Skip to main content

लेखक: space4knews

रोल्पामा मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु

२८ जेठ, दाङ । रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बल्लेखोलादेखि आलु बोकेर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक सञ्चालन हुँदै गर्दा अचानक सडक भाँसिएर दुर्घटना भएको हो। माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा उक्त ट्रक दुर्घटना भएको थियो।

दुर्घटनामा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए। ट्रक चालक घाइते छन्। –रासस

ओमानको खाडीमा अमेरिकी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। भारत सरकारले घटनाप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर विरोध दर्ता गरेको छ। अमेरिकी सेनाले नाकाबन्दी उल्लंघन गरेको आरोपमा इरानबाट तेल ढुवानी गरेको जहाजमाथि आक्रमण गरेको जनाएको छ। २८ जेठ, काठमाडौं।

ओमानको खाडीमा रहेको एक तेल ट्यांकरमाथि भएको अमेरिकी सैन्य आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। प्रारम्भमा बेपत्ता भएका ती तीन भारतीय नागरिकका शव फेला परेका छन् भन्ने जानकारी भारतका बन्दरगाह, जलमार्ग तथा यातायात मन्त्री सर्बानन्द सोनोवालले बिहीबार दिएका छन्। सोनोवालले ट्वीटमा लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो। यस कठिन समयमा मोदी सरकार शोकग्रस्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ। मृतकका परिवारलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। उद्धार गरिएका चालकदलका सदस्यहरूलाई तुरुन्त स्वदेश फर्काउने र मृतक नाविकहरूको शव चाँडै भारत ल्याएर अन्तिम संस्कार सुनिश्चित गर्ने व्यवस्था गर्न मैले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छु।’

घटनापछि भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित अमेरिकाको दूतावासका उपप्रमुखलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको छ। भारतस्थित अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाइएको थियो। अमेरिकी आक्रमणमा परेका भारतीयलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले पलाउ झण्डा भएको सेटेबेलो ट्यांकरले इरानबाट तेल ढुवानी जारी राखेर नाकाबन्दी उल्लंघन गरेकाले आक्रमण गरेको जनाएको छ। कमाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेनाले पटक–पटक चेतावनी दिए पनि चालकदलले बेवास्ता गरेपछि एक अमेरिकी विमानले जहाजको इन्जिनलाई लक्षित गरी सटीक हतियार प्रहार गरेको हो।’

यस घटनाले खाडी क्षेत्रमा जारी द्वन्द्व र समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी थालेको थियो। तेहरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि यो कदम चालिएको थियो। यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा तथा विदेशी द्वन्द्वमा परेका भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ। यसबीच इरान र अमेरिकाबीच तनाव कम हुने कुनै संकेत देखिएको छैन। अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेको छ। यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि सुरु भएको थियो। ती आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्यु भएको थियो। जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रीय सहयोगी देशहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको थियो। त्यसपछि द्वन्द्व तीव्र रूपमा फैलिँदै मार्चमा लेबनानसमेत यसको प्रभावमा परेको थियो। अप्रिलमा अमेरिका र इरानले दुई साताका लागि युद्धविराममा सहमति जनाएका थिए, तर लगातार आरोप–प्रत्यारोप, नयाँ आक्रमण र बढ्दो अविश्वासका कारण उक्त युद्धविराम कमजोर भयो र पुनः ठूलो सैन्य टकरावको जोखिम कायम छ।

तीन पटक विश्वकप आयोजना गर्ने विश्वकै एकमात्र रङ्गशाला ‘एस्टाडियो अज्टेका’

मेक्सिकोको एस्टाडियो अज्टेका रङ्गशाला विश्वको पहिलो यस्तो स्टेडियम बन्ने छ जसले तीनवटा फिफा विश्वकपको उद्घाटन खेल आयोजना गर्नेछ। अमेरिका, क्यानडा तथा मेक्सिकोको संयुक्त आयोजनामा ११ जून २०२६ देखि ४८ टोलीसम्म सहभागी हुने फिफा विश्वकप सुरु हुँदैछ। ऐतिहासिक एस्टाडियो अज्टेका मैदानमा उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्।

विश्व फुटबलको इतिहासमा कतिपय मैदानहरू केवल खेल खेलाउने स्थान मात्र होइनन्, ती आफैंमा जीवित इतिहासको रूपमा स्थापित हुन्छन्। मेक्सिकोको राजधानी मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका फुटबल संसारको त्यस्तै एक प्रमुख तीर्थस्थल हो। यस मैदानले तीनवटा फिफा विश्वकप (१९७०, १९८६ र २०२६) का खेलहरू सफलतापूर्वक आयोजना गर्दै विश्वकै पहिलो रङ्गशाला बन्ने गौरवशाली इतिहास रचेको छ।

सन् १९७० को फिफा विश्वकप र पेलेको स्वर्णिम युगमा मेक्सिकोले पहिलो पटक विश्वकप आयोजना गर्दा अज्टेका स्टेडियम प्रतियोगिताको मुख्य केन्द्र थियो। यही मैदानमा ३१ मे १९७० मा आयोजक मेक्सिको र सोभियत संघबीच उद्घाटन खेल सम्पन्न भएको थियो, जुन प्रतिस्पर्धात्मक रुपमा गोलरहित बराबरीमा सकिएको थियो।

सन् २०२६ को फिफा विश्वकप र आधुनिक इतिहासको नयाँ रेकर्ड स्थापना गर्दै अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा आज अर्थात् ११ जून २०२६ देखि सबैभन्दा ठूलो ४८ टोली सहभागी विश्वकपको औपचारिक सुरुवात हुँदैछ। यस खेलसँगै अज्टेका स्टेडियम फिफा विश्वकप इतिहासमा तीनवटा फरक संस्करणका उद्घाटन खेलहरू आयोजना गर्ने विश्वकै पहिलो रङ्गशाला बन्ने छ।

