आगामी सन् २०२६ को जुन–जुलाई महिनामा अमेरिकामा फिफा विश्वकप र मेजर लिग क्रिकेट एकै समयमा आयोजना हुने भएका छन्। दुबै प्रतियोगिताको फाइनल खेल सन् २०२६ जुलाई १९ मा एकै दिन आयोजना हुने करार भएको छ। विश्वकपका खेल क्यालिफोर्नियाको लेभाइज रंगशालामा र क्रिकेटका खेलहरू ओकल्याण्ड कोलिसियममा हुनेछ। १२ जेठ, काठमाडौं।
आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकैसाथ सञ्चालन हुने भएका छन्। फिफा विश्वकप २०२६ चलिरहेका बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने हुँदा उत्तर अमेरिकामा खेलकुदको वातावरण थप रोमाञ्चक बन्नेछ। मेजर लिग क्रिकेटको चौथो संस्करण जुन १९ मा सुरु भएर जुलाई १९ सम्म चल्नेछ। उक्त अवधिमा फिफा विश्वकप पनि जारी रहने भएकाले दुवै प्रतियोगिताबीच दर्शक, प्रायोजक र रंगशालाको प्रयोगमा प्रतिस्पर्धा देखिएको छ।
फिफा विश्वकप चार वर्षमा एकपटक आयोजित हुने र विश्व फुटबलको कुम्भ मेलाका रूपमा विचार गरिने भएकाले माहोल मुख्यतः फुटबलमै केन्द्रित हुने छ। यसको सबैभन्दा रोचक पक्ष जुलाई १९ मा देखापर्नेछ, जब फिफा विश्वकपको फाइनल र मेजर लिग क्रिकेटको फाइनल एकै दिन हुनेछ। मेजर लिग क्रिकेटको तालिकामा कुनै परिवर्तन नआएमा सोही दिन क्रिकेटको पनि फाइनल खेल हुने तय छ। दुवै प्रतियोगिता अमेरिकाको साँझको समयमा प्रसारण हुने भएकाले टेलिभिजन दर्शकहरूका लागि कडा प्रतिस्पर्धा हुनेछ।
साथै प्रायोजक कम्पनीहरूले आफ्नो लगानी दुई ठूला प्रतियोगितामा विभाजन गर्नुपर्ने अवस्था बनेको छ। आयोजकहरूले व्यवस्थापन सहज बनाउन खेलस्थलहरू फरक–फरक राखेका छन्। क्यालिफोर्नियाको सान्टा क्लारास्थित लेभाइज रंगशालामा विश्वकपका खेल हुनेछन् भने क्रिकेटका खेलहरू ओकल्याण्डस्थित ओकल्याण्ड–अलामेडा काउन्टी कोलिसियममा हुनेछन्। त्यहाँ मेजर लिग क्रिकेटका ११ खेल, प्लेअफ र फाइनलसमेत आयोजना गरिनेछ।
समाचार सारांश श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगीका आरोपी जिवी राई कहिले पक्राउ पर्छन् भनेर प्रतिनिधिसभामा प्रश्न उठाए। उनले प्रतिनिधिसभा बैठकमा बाँदर व्यवस्थापन, सुकुम्वासी समस्या समाधान र सहकारी पीडितको बचत फिर्ता गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद राईले सहकारीमा डुबेको पैसा बचतकर्ताले कहिले र कसरी फिर्ता पाउँछन् भनी किसानका समस्या तत्काल समाधान गर्न आग्रह गरे। १२ जेठ, काठमाडौं।
सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिवी राई कहिले पक्राउ पर्छन्? संसदमा यस्तो प्रश्न उठेको छ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यसबारे प्रश्न गरिरहेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकारले? सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सरकारले छ भन्ने अनुभूति गराउने गरी व्यवस्थापन कहिले हुन्छ? जिवी राई कहिले पक्राउ पर्छन्?’
