Skip to main content

लेखक: space4knews

परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ व्यवसायीसँग नेपालमा लगानीको आग्रह गरे

२ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै ‘पार–हिमाली’ क्षेत्रको समृद्धिमा योगदान पुर्‍याउन आग्रह गरेका छन्। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले मंगलबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा व्यक्त गरे। मन्त्री खनालले नेपालको आर्थिक अवसर र जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने उद्देश्यले राजदूतावासले आयोजना गरेको सम्मेलनकै क्रममा उनले चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्तासँग भेटघाट पनि गरेका थिए। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरहरूबारे नेपाल लगानी बोर्डका प्रतिनिधिले प्रस्तुतीकरण गरेको थियो। मन्त्री खनालले मंगलबार बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका छन्। –रासस

डा. संगीता कौशललाई सफाइ, ६ जना दोषी निर्धारण

२ असार, काठमाडौं । थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भएका भ्रष्टाचार मुद्दामा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरी जेल सजाय र जरिवाना तोकेको छ । अदालतले मिलेमतो, अनियमितता र झुठा कागजात तयार गरी सार्वजनिक खरिद प्रक्रियामा गम्भीर बदनियत देखिएको निष्कर्ष निकालेको छ । सोमबार विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवणकुमार थापासहित ६ जनालाई जनही चार–चार महिना कैद सजाय सुनाएको छ ।

दोषी ठहर भएकाहरूमा तत्कालीन खरिद शाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पद्मा मिश्र, सञ्जयकुमार साह तथा म्याक्सिम ट्रेडर्स इन्कर्पोरेसन प्रालिका सञ्चालक सुन्दर भुसाल रहेका छन् । अदालतले यी प्रतिवादीहरूको विभागीय कर्मचारी र ठेकेदार कम्पनीबीच योजनाबद्ध मिलेमतो भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय सुनाएको हो ।

कर्मचारीहरूलाई दफा ८(१) अनुसार चार महिना कैद र क्षतिपूर्ति तथा जरिवानाको व्यवस्था गरिएको छ । ढिलाइ भएको सामानको पूर्वनिर्धारित क्षतिपूर्ति रकम ३८ लाख ३४ हजार ७ सय २३ रुपैयाँ दामासाहीले बाँड्दा प्रतिव्यक्ति ५ लाख ४७ हजार ८ सय १७ रुपैयाँ जरिवाना तोकिएको छ । सोही बराबरको बिगो असुल गरी राजस्वमा दाखिला गर्न आदेश पनि दिइएको छ । त्यस्तै, झुठा कागजात तयार पारेको आरोपमा दफा १९(२) अनुसार थप चार महिना कैद र २० हजार रुपैयाँ जरिवानासमेत सुनाइएको छ ।

मतियारको रूपमा दोषी ठहर भएका म्याक्सिम ट्रेडर्सका सञ्चालक सुन्दर भुसाललाई पनि समान किसिमको कैद र जरिवाना तोकिएको छ । यसैबीच अदालतले सबै दोषीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जनही २१ हजार ९ सय १२ रुपैयाँ क्षतिपूर्ति असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ । सोही मुद्दामा प्रतिवादी बनाइएकी तत्कालीन स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रासहित ८ जनालाई भने अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा तत्कालीन निर्देशक डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानुन अधिकृत सीता घिमिरे र लेखापाल तिलकराम ढकाल रहेका छन् । महानिर्देशक मिश्राले प्राविधिक तथा खरिद एकाइबाट प्राप्त कागजात र टिप्पणीका आधारमा मात्र स्पेसिफिकेसन स्वीकृत र भुक्तानी आदेश सदर गरेको देखिएकाले बदनियत प्रमाणित हुन नसकेको भन्दै अदालतले सफाइ दिएको छ ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटी शीर्ष स्थानमा

२ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटी ९-अन्डर ६३ को उत्कृष्ट स्कोरसहित शीर्ष स्थानमा रहेका छन्। पहिलो राउन्डको समाप्तिमा भुवनले तीन एमेच्योर गल्फरहरू सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारेका छन्। ५-अन्डर ६७ स्कोर गरेका सदभाव, तेन्जिङ र नोर्बु संयुक्त रूपमा दोस्रो स्थानमा छन्। ४-अन्डर ६८ को स्कोरसहित शुक्र बहादुर राई र तोरण विक्रम शाहीले पाँचौं स्थान बाँडेका छन्। यस्तै ३-अन्डर ६९ स्कोरमा एमेच्योर वाङचेन ढोन्डुप तथा प्रोफेसनल खेलाडी निरज तामाङ, भुवन कुमार रोक्का, सुबाश तामाङ र दिनेश प्रजापतिले संयुक्त रूपमा सातौं स्थान लिएका छन्। साबिक विजेता एमेच्योर गल्फर राहुल विश्वकर्मा २-अन्डर ७० सहित १२औं स्थानमा र धन बहादुर थापा १-अन्डर ७१ सहित १३औं स्थानमा छन्।

भुवनले उत्कृष्ट प्रदर्शन गर्दै बोगी रहित कार्ड तयार पारेका छन्। पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा समाप्त गरेका थिए। त्यसपछि उनले ११औं, १३औं, १४औं र १५औं होलमा बर्डी प्रहार गरे भने ४ पारको १८औं होलमा इगल प्रहार गर्दै ब्याक नाइन ६-अन्डर ३० मा समापन गरे। सदभावले दिनको सुरुवात बोगीसहित गरेका थिए, तर तेस्रो, सातौं र नवौं होलमा एक-एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३४ खेले। उनले ११औं होलमा बोगी प्रहार गरे पनि १२औं होलमा इगल प्रहार गरे। त्यस्तै १५औं र १८औं होलमा बर्डी सहित ब्याक नाइन ३-अन्डर ३३ मा समाप्त गरे।