बालबालिकाको खेल्ने अधिकार कागजमै सीमित छैन

नेपालका नीतिहरूले खेलमा आधारित सिकाइ समावेश गरे पनि व्यवहारमा अभिभावक र विद्यालयले खेल र पढाइलाई फरक तरिकाले बुझ्ने गरेका छन्। बालबालिकाको समग्र विकासका लागि खेललाई सिकाइको आधार मान्दै विद्यालयको गुणस्तर मापन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक देखिन्छ। ‘बालबालिकाहरू खेल्दै जाँदा सिक्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, खेलमा बच्चाहरूले कसरी सिक्ने भनेर सिक्छन्।’ – ओ. फ्रेड डोनाल्डसन। ११ जुन अन्तर्राष्ट्रिय खेल दिवस हो। संयुक्त राष्ट्रसंघले सन् २०२४ देखि औपचारिक रूपमा मान्यता दिएको यस दिवसले विश्वभरिका बालबालिकाको खेल्ने अधिकार र खेलको महत्त्वलाई सम्झाउँछ। खेल केवल मनोरञ्जनको माध्यम मात्र होइन, बालबालिकाको समग्र विकास, सिकाइ र स्वस्थ बाल्यकालको आधार हो भन्ने सन्देश दिन्छ।

हरेक वर्ष यस दिवस आउँदा म, प्रारम्भिक बालजन्म विकास र शिक्षामा काम गर्ने व्यक्ति, आफैंलाई प्रश्न गर्छु– के हाम्रा बालबालिकाले साँच्चै खेल्न पाएका छन्? नेपालका नीति, पाठ्यक्रम र प्रारम्भिक बालविकास सम्बन्धी मार्गदर्शकहरू हेर्दा उत्तर सकारात्मक देखिन्छ। खेलमा आधारित सिकाइ, बालकेन्द्रित शिक्षा, अनुभवबाट सिकाइ जस्ता अवधारणाहरू स्पष्ट छन्। तर विद्यालय, शिक्षक र अभिभावकहरूसँगको दैनिक सहकार्यमा कहिलेकाहीँ लाग्छ – हामीले खेलको महत्त्व कागजमा त स्वीकार गरेका छौं, तर व्यवहारमा अझै पूर्ण रूपमा अपनाउन सकेका छैनौं। विद्यालय सञ्चालनको अनुभवले मलाई बारम्बार महसुस गराएको छ। हरेक अभिभावक आफ्नो बालबालिकाको राम्रो भविष्य चाहन्छन्। शिक्षकहरू पनि बालबालिकाले राम्रो सिकुन् भन्ने चाहन्छन्। विद्यालयको उद्देश्य पनि त्यही हो। तर कहिलेकाहीँ राम्रो भविष्य खोज्दा हामी बालबालिकाको वर्तमान आवश्यकतालाई कम महत्त्व दिन्छौं।

केही समयअघि एक अभिभावकसँग कुरा भइरहेको थियो। उहाँले भन्नुभयो, ‘मेरो बच्चा दिनभर खेल्छ, पढाइ कहिले गर्छ?’ उहाँको प्रश्नमा माया र चिन्ता थियो, तर यसले हाम्रो समाजमा रहेको एउटा सोचलाई पनि देखाउँछ। धेरैले खेल र पढाइलाई दुई फरक कुरा ठान्छन्। खेललाई रमाइलो र पढाइलाई सिकाइको रूपमा बुझ्छन्। तर प्रारम्भिक बाल्यावस्थामा हकीकत फरक छ। बालबालिकाका लागि खेल नै सिकाइ हो। जब बालबालिका साथीहरूसँग भूमिका निभाएर खेल्छन्, उनीहरूले भाषा सिकिरहेका हुन्छन्। जब ब्लक मिलाउँछन्, आकार, सन्तुलन र गणितीय सोच विकास भइरहेको हुन्छ। समूहमा खेल्दा पालो पर्खन, सहकार्य र समस्या समाधान गर्दै छन्। यी सीपहरू भविष्यमा आवश्यक पर्ने महत्वपूर्ण आधारहरू हुन्। तर आजको परिवेशले प्रारम्भिक शिक्षाप्रतिको अभिभावक र विद्यालय दुवैका अपेक्षालाई परिवर्तन गरिरहेको छ।

विश्वसँग जोडिनुपर्ने, अन्तर्राष्ट्रिय भाषाको महत्त्व र भविष्य चिन्ताले धेरै अभिभावक बालबालिकाले सानै उमेरदेखि अक्षर चिन्न, लेख्न र भाषा प्रयोग गर्न सिकुन् भनी अपेक्षा राख्छन्। यो स्वाभाविक पनि हो। विद्यालयहरू पनि यिनै अपेक्षालाई सम्बोधन गर्न खोज्छन्। यस कारण कहिलेकाहीँ खेल, कथा, गीत, अभिनय र अनुभव आधारित सिकाइको महत्त्व पर्याप्त देखिन सक्दैन। मलाई लाग्छ समस्या चाहना वा प्रतिबद्धताको होइन, सिकाइको प्रकृतिबारे साझा बुझाइको कमी हो। हामी सबै बालबालिकाले राम्रो सिकुन् चाहन्छौं। तर प्रारम्भिक वर्षहरूमा सिकाइका धेरै महत्वपूर्ण पक्षहरू खेलभित्रै लुकेका हुन्छन् भन्नेमा व्यापक संवाद र सचेतनाको आवश्यक छ। खेललाई पढाइभन्दा अलग नभई सिकाइको आधारका रूपमा देख्ने संस्कृतिलाई बलियो बनाउनु जरुरी छ।

अर्को महत्वपूर्ण विषय बाहिरी वातावरणमा हुने सिकाइ हो। आज धेरै बालबालिकाको समय चार पर्खालभित्र बित्छ। तर सिकाइको संसार कक्षाभन्दा ठूलो छ। माटोमा खेल्दा, बोटबिरुवा नियाल्दा, पानीसँग प्रयोग गर्दा, खुला आकाशमुनि दौडिँदा वा प्रकृतिसँग समय बिताउँदा प्राप्त अनुभव कुनै पुस्तकले दिन सक्दैन। शिक्षा क्रान्तिमा एउटा भनाइ छ— उत्कृष्ट सिकाइहरू केही बाहिर नै भेटिन्छन्। साँचो भन्नुपर्दा, बालबालिकाका लागि प्रकृति नै खुला पाठशाला हो। नेपालजस्तै प्राकृतिक विविधता भएको देशमा आउटडोर लर्निङको अवसर झन् बढी छ। विद्यालयको आँगन, बगैंचा, सामुदायिक खुला ठाउँ, खेतबारी वा गाउँको परिवेश आफैंमा सिकाइका स्रोत हुन सक्छ। तर हामी अझै पनि सिकाइलाई धेरै हदसम्म किताब, कापी र कक्षामा सीमित गरिरहेका छौं।

