Skip to main content

लेखक: space4knews

ब्रिटिश सैनिकहरूले रुसी तेल बोकेको ट्याङ्कर नियन्त्रणमा लिए

यूकेको रक्षा मन्त्रालयका अनुसार, ब्रिटिश सैनिकहरूले इङ्लिश च्यानलमा रुसी तेल बोकेको एउटा ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएका छन्। मन्त्रालयले सार्वजनिक गरेको उक्त भिडिओमा “श्याडो फ्लीट”को रुसी तेल ट्याङ्कर स्मिर्टोसमा सैनिकहरू प्रवेश गरेको देखिन्छ। छ घण्टा लामो कारबाही दौरान, ब्रिटिश सैनिकहरूले ट्याङ्करका क्याबिनहरूमा खानतलासीसमेत गरेका थिए।

ब्रिटिश सेनाले यस किसिमको कारबाही पहिलो पटक गरेको बताइएको छ। रक्षा मन्त्रालयले यो ट्याङ्करलाई छानबिनका लागि इङ्ल्यान्डको दक्षिणी तट नजिकैको समुद्र क्षेत्रमा ब्रिटिश नियन्त्रण तथा निगरानीमा राखिने जनाएको छ।

उपभोक्ताले विषादीरहित आँप खाइरहेका छन् कि छैनन्?

काठमाडौंको कुलेश्वर फलफूल बजारमा अहिले स्वदेशी आँपको दैनिक ६० देखि ७५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ। आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नगर्न र सुरक्षित मानिएको इथिलिन ग्यास मात्र प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म बजारका आँपमा कुनै पनि हानिकारक रसायन र विषादी नभेटिएको दाबी गरेको छ।

१ असार, काठमाडौं। जेठ सुरुवातसँगै नेपाली बजारमा फाट्टफुट्ट देखिन थालेको ‘फलफूलको राजा’ आँपले अहिले जेठ अन्तिम आइपुग्दा बजारका हरेक कुना ओगटेको छ। काठमाडौं उपत्यकाका ठूला फलफूल पसल र सुपर मार्केटदेखि टोल–टोलका साना किराना पसल, ठेलागाडा र सडकका पेटीहरू यतिबेला पहेँलपुर आँपै आँपले ढाकिएका छन्।

अहिले बजारमा पाइने आँपको स्रोत हेर्ने हो भने यसको यात्रा छिमेकी मुलुक भारतबाट सुरु भएर नेपालका तराईका जिल्लाहरूमा फैलिएको छ। जेठ सुरुतिर भारतका उत्तर प्रदेश, बिहार र आन्ध्र प्रदेशबाट आँप ठूलो परिमाणमा भित्रिएका थिए। अहिले भने नेपालकै मुख्यतया सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा लगायत तराईका जिल्लाबाट दैनिक ट्रकका ट्रक आँप सहरबजारमा आपूर्ति भइरहेका छन्।

काठमाडौंका कुलेश्वर र कालिमाटी जस्ता ठूला थोक बजारमा मालदह, बम्बई, दसहरी, जर्दा, कलकत्ते, आम्रपाली र कृष्णभोग जातका आँपले आफ्नो रौनक जमाइरहेका छन्। स्वादमा अत्यन्तै मिठो हुने मात्रै होइन आँपलाई स्वास्थ्यका लागि पोषणको खजाना पनि मानिन्छ। तर, यतिबेला उपभोक्ताको प्रश्न छ– पाक्ने बेला नहुँदै बजारमा ल्याइएका आँपमा कस्ता रसायन प्रयोग गरेर पकाइएको होला? यसले स्वास्थ्यलाई कतिसम्म हानि गर्ला?

आइतबार बिहान काठमाडौं बुद्धनगरस्थित एक पसलमा हरिया–पहेँला आँप निकै आकर्षक तरिकाले चाङ लगाएर राखेको देखेपछि सुनिता शर्मा टक्क रोकिइन्। सुनिताले पसलेलाई सोधिन्, ‘साहुजी, आँप कसरी हो? कहाँबाट ल्याएको? विषादी हालेको पो हो कि!’ पसलेले भने, ‘यो मालदह आँप हो म्याडम, हाम्रै तराईबाट ल्याएको, रुखमै पाकेको अर्गानिक, किलोको १ सय २० रुपैयाँ।’

पसलेले अर्गानिक र विषादी नराखेको भने पनि सुनिता ढुक्क हुन भने सकिनन्। ‘फलफूल र तरकारीमा शतप्रतिशत विषादी छ भन्ने खबर दिनहुँ आइरहन्छ,’ उनले भनिन्, ‘गत वर्ष पनि आँपमा धेरै विषादी रहेका धेरै खबर आएका थिए, यस वर्ष पनि सुन्नमा त आएको छ, सरकारले परीक्षण गरेको पनि थाहा छैन, सरकारको ध्यान यता पनि गए हुने।’ शंका गर्दै सुनिताले २ किलो आँप भने किनिन्। फेरि थपिन्, ‘एकछिन पानीमा डुबाएर मात्रै खानुपर्ला।’

अझै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा पनि अर्गानिक भन्दै गरिएको विज्ञापनले उपभोक्तालाई अझै भ्रममा पारेको छ। सुनिताजस्ता हरेक उपभोक्ताको अहिलेको प्रश्न यही हो– ‘आँप स्वस्थकर छ कि छैन?’