तेन्जिङले पहिलो होलमा बोगी खेपेका थिए। दोस्रो, तेस्रो र सातौं होलमा एक-एक सट बचाए। आठौं होलमा डबल बोगी खेप्नुपरेको भएता पनि नवौं होलमा इगल प्रहार गरेपछि फ्रन्ट नाइन २-अन्डर ३४ मा समाप्त गरे। १०औं होलमा फेरि डबल बोगी खेपे पनि करिब ११औं होलमा दोस्रो इगल प्रहार गरे। त्यसपछि १२औं, १७औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ खेले। नोर्बुले बोगी रहित फ्रन्ट नाइन खेल्दै पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरी ३-अन्डर ३३ स्कोर गरे। त्यसपछि १०औं होलमा बोगी खाने क्रममा ११औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३४ मा समाप्त गरे।

यस सिजनको सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गरी कुल ६८ खेलाडीले सहभागिता जनाएका छन्। दोस्रो दिनको समाप्तिमा कट लागू हुनेछ। शीर्ष १८ प्रोफेसनल र सोही कटमा पर्ने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डका लागि स्थान सुरक्षित गर्नेछन्। विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने खेलाडीहरूले क्रमशः २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार पाउनेछन्। शनिबार प्रो-एम प्रतियोगिता आयोजना गरिनेछ।

गण्डकीको बजेटमा अनियमितता: उद्योग–पर्यटनका लागि ९२ करोड, २ अर्बको दाबी

२ असार, पोखरा। गण्डकी प्रदेश सरकारले सोमबार संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा अनियमितता देखिएपछि सांसद र मन्त्रीहरूबीच विवाद सुरु भएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए, जसमा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन भएको बताए। अर्थ मन्त्रालयले वेबसाइटमा प्रकाशित गरेको वक्तव्यमै पनि उद्योग तथा पर्यटन क्षेत्रको बजेट २ अर्ब रुपैयाँ नै देखाइएको छ। तर नीति तथा योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले उद्योग तथा पर्यटन मन्त्रालयलाई सुरुमा ६४ करोड ७६ लाख ४२ हजार रुपैयाँको सिलिङ दिएको थियो भने अन्तिम बजेट फाइनल गर्दा यो रकम ९२ करोड ४९ लाख रुपैयाँ पुगेको थियो।

अर्थमन्त्री शेरचनले उद्योग तथा पर्यटन क्षेत्रमा विशेष जोड दिंदै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै बराबरको बजेट भनेर २ अर्ब रुपैयाँ विनियोजन गरेको दाबी गरे। उनले २ अर्ब विनियोजन गरेको भन्नेबित्तिकै पर्यटन मन्त्री यशोदा रिमाललाई पनि आश्चर्य लाग्यो। जब मन्त्रालयबाट बजेट र कार्यक्रम पठाउँदा साढे ९२ करोड रुपैयाँ पठाइएको थियो, तब यो रकम २ अर्बसम्म कसरी पुगेको भन्ने विषयलाई लिएर अन्य मन्त्रीहरू पनि अनभिज्ञ थिए। सांसदहरू समेत यो विषयमा प्रश्न गर्न थाल्दासम्म विवाद गहिरियो।

सोमबार साँझ अर्थमन्त्री, पर्यटन मन्त्री र सचिवहरूबीच छलफल भएको थियो। पर्यटन क्षेत्रमा २ अर्ब रुपैयाँ सिलिङ तोकिएको भए तापनि अनुसूचीमा साढे ९२ करोड नै रहेको देखिन्छ। बजेट वक्तव्यमा २ अर्ब रुपैयाँ उल्लेख भएपछि यसलाई कसरी मिलाउने भन्ने विषयमा मन्त्री र सचिवहरूबीच पनि असमझदारी देखिएको थियो। अर्थमन्त्री शेरचनले उद्योग र पर्यटन क्षेत्रमा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको तर केही कार्यक्रमहरू अन्य मन्त्रालयहरूबाट पनि कार्यान्वयन हुनेछ भने। यस विषयमा कर्मचारीहरूले सक्रियता देखाउँदै २ अर्ब रुपैयाँ पुर्याउने लिस्ट तयार गरेका थिए।

गण्डकी सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ, र वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ।

सचेतक परियार: विगतका बजेटले दलितलाई ठग्ने काम गरियो, अहिले सुधारमुखी बजेट ल्याइएको छ

२ असार, काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले विगतका सरकारले बजेटमार्फत दलित समुदायलाई ठग्ने कार्य गरेको उदाहरण प्रस्तुत गर्दै हालको बजेट सुधारमुखी रहेको बताएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षमाथिको छलफलमा भाग लिँदै सचेतक परियारले विगतमा कानुन नै नबनाई दलित विकास प्राधिकरणका नाममा बजेट विनियोजन गरेर ठगिएको प्रक्रियालाई उजागर गरे। उनले भने, ‘विगतका सरकारले पिछडिएका क्षेत्र र समुदायलाई बजेटमा मात्र गफ दिँदै ठग्ने कार्य गरेका थुप्रै उदाहरण छन्। आर्थिक वर्ष ०८१/८२ मा २० करोड र ०८२/८३ मा ५० करोड विनियोजन गरिएको भनियो। तर दलित विकास प्राधिकरण गठनका लागि आवश्यक कानुन नै निर्माण भएन। कानुन नबनिएपछि एक पैसा पनि खर्च हुन सकेन। यो सबै दलित समुदायलाई ठग्ने प्रयास मात्र थियो।’

