनुसार, पाकिस्तानले अफगानिस्तानका तीनवटा प्रान्तहरूमा यी हवाई आक्रमणहरू सञ्चालन गरेको हो। यस आक्रमणका क्रममा ११ बालबालिका सहित १३ सर्वसाधारण नागरिकको पनि मृत्यु भएको तालिबानले दाबी गरेको छ।
२७ जेठ, काठमाडौं । स्टार खेलाडी एरिका गुरुङसहित ८ कराते खेलाडीहरू सेप्टेम्बर-अक्टोबर २०२३ मा जापानको आइची-नागोयामा आयोजना हुँदै गरेको २०औं एसियन गेम्सका लागि चयन भएका छन्। नेपाल कराते महासंघले आयोजना गरेको छनोट प्रतियोगिताबाट यी ८ खेलाडीहरू चयन गरिएको सूचना दिएको छ। एरिका, जो चीनमा सम्पन्न १९औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन्, यसपटक दोस्रो पटक एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछिन्। उनी एसियन गेम्समा कराते खेलबाट रजत पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। हालै उनले विश्वस्तरीय प्रतियोगितामा पनि भाग लिँदै पदक जितेर आफ्नो सामर्थ्य देखाएकी छन्। एरिका कराते वान प्रिमियर लिगमा दुई रजत पदक जितिसकेकी छन्।
एरिकाको साथै १९औं एसियन गेम्समा खेलिसकेका निरूपमा दोङ तामाङ र काताका स्वनिम मानन्धर पनि २०औं संस्करणको लागि छनोट भएका छन्। महिलातर्फ कुमिते ६८ केजी माथिको तौल समूहमा एरिका प्रतिस्पर्धा गर्नेछिन्। त्यसैगरी, ५० केजी तौल समूहमा पुष्पका लामा र ६८ केजीमुनि निरूपा दोङ तामाङ चयन भएका छन्। पुरुषतर्फ ५५ केजीमा राकेश मानन्धर, ६० केजीमा मीन बहादुर तामाङ र ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पा छनोट भएका छन्। कातातर्फ पुरुषमा स्वनिम मानन्धर र महिलामा सानुमाया थिङ तामाङ चयन भएका छन्। कराते टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहनेछन्।
२७ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले एसिया कप क्रिकेट प्रतियोगिताको लागि छनोट नपाएको छ। केही दिन अगाडि सम्पन्न एसियन गेम्स छनोटमा पनि असफल बनेको यो टोलीले यस पटक पनि एसिया कपमा स्थान बनाउन सकेन। मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल एसिया कप छनोटबाट बाहिरियो।
बुधबार विहान भएको क्वार्टरफाइनल खेलमा नेपाल ५६ रनले थाइल्यान्डसँग पराजित भयो। थाइल्यान्डले तोकेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७४ रन बनाउन सफल भयो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रनको योगदान दिइन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ र सम्झना खड्काले ११ रन बनाइन्। अन्य ब्याट्सम्यानले दोहोरो अंक पुरा गर्न सकेनन्।
थाइल्यान्डका थिपात्चा पुथावङले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिए भने सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले समान रूपमा २-२ विकेट लिएका थिए। फनिता मायाले पनि १ विकेट लिए। पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। थाइल्यान्डकी नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेल्दै ५१ बलमा अविजित ६३ रन बनाइन्। फनिता मायाले २६ र चनिदा सुथिराङले १६ रन जोडे। नेपालका कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान रूपमा १-१ विकेट लिए।