कुलेश्वरमा दैनिक ७५ लाखसम्मको कारोबार, विषादीबारे व्यवसायीको आफ्नै तर्क

काठमाडौंको मुख्य फलफूल थोक बजार कुलेश्वरमा अहिले नेपाली आँपको वर्चस्व रहेको व्यवसायी बताउँछन्। नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार अहिले बजारमा पाइने ९० प्रतिशतभन्दा बढी आँप स्वदेशी नै हुन्। भारतीय आँप महँगो र ढुवानी खर्च बढी हुने भएकाले व्यवसायीले अहिले नेपाली आँपलाई नै प्राथमिकता दिएका छन्।

‘अहिले बजारमा राम्रो आँपको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ र अलि कमसलको ५० रुपैयाँसम्म छ,’ अध्यक्ष बानियाँ भन्छन्, ‘एक क्रेटमा २२ देखि २५ किलोसम्म आँप हुन्छ, जसको मूल्य १५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ।’ अध्यक्ष बानियाँका अनुसार दैनिक १५ देखि २० पिकअप गाडी (करिब ५० टन) आँप कुलेश्वर बजारमा मात्रै खपत भइरहेको छ। अहिले कुलेश्वर फलफूल बजारबाट मात्रै दैनिक ६० देखि ७५ लाख रुपैयाँ बराबरको नेपाली आँपको कारोबार भइरहेको छ।

‘अहिले सिजन भएकाले दैनिक ६२ देखि ७५ लाखको हाराहारीमा कारोबार भइरहेको छ,’ उनी भन्छन्, ‘स्वदेशी उत्पादनले बजार पाएको यो सकारात्मक पक्ष हो।’

आँपमा प्रयोग गरिने विषादी र पकाउने प्रविधिको विषयमा भने अध्यक्ष बानियाँले फरक तर्क राखेका छन्। उनले अहिले आँप पकाउन ‘इथिलिन’ ग्यासको पोका प्रयोग भइरहेको बताए।

‘हामीले विषादी प्रयोग गरेका छैनौं, इथिलिन ग्यासको पाउच हालेर आँप पकाइएको छ,’ उनको दाबी छ, ‘यो अन्तर्राष्ट्रिय रूपमै स्वीकार्य प्रविधि हो।’ किसानबाट किनेका व्यापारीले नै पकाएर आँप बजार ल्याइपुर्‍याउने हुँदा उनीहरूले कस्तो रसायन वा विषादी प्रयोग गर्छन् भन्ने विषयमा आफूले यकिन बताउन नसक्ने उनले बताए। तर, सरकारी निकायको सुस्तताप्रति भने उनले आपत्ति जनाएका छन्।

‘गएको साल पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना लिएर गएको थियो, तर त्यसको रिपोर्ट हामीलाई कहिल्यै दिएन,’ उनले भने, ‘यो खान योग्य छ कि छैन भनेर राज्यले प्रष्ट पारिदिनुपर्छ, उपभोक्तालाई भ्रममा राख्नुभएन।’ उनले अहिले पनि राज्यका जिम्मेवार निकायलाई विषादी परीक्षणका लागि बारम्बार अनुरोध गरिरहेको बताए। तर, यस विषयमा ती निकायले नै कुनै चासो नदिएको उनको आरोप छ।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न राज्यले भन्सार दर बढाउनुपर्ने र नेपाली किसानलाई अनुदान तथा प्राविधिक सल्लाह दिनुपर्नेमा बानियाँले जोड दिए।

‘सरकारबाट फलफूल व्यवसायी र किसानलाई कुनै राहत र अनुदान छैन,’ उनले भने, ‘बिचौलिया र किसानलाई समयभन्दा अगाडि आँप नटिप्न कृषि विज्ञले सल्लाह दिनुपर्‍यो।’

इथिलिन प्रयोग सुरक्षित, कार्बाइड खतरनाक

राष्ट्रिय फलफूल विकास केन्द्रले यस वर्ष बजारमा आँपको सिजन केही चाँडै सुरु भएको बताएको छ। बम्बई, दसहरी लगायत चाँडै पाक्ने जातका आँप बजार आउन थालिसकेको तर बजारमा आएका सबै प्रकारका आँपमा विषादी र हानिकारक रसायन प्रयोग नभएको भनेर भन्न नसकिने अवस्था नरहेको केन्द्रको भनाइ छ।

केन्द्र प्रमुख महेशचन्द्र आचार्यले बजारमा आएका सबै आँप हानिकारक नभएको तर केही अखाद्य रसायन प्रयोग भएका आँपबाट भने उपभोक्ता सचेत हुनुपर्ने बताएका छन्। आचार्यका अनुसार यस वर्ष चाँडै वर्षा भएका कारण सिजन अगावै पाकेर आँप बजार आएका हुन्।

‘सर्लाही लगायत फार्ममा हावाहुरीले धेरै नोक्सान गर्‍यो,’ उनले भने, ‘हावाहुरीले झारेका आँप बिग्रिने डरले व्यापारीले ठेक्का नलिने अवस्था आएपछि केही चाँडै पकाएर बजार पठाइएको हो।’

फलफूल पकाउन प्रयोग गरिने प्रविधिबारे आचार्यले इथिलिन प्रयोग स्वास्थ्यका लागि हानिकारक नहुने बताए।

‘इथिलिन भन्ने पकाउन प्रयोग गरिने रसायन हुन्छ, त्यो स्वास्थ्यका लागि हानिकारक छैन,’ उनले भने, ‘यसले प्राकृतिक रूपमै जस्तो हर्मोन रिलिज गरेर फलफूल पकाउने काम गर्छ, अचेल चियाको ‘टी–ब्याग’ जस्तै पाउचमा इथिलिन राखेर पकाउने वैज्ञानिक र प्रमाणित अभ्यास पनि सुरु भएको छ, जुन विषालु हुँदैन।’

तर, आँप पकाउन ‘क्याल्सियम कार्बाइड’ प्रयोग भने अत्यन्तै खतरनाक हुने उनले बताए। ढुंगा वा खरानीजस्तो देखिने कार्बाइड प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि घातक हुने उनको भनाइ छ।