अर्थतन्त्रको निरन्तर वृद्धि मात्र नभई समावेशी वितरण मुख्य मापदण्ड भएको उल्लेख गर्दै उनले अहिलेको बजेट मध्यमवर्ग र युवा पुस्तालाई सम्बोधन गर्ने गरी आएको दाबी गरे। प्रस्तुत बजेटको पक्षमा परियारले यो बजेट सुधारमुखी, मध्यमवर्गीयमैत्री र युवालाई लक्षित गरिएको भन्दै यसले जेन-जि पुस्ताको भावना आत्मसात गरेको धारणा व्यक्त गरे। आयकरको करमुक्त सीमालाई दस लाखसम्म दोब्बर पार्नु र उच्च करदरलाई ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्नु मध्यमवर्गका लागि ऐतिहासिक र स्वागतयोग्य कदम भएको उनको तर्क थियो।

त्यस्तै, मन्त्रालयहरूको संख्यामा कटौती, निजी क्षेत्रमैत्री दृष्टिकोण, सेयर बजारको पुँजीगत लाभकरलाई अन्तिम स्वरूप दिने तथा डिजिटल एआई र स्टार्टअप प्याकेजले नयाँ पुस्ताको उत्साह जगाउन सफल भएको परियारले बताए। सचेतक परियारले यस बजेटमा गरिबी निवारण र सामाजिक सुरक्षाका धेरै विषय समाहित गरिएको उल्लेख गर्दै तीन लाख १३ हजार दलित बालबालिकालाई एक हजार रुपैयाँ पोषण भत्ता दिने व्यवस्था यसको उदाहरण भएको बताए। साथै दलित समुदायको परम्परागत सीप संरक्षण, भूमिहीन सुकुम्बासी व्यवस्थापन र मधेश, कर्णाली तथा सुदूरपश्चिमका दलित बस्तीहरूमा नमुना होमस्टे जस्ता कार्यक्रमहरू प्रशंसनीय रहेको चर्चा गरे।

१०औं राष्ट्रिय खेलकुद मिति चाँडै तोकिने घोषणा : खेलकुद मन्त्री पोखरेल

२ असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रंगशालाको अनुगमन गरेका छन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको पोखरेलले अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना रहेको जानकारी दिए। कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्दले मन्त्री पोखरेललाई रंगशालाको हालको अवस्था बारे जानकारी गराएका थिए। निरीक्षणका क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमी भएकाले सरकारले यसमा ध्यान दिने बताएका छन्।

पछाडि हिँड्ने व्यायाममा उत्कृष्ट तरीका, यी हुन् ५ प्रमुख लाभहरू

हिँड्नुलाई सबैभन्दा प्रभावकारी व्यायाममध्ये एक मानिन्छ। हिँड्नका विभिन्न तरिका छन्। तर तपाईंले कहिल्यै पछाडि हिँड्नु भएको छ वा कसैले यसरी हिँडेको देख्नुभएको छ? यो प्रवृत्ति केही हदसम्म दुर्लभ छ र सुनिन पनि कमै हुन्छ। केही वर्षअघि दाङका एक युवाले उल्टो हिँडेर मेचीदेखि महाकालीसम्म यात्रा गरेका थिए जसले चर्चा पाएको थियो। ‘हिँडौँ स्वस्थ रहौँ’ भन्ने नारासँगै उनले यसरी सयौं किलोमिटरको उल्टो यात्रा गरेका थिए। वास्तवमा, पछाडि हिँड्नु शरीरका लागि धेरै हिसाबले लाभदायक हुन्छ। उल्टो हिँडाइले शरीरलाई कसरी लाभ पुर्‍याउँछ त?

१. खुट्टाका मांसपेशीहरू बलियो बनाउँछ
पछाडि हिँड्दा खुट्टाका विभिन्न मांसपेशीहरू बढी सक्रिय हुन्छन्। यसले तिघ्रा, घुँडा र नितम्बका मांसपेशीहरू मजबुत बनाउन मद्दत पुर्‍याउँछ।

२. सन्तुलन र समन्वय सुधार गर्दछ
उत्तर मर्दा शरीरले सन्तुलन कायम राख्न धेरै मेहनत गर्नुपर्छ। यसले शरीरको सन्तुलन र समन्वय क्षमतामा सुधार ल्याउँछ।

३. बढी क्यालोरी जलाउँछ
सिधा अगाडि हिँड्नु जति सहज नहुन सक्छ, तर पछाडि हिँड्दा ऊर्जा खर्च धेरै हुन्छ। त्यसैले, क्यालोरी बढी जलाएर अनावश्यक तौल बढ्नबाट जोगाउन सकिन्छ।

४. घुँडा मजबुत बनाउँछ
पछाडि हिँड्दा घुँडामा पर्ने दबाबको स्वरूप परिवर्तन हुन्छ। यसले जोर्नीहरूलाई स्वस्थ र बलियो बनाउन सहयोग पुर्‍याउँछ। केही अवस्थामा पुनर्स्थापनाका लागि फिजियोथेरापीमा समेत उल्टो हिँडिने अभ्यास समावेश गरिन्छ।

५. मस्तिष्क सक्रिय हुन्छ
सामान्यतः सिधा अगाडि हिँड्दा विभिन्न कुरामा सजिलै ध्यान दिन सकिन्छ, तर पछाडि हिँड्दा पूर्ण ध्यान केन्द्रित गर्न आवश्यक हुन्छ। यसले मस्तिष्कलाई बढी सक्रिय बनाउँछ र आफूले गरिरहेको क्रियाकलापमा सजिलै ध्यान दिन मद्दत पुर्‍याउँछ।