नेपाली महिला टोली गत साता सम्पन्न एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पराजित भई एसियन गेम्सका लागि छनोट नपाएको थियो।
झापाको दमक नगरपालिका ९ र १० को सीमा क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीहरूले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्। वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकमा स्थानीय महिला, पुरुष तथा किसानहरूले धानको बेर्ना बोकेर स्थलगत रूपमा सहभागी भएका थिए। उनीहरूले सडकलाई नै खेतको प्रतीक बनाएर धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। सडक निर्माणका लागि पटक–पटक आवाज उठाए पनि कुनै निकायले गम्भीर चासो नदिएपछि बाध्य भएर सांकेतिक विरोधमा उत्रिनु परेको स्थानीयहरूको गुनासो छ। वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे बनेको छ भने सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिन भएको छ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपानेले जनप्रतिनिधिहरूले चुनावका बेला मात्रै जनताको घरदैलोमा पुग्ने तर निर्वाचित भएपछि समस्या बिर्सिने गरेको गुनासो गरे। ‘हामीले धेरै पटक यो सडक बनाउन आग्रह गर्यौं’ उनले भने, ‘वडा, नगरपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई समेत भन्यौं। तर वर्षौं बित्दा पनि सडक उस्तै छ।’ अहिले सडक हो कि खेत छुट्याउनै गाह्रो भएकाले विरोध स्वरूप धान रोपेको न्यौपानेले बताए। ‘बिरामीलाई अस्पताल लैजान समस्या छ, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। विकासका भाषण धेरै सुन्यौं तर व्यवहारमा हिलो र धुलो मात्रै पायौं’ उनी थप्दै भने।
सडकको समस्या नयाँ नभएको र वर्षौंदेखि स्थानीयले सास्ती भोगिरहेको सुरेश धिमालले बताए। ‘वर्षामा हिलो र हिउँदमा धुलो। सडकको अवस्था यति खराब छ कि कतिपय बेला मोटरसाइकलसमेत चलाउन सकिँदैन’ धिमालले भने। बालबालिका विद्यालय जाँदा लड्ने, वृद्धवृद्धा हिँड्न नसक्ने अवस्था भएको उनले सुनाए। ‘हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, सडक बन्नुपर्छ भन्ने मात्रै हो’ उनले स्पष्ट पारे। जिम्मेवारी एकले अर्कामाथि थोपर्ने काम मात्रै भएको उनको गुनासो छ।
सडकले गर्दा स्थानीयहरूको दैनिकी निकै कष्टकर बनेको पदम भण्डारीले बताए। ‘हामी वर्षौंदेखि यही बाटो प्रयोग गरिरहेका छौं। वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ’ उनले सुनाए, ‘बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्।’ जनताको धैर्यको परीक्षा धेरै भइसकेको केदार खतिवडा हुन्। ‘यो सडकको समस्या एक–दुई वर्षको होइन। पटक–पटक आश्वासन पाइयो तर काम भएन’ खतिवडाले भने, ‘कर तिर्ने बेला हामी नागरिक हौं, सुविधा दिने बेला कसैले सम्झँदैन।’ जनप्रतिनिधिहरूले जनताको पीडा बुझ्नुपर्ने भेषराज थापाले बताए। हिँड्न मिल्ने सडक चाहिएको भन्ने आफ्नो सामान्य माग रहेको उनले सुनाए। ‘आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रति गरिएको गम्भीर प्रश्न पनि हो। आखिर कहिलेसम्म जनताले यस्तै सास्ती खेप्ने?’ उनले प्रश्न उठाए। स्थानीयवासीले सडक स्तरोन्नति तथा कालोपत्रेको काम तत्काल सुरु नगरे थप सशक्त आन्दोलनका लागि उत्रिने चेतावनी दिएका छन्।