‘क्याल्सियम कार्बाइड प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्धित छ, यो कार्सिनोजेनिक (क्यान्सर गराउने तत्त्व) हो,’ प्रमुख आचार्यले भने, ‘यदि आँपको भेट्नोमा सेतो खरानी जस्तो धुलो टाँसिएको छ वा कालो अर्कै खालको दाग देखिन्छ भने त्यसमा कार्बाइड प्रयोग भएको हुन सक्छ, त्यस्ता आँप खानु हुँदैन।’

खुला सीमाबाट अवैध आँप प्रवेश नेपालमा आधिकारिक रूपमा भारतीय आँप आयातमा रोक लगाइए पनि खुला सिमानाका कारण अवैध रूपमा आँप भित्रिरहेको प्रमुख आचार्यले स्वीकार गरे।

‘आधिकारिक रूपमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले स्वीकृति दिएको छैन र रोकेको अवस्था छ,’ उनले भने, ‘तर, हाम्रो खुला सीमा छ, त्यहाँ धेरै छिद्र छन्, ती अवैध बाटो हुँदै भारतीय आँप बजारमा आइरहेका हुन सक्छन्।’

बजारमा आएका फलफूलको विषादी परीक्षणमा राज्यको क्षमता सीमित रहेको पनि उनले बताए। केन्द्रीय कृषि प्रयोगशालाले दुइटा ग्रुपका विषादीको मात्र परीक्षण गर्न सक्ने क्षमता राख्ने भएकाले फलफूलमा अन्य कुनै विषादीको प्रयोग भएको भए त्यहाँबाट पत्ता नलाग्ने उनले बताए।

‘प्रयोगशालाको मेसिनले सबैखाले विषादी पत्ता लगाउँदैन,’ प्रमुख आचार्यले भने, ‘दर्ता भएका विषादीमध्ये पनि दुई वटा ग्रुप बाहेकका विषादी हाम्रो ल्याबले टेस्ट गर्दैन, दायरा बढाउन जरुरी छ।’

साथै, बजारमा गइसकेको (उत्पादन भइसकेको) तरकारी र फलफूलको परीक्षण गर्ने कानुनी जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियंत्रण विभागको भएको उनको भनाइ छ।

‘बजारमा गएपछि त्यसमा विषादी छ कि छैन भनेर परीक्षण गर्ने र कानुनी कारबाही गर्ने दायित्व खाद्य प्रविधिको हो,’ उनले भने, ‘तर, परीक्षण अत्यन्तै महँगो भएकाले सबै परीक्षण गर्न सम्भव नभएको हुन सक्छ।’

सामाजिक सञ्जालमा हल्ला आएजस्तो सबै आँपमा विष नभएको र अहिले आत्तिएर आँप नै खान छाड्नुपर्ने अवस्था नरहेको बताउँदै प्रमुख आचार्यले उपभोक्ता आफैं पनि सचेत भएर फलफूल खरिद गर्नुपर्नेमा जोड दिए।

सरकारको दाबी: आँपमा हानिकारक रसायन विषादी शून्य

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने आपँमा हानिकारक रसायन नभेटिएको दाबी गरेको छ। विभागले बजार अनुगमन र परीक्षण क्रममा हालसम्म हानिकारक रसायन र विषादी प्रयोग नभेटिएको दाबी गरेको हो।

विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले तराईका विभिन्न जिल्ला र नाकामा द्रुत विषादी परीक्षण (र्‍यापिड पेस्टिसाइड टेस्टिङ) भइरहेको र नतिजा सन्तोषजनक रहेको दाबी गरिन्। विशेषगरी तराईबाट फलफूल भित्रिने भएकाले विभागले तराईका कार्यालय मार्फत अनुगमनलाई तीव्रता दिएको उनको भनाइ छ।

‘विराटनगरस्थित कार्यालयले त्यहाँका ७–८ वटा विभिन्न फ्रुट सेन्टरमा स्थलगत परीक्षण गरेको थियो, उक्त परीक्षणको रिपोर्ट अनुसार फलफूल पकाउन कुनै पनि हानिकारक रसायन प्रयोग गरेको पाइएको छैन,’ प्रवक्ता शर्माले भनिन्, ‘विषादी परीक्षण गर्दा पनि कुनैमा विषादी देखिएन।’

केही वर्ष अघिसम्म फलफूल पकाउन मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य रसायन प्रयोग हुने गरेको भए पनि पछिल्लो समय व्यापारी आफैं सचेत भएको विभागको दाबी छ।

‘आजभन्दा चार–पाँच वर्ष अगाडिसम्म आँप, केरा लगायत फलफूल पकाउन अखाद्य औषधि चलाउने गरिन्थ्यो,’ उनले दाबी गरिन्, ‘तर, आजकल व्यापारी नै धेरै सजग भइसक्नुभएको छ, उहाँहरूले त्यस्तो अखाद्य वस्तु प्रयोग गर्नुहुन्न।’

अहिले बजारमा फलफूल छिटो पकाउनका लागि सुरक्षित मानिएको इथिलिन ग्यास प्रयोग हुने गरेको विभागले जनाएको छ। प्राकृतिक रूपमा फलफूल पाक्ने प्रक्रियालाई नै यसले मद्दत गर्ने भएकाले यो स्वास्थ्यका लागि हानिकारक नहुने डा. शर्मा बताउँछिन्।

विभागले खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय मार्फत नाकामै फलफूल तथा तरकारीको नियमित परीक्षण गरिरहेको र अनुगमनलाई निरन्तरता दिइएको जनाएको छ।