सहकारीमा डुबेको पैसा बचतकर्ताले फिर्ता पाउनुपर्ने तर सरकारले तिर्ने विषय के हो भनेर समेत प्रश्न गरेका छन्। किसानका समस्या व्यवहारमै समाधान गर्न उनले आग्रह गरेका छन्। सडक आयोजनाको अवस्थाबारे पनि ध्यान दिन सुझाव दिएका छन्।
मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले ‘घुमौं मधेश, बुझौं प्रदेश’ अभियान अन्तर्गत गण्डकी प्रदेशको भ्रमण गरेका छन्। यो यात्रा जेठ ८ गतेदेखि शुरु भएर सोमबार सम्पन्न भएको हो। जेठ २८ देखि ३१ गतेसम्म मधेशमा आयोजना हुने ‘मधेश टुरिजम मार्ट’मा गण्डकीका व्यवसायीलाई निमन्त्रणा गर्ने उद्देश्यले यो यात्रा गरिएको हो। भ्रमण टोलीले बन्दीपुर, पोखरा र सौराहाका स्थानीय व्यवसायीहरूसँग मधेशका पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने विषयमा छलफल गरेको छ।
नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिएका छन् कि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको नेतृत्वमा ३५ जना व्यवसायीहरू गण्डकी यात्रामा सहभागी भएका थिए। यात्राको क्रममा गण्डकीका पर्यटन व्यवसायीहरूसँग सहकार्य गर्दै स्वदेशी र विदेशी पर्यटकहरूलाई मधेशका पर्यटकीय गन्तव्यसम्म लैजान सकिने सम्भावनाहरूमा पनि छलफल भएको महासंघका अध्यक्ष हिरा गौतमले बताए।
भ्रमण टोलीले बन्दीपुरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा लगायत स्थानीय व्यवसायीहरूसँग अन्तर्क्रिया गरेको थियो। पोखरामा पोखरा भ्रमण वर्ष २०२५/२६ का संयोजक गोपीबहादुर भट्टराई र सौराहामा क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाको नेतृत्वमा स्थानीय व्यवसायीहरूसँग अन्तर–प्रदेश पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल गरिएको थियो।
मधेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनका लागि आयोजना हुन लागेको मधेश टुरिजम मार्ट बाराको पर्सा राष्ट्रिय निकुञ्ज, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवतीलगायत स्थलहरूमा केन्द्रित रहने बताइएको छ। मार्टमा नेपालसहित भारतका विभिन्न शहरका होटल व्यवसायी, टुर्स अपरेटर र डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई सहभागि गराउने योजना छ। नेपाल पर्यटन बोर्डको आयोजनामा, नाट्टा मधेश प्रदेशको संयोजन तथा विभिन्न स्थानीय तह र संघसंस्थाको सहकार्यमा आयोजना हुन लागेको मधेश टुरिजम मार्टले मधेश प्रदेशको पर्यटकीय गन्तव्य प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने नाट्टा मधेशका अध्यक्ष मोहन शर्माले बताएका छन्।
सेमिफाइनल खेल्ने चार टोलीको निर्णय भइसके पनि समूह चरणका खेलहरू अझै बाँकी छन्। बाँकी टोलीहरूले वरियताको निर्धारण गर्न खेल्ने भएकाले सेमिफाइनल १४ जेठमा मात्रै हुनेछ, समर्थकहरू त्यहीको प्रतिक्षामा छन्। काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक नेपालले पूर्व विजेता इरानसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता कजाखस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा लगातार दुई जित हात पार्दै घरेलु टोली नेपाल एफआईभीबी विश्व वरियतामा ५४औं स्थानमा उक्लिएको छ। १२ जेठ, काठमाडौं। काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपमा समूह चरण सम्पन्न भएसँगै सेमिफाइनलको समिकरण पूर्ण भएको छ। सेन्ट्रल एसियाको ८ टोली समावेश यस प्रतियोगितामा समूह ‘ए’ बाट भारत समूह विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट इरान समूह विजेता र कजाखस्तान समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेका छन्।