२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरी एनसीआईडी प्राप्त गरेको जनाएको छ। कांग्रेस महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका छन्। ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये आजको मितिसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसक्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एक लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फारम बुझाएर अद्यावधिक प्रक्रियामा रहेका छन्।’ छुटेकालाई तोकिएको सीमाभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न महामन्त्री पौडेलले अपिल गरेका छन्। उनले विज्ञप्तिमा सदस्यता अद्यावधिक गर्न एक दिन मात्रै बाँकी रहेको र ती प्रक्रिया बिहीबार राति १२ बजे सम्म मात्रै रहने पनि उल्लेख गरेका छन्।
स्पेनका मिडफिल्डर पेड्रीको उत्कृष्ट खेल प्रदर्शनले स्पेनलाई फिफा विश्वकप २०२६ को प्रमुख दावेदारका रूपमा स्थापित गरेको छ। सन् २०२० मा बार्सिलोना क्लबबाट डेब्यु गरेका पेड्रीले युरो २०२० र कतार विश्वकप २०२२ मा स्पेनका लागि महत्वपूर्ण योगदान दिएका छन्। स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले पेड्रीलाई मैदानमा सन्तुलन र खेलको प्रवाह दिने एक पूर्ण खेलाडीको रूपमा वर्णन गरेका छन्। २६ जेठ, काठमाडौं। स्पेन फुटबल टिमको आक्रमणलाई नेतृत्व दिँदै आएका पेड्रीको प्रभावशाली प्रदर्शनले ‘ला रोजा’ अर्थात् स्पेनका लागि आगामी विश्वकप अघि आत्मविश्वासी टोली बनाएको छ। २३ वर्षको उमेरमा पेड्रीले बार्सिलोना र स्पेनका लागि उल्लेखनीय अनुभव संकलन गरेका छन्। उनले बार्सिलोना लागि करिब २५० र स्पेनका लागि ४० खेल खेलेका छन्, जसमा ३१ खेल उनी सुरुवात टोलीबाट खेलिसकेका छन्। तर उनको महत्त्व केवल तथ्यांकमा सीमित छैन। पेड्रीको वास्तविक जादु मैदानमै देखिन्छ। टेक्निकली निपुण खेलाडी क्यानरी टापुबाट आएका पेड्रीले स्पेनका पूर्व महान् मिडफिल्डर डेभिड सिल्भा र जुआन कार्लोस भालेरोनको परम्परालाई निरन्तरता दिइरहेका छन्। दोस्रो डिभिजन क्लब लास पाल्मासबाट आफ्नो प्रतिभा देखाएका उनले ठूलो मञ्चमा आफ्नो योग्यता प्रस्तुत गरिरहेका छन्। २७ सेप्टेम्बर २०२० मा बार्सिलोना मार्फत डेब्यु गरेका पेड्री करिब छ वर्षपछि पनि क्लबको प्रसिद्ध ‘टिकी-टाका’ शैलीको अभिन्न अंग बनेका छन्। उच्च डिभिजनमा पहिलो सिजनपछिका उनले युरो २०२० मा शानदार प्रदर्शन गरेर स्पेनलाई सेमिफाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निभाए। त्यसपछि १८ महिनाभित्रै कतार विश्वकप २०२२ मा पनि उनी