आँपका फाइदा स्वादमा मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि आँप निकै लाभदायक फल हो। पोषणविद् र स्वास्थ्यविद्हरूका अनुसार प्राकृतिक रूपमा पाकेको आँप भिटामिन र खनिजको भण्डार नै हो। आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन ‘सी’ ले हाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन मद्दत गर्छ भने यसमा हुने भिटामिन ‘ए’ ले आँखाको ज्योति बढाउनुका साथै छालालाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। मुटुको स्वास्थ्यका लागि पनि आँप उत्तिकै लाभदायक मानिन्छ। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न सघाउ पुर्‍याउँछ। त्यस्तै आँपमा पोलिफेनोल्स र म्याङ्गिफेरिन जस्ता एन्टिअक्सिडेन्ट हुन्छन्, जसले शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस कम गरी विभिन्न प्रकारका क्यान्सरको जोखिम समेत न्यूनीकरण गर्न मद्दत गर्छन्।

यद्यपि, आँपमा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले मधुमेह (सुगर) का बिरामीले भने चिकित्सक वा पोषणविद्को सल्लाहमा मात्र सीमित मात्रामा खानुपर्ने विज्ञको सुझाव छ।

कार्बाइड प्रयोग गरिएका आँप खाँदा के हुन्छ?

आँप पकाउन हानिकारक रसायन क्याल्सियम कार्बाइड प्रयोग गरिएको छ भने त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ। क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरस जस्ता विषालु तत्त्व हुन्छन्। स्वास्थ्यविद्का अनुसार यस्तो आँप खाँदा तत्काल र दीर्घकालीन गरी दुई खाले असर देखिन्छन्। यस प्रकारको आँप सेवन गर्नासाथ पेट दुख्ने, पोल्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण तत्काल देखा पर्न सक्छन्। कतिपय अवस्थामा मुख, घाँटी र गिजामा जलन हुने वा खसखसाउने, रिंगटा लाग्ने, टाउको दुख्ने र अत्यधिक थकान महसुस हुनेजस्ता समस्या पनि देखिन सक्छन्।

यस्तो जोखिमबाट बच्न कार्बाइडले पकाएको आँप चिन्नु जरुरी हुन्छ। यदि आँपको बोक्रामा सेतो खरानी जस्तो धुलो टाँसिएको छ, कालो अस्वाभाविक दाग छ, बाहिर पुरै पहेँलो तर भित्र काट्दा सेतो र कडा छ, र प्राकृतिक बासना छैन भने त्यस्तो आँपमा कार्बाइड प्रयोग भएको हुन सक्ने भएकाले यस्ता आँप खरिद नगर्न र नखान सुझाइएको छ।

इरान र अमेरिकाबीचको सम्झौतामा युरोपेली नेताहरूको स्वागत

इरान र अमेरिकाबीचको शान्ति सम्झौता सम्बन्धमा ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। ई–४ समूहले स्ट्रेट अफ होर्मुजलाई तत्काल खोल्न र कुनै पनि सर्त बिना जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले यस सम्झौतालाई क्षेत्रीय स्थिरता र विश्वकै आर्थिक प्रणालीलाई सन्तुलित बनाउन महत्वपूर्ण अवसर भएको बताएका छन्।

१ असार, काठमाडौं। इरान र अमेरिकाबीच शान्ति सम्झौता हुन लागेपछि ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै अमेरिकी, इरानी र क्षेत्रीय साझेदारहरूसँग मिलेर ‘अवसरको पूर्ण सदुपयोगका लागि’ काम गर्न प्रतिबद्धता जनाएका छन्। ई–४ भनेर चिनिने यी देशहरूले भने, ‘हामी यस कूटनीतिक सफलतामा अमेरिका, इरानी सरकार र सहभागी सबै पक्षलाई बधाई दिन्छौं, जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता समावेश छन्।’

यो शान्ति सम्झौताले क्षेत्रीय स्थिरता कायम गर्ने र वैश्विक अर्थव्यवस्थालाई सन्तुलित बनाउन मद्दत गर्ने नेताहरूको विचार छ। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले सम्झौतासँग सम्बन्धित कार्यहरू छिटो र पूर्ण रूपमा कार्यान्वयन गर्ने अपिल गरेका छन्। उनीहरूले भने, ‘स्ट्रेट अफ होर्मुज तत्काल खोल्नुपर्छ र कुनै पनि सर्त वा प्रतिबन्ध बिना जहाज तथा जलयातायातको स्वतन्त्र आवागमन सुनिश्चित गरिनुपर्छ।’ नेताहरूले लेबनानको ‘स्थिरता, संप्रभुता र क्षेत्रीय अखण्डताको’ पक्षमा आफ्नो समर्थन पुनः पुष्टि गरेका छन्।

पहिलो हाफमा स्वीडेन २-१ ले अग्रता

फिफा विश्वकप २०२६ को समूह एफमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ। स्वीडेनका यासिन अयारीले ७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। अलेज्यान्डर इसाकले ३०औं मिनेटमा गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे। ट्युनिसियाका ओमार रेकिकले ४३औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफ २-१ को स्थितिमा सकिएको छ।

१ असार, काठमाडौं। मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ। यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। ट्युनिसियन बाबु र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन्।

अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे। भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेन्डरलाई छली गर्दै उत्कृष्ट गोल गरे। तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काएर खेलमा फर्कने प्रयास गरेको छ। ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरेका हुन्। हानीबल मेज्बरीको क्रसमा रेकिकले हेडमार्फत गोल गरेका छन्।