त्यसो भए नीति र व्यवहारबीचको दूरी किन छ? मेरो अनुभवअनुसार यसको मुख्य कारण सचेतनाको कमी हो। धेरै अभिभावकलाई खेलबाट सिकाइ हुन्छ भन्ने कुरा पर्याप्त जानकारी पुगेको छैन। धेरै शिक्षकहरूले खेललाई महत्त्वपूर्ण बुझ्छन्, तर दैनिक शिक्षण प्रक्रियामा खेललाई कसरी प्रभावकारी रूपमा जोड्ने भन्नेमा निरन्तर सहयोग आवश्यक छ। विद्यालयहरूले अभिभावकको अपेक्षा र बालबालिकाको आवश्यकताको सन्तुलन गर्न खोजिरहेका छन्। यो दूरी घटाउन सबैको साझा प्रयास जरुरी छ। अभिभावकले खेललाई समयको बर्बादी नभई सिकाइको माध्यमका रूपमा बुझ्नुपर्छ। विद्यालयले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिनुपर्छ। शिक्षकहरूलाई निरन्तर व्यावसायिक सहयोग चाहिन्छ। नीति निर्माताले पनि कक्षामा खेलमा आधारित सिकाइ साँच्चै भइरहेको छ कि छैन ध्यान दिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा, विद्यालयको गुणस्तर मापन गर्ने दृष्टिकोण परिवर्तन गर्नु हो। राम्रो विद्यालय त्यो होइन जहाँ बालबालिकाले छिट्टै लेख्न वा अंग्रेजी बोल्न सिक्छन्। राम्रो विद्यालय त्यो हो जहाँ बालबालिका खुशी हुन्छन्, प्रश्न गर्न पाउँछन्, गल्ती गर्न पाउँछन्, खोज्न पाउँछन् र खेल्दै सिक्न पाउँछन्। अन्तर्राष्ट्रिय खेल दिवस मनाइरहँदा म सबै अभिभावक, शिक्षक, विद्यालय र सरोकारवालालाई अनुरोध गर्नेछु– बालबालिकालाई खेल्न दिऔं। माटोसँग खेल्न दिऔं। कथा सुन्न दिऔं। गीत गाउन दिऔं। प्रश्न गर्न दिऔं। दौडन दिऔं। प्रकृतिसँग जोडिन दिऔं। किनभने बालबालिकाहरू खेल्दा मात्र रमाइलो गरिरहेका हुँदैनन्, उनीहरू सिकिरहेका छन् र आफ्नो भविष्य निर्माण गरिरहेका छन्। सायद त्यहि दिन हामी भन्न सक्नेछौँ– खेल्ने अधिकार अब कागजमै सीमित छैन, यो हरेक बालबालिकाको दैनिक जीवनमा पनि देखिन थालेको छ। (रति शर्मा विद्यालय नेतृत्व, शिक्षक क्षमता विकास र बालकेन्द्रित सिकाइका क्षेत्रमा कार्यरत छिन्।)

लेखा समितिको बैठकमा भन्सार पारदर्शितामा केन्द्रित छलफल

समाचार सारांश सञ्चालनात्मक समीक्षा गरिएको। सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनहरूको भन्सार जाँचपास र कर दर पुनरावलोकन गर्ने विषयमा छलफल भएको छ। सांसद गणेशसिंह ठगुन्नाले विद्युतीय सवारी साधनलाई दिइएको कर छुटबारे संसदीय छानबिन गर्नुपर्ने माग राखेका छन्। बैठकमा सांसदहरूले भन्सार छली नियन्त्रण, पारदर्शी कर प्रणाली र भन्सार पूर्वाधार सुधारमा जोड दिएका छन्। २८ जेठ, काठमाडौं। सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रियाबारे कर प्रणालीको पारदर्शिता, नीतिगत स्थिरता र भन्सार व्यवस्थापन सुधारको विषय प्रमुख रूपमा उठेको छ। समिति सदस्यहरूले ती इभीको भन्सार जाँचपास र कर दरमा परिवर्तनदेखि भन्सार मूल्याङ्कन प्रक्रियासम्मका विषय पुनरावलोकन आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले भन्सार व्यवस्थापन तथा सुधारका लागि विभिन्न सुझावहरू पनि प्रस्तुत गरेका छन्। सांसद आरेन राईले विद्युतीय सवारी साधनमा लागू भएका करसम्बन्धी व्यवस्थाबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताए। सांसद बुद्ध रत्न महर्जनले जनतामाथि केवल करको भार थोपेर मुलुकको समृद्धि सम्भव नरहने विचार व्यक्त गरे। त्यसैगरी, सांसद महेन्द्रबहादुर शाहीले व्यवसायमा पारदर्शिता महत्वपूर्ण भएकाले भन्सार पूर्वाधार सुधार लगायतका विषयमा ध्यान दिन आग्रह गरे। सांसद यज्ञबहादुर बोगटीले भन्सार कार्यालयलाई सुविधा सम्पन्न बनाउनु पर्ने आवश्यकता औँल्याए भने अर्का सदस्य गणेशसिंह ठगुन्नाले विद्युतीय सवारी साधनलाई दिइएको कर छुटबारे संसदीय छानबिन आवश्यक रहेको बताए। सांसद रुकेश रञ्जितले कर नीति व्यवसायमैत्री हुनुपर्ने बताए। सांसद विक्रम थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए। सांसद गोविन्द पन्थीले भन्सार छली नियन्त्रणका लागि नियमित अनुगमन र बलियो संरचना आवश्यक रहेको उल्लेख गरे। सांसद मनिष झाले आयात–निर्यात हुने वस्तुहरूको जाँच, कर निर्धारण तथा महसुल असुली व्यवस्थित हुनुपर्नेमा जोड दिए। रासस