सही तरिकाले कसरी हिँड्ने?
विधि र सुरक्षा कारणले अलिकति समयका लागि मात्र उल्टो हिँड्नु उपयुक्त हुन्छ। सुरुमा केही मिनेट मात्र अभ्यास गरी थाल्न सकिन्छ। खुल्ला ठाउँ वा चौरमा उल्टो हिँड्नु उत्तम हुन्छ। हिँड्नुअघि आसपासमा कुनै अवरोध वा खतरनाक वस्तु छ कि छैन अवश्य जाँच गर्नुपर्छ। यदि घरको छत वा अग्लो ठाउँमा अभ्यास गर्न लागिएको हो भने विशेष सतर्कता अपनाउन आवश्यक हुन्छ। हिँड्दा शरीर र घाँटी सिधा राखेर बिस्तारै हिँड्नुपर्छ। कुनै असजिलो वा दुखाइ महसुस भएमा, विशेष गरी गर्दन वा शरीरमा समस्या भएमा यो अभ्यास तुरुन्त रोक्नुपर्छ।

इरानको चेतावनी: इजरायलले लेबनानमाथि हमला जारी राखे सम्झौता उल्लंघन हुनेछ

२ असार, काठमाडौं। इजरायलले फेरि लेबनानमाथि हमला गर्ने हो भने अमेरिकासँग भएको युद्धविराम सम्झौता उल्लंघन हुने चेतावनी इरानले दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले मंगलबार उक्त चेतावनी दिएका छन्, जुन समाचारमा उल्लेख गरिएको छ। ‘यस सम्झौतामा दुई पक्षहरू छन्,’ विदेशमन्त्री अराघचीले भने, ‘एक तर्फ इरान र हिजबुल्लाह छन् भने अर्कोतिर अमेरिका र इजरायल। युद्ध पूर्ण रूपमा रोक्नका लागि लेबनानमा लडाइँ बन्द हुनैपर्छ।’

इजरायलले लेबनानमाथि हमला गर्ने वा त्यहाँ कुनै प्रकारको भूमि कब्जा कायम राख्ने हो भने यसलाई सम्झौतामा उल्लंघन मानिने उनले स्पष्ट पारे। इरान र अमेरिकाबीच सम्झौता भए पनि, इजरायली नेताहरूले त्यो स्वीकार गर्न अस्वीकार गरेका छन्। यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा चरमपन्थी समूहहरूमाथि आक्रमण जारी राखिरहेको छ।

पूर्वमन्त्री रेखा शर्माः संविधान संशोधनका लागि समग्र पुनरावलोकन आवश्यक

२ असार, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेखा शर्माले संविधान संशोधन अघि संविधानको समग्र पुनरावलोकन गर्नुपर्ने आवश्यक्ता औँल्याएकी छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनको एजेन्डा निर्धारण गर्नु अघि सम्पूर्ण संविधानको पुनरावलोकन आवश्यक रहेको बताइन्। उनले भनिन् कि संविधान संशोधनका विषयमा अध्ययन गर्ने गरी सबै राजनीतिक दलले कार्यदल गठन गरेको भए तापनि संविधान पुनरावलोकनको विषयमा खास चासो नदेखिएको छ।

तत्कालीन संविधान सभामा आफ्नो पार्टीले निर्वाचन प्रणाली, शासकीय स्वरूप र लैंगिक विभेदसम्बन्धी बिरोध जनाएको स्मरण गराउँदै उनले हालको राजनीतिक अवस्थाले संविधान पुनरावलोकनको आवश्यकता अझ स्पष्ट पारेको उल्लेख गरिन्। उनले थपिन् कि, संविधान संशोधनका लागि सरकारले दलहरूसँग थप संवाद गर्न आवश्यक छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दलहरूले आफ्ना घोषणापत्रमा संविधान समीक्षा र संशोधन समावेश गरेको र कांग्रेस–एमाले गठबन्धन सरकार गठन गर्दा पनि संविधान संशोधन प्रमुख एजेन्डामा रहेको उनले स्मरण गराइन्। नेकपाद्वारा गठन गरिएको संविधान संशोधन कार्यदलले संशोधन गर्न सकिने विषयहरूको अध्ययन गरिरहेको र आवश्यक सुझावहरू सरकारलाई दिइरहेको पनि उनले बताइन्।

उनले भनिन्, ‘संविधानका कुन-कुन विषय संशोधन गर्नुपर्ने हो भनेर एजेन्डा तय गर्नु अघि संविधानको समग्र पुनरावलोकन हुनु आवश्यक छ, जुन हाल भइरहेको छैन। हाम्रो पार्टी अहिले धेरै पार्टीहरू एकजुट भएर बनेको छ। म तत्कालीन संविधान सभाका सदस्य पनि भएकाले त्यसबेलादेखि निर्वाचन प्रणाली, शासकीय स्वरूप र लैंगिक विभेदसम्बन्धी विषयमा हामीले असहमति जनाउँदै आएका छौं। त्यतिबेला र अहिलेका स्थितिमा केहि फरक छ।’

उनले थपिन्, ‘हामीले पार्टीका वरिष्ठ नेता देव गुरुङको नेतृत्वमा संविधान संशोधन कार्यदल गठन गरेका छौं। उहाँको नेतृत्वमा कार्यदलले संविधानका कुन-कुन पक्ष संशोधन गर्न सकिन्छ भनी अध्ययन गरिरहेको छ र सरकारलाई आवश्यक सुझाव दिइरहेको छ। हाम्रो पार्टीको धारणा छ कि संविधानका संशोधन योग्य विषयहरूमा संशोधन हुनु आवश्यक छ।’