मंगलबार सम्पन्न समूह चरणको खेलमा भारतले किर्गिस्तानलाई र इरानले कजाखस्तानलाई सोझा सेटमा हराएपछि सेमिफाइनल टुंगो लागेको हो। अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता कजाखस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘ए’ को उपविजेता घरेलु टोली नेपालले समूह ‘बी’ को विजेता इरानको सामना गर्नेछ। समूह ‘ए’ मा भारतले तीनै खेल जितेर ८ अंक जोड्यो। भारतले नेपालविरुद्धको खेल पाँच सेटसम्म गएपछि अंक बाँड्नुपरेको थियो। नेपाल दुई जित र एक हारसहित ७ अंकसहित दोस्रो स्थानमा रहयो।
समूह ‘बी’ मा भने इरानले कजाखस्तान, श्रीलंका र बंगलादेशलाई सबै ३-० को सेटमा पराजित गर्दै ९ अंकसहित शीर्ष स्थानमा रह्यो। कजाखस्तानले दुई जितबाट ६ अंक जोड्यो र दोस्रो भयो। श्रीलंका एक जित र दुई हारसहित ३ अंक प्राप्त गर्यो भने सबै खेल हारेको बंगलादेश भने अंकविहीन रहयो। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलको मौका पाउँदा तलका दुई टोलीले वरियताको आधारमा प्लेअफ खेल्नेछन्।
यी खेल सकिएपछि बिहीबार सेमिफाइनल खेल हुनेछ। पहिलो सेमिफाइनल भारत र कजाखस्तानबीच बिहीबार दिउँसो साढे २ बजे सुरु हुनेछ भने दोस्रो सेमिफाइनल इरान र नेपालबीच बिहीबार साँझ ५ बजे सुरु हुनेछ। इरान यस प्रतियोगिताको पूर्व विजेता पनि हो। सन् २०२४ मा काभा महिला च्यालेञ्ज कपको नामबाट काठमाडौंबाट सुरु भएको यो प्रतियोगिताको तेस्रो संस्करण हो र यस पटक केही नाम परिमार्जन गरिएको छ।
पहिलो संस्करणमा चार टोली मात्रै सहभागी थिए, जसमा इरानले फाइनलमा घरेलु टोली उज्बेकिस्तानलाई हराएर उपाधि जितेको थियो। यस पटक दुई पूर्व विजेता भारत र इरान, एक पटक उपविजेता बनेको नेपाल र एफआईभीबी वरियतामा सबैभन्दा माथि रहेको कजाखस्तान सहभागी छन्। यी सबै टोलीले च्याम्पियन बन्ने लक्ष्यका साथ सेमिफाइनलको तयारी गरिरहेका छन्। नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले समूह चरणमा सबै खेलाडीलाई अवसर दिनुभएको र सेमिफाइनलको रणनीति त्यसैअनुसार बनाउने बताउनुभयो।
उनले इरानको टिम गुणस्तरीय र रक्षा प्रणाली राम्रो रहेको उल्लेख गर्नुभयो। सोमबार कजाखस्तानलाई हराएर समूह ‘बी’ को विजेता बनेपछि इरान टिम उत्साहित छ। घरेलु टोली नेपाललाई दर्शकको साथ हुने भएकाले खेल केही कठिन हुने इरानी सदस्य सेफिनुड दास्तबार्जनले बताइन्। उनले काभा महिला भलिबल च्याम्पियनसिपलाई एभीसी कपको तयारीको रूपमा लिएको र बाँकी दुई खेल जितेर उपाधि हात पार्ने लक्ष्य राखेको जनाइन्। अर्कोतर्फ कजाखस्तानकी क्रिस्टिना बेलोभाले आफ्नै गल्तीका कारण इरानसँग हार व्यहोर्नुपरेको र सेमिफाइनलका लागि गल्ती सुधारेर भारतविरुद्ध खेल्ने बताइन्।
सेमिफाइनल पुग्न सफल चार टिममध्ये एफआईभीबी वरियतामा कजाखस्तान सबैभन्दा उच्च स्थानमा रहेको छ भने भारत सबैभन्दा तल छ। कजाखस्तान ३६औं स्थानमा छन्, इरान ४४औं, नेपाल ५४औं र भारत ६२औं स्थानमा छ। यो प्रतियोगिता एफआईभीबी विश्व वरियता प्राप्त भएकाले नेपालले पनि पहिलो खेलपछि वरियतामा स्थान बनाएको थियो। भारतसँगको खेलपछि नेपालको रैंकिङ ६२औं थिए, तर पछि दुई खेल जितेर ५४औं स्थानमा पुगेको छ।
दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन्। ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ को अवसरमा नेपाल भ्रमणमा आएका जगद्गुरु शंकराचार्यलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए। चन्द्रागिरि भ्रमणका क्रममा जगद्गुरु शंकराचार्यले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति व्यक्त गरेका छन्। १२ जेठ, काठमाडौं।