विश्वकप फुटबल खेल्ने देशका राष्ट्रिय चराहरू

विश्वकप खेल्ने तीन देशका चराका मस्कट। आगामी फुटबल विश्वकप ४८ राष्ट्र र १०४ खेलसहित ठूलो ढाँचामा आयोजना हुँदैछ। विश्वकप खेल्ने ४८ राष्ट्रमध्ये फ्रान्स मात्र एउटा यस्तो देश हो, जसको राष्ट्रिय चरा घरपालुवा कुखुरा (ग्यालिक रुस्टर) रहेको छ। अस्ट्रेलियाको ‘इमु’ र न्युजिल्यान्डको ‘किवी’ उड्न नसक्ने राष्ट्रिय चरा हुन् भने पाराग्वेको घण्टी चरा संसारकै सबैभन्दा ठूलो आवाज निकाल्ने चरा हो। हरेक चार वर्ष जुन, जुलाईतिर सारा संसार फुटबलको माहोलमा हुन्छ। संसारकै सबैभन्दा धेरै हेरिने खेलकुदको महा-सङ्ग्राम फेरि फर्किएको छ। यसपटक भने झनै ठूलो ढाँचामा! ४८ राष्ट्र र १०४ खेलसहित।

विश्वकपको माहोल नै फरक मानौँ केही प्रकारको चाडपर्व नै झैं लाग्ने। सबैको आफ्नो-आफ्नो टिम र आफ्नो टिमले जितोस् भन्ने इच्छा। म भने धेरै वर्षदेखि इङ्गल्यान्डको समर्थक, सधैं जितोस् भन्दै आइरहेको छु, जित्ने छाँटकाँट छैन। विश्वकपको पर्खाइमा टोली र खेलहरूको तालिका हेर्दा दिमागमा एउटा अनौठो किसिमको जिज्ञासा जाग्यो। यति धेरै देश छन्, ती देशका राष्ट्रिय चराहरू के हुन् होला? आफ्नो जिन्दगी नै चरा वरपर घुम्ने भएकाले होला, जतिसुकै अवस्थामा पनि दिमागले चरा नै सोच्दछ। त्यो सोच बोकेर खोज्दा धेरै रोचक तथ्यहरू थाहा भयो। धेरै देशका राष्ट्रिय चराहरू रोचक र कहिलेकाहीं नासोर अवस्थामा रहेका पनि पाइन्छन्।

आज विश्वकपको एउटा अनौठो पक्ष नियालौं। सुरु गरौँ सबैभन्दा अनौठो र शायद विश्वकप हेर्ने सबैलाई परिचित राष्ट्रिय चराबाट! फ्रान्सको कुखुरा- ग्यालिक रुस्टर! यस कुखुराले फ्रान्सेली राष्ट्रिय गौरव र बहादुरीलाई मूर्तरूप दिने मानिन्छ। कुखुराहरूको वैज्ञानिक नाम हो ग्यालस डोमेस्टिकस, जहाँ ग्यालसले कुखुरा जनाउँछ र फ्रान्सको गउल क्षेत्रका बासिन्दालाई पनि जनाउँछ। रोमनहरूले गउलमा बस्नेहरूलाई त्यही नामले टाँस्ने गरेका थिए र पछि उनीहरू स्वयं त्यो नाम स्वीकार गरेका हुन्। अहिले विश्वकप खेल्ने ४८ राष्ट्रमध्ये फ्रान्स मात्र एउटा देश हो जहाँ डोमेस्टिकेटेड राष्ट्रिय चरा छ।

स्वीडेनले ट्युनिसियालाई ५-१ ले पराजित गर्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्‍यो

फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत सोमबार आयोजना भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ गोलअन्तरले हराएको छ। मेक्सिकोमा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई गोल गरेका थिए भने अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल थपे। पराजित ट्युनिसियाका ओमार रेकिकले खेलको ४३औं मिनेटमा एक गोल फर्काएका थिए।

स्वीडेनले १ असार, काठमाडौंमा भएको खेलमा शानदार सुरुवात गर्दै ५-१ को फराकिलो अन्तरका साथ जित हात पारेको थियो। खेलको सातौं मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए। त्यसपछि ३०औं मिनेटमा अलेज्यान्डर इसाकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउने प्रयास गर्‍यो र ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे।

दोस्रो हाफमा स्वीडेनले थप दुई गोल गर्‍यो। भिक्टर ग्योकेरेसले ५९औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाएका थिए। स्भानवर्गले ८६औं मिनेटमा चौथो गोल गरेका थिए, जुन भिएआर रिभ्युपछि मान्यता प्राप्त भयो। यासिन अयारीले इन्जुरी टाइमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जितलाई पक्का बनाए। यस जितसँगै स्वीडेनले ३ अंक जोडेको छ। समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेलेका थिए।

यु-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेश र सुदूरपश्चिम प्रतिस्पर्धा गर्ने

१ असार, सुर्खेत । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेश र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ। समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेशसँगको भेट पक्का गरेको हो। आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको गण्डकी भने मधेशमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराश बन्यो। अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेश प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा स्तब्ध भएपनि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको छ।

कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसाले। २४ रनको व्यक्तिगत स्कोरमा सावित्री धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहीबेरपछि नै करुणा रन आउट हुँदा मधेशतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नो पोल्टामा पारे। ३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन्। त्यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा गर्‍यो। मधेशका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे।

आइतबारनै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जित निकाल्यो। घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो। कप्तान तिर्सना विश्वकर्मा एक रनले अर्धशतक बनाउनबाट चुकिन्। ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ बलको सामना गर्दै एक छक्का र ६ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन्। दोस्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन्। बलिङतर्फ गण्डकीकी निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो। ९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनी मरासिनी १३ रनमा आउट भएपछि तेस्रो र चौथो क्रममा आएका ब्याटरले नटआउट रहँदै गण्डकीको इनिङ्स सम्हाले। चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए। समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो। १६ रन अतिरिक्त पाएको लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए। फाइनल खेल आज बिहान ९ बजेपछि कालुङचोक मैदानमै हुनेछ।