वर्ल्डकप २०२६: एआई क्षमतायुक्त फुटबलको प्रयोगका कारणहरू

यस वर्षको वर्ल्डकपमा एआई युक्त फुटबल किन प्रयोग भइरहेको छ? आगामी सातादेखि सुरु हुन लागेको वर्ल्डकप फुटबल प्रतियोगितामा विभिन्न नयाँ प्रविधिहरूको प्रयोग हुन लागेको छ। फिफाले यस विषयमा जानकारी दिएको छ। तीमध्ये प्रमुख आकर्षण भनेको प्रविधियुक्त फुटबल हो।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको यस प्रतियोगितामा प्रयोग हुने फुटबल अत्याधुनिक प्रविधियुक्त हुनेछ। फिफाका अनुसार, यो सामान्य फुटबल जस्तै देखिने र महसुस हुने भए पनि यसमा विशेषता छ। ‘ट्राइओन्डा’ नामक स्मार्ट फुटबलमा रहेको चिपमा रहेका सेन्सरहरूले यो बललाई फरक बनाउँछन्।

फिफाका अनुसार, यस्तो बलले प्रतिसेकेन्ड ५०० पटक डेटा सङ्कलन गर्न सक्षम छ, जसले हरेक साना साना गतिविधि निगरानीमा राख्न मद्दत गर्छ। फुटबलमा प्रायः विवाद सिर्जना गर्ने ह्यान्डबल, अफसाइडजस्ता गल्तीहरूको पहिचानमा र रेफ्री तथा अधिकारीहरूलाई सहि निर्णय लिनमा एआई क्षमतायुक्त यो फुटबलले सहयोग गर्ने अपेक्षा गरिएको छ।

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

२८ जेठ, खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङमा पर्ने दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा गएराति खसेको पहिरोले सडक पूरै अवरुद्ध भएको हो। स्थानीय शिक्षक दिलीपचन्द्र राईका अनुसार, जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रभित्र पर्ने लामीडाँडाको ढाँडखर्कबाट आएको पहिरोले सडक अवरुद्ध बनाएको हो।

लेदो माटोसहित पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। सडकमा आएको क्षतिको कारण भोजपुरदेखि काठमाडौं आउजाउ गर्ने तथा दिक्तेल, बानाचुङ हुँदै भोजपुरतर्फ जाने पूर्वी शहरले आवतजावत गर्ने सवारीसाधनहरू पनि अवरुद्ध भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षतिग्रस्त सडक मर्मतका लागि डोजर र स्काभेटरसहित जनशक्ति परिचालन गरेको जानकारी दिएको छ।

सो क्षेत्रमा विगतमा समेत पहिरो आउने क्रम जारी रहेकाले समस्या लगातार भइरहेकै छ। गत जेठ २३ गते बिहान लप्से खोलामा आएको बाढीले सडक बगाउँदा नौ घण्टा सवारी आवतजावत ठप्प भएको थियो। लप्से खोलामा २०७३ सालमै पक्की पुल बन्नुपर्ने योजना थिए तापनि ठेकेदारको ढिलाइका कारण पुल निर्माण कार्य अलपत्र परेको छ। खोलामा पुल नभएकाले वर्षाको समयमा यात्रु, मालवाहक सवारीसाधन, एम्बुलेन्स, मोटरसाइकल तथा पैदल यात्रीहरू पनि लामो समयसम्म रोकिन बाध्य छन्।

फिफा विश्वकप फुटबल २०२६: कुन टोलीको जर्सी कस्तो छ? क्विज खेल्नुहोस्

फिफा विश्वकप २०२६ मा ४८ टोलीहरू सहभागी हुनेछन्। ती टोलीका खेलाडीहरूले फरक–फरक रङ र डिजाइन भएका जर्सी लगाएर मैदानमा प्रस्तुत हुनेछन्।

ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड सेमिफाइनलमा प्रवेश

समाचार सारांश ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला तर्फ सेमिफाइनलमा प्रवेश गरे। पुरुषतर्फ केभीसी हउान्ड्स र डा एरीले आफ्ना खेल जित्दै क्वाटरफाइनल जितेका छन्। डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनियिरिङ, टाइम्स र बूढानीलकण्ठ पनि पुरुषतर्फ क्वाटरफाइनलमा पुगेका छन्। २७ जेठ, काठमाडौं । ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा बुधबार महिला तर्फ सेमिफाइनलमा स्थान बनाएका छन्। दुवै टोलीले सहज जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन्। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लवको कभर्ड हलमा ग्रान्डीले आईएसए नेपाललाई ६१–११ को फराकिलो अन्तरले पराजित गर्‍यो। ग्रान्डीका विनामनि योञ्जनले १२ अंक योगदान दिइन्। चारै क्वाटरमा अग्रता बनाउँदै ग्रान्डीले २०–४, १२–३, १९–४ र १०–० को स्कोर बनायो। ग्रान्डी समूह ‘ए’ को विजेता भएर सेमिफाइनलमा पुगेको हो। तीन टिम रहेको यो समूहबाट लगातार दुई हार बेहोरेर आईएसए नेपाल प्रतियोगिताबाट बाहिरियो। एक खेल जितेको बूढानीलकण्ठ समूहको उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो। युनिसाबाट १५ अंक प्राप्त गर्दै ट्रेनिङ ग्राउन्डले एनसीसीएसलाई ६५–९ ले हरायो। पहिलो क्वाटरमा नै १८–२ को अग्रता बनाएको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई बचाउँदै थप १२–४, १२–० र २३–३ स्कोर हासिल गर्‍यो। तीन टिम रहेको समूह ‘बी’ बाट ट्रेनिङ ग्राउन्ड विजेता भएर सेमिफाइनलमा पुगेको छ र बलर्स उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ। पुरुषतर्फ केभीसी हउान्ड्सले सोलोलाई ८७–८५ तथा डा एरीले बलर्सलाई ७४–४८ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। केभीसीका पासाङ मास्केको ३४ र डा एरीका विक्रम डंगोलको ३३ अंक उत्कृष्ट रहे। त्यस्तै डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनियिरिङ, टाइम्स र बूढानीलकण्ठ पनि पुरुषतर्फ क्वाटरफाइनलमा पुगेका छन्।

