विश्वकप हेर्न आएका दर्शकहरूले अमेरिकन प्रहरीले गरेको फुटबल कौशल प्रदर्शन हेरे। संयुक्त राज्य अमेरिकाको बस्टनमा एक प्रहरी अधिकारीले विश्वकप हेर्न भेला भएका स्कटल्यान्डका समर्थकहरूलाई आफ्नो उत्कृष्ट फुटबल कौशल प्रदर्शन गरेर मन्त्रमुग्ध बनाएका छन्।
बस्टन प्रहरीले शनिबार (१३ जून) सार्वजनिक गरेको भिडियोमा, उक्त अधिकारीले ‘किपि-अपि’ अर्थात् खुट्टाले फुटबललाई नछोल्दै लगातार नचाउने कौशल देखाएका थिए।
२ असार, धनकुटा । धनकुटा नगरपालिकाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा धामसम्म फैलिएको सडकको कालोपत्रे कार्य सुरु भएको छ। २०५७ सालमा जनश्रमदानबाट खनेर निर्माण गरिएको यो सडक अहिले विश्व बैंकको करिब ३६ करोड रुपैयाँको सहयोगमा कालोपत्रे भइरहेको छ। सरकारी बजेट र प्राविधिक स्रोत सीमित भएको समयमा गाउँलेहरूले ९६ दिनसम्म जनश्रमदान गरेर सडकको ट्रयाक खोलेका थिए। धनकुटा नगरपालिका वडा नं. १ र २ मा पर्ने यो सडक सुरुमा भीरगाउँका स्थानीयलाई हिले बजारमा पैदल आउ–जाउ गर्न सजिलो बनाउन बनाइएको थियो। तर समयसँगै यो सडक रिङरोड अवधारणासँग जोडिएको छ र अहिले धनकुटा नगरपालिकाको विकासको मेरुदण्ड बन्न पुगेको छ।
हाल विश्व बैंकको सहयोगमा सुरु भएको परियोजनाअन्तर्गत करिब ७.२ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ। यसमध्ये ३.३ किलोमिटरमा ढलान भइसकेको छ भने बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्रेको काम जारी छ। धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार मौसमले साथ दिए यही असार महिनाभित्रै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ। सडक स्तरोन्नति हुँदा मधुगंगा धामसम्म धार्मिक पर्यटकको पहुँच सहज हुने र स्थानीय होटल, साना व्यवसाय र सेवामूलक गतिविधिहरूमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
रिङरोड अवधारणा पूर्ण हुन अझै बाँकी छ। माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपनि तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडकको स्तरोन्नति नहुदाँ रिङरोड अवधारणा पूर्ण हुन सकेको छैन। बजेट अभावका कारण काम अघि बढ्न नसकेको धनकुटा नगरपालिकाले जनाएको छ। हाल ट्रयाक खोल्ने र संरचनागत तयारी मात्र भएको छ। विश्व बैंकलाई प्रस्ताव पेश गरिए पनि स्वीकृति पाउन बाँकी रहेको गौतमले जानकारी दिए। माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपछि हिले बजारबाट भिरगाउँ र मधुगंगा धामसम्मको यात्रा सुगम भएको छ। त्यसैगरी तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडकको स्तरोन्नति वा कालोपत्रे भएमा धनकुटा बजार, भिरगाउँ र मधुगंगा धाम सजिलै पुगिनेछ र धनकुटा नगरपालिकाको रिङरोड अवधारणा पूर्ण हुनेछ।
काठमाडौं । फ्रान्सको एभियान शहरमा बुधबार आयोजना हुन लागेको ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा ठूलो प्रदर्शन भएको छ। ‘फासीवाद र साम्राज्यवाद’को प्रतिरोध गर्ने उद्देश्यले विभिन्न समूह र संगठनहरू आवद्ध ‘नो जी–७ गठबन्धन’ले आइतबार दिउँसो प्रदर्शनको नेतृत्व गरेको हो। प्रदर्शनकारीहरू जेनेभा ताल किनारको एउटा पार्कमा भेला भएर शहरको तोकिएको मार्ग हुँदै बिस्तारै अघि बढिरहेका थिए। तालमा एउटा सेतो डुङ्गा तैरिरहेको थियो, जसको पालमा ‘नो जी–७’ लेखिएको थियो। प्रदर्शनकारीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ लगायतका नारा लेखिएका विभिन्न प्लेकार्डहरू बोकेको देखियो।