युद्धविरामदेखि ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्मको सम्झौता

१ असार, काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच १४ बुँदामा आधारित सम्झौता (एमओयू) हुने दाबी गरेको छ। तथापि यस सम्झौताको बुँदाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि भने गरेका छैनन्। इरानको अर्ध सरकारी समाचार एजेन्सी ‘मेहर न्युज’ का अनुसार प्रस्तावित बुँदामा लेबनानसहित सबै मोर्चाहरूमा स्थायी युद्धविरामको विषय उल्लेख गरिएको छ। यसका साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि सम्झौतामा समावेश गरिएको छ।

त्यस्तै, ३० दिन भित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी क्षेत्रमा अमेरिकी सैनिक फिर्ता गर्ने, ‘इरानी व्यवस्था’ अनुसार ३० दिन भित्र स्ट्रेट अफ होर्मुज फेरि खुला गर्ने बुँदाहरू पनि सम्झौतामा उल्लेख छन्। अमेरिका र उसका सहयोगीहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा तीन सय अर्ब डलरको योजना ल्याउने, इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएका प्रतिबन्धहरू फुकुव गर्ने, र परमाणु हतियार नबनाउने विषयमा इरानले आफ्नो प्रतिबद्धता दोहोर्याउने विषय पनि सम्झौतामा रहेको ‘मेहर न्युज’ ले जनाएको छ।

अमेरिकाको तर्फबाट क्षेत्रीय सैन्य उपस्थिति नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि १४ बुँदे सम्झौतामा समावेश रहेको बीबीसीको समाचारमा उल्लेख छ। ‘इरानको ‘फ्रिज’ गरिएको सम्पत्तिको आधा हिस्सा ‘रिलिज’ गर्ने, ‘इरानी तेलमा लगाइएको प्रतिबन्ध निलम्बन गर्ने र नौसैनिक नाकाबन्दी नहटाउने अवस्था नआउन्जेल अन्तिम वार्ता सुरु नहुने,’ मेहर न्युजलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

नेदरल्याण्ड्ससँग जापानको रोमाञ्चक भिडन्तको तयारी

नेदरल्याण्ड्स र जापानबीच फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत मध्यराति अत्यन्तै रोमाञ्चक र प्रतिक्षित खेल हुँदैछ। नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे (जुन १५) अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा यो खेल सुरु हुनेछ। समूहको शीर्ष स्थानका लागि यो भिडन्त दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

हेड टु हेड सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म केवल ३ पटक मात्रै भिडन्त भएको छ, जसमा जापानले नेदरल्याण्ड्सलाई अहिलेसम्म पराजित गर्न सकेको छैन। दुई खेल नेदरल्याण्ड्सले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। सन् २०१० को विश्वकप समूह चरणमा नेदरल्याण्ड्सले वेस्ले स्नाइडरको निर्णायक गोलको मद्दतले जापानलाई १-० ले पराजित गरेको थियो।

पछिल्ला नतिजा युरोपेली छनोट प्रतियोगितामा अपराजित रहँदै विश्वकप यात्रा तय गरेको नेदरल्याण्ड्सले पछिल्ला ५ खेलहरूमा मिश्रित प्रदर्शन गरेको छ। टोलीले अभ्यास खेलमा अल्जेरियासँग पराजय भोगेको थियो भने उज्बेकिस्तानविरुद्ध कठिन जित निकाल्यो। रक्षात्मक रूपमा नेदरल्याण्ड्सले पछिल्ला ४ खेलमा लगातार १-१ गोल बेहोरेको छ।

जापानले ३ खेल अगाडि नै विश्वकपमा स्थान सुरक्षित गरेको छ र उच्च मनोबलमा छ। जापानले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डलाई पहिलो पटक हराएर ऐतिहासिक नतिजा निकालेको थियो। जापानको बलियो पक्ष क्लिनसिट हो, जहाँ टोलीले पछिल्ला ५ जितहरूमा एक पनि गोल बेहोरेको छैन।

नेपालको मनसुन: गत वर्ष छिटो आएको मनसुन यस वर्ष किन ढिला भित्रिएको छ?

नेपालमा मनसुन औसतभन्दा दुई साता अगावै मे २९ मा भित्रिएको थियो, तर यस वर्ष सामान्यतया जुन १३ पार भइ सके पनि नेपालमा प्रवेश नगरेको मौसम विज्ञहरूले बताएका छन्। मनसुन भित्रन ‘अझै केही’ दिन लाग्न सक्ने सम्भावना रहेको र जल तथा मौसम विज्ञान विभागले आफैं निर्धारण गरेका केही मापदण्डहरूको विश्लेषण गरिरहेको उनीहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल यस वर्षको मनसुन ‘थोरै ढिला र केही कमजोर’ हुने प्रक्षेपण गर्छन्।

सहप्राध्यापक सिग्देलका अनुसार, “पश्चिमी वायु प्रणाली अहिलेसम्म सक्रिय छ। नत्र सामान्यतया मे महिनाको अन्त्यसम्ममा त्यस्तो प्रणाली कम भइसकेको हुने थियो।” उनले भनेका छन् कि पश्चिमी वायु प्रणालीले मनसुनी बहावलाई पूर्वी दिशाबाट पश्चिमतिर बढ्न दिइरहेको छैन। मनसुन कमजोर देखिएको र पश्चिम बंगाल वा असमसम्म पुगिसकेको मनसुनको कारण पश्चिमतर्फ विस्तार हुन सकिरहेको छैन।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार, “माथिल्लो वायुमण्डलमा सामान्यतया पश्चिमी वायु हुनु हुँदाहो, तर अहिले पूर्वबाट बहने मनसुनको वायुको उपस्थिति हुनुपर्ने र त्यहाँ उच्च चापीय प्रणाली विकास हुनु आवश्यक छ।” उनले थपिन् कि सौर्य विकिरण जमिनमा ठक्कर खाएपछि फर्कने ‘लङ वेभ’ विकिरणहरू प्रती वर्ग मिटर २०० वाटभन्दा कम हुनुपर्छ, जुन अहिले बढी देखिएका छन्।