अर्जेन्टिना र अल्जेरियाबीचको खेलमा हेरिनुपर्ने प्रमुख खेलाडीहरू

फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत टेक्सासको प्रतिष्ठित डलास स्टेडियममा तीन पटक विश्व विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी महाशक्ति अल्जेरिया आपसमा भिड्दैछन्। विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षा गर्दै लगातार चौथो प्रमुख अन्तर्राष्ट्रिय ट्रफी (विश्वकप २०२२, कोपा अमेरिका २०२४ र कोपा अमेरिका २०२६) जित्ने ऐतिहासिक अभियानमा रहेको अर्जेन्टिना सुखद सुरुवात गर्न चाहन्छ। अर्कोतर्फ, कतार विश्वकप २०२२ मा छनोट हुन नसकेपछि, प्रशिक्षक भ्लादिमिर पेट्कोभिचको नेतृत्वमा उत्कृष्ट पुनरागमन गरेको अल्जेरिया दक्षिण अमेरिकी महारथीलाई स्तब्ध पार्दै विश्वलाई आश्चर्यचकित पार्ने रणनीति लिएर मैदान उत्रँदैछ।

हेड-टु-हेड इतिहास हेर्दा, अर्जेन्टिना र अल्जेरियाबीच फुटबलमा विरलै मात्र भिडन्त भएको छ। यी दुई टोलीहरू अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म केवल एकपटक मात्र आमनेसामने भएका छन्। सन् २००७ मा भएको उक्त एकमात्र मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ४-३ को रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक नतिजाले पराजित गरेको थियो, जसमा लियोनेल मेस्सीले दुई गोल गरेका थिए। फिफा विश्वकपको मुख्य मञ्चमा यी दुई मुलुकहरू पहिलो पटक आमने-सामना हुन लागेका छन्। ऐतिहासिक अनुभव र फिफा वरीयताको आधारमा अर्जेन्टिना बलियो दावेदार मानिन्छ, तर अल्जेरियाको शारीरिक रूपमा बलियो र काउन्टर अट्याक शैलीले अर्जेन्टिनाको रक्षा पंक्तिका लागि चुनौती सिर्जना गर्न सक्छ।

प्लेयर्स टु वाच
अर्जेन्टिना
लाउतारो मार्टिनेज (स्ट्राइकर): अर्जेन्टिनाको आक्रमणका प्रमुख गोल मेसिन लाउतारो मार्टिनेज इटालियन च्याम्पियन इन्टर मिलानका कप्तान र स्टार फरवार्ड हुन्। कोपा अमेरिका २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई च्याम्पियन बनाउन नायक बनेका २८ वर्षीय मार्टिनेज हाल अविश्वसनीय फर्ममा छन्। लियोनेल मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा प्लेमेकरको भूमिका बढी निभाउने भएकाले, गोल दिलाउने र अल्जेरियाको कडा रक्षा तोड्ने मुख्य जिम्मेवारी मार्टिनेजको काँधमा पर्नेछ।

एन्जो फर्नान्डेज (मिडफिल्डर): इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीका मुख्य मिडफिल्ड इन्जिन एन्जो फर्नान्डेज अर्जेन्टिनाको मध्य क्षेत्रमा मुख्य रणनीतिकार हुन्। मैदानको मध्यभागबाट खेलको लय र गति नियन्त्रण गर्ने, विपक्षीको आक्रमणलाई डिफेन्सको नजिकबाट रोकी लाउतारो मार्किन्जेजलाई सटिक ‘थ्रु-पास’ दिने उनको कला विश्वस्तरीय छ। अल्जेरियाको आक्रमणमाथि पकड कायम राख्न उनको प्रदर्शन निर्णायक हुनेछ।

क्रिस्टियन रोमेरो (डिफेन्डर): इङ्ग्लिस क्लब टोटनह्याम हट्सपरका भरपर्दा सेन्टर-ब्याक क्रिस्टियन रोमेरो अर्जेन्टिनाको रक्षापंक्तिमा कडा चट्टान हुन्। आफ्नो कठिन ट्याकल, उत्कृष्ट शारीरिक शक्ति र ‘वान-अन-वान’ क्षमता राख्ने २८ वर्षीय रोमेरोले अल्जेरियाका तीब्र गतिका विङ्गरलाई पेनाल्टी क्षेत्र नजिक जान दिन नहुने मुख्य जिम्मेवारी पाएका छन्।

अल्जेरिया
रियाद माहरेज (विङ्गर): अल्जेरियाका कप्तान र टोलीका सबैभन्दा ठूला सुपरस्टार रियाद माहरेज साउदी प्रो लिग क्लब अल-अहलीका मुख्य आक्रमण हतियार हुन्। म्यानचेस्टर सिटीका पूर्व स्टार हुनाले ठूला खेल र दबाबपूर्ण मञ्चहरूको अत्यन्त अनुभव भएका माहरेजले दायाँ विङ्गबाट भित्र काट्दै सटिक क्रस निकाली वा सिधै गोलपोस्टमा प्रहार गरेर अर्जेन्टिनाको लेफ्ट ब्याकलाई खेलभरि नै ठूलो चुनौती दिने निश्चित छ।

रायन आयत-नूरी (डिफेन्डर): सिटीकै खेलाडी रायन आयत-नूरी अल्जेरियाको सबैभन्दा प्रतिभाशाली लेफ्ट ब्याक हुन्। डिफेन्स सम्हाल्दै तीव्र गतिमा बायाँ विङ्गमा ओभरल्याप गरी कप्तान माहरेजका लागि स्पेस खोल्ने उनको शैली निकै खतरनाक छ। अर्जेन्टिनाका विष्फोटक विङ्गरलाई रोक्न उनको रक्षात्मक भूमिका पनि महत्वपूर्ण हुनेछ।