सिरहामा भूमिहीन दलित परिवारलाई १२ वटा हाते ट्याक्टर हस्तान्तरण

सिरहाको नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन ८ लाख ४२ हजार ९५३ रुपैयाँ बराबरका १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ। स्थानीय गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीको सहकार्यमा सञ्चालित परियोजनामार्फत ३०४ भूमिहीन सदस्य लाभान्वित भएका छन्। छिमेकी वरियारपट्टि गाउँपालिकाका ४ वडाका ८ समूहलाई पनि ५ लाख ६१ हजार ९६८ रुपैयाँ बराबरका हाते ट्याक्टर हस्तान्तरण गरिएको छ। २८ जेठ, सिरहा।

सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमा आत्मनिर्भर बनाउन १२ वटा हाते ट्याक्टर वितरण गरिएको हो। ‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’ अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर वितरण गरिएको हो। यस परियोजनामा गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीले सहकार्य गरेका छन्।

क्लबका अध्यक्ष उमेकुमार विसुन्केले १२ समूहमा आबद्ध ३०४ सदस्यले पालैपालो प्रयोग गर्ने गरी आठ लाख ४२ हजार ९५३ रुपैयाँ बराबरको हाते ट्याक्टर वितरण गरिएको जानकारी दिए। उनले भने, “हाते ट्याक्टरसँगै इञ्जिन तथा गियर तेल र डिजेलसमेत उपलब्ध गराइएको छ।” परियोजनाअन्तर्गत भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा अन्न तथा तरकारी खेती गर्न, आयआर्जनका लागि किराना तथा घुम्ती कपडा पसल सञ्चालन गर्न समेत सहयोग गरिएको छ।

सामाजिक परिचालक सन्तोषकुमार विसुन्केका अनुसार हाते ट्याक्टर सञ्चालनका लागि किसानहरुलाई तालिम दिइएको छ भने प्रत्येक समूहमा एक–एक जना चालकसमेत तोकिएको छ। स्थानीय सुलेना सदायका अनुसार परियोजनामार्फत वार्षिक ४१ हजार १०० रुपैयाँमा लिजमा लिइएको दुई बिघा पाँच कठ्ठाभन्दा बढी जग्गा १० भूमिहीन परिवारले खेती गरिरहेका छन्। खेतीबाट परिवारको खाद्य सुरक्षासँगै बचतसमेत हुन थालेको उनी बताउँछिन्। यस्तै, छिमेकी वरियारपट्टि गाउँपालिकाका चार वडाका आठ समूहलाई पनि पाँच लाख ६१ हजार ९६८ रुपैयाँ मूल्य बराबरका हाते ट्याक्टर उपलब्ध गराइएको परियोजना संयोजक लालप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार लिजमा उपलब्ध गराइएको जग्गामा खेती गर्दै भूमिहीन दलित परिवारले आफ्नो आर्थिक अवस्था सुधार्न थालेका छन्। वरियारपट्टि गाउँपालिका-३ का वडाध्यक्ष विनोदकुमार यादवले भूमिहीन दलित परिवारको सुरक्षित बसोवास, बालबालिकाको शिक्षा, सरसफाइ र सामाजिक सुधारका लागि वडास्तरबाट समेत पहल भइरहेको बताए।

फिफा विश्वकप २०२६: इतिहासकै सबैभन्दा ठूलो फुटबल महाकुम्भ आजदेखि सुरु

फिफा विश्वकपको करिब एक शताब्दी लामो इतिहासमा २३औं संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो र ऐतिहासिक मानिएको छ। विश्वकप सुरु हुनुअघि नै यस संस्करणले धेरै कीर्तिमानहरू तोडेका छन्। फिफा विश्वकप २०२६ को २३औं संस्करण आज राति मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेलसँगै उत्तर अमेरिकामा सुरु हुँदैछ। इतिहासमै पहिलो पटक तीन राष्ट्रमा आयोजना हुने यस विश्वकपमा कीर्तिमानी ४८ टोलीले १०४ खेल खेल्नेछन्। यस पटक फिफा विश्वकपको कुल पुरस्कार राशि ६५ करोड ५० लाख अमेरिकी डलर तोकिएको छ, जसमा विजेताले ५ करोड डलर प्राप्त गर्नेछन्। २८ जेठ, काठमाडौं।

फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो, जसलाई विश्वव्यापी खेल पनि भनिन्छ। विश्वका २०० भन्दा बढी देशहरूले फुटबल खेल्ने तथ्यले यसको लोकप्रियता प्रष्ट हुन्छ। फुटबलको लोकप्रियता विश्वव्यापी छ र यो खेलको विश्वकप हुँदा विशेष चर्चा हुने नै थियो। अहिले मुख्य चर्चाको विषय फिफा विश्वकप २०२६ हो, जुन आज रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरूको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ। नेपाली समयअनुसार यो खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ।

विश्व फुटबलकै सबैभन्दा ठूलो महोत्सव, विश्व खेलकुदकै ठूलो प्रतियोगिता, र विश्वभर अरबौं समर्थकहरूको भावना समेट्ने फिफा विश्वकपको २३औं संस्करण हो यो। मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आतिथ्य दिएर फिफा विश्वकप २०२६ को औपचारिक शुरुवात गर्नेछ। विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा भेला भइरहेका छन्। लाखौं दर्शक प्रत्यक्ष खेल हेर्न तयार छन् भने करोडौं दर्शक विभिन्न माध्यमबाट फुटबलको मजा लिन लागिपरेका छन्। फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर ४८ टिमहरु फुटबल महाकुम्भका लागि तयारी गरिरहेका छन्।

चैते धानको न्यूनतम समर्थन मूल्य तोकिए पनि किसान ठगिएका छन्

२८ जेठ, काठमाडौं । सरकारले यस वर्ष समयमै चैते धानको न्यूनतम समर्थन मूल्य तोकेपछि देशभरिका किसानहरूमा एउटा आशा पलाएको थियो- ‘यसपालि उचित मूल्य पाइएला!’ विगतका वर्षहरूमा धान काटिसकेपछि वा सस्तोमा व्यापारीलाई बेचिसकेपछि मात्र मूल्य तोक्ने सरकारले यसपालि भने चैतको अन्तिम सातामै मूल्य निर्धारण गर्‍यो। तर, जब किसानले दुखेर उब्जाएको धान बजारमा बेच्ने बेलामा आयो, उनीहरूको त्यो आशा निराशामा परिणत भएको छ। सरकारले तोकेको मूल्य कागजमै सीमित हुँदा अहिले पूर्व सिरहादेखि मध्य–नेपालको चितवन हुँदै पश्चिम कैलालीसम्मका किसान उही पुरानै नियति भोग्न बाध्य छन्। उनीहरू आफ्नो पसिनाको मूल्य बिचौलियाको तजबिजमा कौडीको भाउमा बेच्न विवश छन्।