भारतको मौसम विभागले भने विहारमा मनसुन भित्रिसकेको जनाएको छ। गत वर्ष २९ मेमा नेपालमा प्रवेश गरी अक्टोबर १० मा बाहिरिएको मनसुन नेपालमा रेकर्ड गरिएको सबैभन्दा लामो १३५ दिनको थियो। सहप्राध्यापक सिग्देलले यस्तो मौसमी क्रमलाई ‘केही अस्वाभाविक’ मान्छन्। उनले भनेका छन् कि मध्य जुनसम्म वायुमण्डलमा पश्चिमी वायु प्रणाली लामो समय सक्रिय देखिनुलाई यसको मुख्य कारण मान्न सकिन्छ।

नेपालमा आर्थिक विकासको सुनौलो चरण सुरु भएको छ

३१ जेठ, बेइजिङ। परराष्ट्रमन्त्री शिशिर खनालले पुराना र ठूलो दुष्प्रबंधनका काण्डहरूको छानबिन प्रक्रिया अगाडि बढाइएको बताएका छन्। चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा सरकारले भ्रष्टाचार निर्मूलकरणलाई प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सुशासनको चुनावी प्रतिज्ञा अनुसार कार्य भइरहेकामा तत्परता देखाएका छन्।

‘हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भनी प्रतिबद्धता जनाएका थियौं। अहिले हाम्रो सरकार गठन भएपछि एउटा कार्यदल गठन भएको छ, जसले २०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा छानबिन प्रक्रिया अघि बढाइरहेको छ,’ मन्त्री खनालले जानकारी दिए। लामो समयदेखि शासन गर्नेहरूले देशलाई उचित प्रशासन नदिएको निष्कर्षसहित आफूहरू सरकारमा पुगेको बताउँदै उनले सार्वजनिक सेवा प्रवाहलाई झन्झट रहित बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको पनि जानकारी गराए।

परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको गुनासो सुन्न र समस्याको छिटो समाधान गर्न परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको प्रवाह गराए। उनले भने, ‘विपन्नता वा अन्य समस्या विदेशमा परेमा उक्त एपमार्फत दर्ता गराउँदा दूतावासहरूसँग तुरुन्त समन्वय गरी समाधानको प्रकृया सुरु हुन्छ। हामी परिणाममुखी कार्यतर्फ उत्साहित छौँ र चाँडै नै जनताले सहज रूपमा अनुभूति गर्ने परिणाम दिनेछौँ।’

परराष्ट्रमन्त्री खनालले चुनावी प्रतिज्ञा र सुशासन संकल्पबारे पनि चर्चा गर्दै भने, ‘हामी सरकारमा आएपछि मुख्य दुई चुनावी प्रतिज्ञामा केन्द्रित छौँ। पहिलो- सुशासन। लामो समयदेखि शासन गर्नेहरूले देशलाई उचित शासन दिन सकेनन् भन्ने हाम्रो निष्कर्ष थियो। दोस्रो, सार्वजनिक सेवा प्रवाह। नेपाल सरकारले दिने सेवा नागरिकले सहज र झन्झटमुक्त पाउनुपर्छ। यसका लागि हामीले डिजिटाइजेसन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छौँ।’

अहमद डियालोको निर्णायक गोलमा आइभरी कोस्टको जित

अहमद डियालोको निर्णायक गोलका कारण आइभरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा इक्वेडरलाई १-० ले हराएको छ। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डियालोले विलफ्रेड सिंगोको पासमा ९०औं मिनेटमा गोल गरे। यो जितपछि समूह ‘इ’ मा आइभरी कोस्टले महत्वपूर्ण ३ अंक जोडेको छ भने जर्मनी गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ।

१ असार, काठमाडौं। अहमद डियालोको अन्तिम मिनेटमा गरेको गोलकै कारण आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ। फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरेका थिए। उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन्।

त्यसअघि पनि दुवै टोलीले गोल गर्ने अवसरहरू पाएका थिए, तर सफल फिनिशिङ गर्न सकेनन्। अन्तिम समयमा गरेको गोलले आइभरी कोस्टले समूह ‘इ’ मा महत्वपूर्ण ३ अंक जोडेको छ। यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। जर्मनी र आइभरी कोस्टको समान ३ अंक भए तापनि गोल अन्तरमा जर्मनी अग्रस्थानमा छ। इक्वेडर र कुरासाओ भने अहिलेसम्म अंकविहिन छन्। समूह ‘इ’ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ।

अमेरिका र इरानबीच सहमतिपछि ‘होर्मुज जलमार्ग खुल्ने’ घोषणा

अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्ने सहमति भएको घोषणा गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिएका छन्। उनका अनुसार लेबननसहित सबै मोर्चामा जारी सैन्य कारबाही समाप्त गर्ने सहमति भएको हो। इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्। शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर हुनेछ।

सम्झौतामा समावेश विषयवस्तुहरू अझै स्पष्ट हुन बाँकी छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेपछि “तेलको आपूर्ति पुनः सुरु हुने” बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने समेत जनाएका छन्। युद्ध अन्त्यको सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानका उपविदेशमन्त्रीका अनुसार, सम्झौताका प्रारूपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको थियो।

उक्त प्रतिनिधिमण्डलका अनुसार करिब १४ देखि १५ घण्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारूप टुङ्गोमा पुगेको थियो। अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता हुने तय गरिएको छ। इरानी सञ्चार माध्यमहरूले जनाएका छन् कि अमेरिका द्वारा इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र समाप्त गरिने सहमति भएको छ। ट्रम्पले बताएका छन् कि होर्मुज जलमार्गमा “कहिल्यै कुनै शुल्क नलाग्ने गरी” इरानसँग सम्झौता गरिनेछ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गर्ने खाडी राष्ट्रहरूमा हमला गर्‍यो र विश्वका लागि महत्वपूर्ण तेल र प्राकृतिक ग्यास ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गर्‍यो। सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको छ। अमेरिका र इरानबीच गत अप्रिलमा दुई साताका लागि युद्धविराम भएको थियो। दुवै पक्षले त्यसलाई निरन्तरता दिएको भए पनि पछिल्लो समयमा छिटपुट आक्रमण भइरहेका थिए।

संगीतले कसरी विश्वकपको दोस्रो भाषा बन्यो?