टोलीका मुख्य खेलाडी थिए। उनले चारै खेलमा सुरुवात गर्दा अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेनको यात्रा समाप्त भयो। सन् २०२४ मा चोटले केही समस्या ल्याए पनि उनले स्पेनलाई युरोपियन च्याम्पियन बनाउन निर्णायक भूमिका खेले। यदि पेड्रीले आफ्नो लय कायम राख्न सके स्पेन १९ जुलाईमा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा आयोजना हुने विश्वकप फाइनलसम्म पुग्ने बलियो दावेदार छ। स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले पेड्रीलाई ‘‘पूर्ण खेलाडी’’ (कम्प्लिट प्लेयर) को संज्ञा दिएका छन्। ‘पेड्री पूर्ण खेलाडी हुन् र निकै व्यवसायिक छन्। उनीबाट गल्ती हुँदा त्यो नै ठूलो समाचार जस्तो हुन्छ, किनभने उनले प्रायः सबै कुरा सही गर्छन्,’ उनले बताए, ‘उनको खेलमा शान्ति, सन्तुलन र प्रवाह छ। उनी आफ्ना साथी खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न उत्प्रेरित गर्ने क्षमता राख्छन्। उनी विशेष खेलाडी हुन्।’ त्यस्तै, स्पेनका दिग्गज आन्द्रेस इनिएस्टाले पेड्रीलाई असाधारण खेलाडी भनेका छन्। ‘उनी विशेष गरी यति कम उमेरमै असाधारण खेलाडी हुन्। उनको खेल स्वाभाविक छ र उनी धेरै सोच्दैनन्, केवल खेल्छन्। मैदानमा उनको उत्साह र खेलप्रति प्रेम देखिन्छ। मलाई विश्वास छ, उनी बार्सिलोना र स्पेन दुवैका प्रमुख खेलाडी बन्नेछन्,’ इनिएस्टाले भनेका छन्। पेड्रीले १८ अगस्ट २०१९ मा १६ वर्षको उमेरमा लास पाल्मासबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए। एक महिनापछि १९ सेप्टेम्बरमा उनले पहिलो सिनियर गोल गर्दै क्लब इतिहासका सबैभन्दा कम उमेरका गोलकर्ता बनेका थिए। २७ सेप्टेम्बर २०२० मा बार्सिलोना मार्फत ला लिगामा डेब्यु गरेका उनले एक महिनाभित्रै पहिलो पटक सुरुवाती टोलीमा स्थान बनाएका थिए। २० अक्टोबर २०२० मा हंगेरीको फेरेन्कभारोसविरुद्धको ५–१ को जितमा उनले यूईएफए च्याम्पियन्स लिगमा डेब्यु गर्दै बार्सिलोना लागि पहिलो गोल पनि गरे। त्यस समयमा टोलीका प्रशिक्षक रोनाल्ड कोम्यान थिए। उनले फिफा यू–१७ विश्वकप २०१९ मा स्पेनको युवा टोली प्रतिनिधित्व गर्दै क्वार्टरफाइनलसम्म पुगेका थिए। युरो २०२० मा पेड्री १८ वर्ष, ६ महिना र १८ दिनको उमेरमा स्विडेनविरुद्ध खेल्दै स्पेनका लागि युरोपियन च्याम्पियनशिप वा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने। कतार विश्वकप २०२२ मा पनि उनी मुख्य खेलाडी थिए। चार वर्षपछि, लुइस डे ला फुन्तेको नेतृत्वमा पनि पेड्री स्पेनको योजनाको केन्द्रमा रहेका छन्। विश्व फुटबलको सर्वोच्च उपाधि जित्ने अभियानमा उनी फेरि टोलीका प्रमुख खेलाडी हुनेछन्। स्पेनका सफल टोलीहरू सधैं बलियो मिडफिल्ड वरिपरि बनेका छन्। जाभी, इनिएस्टा, जाबी आलोन्सो र सेस्क फाब्रेगासको पुस्ताले त्यो परम्परा सिर्जना गरेको छ भने आज त्यो जिम्मेवारी रोड्री, पेड्री, फाबियन रुइज, मिकेल मेरिनो र मार्टिन जुबिमेन्डीको काँधमा छ। लामिन यमालको अप्रत्याशित प्रतिभा थपिएपछि स्पेन फिफा विश्वकप २०२६ का प्रमुख दावेदारहरूमध्ये एकका रूपमा हेरिएको छ।