गुगल क्रोममा नयाँ परिवर्तनले विज्ञापन रोक्ने ‘एडब्लकर’ कमजोर पार्दै

२ असार, काठमाडौं । विश्वकै सबैभन्दा बढी प्रयोग हुने इन्टरनेट ब्राउजर ‘गुगल क्रोम’ले आफ्नो एक्स्टेन्सन फ्रेमवर्कमा महत्वपूर्ण परिवर्तन गरेको छ। गुगलले ल्याएको यस नयाँ अपडेटसँगै क्रोममा प्रयोग हुँदै आएका विज्ञापन रोक्ने सफ्टवेयर (एडब्लकर) हरू कमजोर बन्दै गएका छन्। लोकप्रिय एडब्लकर ‘यूब्लक ओरिजिन’ जस्ता सफ्टवेयरहरू अहिले क्रोममा पूर्ण रूपमा काम गर्न छाडेका छन्। गुगलका अनुसार यो परिवर्तनले क्रोमको पुरानो सञ्चालन नियम ‘मेनिफेस्ट वी२’ हटाएर नयाँ ‘मेनिफेस्ट वी३’ लागू गरेको हो। जुलाई २०२५ मा क्रोमले सबै पुराना MV2 एक्स्टेन्सनहरूलाई स्थायी रूपमा निष्क्रिय गरिसकेको छ, जसका कारण ‘यूब्लक ओरिजिन’ क्रोम वेब स्टोरबाट हटाइएको थियो।

नयाँ अपडेटपछि एडब्लकरहरूले पहिले जस्तो ‘डाइनामिक फिल्टरिङ’ (वेबसाइट खुल्नुअगावै रियल-टाइममा विज्ञापन रोक्ने प्रक्रिया) गर्न सक्दैनन्। गुगलले यो कदम प्रयोगकर्ताको सुरक्षा सुदृढीकरण र ब्राउजरको कार्यक्षमता वृद्धि गर्ने उद्देश्यले उठाएको जनाएको छ। हालै क्रोमका विभिन्न एक्स्टेन्सनहरू मार्फत मालवेयर (भाइरस) फैलने र प्रयोगकर्ताहरूको गोप्य डाटा चोरी हुने घटनाहरू बढेकाले नयाँ नियम आवश्यक भएको गुगलको तर्क छ। तर साइबर सुरक्षा विशेषज्ञ र प्रविधि विज्ञहरूले भने गुगलको यो कदमको आलोचना गरेका छन्। उनीहरूको अनुसार गुगलको मुख्य आम्दानी डिजिटल विज्ञापनबाटै हुने भएकाले व्यावसायिक स्वार्थअनुसार एडब्लकरहरूलाई कमजोर बनाउन खोजिएको छ।

साइबर सुरक्षा जानकारहरूले भने एडब्लकरहरूले विज्ञापन मात्र नभई प्रयोगकर्तालाई हानिकारक अनलाइन रिडाइरेक्ट, ट्र्याकिङ र दुष्ट विज्ञापनबाट समेत बचाउने काम गर्छन्। त्यसैले एडब्लकर कमजोर हुँदा प्रयोगकर्ताहरू साइबर जोखिममा पर्दछन् भनी सचेत गराएका छन्। यद्यपि, क्रोम प्रयोगकर्ताका लागि ‘यूब्लक ओरिजिन लाइट’ नामक सफ्टवेयर अहिले पनि उपलब्ध छ। यदि पूर्ण रूपमा एडब्लकिङ आवश्यक छ भने फायरफक्स वा ब्रेभ ब्राउजरमा ‘यूब्लक ओरिजिन’ अझै पनि प्रभावकारी रूपमा चलिरहेको छ।

साउदी अरबमा १० हजारभन्दा बढी गैरकानुनी श्रमिक पक्राउ, नेपालीहरू पनि समावेश

हालै साउदी अरबमा गैरकानुनी रूपमा काम गर्दै आएका श्रमिकहरूविरुद्ध व्यापक कारबाही अन्तर्गत कम्तीमा ८४ नेपालीहरू पक्राउ परेको रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ। ती नेपालीहरूलाई नेपाल फर्काउने प्रक्रियामा विभिन्न केन्द्रहरूमा राखिएको छ, जसमा पूर्वी क्षेत्रका दमाम र जुबैल क्षेत्रमा ३७ र रियाद क्षेत्रका ४७ जनालाई समावेश गरिएको छ, नेपाली श्रम काउन्सलर कविराज उप्रेतीले बताए। उनले भने, “सामान्यतया साउदी सरकारले विभिन्न गैरकानुनी काममा संलग्न भएमा, रोजगारदाताको भेरि परेमा, कम्पनी छाडी तोकिएको भन्दा फरक काम गरेमा र आवास अनुमति (अकाम) वैध नभएको अवस्थामा बारम्बार पक्राउ पर्ने घटना हुन्छ।”
उप्रेतीले साउदी अरबमा नेपाल फर्किनका लागि ‘एक्जिट भिसा’ आवश्यक हुने व्यवस्था रहेको उल्लेख गर्दै, कतिपय नेपालीले कागजी प्रक्रिया पूरा नगरेका कारण पनि पक्राउ पर्ने गरेको बताएका छन्। साउदी अरबका आन्तरिक मामिला मन्त्रालयले जुन ४ देखि १० सम्म देशव्यापी रुपमा सुरक्षाकर्मीको सहभागितामा गरिएको अनुगमनमा १० हजारभन्दा बढी आप्रवासी गैरकानुनी श्रमिकहरू पक्राउ परेको छ। उक्त अवधिमा लगभग ८ हजारलाई देशनिकाला गरिएको विवरणहरूमा भनिएको छ।
साउदी अधिकारीहरूले पक्राउ परेका अधिकांशलाई आवासीय नियम, सीमा सुरक्षा सम्बन्धी कानुन र श्रम सम्बन्धी नियम उल्लङ्घनका आरोपमा समातिएको जनाएका छन्। श्रम काउन्सलर उप्रेतीका अनुसार धेरैजसो नेपालीहरूले आफ्नो आवासीय परिचयपत्र अद्यावधिक नगरेकाले बारम्बार पक्राउ पर्ने गरेका छन्। त्यस्ता नेपाली श्रमिकहरूको सङ्ख्या हजारौंमा रहेको र साउदी सरकारले ती परिचयपत्र अद्यावधिक गर्न सार्वजनिक सूचना तथा एसएमएसमार्फत जानकारी गराउँदै आएको हुने उनले बताए।
“साउदी सरकारले अङ्ग्रेजी र अरबी भाषामा सम्पूर्ण श्रमिकहरूलाई एसएमएसमार्फत जुन ३० भित्र आफ्नो आवासीय परिचयपत्र अपडेट गर्न निर्देशन दिएको छ। अन्यथा गैरकानुनी मानिने र देशबाटै निष्कासन गरिने सम्भावना छ,” उप्रेतीले भने। साउदी अरबमा आवासीय परिचयपत्र अद्यावधिक गर्ने काम तीन महिना, छ महिना र एक वर्षे अवधिका लागि गरिने व्यवस्था छ। यो बीच साउदी अरबले सन् २०३४ मा हुने विश्वकप फुटबल आयोजना गर्दैछ र भिजन २०३० अभियानअन्तर्गत तेल र ग्यास क्षेत्रमा आधारित अर्थतन्त्रलाई विविधीकरण गर्दै जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