क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपका लागि फिफाले १८ वटा गीत समेटिएको विशेष डबल एल्बम सार्वजनिक गरेको छ। सन् १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपमा होसे पेपिनो मिनिस्तेरीले गाएको उरुग्वाइओस काम्पिओनेसलाई विश्वकपको पहिलो गीत मानिन्छ। फिफाले सन् १९६२ को चिली विश्वकपदेखि एल् रक डेल मुन्डियल गीत प्रयोग गर्दै आधिकारिक रूपमा विश्वकप संगीतको यात्रा सुरु गरेको थियो। फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले एकपटक भनेका थिए, ‘संसारमा दुईवटा मात्र भाषाहरू छन्- फुटबल र संगीत।’ ब्लाटरको यो भनाइ फुटबल विश्वकपका समयमा अझ बढी सान्दर्भिक हुन्छ। हरेक विश्वकपको उत्सवमा संगीतले विभिन्न संस्कृति र देशका मानिसहरूलाई एउटै लयमा बाँध्छ। प्रतियोगिताले आफैलाई बढावा दिन, माहोल तताउन र एउटा वातावरण तयार पार्न संगीतलाई प्रयोग गर्छ। यसै कारण कतिपयले संगीतलाई विश्वकपको दोस्रो भाषा मान्ने गर्दछन्।

संगीतको यही प्रभावका कारण नै विश्वकपको उद्घाटन समारोहमा आधिकारिक भाषणहरू छोटो हुन्छन्। मुख्य आकर्षण नै ‘थिम सङ’को प्रस्तुति हुन्छ। यस आधारमा विश्वभर फुटबल संस्कृति र मानवीय मूल्यहरू फैलाउने एक प्रमुख माध्यम संगीत बनेको छ। अर्कोतिर, संगीत खेलको पूरक पनि हो। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकपको आधिकारिक गीत ‘वाका वाका’ (दिस टाइम फर अफ्रिका) सम्झौं। रिलिज भएदेखि १६ वर्षमा कोलम्बियन पप स्टार शाकिराको यो गीत युट्युबमा मात्र ४ अर्ब ५० करोड पटकभन्दा बढी स्ट्रिम भइसकेको छ। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गरेकाले यी तीन देशका संस्कृति र कलाकारहरूलाई बढी प्राथमिकता दिइएको छ।

विश्वकपको सांगीतिक संस्करण इतिहासकै सबैभन्दा ठूलो र विशेष छ। यस वर्ष फिफाले विभिन्न विधाका संगीतहरू मिसाएर १८ वटा गीतहरू भएको विशेष डबल एल्बम निकालेको छ। एल्बममा धेरै देशका चर्चित कलाकारहरू सामेल छन्। जस्तै: नाइजेरियाका बर्न बोयसँग मिलेर शाकिराले ‘दाइ दाइ’ गीत गाएकी छिन्। फिफा एन्थमका लागि शाकिराको यो दोस्रो सहकार्य हो। अमेरिकी जेली रोल र मेक्सिकोका कारिन लियोनको ‘लाइटर’, क्यानडाकी जेसी रेयेज र प्यालेस्टाइनी गायिका एलियानाको ‘इलुमिनेट’, अमेरिकी र्‍यापर फ्युचर र दक्षिण अफ्रिकी गायिका टायलाको ‘गेम टाइम’, विश्वव्यापी एन्थम रोबी विल्याम्स र निकोल शेर्जिङ्गरको ‘डिजायर’ आदि छन्।

फरक-फरक देश र शहरमा खेल हुनुका कारण पनि हुन सक्छ, यस वर्ष फिफाले संगीतमा विविधता ल्याएको छ। शुरुवात कालमा प्राय एकजना गायकले एकै भाषामा मात्र गीत गाउने गर्थे भने अहिले विभिन्न देश र संस्कृतिका फरक-फरक कलाकारहरू प्रस्तुत हुन्छन्।

अमेरिका–इरानबीच शान्ति सम्झौतामा सहमति, आगामी शुक्रवार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने र नाकाबन्दी हटाउने शान्ति सम्झौतामा सहमति भएको छ, जसको हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा हुनेछ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रिय सुरक्षा परिषद्ले सम्झौतामा सहमति जनाएका छन्। सम्झौतापछि लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य हुने, नाकाबन्दी हट्ने र स्ट्रेट अफ होर्मुजबाट तेल ढुवानी सुरू हुनेछ।

अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो जानकारी दिएका छन्। उनले भने, “गहन तथा निरन्तर वार्तापछि हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी छौं।”

सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ तारिख शुक्रवार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ। शरीफले यस मध्यस्थता प्रयासमा सहयोग पुर्याई सम्झौता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कतार, साउदी अरब र टर्कीका नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन्।

सम्झौतापछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट पुन: निर्वाध तेल ढुवानी सुरु हुने र इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ। गत फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपश्चिम क्षेत्र तनावग्रस्त भएको थियो।