जगद्गुरु शंकराचार्य सोमबार चन्द्रागिरि पुगेका हुन्। उनीसँगै रहेका विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, सञ्चालक तथा संस्थापकहरूसहितका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणको क्रममा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि हिल्सलाई पर्यटन क्षेत्रमा उत्कृष्ट गन्तव्यको रूपमा प्रशंसा गरेका छन्। उनले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति अनुभूत भएको बताएका छन्। यहाँको वातावरण, संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित गर्ने उल्लेख गरेका छन्। हरियालीले ढाकिएका पहाड, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु स्मरणीय अनुभव रहेको बताए।
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न आदेश जारी गरेको छ। महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न कम्पनीलाई १५ दिने सूचना दिएको हो। सूचनामा निर्दिष्ट अवधिभित्र कानूनअनुसार सरसमान लैजान नभए महानगरपालिकाले विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० अनुसार लिलाम गरिने उल्लेख गरिएको छ। ‘निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा रहेका सामानहरू लिलाम गराइयोस् भन्ने वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशित गरिएको हो,’ अन्तिम पटकका लागि जारी सूचनामा उल्लेख छ।
२८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिबाट बसेको निर्णय कार्यान्वयन गर्न भन्ने आदेश महानगरपालिका सहितको नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटाएर निर्णय अमलमा ल्याइएको सूचनामा उल्लेख छ। त्यसअघि मिश्रले भाडा असुल गरी घर जग्गा खाली गराउन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिकाको न्यायिक समितिमा मुद्दा चलाएका थिए। समितिले १४ कात्तिक २०८१ मा माग दाबी अनुसारको घर जग्गा बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार प्रतिवादीबाट भर्ने र घर जग्गा समेत खाली गराउने निर्णय गरेकी थिइन्। जीबी राईले सहकारी संस्थाका रकम अनियमित रूपमा अपचलन गरी गोरखा मिडिया प्रा.लि.बाट सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका हुन्। यो खुलासा भएपछि उनी हाल फरार छन्। जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछाने पनि सहकारी संस्थाको रकम अपचलनको मुद्दामा रहेको बताइएको छ।
१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली र नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्दलाई नेपाल प्रहरीले सात दिनभित्र प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते एक सूचना जारी गर्दै पुनम चन्दसहित गैरहाजिर रहेका व्यक्तिहरूलाई आफ्नो गैरहाजिरीको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनिएको हो।
प्रहरी कार्यालयका अनुसार जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि कार्यालयमा गैरहाजिर छन्। प्रहरीले आफूखुशी कार्यालयमा उपस्थित नभएको र खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेपछि समेत उनको सम्पर्कमा नआएकाले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि राखेको बन्द प्रशिक्षणमा पुनमलाई समावेश गरे पनि उनी केही दिनपछि अस्ट्रेलिया गएकी थिइन्। हाल नेपाली महिला टोली घरेलु कोर्टमा काभा महिला भलिबल खेलिरहेको छ, तर पुनम टोलीमा छैनन्।
प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटवार्तामा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ। १२ जेठ, काठमाडौं।
प्रधानमन्त्री शाहले मङ्गलबार बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। उक्त भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र सहकार्यका विविध पक्षमा छलफल केन्द्रित हुनेछ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।