प्रारम्भमा प्रदर्शन ठूलो मात्रामा शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढ्यो भनेपनि पछि केही विस्फोटका आवाज सुनिए। कालो धुवाँ उडिरहेको पनि देखियो। यसक्रममा एउटा टेस्ला कारमा आगो लगाइएको समेत देखियो। जेनेभा क्यान्टनल प्रहरीले प्रदर्शन क्षेत्र नजिकैबाट चक्कु, बञ्चरो, ग्यासका बट्टा (क्यानिस्टर) र पटाका लगायतका वस्तुहरू बरामद गरेको जानकारी दिएको छ। अधिकारीहरूका अनुसार यस प्रदर्शनले जेनेभाको सार्वजनिक यातायात सेवामा अवरोध पुर्याएको थियो। जसका कारण दिउँसोदेखि केही ट्रलीबस सेवा निलम्बित गरिएका थिए भने ट्राम नेटवर्क र केही बस रुटहरू परिमार्जन गरिएको थियो।
फ्रान्सले हालको अस्थिर अन्तर्राष्ट्रिय वातावरणबारे छलफल गर्न बुधबार जी–७ बैठक आह्वान गरेको बताएको छ। यस सम्मेलनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युरोपेली संघका नेताहरु सहभागी हुँदैछन्। सन् २००३ मा जेनेभाबाट ५० किलोमिटरभन्दा कम दुरीमा रहेको फ्रान्सेली सहर एभियानमा पहिलो पटक जी–७ शिखर सम्मेलन आयोजना हुँदा जेनेभामा ठूला दङ्गाहरू भड्किएका थिए। यस वर्षको शिखर सम्मेलन अगाडि स्विस अधिकारीहरूले करिव ४ हजार सैन्य बल परिचालन गर्नुका साथै फ्रान्ससँगका आफ्ना ३५ वटा सीमा नाकाहरू मध्ये अधिकांश बन्द गर्ने घोषणा गरेका छन्।
२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामा ५० हजारबाट ५० लाख पुगेका छन्। सन् २०१० का विश्व विजेता स्पेनसँग बराबरी गर्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेका थिए। खेलभरि स्पेनले निरन्तर आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए। केप भर्डे जस्तो सानो अफ्रिकी राष्ट्रका लागि स्पेनसँग बराबरीको नतिजा ऐतिहासिक उपलब्धि मानिन्छ। उक्त खेलमा भोजिन्हा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए। म्यान अफ द म्याच बन्ने क्रममा उनले भने, ‘यो अवार्ड मेरा सबै सहकर्मी खेलाडीहरूका लागि हो। म निरन्तर मेहनत गर्दै जानेछु।’ उत्कृष्ट प्रदर्शनका कारण उनी फुटबल प्रेमीहरूबाट व्यापक समर्थन र प्रशंसा पाएका छन्। खेलपछि उनको इन्स्टाग्राम फलोअर्स झनै बढेको छ। खेलअघि भोजिन्हाको इन्स्टाग्राममा ५० हजारभन्दा कम फलोअर्स थिए, तर समाचार तयार गर्दा उनी ५० लाख फलोअर्ससम्म पुगेका छन्।
२ असार, म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै रहेको जलजला गाउँपालिका-८ लुप्राङमा अंगुरखेतीको परीक्षण सफल भएको छ। समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अंगुरखेतीको परीक्षण गरेका छन्। ‘चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अंगुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्’, उनले भनिन्, ‘गत बर्ष प्रतिकिलो ४५० देखि ५०० रुपैयाँ दरले ३५ हजार रुपैयाँ मूल्य बराबरको अंगुर घरबाटै बेच्न सफल भयौं। यसपाली दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ।’
नेपालमा सामान्यतया जात अनुसार ५०० देखि १५०० मिटर उचाइ र १५ देखि ३५ डिग्री सेन्टिग्रेड तापक्रम भएको स्थान अंगुर खेतीका लागि उपयुक्त मानिन्छ। यसका लागि दिनभर राम्रो घाम लाग्ने स्थान आवश्यक हुन्छ। अंगुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरूसँग सल्लाह गरी अंगुरखेती विस्तार गर्ने योजना रहेको उनले बताइन्।
दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बस्नुभएका रेग्मीले घर फर्केपछि अंगुर, गोलभेडा, सुन्तला खेतीसहित बाख्रापालन सुरु गरेकी थिइन्। ‘कक्षा पाँचसम्म गाउँकै विद्यालयमा पढेका दुई छोराहरूलाई स्कुल टाढा भएको कारण पाँच वर्ष बागलुङमा डेरा खोजेर कक्षा १० सम्म पढाएँ’, ताराकुमारीले भनिन्, ‘कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई छोराहरू काठमाडौं गएपछि घर फर्के र धानखेती हुने खेतमा सुन्तलाका बिरुवा रोप्दा आफन्त र छिमेकीहरूले असफल हुने काम नगर्न सुझाव दिए।’
स्वदेशमै उद्यमशील भएर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अगाडि बढ्न प्रेरित भएकी ताराकुमारीलाई स्थानीय विद्यालयका शिक्षक र श्रीमानले साँझ, बिहान र बिदा समयमा बगैँचामा काममा सहयोग गरिरहनु भएको छ। उनको बगैँचामा रसातदेखि सय ५० सुन्तला र कागतीका बोटहरू रहेका छन्। गत वर्ष सुन्तला बिक्रीबाट रु चार लाख ८० हजार आर्जन भएको उनले बताइन्। प्लास्टिक टनेलभित्र अंगुरका साथै टमाटरखेती पनि गर्दै आएकी ताराकुमारीले हुर्किरहेको सुन्तला बगैँचाभित्र सिमीखेती पनि गर्नुभएको छ। अंगुर गाउँमै बिक्री हुन्छ भने सुन्तला पोखरा र तरकारी कुश्मा क्षेत्रमा उपभोग गरिन्छ। कृषि फार्मबाट वार्षिक रु १० देखि १२ लाख बचत गर्ने उनको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरू अचम्मित भएका छन्। उनकै उदाहरणबाट धेरै लुप्राङवासीले धान, मकै, कोदो खेतीको विकल्पमा सुन्तलाखेती गर्न थालेका छन्।
उनीलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविधि, पूर्वाधार निर्माण, सीपमूलक तालिम, व्यावसायिक योजना तयारी, भ्रमण र प्रदर्शनीको व्यवस्था गरी सहयोग गरिएको बताइएको छ। नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिमा उत्पादन गरिएको उपज बजारसम्म पु¥याउन समस्या भएको र बाँदरको समस्या पनि मुख्य चुनौती बनेको कृषक ताराकुमारीले गुनासो गरिन्। यस वर्ष जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारीखेतीमा क्षति पुऱ्याएको कृषकहरूले गुनासो गरेका छन्।
२ असार, काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो। ‘रूटिन टेस्ट मिशन’ को क्रममा यो घटना घटेको बीबीसीले जनाएको छ। वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसअघि एयर बेसले दुर्घटनामा परेको जहाजबाट कुनै पनि व्यक्ति बच्ने सम्भावना नरहेको प्रारम्भिक संकेत दिएको थियो। कर्णेल हेजले मृतकका परिवारलाई सूचना दिइसकेको र २४ घण्टा भित्र मृतकको पहिचान सार्वजनिक गरिने जानकारी दिएका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा न्यूजिल्यान्ड र इरानबीच २–२ को बराबरीमा खेल सकिएको छ। २ असार, काठमाडौं। दुईपटक अग्रता लिएकै अवस्थामा ति अग्रता कायम राख्न नसक्दा न्यूजिल्यान्डले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा इरानसँग बराबरी खेल्न विवश भएको हो। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको यस खेलमा न्यूजिल्यान्ड र इरानले समान रूपमा २–२ गोल गर्दे खेल बराबरीमा समाप्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको र छिट्टै त्यसका विवरणहरू सार्वजनिक गरिने बताएका छन्। “यसमा हस्ताक्षर भएको घोषणा गर्दा मलाई अत्यन्त खुशी छ,” जी-सेभेन सम्मेलनको क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंसँगको वार्तामा उनले भने। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू विस्तारमा सार्वजनिक गर्न थालेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर जिनेवा नै भएको दिन होर्मुज जलमार्ग पुनः खुल्ने उनीहरूले बताएका छन्। यसै साता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि सुरु हुने जनाइएको छ। इरानमाथि लागेको प्रतिबन्ध र उसका सम्पत्तिहरू फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर हुने अमेरिकी अधिकारीहरूको उल्लेख छ।
अमेरिकी उपराष्ट्रपति जे डी भान्सले सोमबार अमेरिकी सञ्चार माध्यम सीएनएनसँग भने अनुसार इरानसँगको सम्झौताका प्रारूप “डेढ पृष्ठ लामो” छ। भान्सले आगामी दिनमा हुने वार्तामा थप विस्तृत विषयहरूमा छलफल हुने बताए। भान्सले एक वाक्यमा इरानले “क्षेत्रीय शान्ति र स्थिरताको लागि प्रतिबद्धता जनाएको छ” उल्लेख गरे। जसमा “आतंकवादी सङ्गठनहरूलाई” आर्थिक सहयोग रोक्ने विषय पनि समावेश रहेको उनको दाबी छ। “त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा हो कि इरानले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता गर्ने तयारीमा छ,” भान्सले बताए। अमेरिकी अधिकारीहरूको भनाइ अनुसार उक्त सम्झौतामा ट्रम्प, भान्स र इरानका सभामुख मोहम्मद बागेर गालिबाफले विद्युतीय हस्ताक्षर गरिसकेका छन्। उनीहरूले बताए अनुसार मङ्गलवारसम्म सम्झौताका थप विवरणहरू सार्वजनिक गरिनेछन्। ट्रम्पले शुक्रबारको हस्ताक्षर समारोहपछि सम्झौताको पूर्ण विवरण “छिट्टै” सार्वजनिक हुने बताएका छन्। “त्यस दस्तावेज अत्यन्त शक्तिशाली छ र म त्यसलाई सकेसम्म छिटो सार्वजनिक गर्न चाहन्छु,” उनले भने।
अहिलेसम्मको सहमतिअनुसार दुवै पक्षले थप ६० दिनका लागि युद्धविराम कायम गर्ने छन्। त्यस अवधिमा बाँकी विषयहरू टुङ्गो लगाइनेछ। अमेरिका र इरानी बीच सहमति भएतापनि लेबननमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाह समूहबीच द्वन्द्व अझै जारी छ। गतमा दुई पक्षबीच सहमति घोषणाकालागि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले “तत्कालबाट लागू हुने गरी लेबननसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने” बताएका थिए। अमेरिका र इरान बिचको वार्तामा पाकिस्तानले मध्यस्थता गर्दै आएको छ। अमेरिकी अधिकारीहरूले पनि युद्धविरामको ढाँचामा लेबनन समावेश गरिएको बताएका छन्। तर, लेबननबाट इजरायली सेनाको फिर्ती सर्त त्यसमै छैन। इजरायललाई आत्मरक्षा गर्ने अधिकार रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। सोमबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि आवश्यक परे लेबनन, सिरिया र गाजाको प्रमुख सुरक्षा क्षेत्रहरूमा इजरायली सेना रहने बताएका थिए। अमेरिकी राष्ट्रपतिले आइतबार इरानमाथि लगाइएको समुद्री नाकाबन्दी हटाउन निर्देशन दिएको र सम्झौतामा हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग पनि खुल्ने बताएका थिए। सामाजिक सञ्जालमा उनले सोमबार तेल बोकेको जहाजहरू होर्मुजतर्फ प्रस्थान गरेको उल्लेख गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम गार्रिबआबादीले इरानी सरकारी टेलिभिजनसँगको फोन वार्तामा १४-१५ घण्टा लामो छलफलपछि सम्झौताको प्रारूप टुङ्गो लागेको बताएका छन्। उनले यो इरानको जीत भएको पनि बताएका छन्।