चार वर्षे स्नातक तहको ट्रान्सक्रिप्टका लागि आवेदन अनलाइनमार्फत

२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार वर्षे स्नातक तह अन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमका ट्रान्सक्रिप्टका लागि आवेदन अनलाइनमार्फत् दिने व्यवस्था गरेको छ। कार्यालयले १ साउन २०८३ देखि भौतिक रूपमा आवेदन नलिने सूचना जारी गर्दै विद्यार्थीहरूलाई अनिवार्य रूपमा अनलाइनबाटै आवेदन दिन आग्रह गरेको छ। तल सूचना हेर्नुहोस् :

चिनियाँ व्यापार दबदबा नियन्त्रण गर्ने म्याक्रोनको योजनामा युरोप र अमेरिकाबीच मतभेद

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले जी–७ शिखर सम्मेलनमार्फत विश्व बजारलाई प्रभावित पारिरहेको चिनियाँ सब्सिडाइज्ड एक्स्पोर्ट्स विरुद्ध कडा कदम चाल्ने रणनीति बनाए पनि त्यो विफल हुने सङ्केत देखिएको छ। सम्मेलन सुरु हुनुअघि नै चिनियाँ व्यापारिक दबदबालाई रोक्ने विषयमा कुनै ठोस सहमति बन्न नसक्ने स्पष्ट भएको हो। फ्रान्सको एभियानमा सोमबार सुरु भएको जी–७ बैठकको पहिलो दिन विश्वव्यापी आर्थिक असन्तुलनका विषयमा छलफल भएता पनि यसले कुनै निकास निकाल्न सकेन। चीनको १.२ ट्रिलियन अमेरिकी डलर ट्रेड सेविंगलाई कसरी नियन्त्रण गर्ने भन्नेमा युरोपेली देशहरू र अमेरिकाबिच नै गम्भीर मतभेद देखिएको छ। अर्कोतर्फ, चीनले पनि जी–७ को यस पहललाई पूर्ण रूपमा उपेक्षा गरिदिएको छ।

राष्ट्रपति म्याक्रोनले जी–७ राष्ट्रहरू र बेइजिङबिच आर्थिक असन्तुलन कम गर्न भन्दै ‘विश्व आर्थिक रूपान्तरण शिखर सम्मेलन’ को अध्यक्षता गरेका थिए। तर, यो कुनै प्रत्यक्ष भेटवार्ता नभएर भिडियो कन्फरेन्स मात्र थियो। जसमा जर्मन चान्सलर फ्रिडरिक मर्ज र क्यानडाली प्रधानमन्त्री मार्क कार्नीसहित जी–७ का केही सिमित नेताहरू मात्र सहभागी भए। चीनले पनि यस बैठकलाई गम्भीरतापूर्वक नलिएको सङ्केत दिँदै व्यापार नीतिको कुनै प्रत्यक्ष जिम्मेवारी नभएका चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङलाई मात्र संवादमा उतारेको थियो। झाङले बैठकमा आर्थिक असन्तुलनबारे कुनै कुरा नगरी ‘मल्टील्य्ताटरलिजम’ को स्थापित चिनियाँ राजनीतिक एजेन्डा मात्र दोहोर्‍याए।

फ्रान्सेली राष्ट्रपतिको कार्यालय (एलीसी) ले यो भर्चुअल संवाद हुनु नै आफ्नो सफलता भएको दाबी गरे पनि विज्ञहरूले भने यसलाई औपचारिकतामा मात्र सिमित भएको बताएका छन्। थिङ्क ट्याङ्क ‘टी–७’ की अर्थशास्त्री अगाथे डेमारेसका अनुसार चीनले फ्रान्सलाई खुसी पार्नका लागि आफ्नो सम्पूर्ण आर्थिक मोडेल परिवर्तन गर्ने सम्भावना छैन र जी–७ चीनलाई दबाब दिने सही मञ्च पनि होइन। जी–७ को अध्यक्षका रूपमा फ्रान्सले सार्वजनिक रूपमा चीनको नाम नलिई ‘विश्वव्यापी आर्थिक असन्तुलन’ जस्ता तटस्थ शब्दहरूको प्रयोग गरिरहेको छ। यद्यपि, फ्रान्स युरोपेली सङ्घमा चिनियाँ व्यापार घाटा विरुद्ध सबैभन्दा कडा आवाज उठाउने देश हो।