२७ जेठ, काठमाडौं। नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षामन्त्री सस्मित पोखरेललाई ६ बुँदे मागपत्र पेश गरेको छ। राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीले बुधबार एक पत्रमार्फत शिक्षामन्त्री पोखरेललाई ६ बुँदे माग राखेका छन्। ‘राहत शिक्षकहरूको सेवा सुरक्षाको सुनिश्चितता तथा न्यायोचित व्यवस्थापन सम्बन्धमा’ शीर्षकमा पठाइएको पत्रमा उल्लेख छ कि २०६० सालदेखि नेपालका सामुदायिक विद्यालयहरूमा राहत अनुदान कोटाअन्तर्गत कार्यरत राहत शिक्षकहरूले निरन्तर सेवा दिइरहेका छन्। पत्रमा भनिएको छ कि राज्यका नीति तथा कार्यक्रमहरूले राहत शिक्षकहरूलाई विद्यालय शिक्षाको अविभाज्य अंगको रूपमा मान्यता दिइसकेको छ।
तर, लामो समयदेखि कार्यरत राहत शिक्षकहरूलाई प्रत्येक छ महिनामा म्याद थप वा नवीकरण प्रक्रियामा अनावश्यक त्रास, असुरक्षा र मनोवैज्ञानिक दबाब सिर्जना भइरहेको छ। मागहरू यस प्रकार रहेका छन्: १. राहत शिक्षकहरूलाई शिक्षा नियमावलीको नियम ९७ (८) अन्तर्गत सामान्य करार शिक्षकसरह व्याख्या गरी बारम्बार म्याद थप वा नवीकरण प्रक्रियामा नराखियोस्। २. २०६० सालदेखि सामुदायिक विद्यालयहरूमा निरन्तर कार्यरत राहत शिक्षकहरूको विशेषता, अनुभव र योगदानलाई सम्मान गर्दै सेवा सुरक्षाको सुनिश्चितता गरियोस्। ३. राहत शिक्षक व्यवस्थापन सम्बन्धी विषयलाई स्थानीय तहका फरक–फरक व्याख्यामा नछोडी नेपाल सरकारले एकरूप नीतिगत स्पष्टता प्रदान गरोस्। ४. राहत शिक्षकहरूको हकहित, पेसागत मर्यादा तथा न्यायोचित व्यवस्थापन विधि, प्रक्रिया र कानुनी आधारमा गरियोस्। ५. विद्यालय शिक्षा सम्बन्धी नयाँ कानुन निर्माणको क्रममा राहत शिक्षकहरूको दीर्घकालीन, सम्मानजनक र न्यायपूर्ण व्यवस्थापन सुनिश्चित गरियोस्। ६. राहत शिक्षकहरूमा असुरक्षा, अन्योल र त्रास फैलाउने निर्णय तथा निर्देशनहरू तुरुन्त रोक्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी गरियोस्।
२७ जेठ, काठमाडौं। बर्दियास्थित टाइगर ट्र्याक इकोलजले विश्वप्रसिद्ध वास्तुकला पुरस्कार ‘आर्किटाइजर ए+ अवार्ड २०२६’ हासिल गरेको छ। यस प्रतियोगितामा टाइगर ट्र्याक इकोलजले ‘सस्टेनेबल हस्पिटालिटी बिल्डिङ’ अन्तर्गत ‘पपुलर च्वाइस विनर’ को रूपमा विजेता बन्न सफल भएको छ। गैर-नाफामूलक संस्था बिल्डिङ ब्युरोले डिजाइन गरेको यो दिगो पर्यटन संरचनाले स्थानीय थारु वास्तुकला, पर्यावरणमैत्री सामग्री र सामुदायिक हितलाई जोड्दै अन्तर्राष्ट्रिय स्तरमा ठूलो ध्यान खिच्न सफल भएको छ।
सन् २०२६ मा निर्माण सम्पन्न भएको यो लज बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाटा वन्यजन्तु आरक्षलाई जोड्ने खाता करिडोर नजिकै अवस्थित छ। करिब ४ हजार २५० वर्गफिट क्षेत्रफलमा फैलिएको यो लज परम्परागत थारु शैलीबाट प्रेरित छ। यसमा आधुनिक कंक्रीटका ठाउँमा र्याम्ड अर्थ (माटोको पर्खाल), भूकम्प प्रतिरोधी स्टिल रिबार संरचना र पुराना घरहरूबाट संकलित टेराकोटा टाइलहरूबाट बनेको छ।