समाचार सारांश समीक्षित र सम्पादन गरिएको। जारी युद्धविरामका बीच अमेरिकी सेना इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै मिसाइल राखिएका स्थान र डुङ्गालाई लक्षित गर्दै नयाँ आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न आत्मरक्षामा आक्रमण गरिएको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमण हुँदाहुँदै पनि दुबै देशबीच शान्ति सम्झौता सम्भवनिर्म रहेको बताएका छन्। १२ जेठ, काठमाडौं । जारी युद्धविरामका बीच अमेरिकी सेनाले इरानको दक्षिणी भागमा नयाँ आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका क्षेत्रमा र समुद्री सुरुङ (माइन) राख्न खोज्ने डुङ्गालाई लक्षित गरी हमला गरिएको हो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले जारी युद्धविरामका बीच आफ्नो सुरक्षाका लागि आक्रमण ‘आत्मरक्षा’ भनेर औंल्याएको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना संयम अपनाउँदै आफ्ना सैनिकको सुरक्षा गरिरहेको उल्लेख गरेका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका र इरानबीच वार्ता केही प्रगतिमा पुगेको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्काल हुने अवस्था नरहेको जनाएको बेला अमेरिकाले आक्रमण गरेको छ। सेन्ट्रल कमान्डका क्याप्टेन हकिन्सका अनुसार आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरियो, जुन त्यहाँको नौसैनिक अड्डाको केन्द्र हो र होर्मुज जलडमरूमध्य स्थित रहेको छ। यस अघि इरानी सरकारी सञ्चार माध्यमहरूले बन्दर अब्बासमा विस्फोटको आवाज सुनेपछि स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए। इरानले आक्रमणसम्बन्धी औपचारिक प्रतिक्रिया भने अहिलेसम्म दिएको छैन। यो घटनाले अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौतामा कस्तो असर पार्ने हो त्यो स्पष्ट छैन। आक्रमण पछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने शान्ति सम्झौता अझै सम्भव रहेको बताएका छन्। भारत भ्रमणमा रहेका रुबियोले पत्रकारहरूसँग भने, ‘प्रगति हुने संभावनामा रहेको छ। प्रारम्भिक समझदारीपत्रको भाषाबारे अझ छलफल जारी छ, त्यसैले केही समय लाग्न सक्छ।’ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न गर्ने इच्छा व्यक्त गरेको र ‘ठोस सम्झौता नभए सम्झौता नहुने’ नीति अन्तर्गत अघि बढिरहेको बताए। सप्ताहन्तमा ट्रम्पले अमेरिका र इरान दुई पक्ष शान्ति सम्झौतासम्म पहुँच पुर्याएको संकेत दिएका थिए, तर पछि वार्ताकारहरूलाई ‘हतार नगर्न’ भने। रुबियोले पनि सोमबारसम्म सहमति हुनसक्ने बताएका छन्। तर, इरानी प्रवक्ता बकाईले भनेका छन्, ‘धेरै विवादित विषयमा निकट रहेको सही हो, तर सम्झौता तत्काल सम्पन्न हुन्छ भन्न सकिन्न।’ वार्तामा रहेको प्रारम्भिक समझदारीपत्रमा ६० दिन थप युद्धविराम, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन, र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने योजना समावेश छ।
वर्ष ११औं पटक सगरमाथा आरोहण गरी सबैभन्दा धेरै पटक चुचुरोमा पुगेकी महिला लाक्पा शेर्पा अब आफ्नो अन्तिम आरोहण आफ्ना छोरीहरूसँग गर्न चाहन्छिन्। “मलाई हिमाल निकै मन पर्छ। छोरीहरूसँगै सगरमाथा चढेर मात्रै म सगरमाथाको यात्राबाट विश्राम लिन चाहन्छु,” लाक्पा शेर्पाले बताइन्।
आफ्ना तीन छोराछोरीको हेरचाह गर्ने जिम्मेवारीका कारण केही समय विश्राम लिनु परेको भए पनि अहिले बच्चाहरू हुर्किसकेपछि पुनः निरन्तर सगरमाथा चढ्ने योजना बनाएकी छिन्। “मेरो स्वास्थ्य राम्रो भयो भने म ८० वर्षको उमेरमा पनि सगरमाथा चढ्ने छु,” उनले भनिन्।
सन् २००० मा लाक्पाले सगरमाथा चढ्दा चुचुरोमा पुगेर फर्किने पहिलो नेपाली महिलाको रेकर्ड कायम गरेकी थिइन्। सन् २००३ मा उनले भाइ र बहिनीको साथमा सगरमाथा आरोहण गरी अर्को रेकर्ड पनि राखेकी थिइन्।