गत वर्ष चीनसँग युरोपको व्यापार घाटा ३६० अर्ब युरो पुगेको थियो, जुन सन् २०२६ को पहिलो त्रैमासिकमा अझ बढेको छ। यसै हप्ता आफ्नो गृहनगर अमियामा एक टायर कारखानाका मजदुरहरूलाई सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले चिनियाँ प्रतिस्पर्धासँग जुध्नका लागि ट्यारिफ र युरोपेली प्राथमिकताका उपायहरू आवश्यक रहेको बताएका थिए। उनले यसलाई संरक्षणवाद नभएर ‘न्यायोचित सुरक्षा’ को संज्ञा दिए। विगतमा चीनको आर्थिक बदलाको डरले नरम नीति अपनाउने गरेको जर्मनीका चान्सलर मर्जले समेत यस पटक चीनविरुद्ध कडा कदम चाल्न सकिने सङ्केत दिएका छन्। युरोपेली आयोगले चीनसँगको यो असन्तुलित व्यापार घाटालाई रोक्न कदम चाल्ने प्रतिबद्धता जनाएको छ। जसबारे जी–७ सम्मेलन लगत्तै बिहीबार ब्रसेल्समा हुने युरोपेली नेताहरूको बैठकमा छलफल हुनेछ। तर, युरोप र अमेरिकाबिच नै यस मामिलामा सहकार्य हुन सकेको छैन। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले अमेरिकाले चीनविरुद्ध चालेका कडा कदमहरूमा युरोप सहभागी हुन चाहे स्वागत योग्य रहेको तर आफूहरू युरोपको कूटनीतिक समन्वयका लागि आफ्नो गति कम गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। युरोप र अमेरिकाको यही आपसी समन्वयको अभावका कारण फ्रान्सको चिनियाँ निर्यात रोक्ने महत्त्वाकाङ्क्षी एजेन्डा जी–७ मा केवल गफमा मात्र सिमित हुने देखिएको छ.

मेलबर्न स्टार्स र रेनेगेड्सको एकीकृत टोली गठनको योजना स्थगित, आगामी सिजन पृथक खेल्ने

२ असार, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) अन्तर्गतका दुई फ्रेन्चाइज टिम मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स आगामी सिजन पनि पृथक टोलीको रूपमा प्रतिस्पर्धा गर्ने भएका छन्। यी दुई टिम बीचको मर्जर प्रक्रिया हालका लागि स्थगित गरिएको छ। निजीकरणसम्बन्धी छलफल जारी रहँदा क्रिकेट भिक्टोरियाले आगामी सिजन दुवै टिम यथावत् रहने पुष्टि गरेको छ। पहिले स्टार्स र रेनेगेड्सलाई एकीकृत गरी नयाँ ब्रान्डअन्तर्गत एक टिम बनाउने योजना अघि बढाइएको थियो। रेनेगेड्सको १०० प्रतिशत लाइसेन्स निजी लगानीकर्तालाई बेच्ने र मेलबर्नको नयाँ टिम गठन गर्ने विषयमा छलफल भए तापनि निजीकरण प्रक्रिया ढिला भएकाले आगामी सिजनका लागि पुनर्ब्रान्डिङ नगर्ने दुवै क्लबहरूले संयुक्त रूपमा जानकारी दिएका छन्।

‘यो क्लबप्रतिको तपाईंहरूको समर्थन, निष्ठा र गर्वप्रति हामी आभारी छौँ। आगामी गर्मीयाममा मैदानमा पुनः भेट हुने अपेक्षा राख्छौँ,’ क्लबसँग सम्बन्धित संयुक्त विज्ञप्तिमा भनिएको छ। क्रिकेट भिक्टोरियाले निजी लगानीको लागि ‘सेल्फ-डिटर्मिनेसन मोडल’लाई सिद्धान्तका आधारमा समर्थन गरिसकेको छ। निजीकरण प्रक्रिया अघि बढिरहेको कारण हाल टिमहरूले नयाँ खेलाडी अनुबन्ध गर्न पाउने छैनन्। पुनर्ब्रान्ड गरिएको मेलबर्न टिमका लागि क्रिकेट भिक्टोरियाले ‘रेन्जर्स’, ‘म्याजिक’ र ‘ब्लेजर्स’ नाम ट्रेडमार्कका लागि दर्ता गराएको छ। नयाँ टिमले भिक्टोरियाको एकदिवसीय टिमजस्तै निलो र सेतो रंगको जर्सी प्रयोग गर्ने प्रारम्भिक योजना बनाएको छ।

तर निजीकरणको अर्को चरण अघि बढाउन चार विषयमा सहमति आवश्यक रहेको क्रिकेट अस्ट्रेलियाले बताएका छन्। ती विषयहरूमा नयाँ बिग ब्यास लिगको शासकीय संरचना, क्रिकेट अस्ट्रेलियाको प्रशासनिक संरचनामा परिवर्तन, खेलाडी संघ (एसीए)सँगको सहमति, तथा राज्य संघहरूसँगको आर्थिक वितरण समावेश छन्। गत सिजन मेलबर्न स्टार्स अंक तालिकामा चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो, तर होबार्ट हरिकेन्ससँग पराजित हुँदै बाहिरिएको थियो। रेनेगेड्स भने आठ टोलीमध्ये सातौं स्थानमा सीमित भएको थियो। क्रिकेट अस्ट्रेलियाका अध्यक्ष माइक बेयर्डले राज्य संघहरूले प्रस्तावलाई आफ्ना बोर्डमा थप छलफल गर्ने र यसले क्रिकेटको भविष्यका लागि स्पष्टता ल्याउने विश्वास व्यक्त गरेका छन्।