२ असार, काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले कृषि र पर्यटनसँगै पूर्वाधार विकासमा विशेष जोड दिँदै बजेट ल्याएको बताएका छन्। बजेटमा कर्मचारीहरूको तलब तथा भत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा समेत गरेका छन्।
सत्तारुढ दलहरूबीचको विवादका कारण बजेट मध्यरातमै प्रस्तुत गरिएको थियो। यसमा उनले मन्त्रालयगत विवरण समेत सार्वजनिक गरेनन्। बजेट खर्च व्यहोर्ने स्रोतका रूपमा उनले आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटको अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको उल्लेख गरेका छन्।
त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट ३८ करोड ८० लाख, र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको मन्त्रीको भनाइ छ।
विश्वकप फुटबल चलिरहेकामा समर्थकहरूले खेलका साथै उज्यालो, संगीत, रंग र गीतहरूको भव्यता अनुभव गरी मनोरञ्जन पा¥िरहेका छन्। आकर्षक धुन र प्रभावशाली शब्दका कारण विश्वकप गीतहरू दशकौँदेखि खेल सुरु हुनुअघि नै प्रतियोगिताका केन्द्रबिन्दु बन्न सफल भएका छन्। पछिल्ला विश्वकपका आधिकारिक गीतहरू पिटबुल र शकीराजस्ता चर्चित कलाकारहरूले गाएका छन्।
कालजयी विश्वकप गीतहरू कसरी बनाइन्छन्? दशकौँअघि उत्तरी आयरल्यान्ड र रिपब्लिक अफ आयरल्यान्डले विश्वकपका लागि छनोट हुँदा बनाइएका ती गीतहरू आजसम्म पनि धेरैले उत्साहपूर्वक सम्झने गर्दछन्। यी ‘कल्ट क्लासिक’ गीतहरू त्यस समयमा नजन्मिएकाहरूको पनि जिब्रोमा अझै टाँसिएका छन्। फुटबल प्रेमीहरूले पुराना सम्झनाहरू ताजा पार्ने र सकारात्मक भावनाहरू प्रवाह गर्ने ती गीतहरू सम्झिने गर्दछन्। यस्तै ‘वर्ल्ड इन मोशन’ (इङ्ग्ल्यान्ड) र ‘पुट’अम अन्डर प्रेशर’ (रिपब्लिक अफ आयरल्यान्ड) हुन्, जुन सन् १९९० को विश्वकप अघि ‘ओले, ओले, ओले’ कोरस सहित सार्वजनिक भएका थिए।
डेभ्लिन प्रविधिमा आएको नवीनताका कारण ‘वर्ल्ड इन मोशन’ र ‘पुट’अम अन्डर प्रेशर’ ले सन् १९९० को विश्वकपलाई इतिहासकै रूपान्तरणकारी प्रतियोगिता बनाएको बताइन्छ। उनले भने, “मलाई लाग्छ त्यहाँ चनाखोपन र वास्तविक खेलमा जोड दिने प्रयास गरियो। मलाई लाग्छ त्यो उत्कर्ष बिन्दु थियो। त्यसपछि ती दुई गीतलाई कसैले पनि पछि पार्न सकेको छैन।” इङ्ग्ल्यान्डका समर्थकहरू अहिले पनि ‘वर्ल्ड इन मोशन’ गीत सामूहिक रूपमा गाएर आनन्द लिनछन्।
यस वर्ष फ्यानहरूले के गाइरहेका छन्? तीन दशकपछि स्कटल्यान्डले विश्वकपमा भाग लिइरहेको छ। सामाजिक सञ्जालमा लोकप्रिय भएका थुप्रै अनाधिकारिक गीतहरू मध्ये हास्य कलाकार रोस्को मेक्लेलन्डले गाएको गीत स्कटल्यान्डको टोलीका समर्थकहरू (टार्टन आर्मी) बीच अत्यन्त मनपराइएको छ। इङ्ग्ल्यान्डका समर्थकहरूले यसपाली पनि “इट्स कमिङ होम” गीत गाइरहेका छन्, जुन राष्ट्रिय टोलीको सांस्कृतिक पहिचान बनेको छ।
समाचार अनुसार, पछिल्लो १० वर्षमा अर्घाखाँचीको जनसंख्या २० हजारभन्दा बढीले घटेर १ लाख ७७ हजार ८६ पुगेको छ। तीव्र बसाइँसराइका कारण अर्घाखाँचीमा पछिल्लो एक दशकमा ७ हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ। पछिल्लो पाँच वर्षमा ५ हजार ८२ घरपरिवारका झन्डै २५ हजार मानिसले अर्घाखाँची छोडेर अन्य स्थानमा बसाइँ सरेका छन्। २९ जेठ, काठमाडौं।