१२ जेठ, बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। प्रदेश सभाको आज साँझ ५:०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।
त्यस्तै, प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आजैदेखि छलफल चल्नेछ। प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि आज बिहान बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने कार्यसूची रहेको सचिव पौडेलले बताए।
१२ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३०, आलु रातो (लाम्चो) प्रतिकिलो ३०, आलु रातो (गोलो) प्रतिकिलो २७, आलु रातो (भारतीय) प्रतिकिलो २८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६५, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूलाप्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ५० कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ५०, मकै बोडी प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटेसिमी प्रतिकिलो ३५, भटमास कोसा प्रतिकिलो १४०, तीते करेला प्रतिकिल ५०, लौका प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । परवर (लोकल) प्रतिकिलो ६०, परवर (तराई) प्रतिकिलो ५०, चिचिन्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिन्डी प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ७० र पिँडालु प्रतिकिलो ४० कायम गरिएको छ ।
काठमाडौं । बाल्टिक राष्ट्रहरूमा रहेका रुसी नागरिकहरूको मानव अधिकार उल्लंघन भइरहेको आरोप लगाउँदै रूसले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) जाने चेतावनी दिएको छ। रूसी सञ्चारमाध्यम ‘तास’ का अनुसार, रूसले लाटभिया, लिथुआनिया र एस्टोनियासँग वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गर्दै आएको थियो। तर ती प्रयास असफल भएपछि रूसले कानुनी बाटो रोज्ने निर्णय गरेको हो। रूसी विदेश मन्त्रालयले ‘इज्वेस्टिया’ अखबारलाई यसबारे जानकारी दिएको छ।
रूसी विदेश मन्त्रालयले बाल्टिक देशहरूले रुसी समुदायमाथि गरिरहेको व्यवहारको कडा आलोचना गरेको छ। मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘हामीले लाटभिया, लिथुआनिया र एस्टोनियालाई अन्तर्राष्ट्रिय स्तरमा आफ्ना गल्तीहरू सुधार्न पटक–पटक आग्रह गर्यौं। तर ती देशका अधिकारीहरूले गैरकानुनी नीतिहरू बन्द गर्न अस्वीकार गरे। वार्ताका माध्यमबाट मतभेद समाधान गर्ने हाम्रा सबै प्रयास असफल भएका छन्। त्यसैले अब हामीले संयुक्त राष्ट्रसंघको मुख्य न्यायिक निकायमा आफ्ना दाबीहरू लैजानुपर्नेछ।’
मन्त्रालयले बाल्टिक देशहरूमा रहेका रुसी भाषी जनसंख्या, सामाजिक अभियन्ता र मानवअधिकारवादीहरूमाथि भइरहेको दमनतर्फ संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराइरहेको स्पष्ट पारेको छ। ‘रूसी प्रचार’ को विरोध गर्ने बहानामा लाटभियाको सूचना क्षेत्रबाट असहमतिका स्वरहरूलाई हटाउने काम भइरहेको छ भनी रूसले आरोप लगाएको छ। साथै, एस्टोनियाले आफ्नो संविधानमा मात्र एस्टोनियाली मूलका मानिसहरूलाई प्राथमिकता दिने व्यवस्था गरेकाले रूसी विदेश मन्त्रालयको भनाइमा त्यहाँका अल्पसंख्यक रुसी नागरिकहरूको अधिकार खुलस्तसँग हनन भइरहेको छ।