बेलैमा तोकिएको थियो मूल्य, कार्यान्वयन भएन कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीको पहलमा गत चैत अन्तिम साता नै चालु आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको थियो। यो अघिल्लो वर्षको (दुई हजार ८ सय रुपैयाँ) को दाँजोमा ५५ रुपैयाँ ८ पैसा बढी हो। सरकारले मूल्य तोक्दा १८ प्रतिशत चिस्यान भएको चैते धानलाई मापदण्ड मानेको छ। यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर मूल्य कायम गर्ने प्राविधिक व्यवस्था समेत गरिएको छ। तर, सरकारले मूल्य तोके पनि खरिद गर्ने प्रभावकारी संयन्त्र र अनुगमन नहुँदा किसानले तोकिएको मूल्य पाउन सकेका छैनन्।

विगतका वर्षहरूमा पनि किसानले यस्तै समस्या झेल्दै आएका थिए। चैते धान जेठ र असारको झरीमा भित्र्याउनुपर्ने हुँदा किसानले राम्रोसँग धान सुकाउन पाउँदैनन्। यही ‘चिस्यान बढी भएको’ बहाना बनाउँदै व्यापारी र राइस मिल सञ्चालकहरूले सरकारी मूल्यभन्दा निकै सस्तोमा धान किन्नु र बेच्ने प्रवृत्तिको निरन्तरता यस वर्ष पनि देखिएको छ। सरकारले समर्थन मूल्य तोक्ने तर सरकारी निकाय (जस्तै : खाद्य व्यवस्था तथा व्यापार कम्पनी) गाउँमा खरिद गर्न नजाने हुँदा किसान सस्तोमै स्थानीय व्यापारीलाई धान बेच्न बाध्य छन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दौडमा महिला अभाव

२७ जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जना आवेदकहरूले आवेदन दिएका थिए । विज्ञको मूल्याङ्कनको आधारमा सिफारिस समितिले ४३ जनाको आवेदन स्वीकृत गरेको छ । तीमध्ये १० जनाको अल्पसूची पनि सार्वजनिक भइसकेको छ । तर उपकुलपतिमा महिला उम्मेदवारको आवेदन परेका छैनन् । ६७ वर्षको इतिहास बोकेको त्रिभुवनले अहिलेसम्म महिला नेतृत्व पाएको छैन । त्रिभुवनमा महिला प्रतिनिधित्वको विषयमा प्रश्न उठिरहेको छ । महिलाको आवेदन नपर्नु दुःखद् घटना भएको प्राज्ञहरूले बताएका छन् ।

‘एक जना पनि महिला नहुनु दुःखको कुरा हो । यसले रचनात्मक र सकारात्मक सन्देश दिएको छैन,’ पूर्वडीन प्रा.डा. कुसुम शाक्यले बताइन् । एक जना महिला पनि सूचीमा नपर्नु विश्वविद्यालय र महिला प्रतिनिधित्व दुवैका लागि चिन्ताको विषय हो । २०७२ सालमा प्रा.डा. सुधा त्रिपाठी शिक्षाध्यक्षा बनेकी थिइन् । उनी त्रिभुवनका पदाधिकारीमा पुगेकी पहिलो महिला हुन् । तत्कालीन उपकुलपति प्रा.डा. तीर्थ खनियाको कार्यकाल सकिएपछि उनले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालेकी थिइन् ।

‘मैले रेक्टर भएर काम गरें र कार्यवाहक उपकुलपति भएर पनि कार्य सञ्चालन गरें,’ उनले बताइन् । त्यतिबेला त्रिपाठीले उपकुलपति बन्ने आकांक्षा राखेकी थिइन्, तर राज्यले समर्थन दिएन । ‘मैले काम गर्ने उत्साह थियो, अपेक्षासमेत थियो र गर्न सक्ने हिम्मत पनि थियो । तर त्यो सम्भव भएन,’ प्रा.डा. त्रिपाठीले भनिन्, ‘भित्री रूपमा धेरै खेल खेलिन्थ्यो, म त्यस्तो खेल बुझ्दिनथें ।’ महिला भएकै कारण उपकुलपति हुन नसक्ने होइन, तर राज्यका संरचनाले अहिलेसम्म इच्छाशक्ति देखाएको छैन भन्ने उनको बुझाइ छ ।

‘महिला भएकाले झन् सहज भयो,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘विद्यार्थी तोडफोड गर्न आउँथे, पुरुष नेतृत्व भएका भए झडप हुन्थ्यो तर मैले दुई हात फैलाएर छाती थापें, उनीहरू केही गर्न सकेनन् र फर्किनुपर्ने भएको थियो ।’ महिला नेतृत्व नपाउनुमा पितृसत्तात्मक संरचनाले रोक लगाएको बहस पनि छ । प्रा.डा. त्रिपाठी महिलाले राजनीतिक रूपमा सक्रिय नहुनु मुख्य कारण भएको ठान्छिन् । ‘महिला हुँदा उपकुलपति चलाउन नसक्ने होइन, महिला राजनीतिक लबिइङमा नलाग्नु नै समस्या हो । आफूले चाहेको व्यक्ति ल्याउन सेटिङ हुने गरेको छ,’ उनले भनिन्, ‘महिलालाई राज्यले तयार गरेको छैन, तर राज्यले चाहे असम्भव छैन ।’