पहिले गाउँमा मोटरबाटो थिएन। बुटवलसम्म पुगेर ढाकरमा नुन–तेल ल्याउनुपर्थ्यो। घर–घरमा खानेपानीका धारा थिएनन्। पंढेराको पानी बोकेर पिउनुपर्थ्यो। तर अहिले गाउँमा पक्की बाटो पुगेको छ। घर–घर खानेपानीको सुविधा छ। बिजुली र इन्टरनेटको सुविधा समेत उपलब्ध छ। यति धेरै विकास र सुविधा हुँदा पनि अर्घाखाँचीका गाउँहरू दिनप्रतिदिन सुनसान हुँदै गइरहेका छन्।
शीतगंगा नगरपालिका–११ छापमा केही वर्षअघि ४५ घरपरिवार बसोबास गर्दथे। अहिले त्यहाँ सबै घर खाली छन्। सन्धिखर्क नगरपालिका–९ गौचौरमा पनि गाउँ खाली भएर गएको छ। अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार, गाउँबाट बसाइँसराइ बढेपछि विद्यार्थी संख्या घटेको छ। ५५० विद्यार्थी पढ्ने ती माविमा अहिले मात्र २०० विद्यार्थी बाँकी छन्।
अर्घाखाँचीमा धार्मिक र प्राकृतिक पर्यटनको ठूलो सम्भावना रहेको छ। नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार, पर्यटनसँगै कृषि–आधारित उद्यम र अर्गानिक उत्पादनले युवालाई गाउँमै रोकेको राख्न सक्नेछन्। अर्घाखाँची अहिले परिवर्तनको महत्वपूर्ण दोबाटोमा छ। बसाइँसराइको मुख्य कारण रोजगारी अभाव, कृषिको जोखिम र सामाजिक सेवाको गुणस्तर कमजोर हुनु रहेको छ।
नयाँ सरकार गठनपछि गत हप्ता पहिलो पटक उच्च तहको बैठक ब्रिटेनसँग सम्पन्न भएपछि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का प्रतिनिधिहरू उत्साहित भएका छन्। बैठकमा गोर्खा भूतपूर्व सैनिकहरूमाथि भइरहेको भेदभावका विषयमा छलफल भएको थियो र यस मामिलामा निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। तर गेसोका अनुसार समान पेन्सनको मागमा ब्रिटेन सरकारले अहिलेसम्म कुनै ठोस जवाफ दिएका छैनन्। नेपाल सरकारले उक्त बैठकमा न्याय, निष्पक्षता र सम्मानका आधारमा मुद्दा शीघ्र समाधान गर्न अनुरोध गरेको बताइएको छ। ब्रिटिश रक्षा मन्त्रालयले पनि नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूको सहकार्यमा यस विषयमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
ब्रिटिश गोर्खा भर्तीको इतिहास दुई सय वर्षभन्दा पुरानो छ र गोर्खा समुदायले असमानता विरुद्ध तीन दशकदेखि आन्दोलित हुँदै आएका छन्। उनीहरूको माग सम्बोधनका लागि अप्रिल २०२२ मा उच्चस्तरीय वार्ता समिति गठन भइसकेको छ र यसले मन्त्रीस्तरीय तथा कार्यदलस्तरका विभिन्न चरणहरूमा बैठक गरिसकेको छ। गत हप्ता जेठ २५ मा भएको भर्चुअल बैठकमा नेपालतर्फ परराष्ट्र मन्त्री शिशिर खनाल र ब्रिटेनतर्फ रक्षामन्त्री जोन हिली उपस्थित थिए। बैठकपछि केही दिन नरमाएपछि हिलीले पदबाट राजीनामा दिएका छन् भने स्यान्डहर-जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेजमा पदस्थापित भएकी छन्।
बैठकपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै परराष्ट्र मन्त्री खनालले गोर्खाका लामो समयदेखि रहेका समानुपातिक पेन्सन लगायतका मागहरूमा केन्द्रित छलफल भएको जानकारी दिए। “नेपाल-यूके सम्बन्धमा गोर्खाहरूको ऐतिहासिक र महत्वपूर्ण योगदानलाई मध्यनजर गर्दै मैले बेलायत सरकारसँग न्याय, निष्पक्षता तथा सम्मानको आधारमा यिनै मुद्दाहरू यथाशीघ्र पारस्परिक सहमतिमा समाधान गर्न पहल गर्न आग्रह गरेको छु,” उनले भने। परराष्ट्र मन्त्रीको स्पष्ट धारणा प्रति गोर्खा समुदायका प्रतिनिधिहरू सकारात्मक प्रतिक्रिया देखाएका छन्।