सन् १९७० को दशकमा निकुञ्ज स्थापना हुँदा विस्थापित थारु समुदाय अहिले बफर जोन क्षेत्रमा बसोबास गर्दै आएका छन्। यो क्षेत्रमा करीब एक लाख जनसंख्या वन्यजन्तु र वनपैदावारमा निर्भर छ। यही पृष्ठभूमिमा वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि टाइगर ट्र्याक इकोलज स्थापना गरिएको हो।
वन्यजन्तु आक्रमणमा आफ्ना पिता गुमाएका हेमन्त आचार्यको पहलमा यो परियोजना अगाडि बढाइएको हो। सामाजिक योगदानका रूपमा लजको आम्दानीको एक अंश एकल महिला वन्यजन्तु पीडित कोषमा जम्मा गरिन्छ, जसले वन्यजन्तु आक्रमणबाट परिवार गुमाएकी महिलाहरुलाई स्वरोजगार र उद्यमशीलताका लागि आर्थिक सहयोग उपलब्ध गराउँछ। यसैगरी यसले समुदाय-आधारित एन्टि-पोचिङ युनिट (सीबीएपीयू) लाई पनि आर्थिक सहयोग गर्दछ। हाल यस युनिटमा ११९ गाउँका ३ हजार ३३६ युवा स्वयंसेवक सक्रिय छन्, जस मध्ये ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुष छन्।
दिगो वास्तुकलाको उत्कृष्ट नमूना रहेको यो लजमा पर्यटक आवास, सामुदायिक केन्द्र, कार्यालय, रिसेप्सन, भोजन कक्ष र कर्मचारी आवासका सुविधा उपलब्ध छन्। कम ऊर्जा खपत, स्थानीय सामग्री तथा जलवायु अनुकूल डिजाइनका कारण यसलाई दिगो वास्तुकलाको एक प्रमुख उदाहरण मानिन्छ। टाइगर ट्र्याक इकोलजले नेपाली परम्परागत सीपलाई विश्वमञ्चमा चिनाउने, दिगो पर्यटन प्रवर्द्धन गर्ने, जैविक विविधता संरक्षण गर्ने र स्थानीय जनजीवनस्तर उकास्ने नयाँ मोडेल प्रस्तुत गरेको छ।
२७ जेठ, काठमाडौं । फुटबलको महाकुम्भ फेरि आउँदैछ । जुन ११ देखि मेक्सिकोको एस्टाडियो आज्टेकामा सुरु हुने २०२६ फिफा विश्वकपले विश्वका अर्बौं दर्शकहरूलाई एकै ठाउँमा भेला पार्नेछ । यसपटकको विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र—संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको—ले संयुक्त रूपमा आयोजना गर्दैछन् । यस फुटबल महाकुम्भको केन्द्रमा छिन् परिचित अनुहार, कोलोम्बियाकी गायिका शकिरा । उनले १६ वर्षअघि ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ गीतमार्फत विश्वभर परिचय बनाएकी थिइन् । अब २०२६ मा उनी फेरि विश्वमञ्चमा उभिएकी छिन् र नाइजेरियन सुपरस्टार बर्ना बोयसँग मिलेर नयाँ गीत ‘दाइ-दाइ’ गाउँदै छिन् ।
सन् २०१० को विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुन लागेको थियो। फिफाले यस्तो गीत चाहन्थ्यो जसले विश्वका सबै कुनाकुनाका दर्शकलाई एउटै धागोमा जोड्न सकोस् । त्यसबेला शकिरा दक्षिण अफ्रिकाबाट समुद्रपारि उरुग्वेमा रहेको आफ्नो फार्ममा बिदा बिताइरहेकी थिइन् । फार्मबाट घरतर्फ फर्किँदै गर्दा उनलाई एउटा नयाँ धुनको कल्पना आयो र उनले अङ्ग्रेजीमा शब्द सहित त्यो धुन गुनगुनाउन थालिन् । तत्पश्चात उनले सोनी म्युजिकलाई फोन गरी उत्साहित हुँदै भनिन्, ‘मैले अहिलेसम्मकै सबैभन्दा अद्भुत विश्वकप गीत लेखिसकें ।’