यस पटक सरकारले राजनीतिमुक्त प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्ने योजना बनाएको छ । तर महिला प्राध्यापकहरूले आवेदन दिएका छैनन् । ‘खुला भनिए पनि निष्पक्ष हुँदैन भन्ने धारणा भएर महिला आवेदन नदिएको होला,’ प्रा.डा. त्रिपाठीले विश्लेषण गरिन् । यो पटक मात्रै होइन, २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले त्रिविको उपकुलपतिमा प्रा.डा. केसरजंग बराललाई नियुक्त गरेको थियो । त्यसअघि पनि खुला प्रतिस्पर्धाबाट चयन गर्ने विधि अपनाइएको थियो ।

तत्कालीन मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन प्रा.डा. कुसुम शाक्य र प्रा.डा. संगीता रायमाझीले आवेदन दिएका थिए । ‘अघिल्लो पटक म पनि आवेदन दिएकी थिएँ, सर्ट लिस्टमा परेकी पनि थिएँ तर अन्तिममा उपकुलपति बन्न सकिनँ,’ प्रा.डा. शाक्यले भनिन् । खुला आह्वान भए पनि उपकुलपति नबन्ने निश्चित भएपछि महिलाले आवेदन दिन छोडेको शाक्यले बताइन् । ‘नहुने निश्चित भएपछि किन आवेदन दिउँ र ? मैले त अनुभव पनि लिएको छु । अरू महिला आवेदन दिन सक्छन् भन्ने थियो तर कोही देखिएनन्,’ उनले भनिन् ।

डिन पदमा पनि महिला अनुपस्थित
त्रिविको डिनमा पनि महिलाको उपस्थिति छैन । सबै संकायका डिन पुरुष नै छन् । कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, र कानुन संकाय सबैमा पुरुष डिनहरू छन् । गत २०८१ मंसिरमा मेरिटको आधारमा डिन नियुक्तिको प्रक्रिया अगाडि बढाइएको थियो र विज्ञ समिति बनाइएर खुला आह्वान गरिएको थियो, तर अन्ततः राजनीतिक भागबन्डाको आधारमा डिन नियुक्त गरिएको थियो ।

महिला प्राध्यापक संख्या कम
त्रिविमा पुरुषको तुलनामा महिला प्राध्यापकको संख्या कम छ । हाल शिक्षक संख्या ७ हजार ९६६ रहेको छ तर महिला संख्या कति छ भन्ने तथ्यांक उपलब्ध छैन । तर प्राध्यापकहरूले महिला संख्या कम रहेको स्वीकार गर्छन् । विश्वविद्यालयमा महिला संख्या कम हुनु योग्यताभन्दा पनि अवसर र विश्वासको विषय भएको महिलामाझ मान्यता छ । ‘योग्य महिला छैनन् भन्ने होइन, तर राज्यको इच्छाशक्तिमा निर्भर गर्छ,’ प्रा.डा. शाक्यले भनिन् । मेरिटोक्रेसी बहस भइरहे पनि व्यवहारमा महिलाले अपेक्षित अवसर पाएका छैनन् भन्ने टिप्पणी प्रा.डा. शाक्यले गरिन् ।

चुनौतीपूर्ण पद
त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा उपकुलपतिको पद चुनौतीपूर्ण रहेको बताएका छन् । ‘विश्वविद्यालय चलाउनु मन्त्रालय चलाउने जस्तो छैन, विद्यार्थी आन्दोलन, शैक्षिक व्यवस्थापन, अनुसन्धान, प्रशासन सबैसँग एकैपटक जुझ्नुपर्छ,’ उनले भने, ‘योग्य महिला प्राध्यापकलाई नेतृत्वमा ल्याउन विश्वविद्यालयको वातावरण सुधार आवश्यक छ ।’ हडताल, तालाबन्दी नियन्त्रण, अनुसन्धानमा लगानी र शैक्षिक वातावरण निर्माण गर्न सकियो भने महिलाले अझ राम्रो रूपमा विश्वविद्यालय चलाउन सक्ने माथेमाको मत छ ।

महिला प्राध्यापकको नेतृत्वका लागि आन्दोलन
त्रिविमा महिला नेतृत्वको विषय अहिले मात्रै होइन, विगतदेखि उठ्दै आएको छ । सात वर्षअघि महिला प्राध्यापकहरूले क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै आन्दोलन गरेका थिए । अहिले केही क्याम्पसमा महिला प्रमुख पनि छन् । त्रिचन्द्र क्याम्पस, महराजगंज नर्सिङ क्याम्पस, पद्यमकन्या बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस, वीरगंज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, नेपालगंज नर्सिङ क्याम्पसमा महिलाले नेतृत्व गरिरहेका छन् ।

गत २०८१ पुसमा २४ वटा क्याम्पस प्रमुख नियुक्ति प्रक्रिया मेरिटको आधारमा गर्ने भनियो, तर तेसबेला पनि क्याम्पस प्रमुखमा एक महिला पनि परेनन् । त्रिविका अधिकांश विभाग नेतृत्वमा महिलाको उपस्थिति न्यून छ । क्याम्पसदेखि नै महिलालाई नेतृत्व विकास गरेर उपकुलपतिसम्म पुर्‍याउन क्याम्पसदेखि नै अघि बढाउनुपर्ने प्राज्ञहरूको भनाइ छ । क्याम्पस प्रमुख हुँदा हासिल गरेको अभ्यास उपकुलपतिको रूपमा काम गर्न सहज बनाउने तर्क उनीहरूले गर्छन् ।

महिला नेतृत्व हुँदा पुरुष नेतृत्वको तुलनामा पारदर्शी काम हुने विश्लेषण पनि उनीहरूको छ । महिलालाई विश्वविद्यालय नेतृत्वमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने पूर्वडीन शाक्यले बताइन् । ‘आगामी दिनमा सरकारले पहल गर्नुपर्छ । महिलाहरू नेतृत्वका लागि तयारीमा छन् तर यसको लागि नीतिगत निर्णय आवश्यक छ,’ उनले भनिन् ।

अरू विश्वविद्यालयमा पनि न्यून महिला उपस्थिति
सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेपछि ८ वटा विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका सर्टलिस्ट सार्वजनिक भएका छन् । तीमध्ये महिला उम्मेदवारको संख्या न्यून छ । पूर्वाञ्चल विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा कुनै महिला छैनन् । त्यहाँ उपकुलपतिका लागि ३८ जनाले आवेदन दिएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा पनि कुनै महिला छैनन्, जहाँ जम्मा १९ आवेदन परेको थियो । मध्यपश्चिम विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा एक महिला कल्याणी मिश्र त्रिपाठीको नाम छ, जहाँ २० जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयको सर्टलिस्टमा एक महिला निर्मला जमरकट्टेल छन्, जसमा कुल आवेदन ३८ थिए ।