“पहिलोपटक रक्षा मन्त्री र परराष्ट्र मन्त्रीका तहमा यस्तो बैठक भयो जहाँ नेपाली परराष्ट्र मन्त्रीले असमानता हटाउन जोड दिए, हामीले त्यसलाई राम्रो संकेतका रुपमा लिएका छौं,” गेसोका उपाध्यक्ष धर्म तामाङले सुनाए। तर गोर्खा समुदायका केही अन्य व्यक्तिहरू वार्ता प्रक्रियामा उत्साहवर्द्धक प्रतिक्रिया दिदै नगरेको जनाएका छन्। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)का अध्यक्ष पदमसुन्दर लिम्बू भने नेपाल सर्वोच्च अदालतको निर्देशन पालना हुनुपर्नेमा जोड दिन्छन्। “गोर्खा भर्तीका सबै विषयहरूलाई मित्र राष्ट्रहरूसँगको सम्बन्धमा कुनै असर नपर्ने गरी सम्मानजनक बनाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ,” उनले भने।
धर्म तामाङले बैठकमा मुद्दा पुरानै बुँदामा अड्किएको बताए। ब्रिटिश सेनाबाट सन् १९९७ अघि अवकाश पाएका पूर्व गोर्खा सैनिकहरूले समान पेन्सनको माग गर्दै आएका छन् र भेदभाव भएको भन्दै विरोध गरिरहेका छन्। यसअघि भएका बैठकहरूमा बराबरीको पेन्सन माग राखेपछि ब्रिटिश पक्षले यो असम्भव भन्दै वैकल्पिक समाधानहरू सुझाएका थिए। तामाङका अनुसार उनीहरूले ११ बुँदामा सजिलो समाधान प्रस्ताव गरेका थिए। तर गत साताको बैठकमा ब्रिटिश पक्षले ती ११ बुँदामा कुनै टिप्पणी नगरेको छ। मिनिस्टर फर भेतरान्स एन्ड पिपल लुइज स्यान्डहर-जोन्सले भने केही प्रगति भए पनि अहिलेसम्म जवाफ दिन नसकेको बताएका छन्। गोर्खाहरूको समानताको मागलाई ब्रिटिश पक्षले विषयान्तर गराउने प्रयास गरेको आरोप लगाइएको छ।
पछिल्लो वार्ता सम्बन्धमा यूकेको रक्षा मन्त्रालयले बीबीसी न्यूजलाई पठाएको लिखित जवाफमा सामाजिक संवाद र प्रगतिको प्रतिबद्धता जनाएको छ। “बैठकले गोर्खा भूतपूर्व सैनिक समुदायबाट प्रत्यक्ष सुनुवाइको सुअवसर प्रदान गर्यो। हामी उनीहरूको भावनालाई बुझेका छौं र यो महत्वपूर्ण मामिलामा निरन्तर प्रयासरत छौं,” रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्। “हामी आगामी दिनहरूमा नेपाल सरकार र गोर्खा समुदायसँग सहकार्य जारी राख्नेछौं।”
सिक्किमको पृष्ठभूमिमा भारत र दक्षिण कोरियाको सह-निर्माणमा तयार भएको सेप अफ मोमो निर्देशक त्रिवेणी राईको पहिलो नेपाली कथानक चलचित्र हो। यस चलचित्रले दिल्लीबाट गाउँ फर्किएकी ३२ वर्षीया युवती विष्णुको संघर्षमार्फत महिलामाथि हुने आन्तरिकीकृत पितृसत्ता र व्यक्तिगत स्वतन्त्रताको द्वन्द्वलाई देखाएको छ। भनिन्छ – सिनेमा दृश्य र आवाजको संयोजन हो। दुईमध्ये कुनै एकमा चुक्यो भने कथानक जति बलियो भए पनि सिनेमा कमजोर हुन जान्छ। यो मानेमा त्रिवेणी राई निर्देशित सेप अफ मोमो धेरै हदसम्म अब्बल ठहरिन पुगेको छ।
यो नेपाली भाषामा बनेको, सिक्किमको हिमाली पृष्ठभूमिमा आधारित, भारत र दक्षिण कोरियाको सह-निर्माणमा तयार पारिएको निर्देशकको पहिलो कथानक सिनेमा हो। यसले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत आफ्नो उपस्थिति प्रशंसासहित जनाइसकेको छ। सिनेमामा विष्णु (गौमाया गुरुङ) को दृष्टिबाट कथा भनिएको छ। उनी दिल्लीको जीवन छोडेर भर्खरै आफ्नो हिमाली गाउँ फर्किने ३२ वर्षीया युवती हुन्। घरमा बिरामी हजुरआमा, आमा र गर्भवती बहिनी छन्। घरमा पुरुष छैनन्। पुरुष नभए पनि उनीहरूको घरमा पितृसत्ता कायम नै छ। यो संरचनागत त्रुटिका कारण पुरुष नहुँदा पनि महिलाहरूमा पितृसत्ता जीवित रहन्छ भनेर सन्देश दिन यो सिनेमा सफल छ।