समाचार सारांश सर्वोच्च अदालतले कानून र नजिरको सिद्धान्त विपरीत फैसला गरेकै कारण न्यायाधीशमाथि अदालतको अवहेलनामा कारबाही गर्न नहुने व्याख्या गरेको छ। न्यायाधीश शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध दर्ता भएको अवहेलनाको निवेदन खारेज गरेको छ। अदालतले कानूनी त्रुटि भएको अवस्थामा त्यसलाई पुनरावेदन गर्ने माध्यम रहेको र अवहेलनाको कारबाही चलाउनु उचित नहुने स्पष्ट पारेको छ। ११ जेठ, काठमाडौं। सर्वोच्च अदालतले कानून र नजिर विपरीत फैसला गरेकै आधारमा कुनै न्यायाधीशलाई अदालतको अवहेलना आरोप लगाएर मुद्दा चलाउन नहुने व्याख्या गरेको छ। उच्च अदालत पाटनका न्यायाधीशहरुले नजिर विपरीत विवादास्पद आदेश जारी गरेको भन्दै सर्वोच्चमा अवहेलनाको कारवाही माग गरिएको निवेदन दर्ता भएको थियो। त्यसै निवेदनमा न्यायाधीश शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले अदालतको आदेश वा फैसलबिरुद्ध कानूनी उपायहरू अपनाउन सकिने भएकाले अवहेलनामा कारबाही गर्नु उचित नहुने निर्णय गरेको हो। नेपाल ल क्याम्पसका कानून विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको कार्यप्रणालीमाथि प्रश्न उठाउँदै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए। तर सो मुद्दामा नजिर र न्यायिक सिद्धान्तको उल्लंघन हुनेगरी फैसला भएकाले उनले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन पेश गरेका थिए। चौधरीले उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र गोपालप्रसाद बाँस्तोलामाथि अदालतको अवहेलनामा कारबाही गर्न माग राखेका थिए। सर्वोच्चले नजिर र कानूनी सिद्धान्तको पालन नगरी न्यायाधीशहरुले अदालतको अवहेलना गरेको दावीलाई अस्वीकार गरेको छ। उनले सवारी व्यवस्था सम्बन्धी विषय उठाउँदै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४(१)(ख) मा सवारी अड्याउन निषेध गरिएको ठाउँ र समयमा ट्राफिक प्रहरीले सजाय गर्ने कानूनी व्यवस्था रहेको छ। ट्राफिक प्रहरीले त्यस्ता सवारीमा ह्विल लक जस्ता कार्यहरू गर्दै आएको भन्दै उनले गैरकानूनी क्रियाकलाप रोक्न निवेदन दिएका थिए। उच्च अदालतले नियम विपरीत रोकिएका सवारीमा ह्विल लक लगाउन सकिने भनी रिट खारेज गरिदियो। सरकारी अधिकारीहरू कानूनको दायरा भित्र रहनुपर्छ, सबै निकायहरूको काम कानूनी हुनुपर्छ र कुनै पनि व्यक्ति कानूनभन्दा बाहिर जान सक्दैन भन्ने तर्क गर्दै उनले नजिर उल्लंघनको दावीसहित अदालतको फैसला गरेको न्यायाधीशविरुद्ध अवहेलनामा कारबाही माग गरेका थिए। उनले पाँचवटा नजिर पेश गर्दै उच्च अदालतको फैसला विरुद्ध न्यायाधीशहरूमाथि कारवाही आवश्यक भएको औंल्याएका थिए। सर्वोच्चले विभिन्न अन्तर्राष्ट्रिय अभ्यास र न्यायिक मान्यताका आधारमा नजिर उल्लंघनलाई अवहेलनाको आधार बनाउन नहुने मत दिइसकेको छ। सर्वोच्चले आफ्नो संक्षिप्त आदेशमा उल्लेख गरेको छ, ‘न्यायाधीशले आफ्नो न्यायिक कार्य गर्दा व्याख्यासम्बन्धी त्रुटि गरेपनि अवहेलनाको कारबाही गर्न सकिँदैन।’ फैसलामा लागू हुने बेलायती नजिर अनुसार, न्यायाधीशको गलत फैसला अवहेलनाको कारण हुँदैन र त्यस्तो अवस्थामा पुनरावेदन नै उचित उपचार हो। कुनै पनि अवहेलनाको कारबाहीका लागि आदेश वा फैसलबारे स्पष्ट जानकारी र जानाजानी उल्लङ्घन हुनैपर्छ। न्यायाधीशले फैसला गर्दा नजिर नपाल्नु बदनीयत र जानाजान उल्लघंन होइन, तथा अवहेलनाको कारबाही गर्न उपयुक्त आधार हुन नसक्ने सर्वोच्च अदालतले स्पष्ट पारेको छ। विभिन्न अवस्थाहरूमा नजिरको प्रयोग फरक हुन सक्ने भएकाले सामान्य रूपमा नजिर उल्लंघनमात्र आधार बनाएर अवहेलनाको कारवाही नचलाउनुपर्ने पनि उल्लेख गरिएको छ। भारतमा पनि नजिरको गलत व्याख्या वा प्रयोगलाई अवहेलनाको सट्टा न्यायिक त्रुटि मान्ने परिपाटी छ। त्यसअनुसार, न्यायाधीश आफैं स्वतन्त्र हुन्छन् तर उनीहरू कानूनी व्याख्या र सिद्धान्तको सीमामा रहँदै फैसला गर्छन् र सर्वोच्चले न्यायिक स्वतन्त्रतालाई न्यायाधीशहरूको प्राथमिकता बनाउनु पर्ने औंल्याएको छ। संयुक्त राष्ट्रसंघीय घोषणापत्रले पनि न्यायपालिकाको स्वतन्त्रताको आधारमा न्यायाधीशलाई कुनै फैसला वा निर्णयका लागि जवाफदेही बनाउन नहुने मान्यता दिएको छ। उच्च अदालत पाटनले गैरकानुनी स्थानमा रोकिएका सवारीमा ह्विल लक लगाउन सकिने फैसला दिएको थियो। यस विषयलाई कानूनको उद्देश्यमूलक व्याख्या भएको भन्दै सर्वोच्चले पुनरावेदनबाट माथिल्लो अदालतमा जान सकिने उल्लेख गरेको छ। ‘अदालतको अवहेलनाको कारबाही आधार भनेको आदेश वा फैसलबारे सम्मान र कार्यान्वयन सुनिश्चित गर्ने उपाय हो, कानूनी त्रुटि सुधार गर्ने माध्यम होइन’ भन्दै सर्वोच्चले भन्यो, ‘अन्य कानूनी उपचार उपलब्ध रहँदा अवहेलनाको कारबाही उचित हुँदैन।’ कानूनका सिद्धान्तहरूमध्ये कुन लागु गर्ने चयन गर्ने निर्णय न्यायाधीशको विवेकमा पर्ने भएकाले त्यसको आधारमा अवहेलनाको कारबाही नहुने सर्वोच्चको व्याख्या छ। सारांशमा, न्यायाधीशको फैसला विरुद्ध अवहेलनाको कारबाही नचल्ने बेलायती नजिरले पनि स्पष्ट गरेको छ। सर्वोच्चले गत १९ चैत, २०८२ मा दुई न्यायाधीश विरुद्ध दर्ता भएका अवहेलनाको निवेदन प्रक्रियामा नलाग्ने निर्णय गरेको थियो र केही दिनअघि पूरा फैसला सार्वजनिक भएको छ।
बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गाको सदुपयोग गर्दै २४ रोपनी क्षेत्रमा रु ४० लाख लगानी गरेर स्याउखेती विस्तार गरेको छ। गाउँपालिकाले वडा नं ४ को गोरदी र बयलीस्थित सार्वजनिक जग्गामा मुस्ताङबाट ल्याइएका १ हजार ४०० स्याउ बिरुवा रोपेको छ। उत्पादित स्याउको प्रतिफल आउन थालेपछि बगैँचा स्थानीय समुदायलाई हस्तान्तरण गरी कृषिलाई पर्यटनसँग जोड्ने योजना बनाइएको छ। १२ जेठ, गलकोट (बागलुङ)।
तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्दै स्याउखेती विस्तार गरेको छ। यहाँ जग्गाको संरक्षण, तारबार र थोपा सिँचाइ प्रविधिसहित १ हजार ४०० स्याउ बिरुवा हुर्काइँदैछन्। गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउखेती विस्तार गरिएको छ भनी तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए। “गाउँपालिकाले वडा कार्यालयको संरक्षणमा स्याउ बगैँचा विस्तार गरेको छ र अहिले १४०० बिरुवा एक वर्षदेखि हुर्किरहेका छन्,” अध्यक्ष बुढाले बताए।
“चारदेखि पाँच वर्षमा स्याउ फल्ने गरी मुस्ताङबाट बिरुवा ल्याएर एक वर्षअघि रोपिएको हो। स्याउको प्रतिफल बाँडफाँड गर्न हामी योजना बनाउँदैछौं र कार्यविधि तयार गरिनेछ।” लगानीको प्रतिफल उठाउनका लागि वडा कार्यालयले स्याउ बगैँचाको संरक्षण र विस्तारमा काम गरिरहेको छ। बिरुवा लगाएर कुप्रयोगमा परेको सार्वजनिक जग्गा सदुपयोग गर्दै कृषिलाई पर्यटनसँग जोड्दै अघि बढिरहेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छ प्रसाद श्रीपालीले बताए।
“गाउँपालिकाले उत्पादन नीतिको खाका तयार गरेको छ। उत्पादन नगर्ने हो भने गाउँको जग्गा खेर जान्छ। हामीले खेर गएको सार्वजनिक जग्गामा तारबार र सिँचाइ प्रणाली सहित स्याउ बगैँचा स्थापना गरेका छौं,” श्रीपालीले भने।
“२४ रोपनी जग्गामा स्याउ फलाएर कृषि र पर्यटन दुवैलाई प्रवर्द्धन गर्ने र बयली क्षेत्रमा स्याउ बगैँचाको मध्यभागमा रिसोर्ट बनाउन योजना छ।” गोरदीमा रु सात लाख र बयलीमा रु ३३ लाख खर्चेर तारबार र सिँचाइ प्रणाली सहित स्याउ बगैँचा स्थापना गरिएको छ। सार्वजनिक जग्गालाई तारबार गरेर बिरुवा रोप्दा संरक्षण बढ्ने र उत्पादनमा क्षति कम हुने विश्वास गरिएको छ। मुस्ताङबाट आयात गरिएको ५ वर्षभित्र फल्ने गाला र गोल्डेन जातका स्याउ बिरुवा लगाइएको छ, जसको सम्भाव्यता अध्ययन गरेर निर्णय गरिएको हो भनी गाउँपालिकाका कृषि प्राविधिक विधान बगालेले जानकारी दिए। समुद्र सतहदेखि २३०० मिटर उचाइसम्मको चिसो मौसममा स्याउ राम्रो उत्पादन हुने सम्भावना रहेको प्राविधिक बगालेले बताए। यदि स्याउ उत्पादन राम्रो हुने हो भने पर्यटनलाई लक्षित गरी घरबास, रिसोर्ट लगायत पूर्वाधारहरूमा थप लगानी गर्ने योजना पनि गाउँपालिकाको रहेको छ।