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका लागि कुनै महिला सर्टलिस्टमा परेकी छैनन्, त्यहाँ २७ आवेदन परेका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयको सर्टलिस्टमा एक महिला कल्याणी मिश्र त्रिपाठी छन्, जहाँ १५ आवेदन परेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टलिस्टमा तीन महिला परेका छन्: चन्द्रकला घिमिरे, यशोधारा भेटुवाल र सारदा पौडेल, जहाँ ११ आवेदन परेका थिए । समग्रमा महिलाको उपस्थिति न्यून रहेको छ । सिफारिस समितिले पनि महिलाको आवेदन कम परेको जनाएको छ ।

‘आवेदन कम परेको छ, चुनौती पनि छ । योग्यताका आधारमा कार्यक्षमता र अनुभव जोडिन्छ,’ समिति सदस्य रेशु अर्यालले भनिन् । ‘शिक्षामा महिला वञ्चित छन् । अब पुनरावलोकन गर्न विश्वविद्यालयमा पदोन्नति गर्ने प्रणाली कस्तो छ हेर्नुपर्ने देखिन्छ ।’

इरानमाथि अमेरिकी आक्रमणपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य अखडाहरू तेहरानको लक्ष्यमा

अमेरिकाले पछिल्ला आक्रमणहरु गरेपछि इरानले पनि खाडी राष्ट्रहरूमा रहेको अमेरिकी सैन्य अखडामा जवाफमा आक्रमण गरेको छ। तेहरानले युद्ध अन्त्य गर्ने “सम्झौताका लागि लामो समय लगाएको” भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि “कडा आक्रमण” हुनसक्ने संकेत दिएपछि अमेरिकाले इरानमा आक्रमण गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्ड ‘सेन्टकम’ले दोस्रो दिन “आत्मरक्षाका” लागि गरिएका आक्रमणहरू पूरा भएको जनाएको छ। यसै जवाफ स्वरूप इरानले बाहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ। उसले आफ्नो देशमा आक्रमणका लागि प्रयोग गरिएका स्थानहरूमा हमला गरिएको बताएको छ।

एक पक्षले आक्रमण गर्दा अर्कोले जवाफ स्वरूप आक्रमण गरिरहेको अवस्थामा पछिल्ला दिनहरुमा तनाव बढ्दै गएको छ जसले गएको अप्रिलमा सुरु भएको कमजोर युद्धविरामको परीक्षा लिइरहेको छ। पछिल्लो अमेरिकी आक्रमणपछि होर्मुज जलमार्ग नजिकका दक्षिणी इरानी शहरहरूमा विस्फोटको आवाज सुनिएको छ। यस क्षेत्रका अमेरिकी सेनाले हवाई प्रतिरक्षा, राडार र अन्य संरचनाहरुमाथि मंगलबार आक्रमण गरेको थियो।

इरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कोर ‘आईआरजीसी’ले होर्मुज जलमार्गमा जहाजहरूमाथि पनि आक्रमण गरिएको बताएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग “सबै प्रकारका जहाजहरूको लागि पूर्ण रूपमा बन्द” गरिएको दाबी गरेपछि त्यहाँका जहाजहरूमा आक्रमण भएको छ। तथापि सेन्टकमले “व्यावसायिक जहाजहरू होर्मुज जलमार्ग हुँदै आवतजावत गरिरहेका छन्” भनी जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्गमा दुई वटा तेल ट्याङ्करमाथि इरानी जलसेनाले आक्रमण गरेको जनाएका छन्, तर यसबारे पुष्टि भएको छैन। विश्वव्यापी तेल ढुवानीका लागि महत्त्वपूर्ण मार्ग बन्द गरिएको र जहाजमाथि आक्रमण गरिएको खबर सार्वजनिक भएपछि तेलको मूल्य पुनः वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका लागि मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य एशियाली बजारमा बिहीबार बिहान कारोबार हुँदा करिब दुई प्रतिशतले बढेर प्रति ब्यारल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ।

पोर्चुगलले नाइजेरियालाई पराजित गर्यो, रोनाल्डोले गोल गर्न आएनन् सफल

फिफा विश्वकप २०२६ को तयारी अन्तर्गत आयोजित मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ। बुधबार लेइरियामा सम्पन्न खेलमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइसाओले गोल गर्दै पोर्चुगललाई विजयी बनाएका छन्। नाइजेरियाका लागि अकोर एडम्सले एक गोल फर्काए। खेलको मध्यतिर चेल्सीका फरवार्ड नेटोले गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए, तर पहिलो हाफ सकिनुअघि एडम्सले बराबरी गोल गर्दै नाइजेरियालाई खेलमा फर्काए। ७५औं मिनेटमा युभेन्टसका विंगर कोन्सेइसाओले निर्णायक गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।

४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा केही राम्रो अवसर पाएका थिए, तर गोल गर्न भने सकेनन्। उनले विश्वकपको आफ्नो छैटौं संस्करण खेल्न लागेका हुन्, तर उनको उपस्थितिले प्रशिक्षक रोबर्टो मार्टिनेजको बलियो टोलीमा प्रभाव पार्न सक्ने भन्दै केही प्रश्नहरू उठेका छन्। पेरिस सेन्ट-जर्मेनबाट च्याम्पियन्स लिग जितेका चार खेलाडी टोलीमा समावेश भएपछि प्रशिक्षक मार्टिनेजले भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेजलाई सुरुवाती टोलीमा राखेका छन्। पोर्चुगल शुक्रबार फ्लोरिडाको पाम बीच जानेछ, जहाँ आफ्नो प्रशिक्षण शिविर स्थापना गर्नेछ। समूह ‘के’ मा रहेको पोर्चुगलले जुन १७ मा ह्युस्टनमा डीआर कंगोविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्नेछ। त्यसपछि उज्बेकिस्तान र कोलम्बियासँग खेल्नेछ।