सिनेमाको कथानकको संरचना सरल तर प्रभाव छाड्न सफल छ। यो कुनै ठूलो घटना वा आश्चर्यजनक मोडमा आधारित छैन। विष्णु घर फर्किएकी छिन्। यसपछि परिवारसँगको द्वन्द्व, गाउँको सामाजिक अपेक्षा र उनको आन्तरिक संघर्ष केन्द्रमा हुँदै सिनेमा अघि बढ्छ। दिल्लीको आधुनिक र स्वतन्त्र जीवनबाट आएकी उनी गाउँ फर्किएपछि आफूलाई ‘बाहिरी’ महसुस गर्छिन्। उनी शिक्षित, विशेषाधिकार प्राप्त र प्रगतिशील सोचकी छिन्। घर/गाउँमा उनी महिलाहरूको दैनिक संघर्ष, सहनशीलता र आन्तरिकीकृत पितृसत्तासँग ठोक्किन्छिन्।
यो सूक्ष्मताले सिनेमाले सतही नारीवादी कथा बन्न दिँदैन। मिसेल फुकोको शक्ति सिद्धान्तअनुसार पितृसत्ता फैलिएको छ- पुरुष नभए पनि महिलाहरूले यसलाई निरन्तरता दिइरहेका छन्। फिल्मले यो आन्तरिक संरचनालाई सुन्दर तरिकाले देखाउँछ। निर्देशक राईले आफ्नै व्यक्तिगत अनुभवलाई आधार बनाएर यो कथा बुनेकी हुन्। यहाँसम्म कि मुख्य पात्रको नाम समेत उनका स्वर्गीय बुबाबाट राखिएको हो।
समग्रमा, सेप अफ मोमो साधारण कथामार्फत ठूला प्रश्नहरू उठाउने सिनेमा हो। यो सिनेमालाई एउटा भारतीय अथवा पराइ मान्नु पक्षपात सिवाय केही हुँदैन। अन्त्यमा, स्वतन्त्रता के हो? परिवार छोड्नु नै मुक्ति हो? परम्परा बन्धन मात्र हो कि आराम पनि? आंशिक नै सही, तपाईंले सायद उत्तर डेढ घण्टा लामो यो सिनेमामा पाउनुहुनेछ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको ८०औं मिनेटमा उरुग्वेले बराबरी गोल फर्काएको छ। २ असार, काठमाडौं। फिफा विश्वकप–२०२६ मा उरुग्वेले साउदी अरेबियाविरुद्ध बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरे।
त्यसअघि अब्दुल्लाह अलाम्रीले ४१औं मिनेटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाएका थिए।
सरकारले रावल आयोगको प्रतिवेदन अनुसार अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको हक हस्तान्तरण रोक्न रोक्का प्रक्रिया सुरु गरेको छ। भूमि व्यवस्था मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई जग्गा रोक्का गर्न पत्राचार गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनलाई प्रभावकारी बनाउन ८ सदस्यीय समिति समेत गठन गरिएको छ।
१ असार, काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गाको छानबिन र संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रियालाई अघि बढाएको छ। प्रतिवेदनमा उल्लिखित अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि माध्यमबाट हक हस्तान्तरण हुन नदिन रोक्का प्रक्रिया सुरु गरिएको छ।
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरी आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै तरिकाले हक हस्तान्तरण हुन नदिन रोक्का गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गाको छानबिन र संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ र कार्यान्वयनलाई प्रभावकारी बनाउन आठ सदस्यीय समिति पनि गठन गरिएको छ।