‘वाका वाका’को सफलतामाथि एउटा विवाद पनि थियो। दक्षिण अफ्रिका विश्वकपको आयोजना गरिरहेको बेला अफ्रिकी कलाकारहरूको सट्टा कोलोम्बियाकी एक गायिका आधिकारिक गीतका लागि रोजिएपछि धेरै दक्षिण अफ्रिकीहरूले असन्तुष्टि देखाए। तर रमाइलो कुरा यो हो कि फ्रेसलीग्राउन्डले आफूमाथि अपमान भएको महसुस गरेन। बर्ना बोयलाई सहकलाकारको रूपमा समावेश गर्नु एउटा सचेत र रणनीतिक निर्णय भएको देखिन्छ। फिफाले पहिलोपटक विश्वकपको फाइनलमा हाफटाइम शो आयोजना गर्दैछ र यसका लागि विश्वकै तीन ठूला पप कलाकारहरूलाई चयन गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज ७ गतेदेखि सुरु हुने फ्लाई दुबईको दैनिक अन्तर्राष्ट्रिय उडानपछि यो पर्यटकीय सहर विश्वसँग प्रत्यक्ष रूपमा व्यापक रूपमा जोडिन थाल्नेछ। “फ्लाई दुबईले दुबईलाई ट्रान्जिट आधार बनाएर विश्वका ३०० भन्दा बढी गन्तव्यमा उडान भर्ने भएकाले र ती गन्तव्यहरू युरोप, अमेरिका, क्यानडालगायत सबैतिर फैलिने भएकाले यसको विशेष अर्थ छ,” पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले बताए।
पहिले हिमालय एअरलाइन्सले हप्तामा एक दिन पोखरा-ल्हासा उडान सञ्चालन गरेको थियो, तर त्यो लामो समयसम्म निरन्तर हुनु सकेन। अन्य समयमा पोखराबाट थोरै अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरू मात्र सञ्चालन भइरहेका थिए। चिनको छेन्दुबाट समेत सिचुवान एअरलाइन्सले थुप्रै चार्टर्ड उडानहरू गर्दथ्यो। त्यस्तै भुटानबाट पनि यस्ता उडानहरू भएका थिए। देशकै ‘पर्यटकीय राजधानी’ मानिने पोखरामा २०७९ पुसमा उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा विभिन्न सरोकारवालाहरू र स्थानीय व्यवसायीहरूले निराशा व्यक्त गर्दै आएका थिए।
पोखरामा जस्तै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही विमान कम्पनीहरूले पहिले नियमित उडानहरू सञ्चालन गरेका थिए, तर हाल त ती उडानहरू चलिरहेका छैनन्। विगतमा दुबै विमानस्थलमा गरिएका उडानहरूमा ‘यात्रु अभाव’ मुख्य समस्या भएको विमान कम्पनीका अधिकारीहरूले बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनको एक्जिम बैंकबाट २१.५९६५ करोड अमेरिकी डलर ऋण लिएर निर्माण गरिएको हो। तर यस ऋणको किस्ता भुक्तानी गर्न सकिने गरी आम्दानी गर्न विदेशबाट नियमित उडान नहुँदा ब्याज भुक्तानी र प्रतिबद्धता शुल्क तिर्न अप्ठ्यारो भएको उड्डयन अधिकारीहरूले बताएका छन्।
महानिर्देशक निरौलाका अनुसार नियमित उडानले पोखरा र वरपरको क्षेत्रलाई गन्तव्य ठानेर आउने व्यापक भू-भागका पर्यटकको खर्च र समय बचत गर्नेछ। “पहिले हिमालय एअरलाइन्सले सातामा एक पटक उडान गर्दा पनि ल्हासा रुटमा यात्रु संख्या निकै कम थियो। सबैभन्दा बढी यात्रु ल्याउँदा पनि त्यो क्षमता आधा जति मात्र हुन्थ्यो,” उनले भने। “हिमालयले करिब एक वर्षसम्म उडान गर्दा १३० सिटमध्ये अधिकतम ६५ मात्रै यात्रु पुर्याउन सक्थ्यो। अहिले इन्धनको मूल्य वृद्धि भएसँगै उडान रोकिएको छ।”