Skip to main content

लेखक: space4knews

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध चयन

२८ भदौ, विराटनगर । नेपालको पुरानो र प्रतिष्ठित व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन्। संघको ३५औं कार्यसमितिको अध्यक्ष पदमा साह निर्विरोध चयन हुँदा वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य तर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योग तर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ, र महासचिवमा अमितकुमार सारडालाई चयन गरिएको छ। नयाँ कार्यसमितिको सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानीया, र सहकोषाध्यक्षमा मनिष मारु निर्वाचित भएका छन्। प्रवक्ताको जिम्मेवारी सुशील सुरानालाई दिइएको छ।

सदस्यहरूमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वीत घिमिरे, पवन राठी, देवाशिस गोल्छा, बेदान्त जाजु, डा. बन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहता र ओमप्रकाश शर्मा चयन भएका छन्। आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दगड र विकास अग्रवाललाई चयन गरिएको छ। महिला उद्यम समिति तर्फ साधना झा संयोजक र जीना श्रेष्ठ सहसंयोजकमा चयन भएकी छन्। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन–२ को उपाधि जित्यो

पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति र एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ। काठमाडौँको भेलोसिटी एरिनामा शनिबार भएको फाइनल खेलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गरेको हो। अमित श्रेष्ठले ३ विकेट लिएर ‘प्लेयर अफ द फाइनल’ उपाधि प्राप्त गरे भने हरिओम जोशीलाई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित गरियो।

फाइनल खेलमा पोखराले पहिलो ब्याटिङ गर्दै ७९ रन बनाएको थियो। पोखराको इनिङ्स संकटमा परेका बेला अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोर बनाइदिए। ८० रनको लक्ष्य पछ्याएको बुटवलका ब्याट्सम्यानहरूले लय समात्न सकेनन्। अमितले तीन विकेट लिएपछि बुटवल १७ रनले पछि परेर उपाधिबाट वञ्चित रह्यो।

सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी थिए र कुल ४९ खेलहरू भएको थियो। च्याम्पियन पोखराले पाँच लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्‍यो भने उपविजेता बुटवलले दुई लाख रुपैयाँसहित पदक पाएर सन्तुष्ट रह्यो। अलराउन्ड प्रदर्शन गर्ने अमित श्रेष्ठ ‘प्लेयर अफ द फाइनल’ घोषित भए। पोखराकै आश्रय बस्नेत उत्कृष्ट ब्याटर बनेर १५ हजार रुपैयाँ पाए भने काठमाडौं कैलाश किंग्सका गौतम केसी उत्कृष्ट बलर घोषित भए। हरिओम जोशीले २५ हजार रुपैयाँसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको सम्मान पाए भने काठमाडौंका सन्तोष रोकायाले १० हजार रुपैयाँसहित ‘इमर्जिङ प्लेयर’को उपाधि हात पारे।

विपद्पछि पुनर्स्थापना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जना विषयमा छलफल

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच टेकुमा विपद्पछि उद्योग–व्यवसाय पुनर्स्थापना, लगानी वातावरण र रोजगारी विषयमा छलफल भएको छ। श्रेष्ठले ‘विपद् रोजगार बैंक’ स्थापना, सिपमूलक तालिम र प्रभावित क्षेत्रमा नयाँ बजार विकासमा महासंघ सहयोगका लागि तयार रहेको जनाएका छन्। मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रको पुनर्निर्माण, बालबालिकाको शिक्षा र पूर्वाधार विकासमा निजी क्षेत्रसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा काम गर्ने प्रस्ताव राखेका छन्। २८ भदौ, काठमाडौं।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच आइतबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ। भेटवार्तामा रसुवा सहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग-व्यवसाय पुनर्स्थापना, लगानी वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि सक्रिय बनाउने विषयमा छलफल भएको छ। दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार र उद्यमशीलता प्रवर्द्धनका लागि आपसी समन्वय अझ सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा फलदायी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त अवसरमा महासंघ अध्यक्ष श्रेष्ठले विपद्पछि महासंघ राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सक्रिय रहेको उल्लेख गर्दै प्रभावित उद्योग–व्यवसायलाई पुन: सञ्चालन गर्न वातावरण सिर्जना गर्न प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए। उनले भने, “प्रदेश सरकारसँगको सहकार्य थप प्रभावकारी बनाउन, बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक छ। स्थानीय स्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनर्निर्माणमा पनि काम गर्न इच्छुक छौं।”

मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको योगदान सराहनीय रहेको बताए। विपद्मा परेका बालबालिकाको शिक्षा, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुनर्जीवनका लागि महासंघसँग सहकार्य आवश्यक रहेकोमा जोड दिए। उनले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा काम गर्न सकिने प्रस्ताव समेत राखेका छन्।

म्यान्चेस्टर डर्बीमा सिटीको जीत, हालान्डले जिताउदा गोल

म्यान्चेस्टर सिटीले आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको छ। पहिलो हाफको २३औं मिनेटमा फिल फोडेनले पाउने रातो कार्डपछि सिटीले १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो। खेलको ६०औं मिनेटमा एर्लिङ हालान्डले जोस्को भार्डियलको पासमा गरेको गोललाई भीएआरले मान्यता दिएपछि सिटीले आफ्नो जीत सुनिश्चित गरेको थियो। २८ भदौ, काठमाडौं। इंग्लिस प्रिमियर लिगको यो म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले उत्कृष्ट प्रदर्शन गर्दै म्यान्चेस्टर युनाइटेडलाई १-० गोलले हराएको छ। सिटीले पहिलो हाफको २३औं मिनेटदेखि १० खेलाडीमा सीमित रहेर पनि सफलतापूर्वक खेलेर जित हात पारेको यो खेलमा हालान्डको गोल निर्णायक सावित भएको छ। प्रारम्भमा उक्त गोल अफसाइडको रूपमा अस्वीकृत भएको थियो, तर पछि भीएआरमा पुनः जाँच गरिएकोपछि गोललाई मान्यता दिइयो। फिल फोडेनले पाएको रातो कार्डपछि सिटीले कठिन परिस्थितिमा पनि संयमित प्रदर्शन गर्दै जीत हासिल गर्‍यो। यस जीतसँगै म्यान्चेस्टर सिटीले चार खेलमा १२ अंक जोड्दै अंकतालिकामा दोस्रो स्थानमा दाबेदार बनेको छ भने म्यान्चेस्टर युनाइटेड चार खेलमा ४ अंकसहित १३औं स्थानमा रहेको छ।

कर्णालीका पाँच प्रमुख पर्यटकीय गन्तव्यमा २१ करोड ३५ लाख खर्च, पर्यटन दशकको आधार तयार गर्दै सरकार

कर्णाली प्रदेश सरकारले रारा, काँक्रेविहार, बुलबुले, कुपिण्डे र स्यार्पु संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेशले पर्यटन प्रवर्द्धन तथा विकासका लागि ५३ करोड ८६ लाख रुपैयाँ छुट्याएर पार्क, उद्यान, पदमार्ग र दृश्यावलोकन स्थल निर्माण गर्ने जनाएको छ। मन्त्री कल्याणी खड्काले कर्णाली पर्यटन दशकमार्फत संरक्षण, पूर्वाधार, पहुँच विस्तार र सीप विकास गरी रोजगारी सिर्जना गर्ने बताइन्। २८ भदौ, सुर्खेत।

कर्णाली प्रदेश सरकारले यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरूको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा करोडौँ रुपैयाँ बजेट सहित कार्य सुरु गरेको छ। प्रदेशले पाँच प्रमुख पर्यटकीय गन्तव्यहरूको गुरुयोजना कार्यान्वयनदेखि भवन, सडक लगायत पर्यटन पूर्वाधार निर्माणमा ठूलो लगानी गर्ने योजना ल्याएको छ। मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान र चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु ताल संरक्षण तथा विकासका लागि कर्णाली सरकारले २१ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको ५०औं बुँदामा यी गन्तव्यहरूको गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिइएको छ। गुरुयोजना कार्यान्वयनमा जोड सरकारले पर्यटकीय स्थल विकाससँगै समग्र पर्यटन पूर्वाधारमा समेत ५३ करोड ८६ लाख रुपैयाँ छुट्याउने जनाएको छ। यसले पार्क, उद्यान, खुला स्थान, पदमार्ग र दृश्यावलोकन स्थलसहित प्राकृतिक, धार्मिक र सांस्कृतिक पूर्वाधार निर्माण र स्तरोन्नति तय गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार कर्णालीको पर्यटनलाई पूर्वाधार विकास, सेवामा सुधार र गन्तव्य व्यवस्थापनसँग जोडेर अघि बढाउने नीति छ।

एसीसी प्रिमियर कप जितेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

मलेसियामा यूएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कप जितेको नेपाली क्रिकेट टोली आइतबार राति नेपाल फर्किएको छ। ट्रफीसहित स्वदेश फर्किएको टोलीलाई क्यानका सचिव पारस खड्कासहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए र टोली अब एसियन गेम्सका लागि जापान जानेछ।

२८ भदौ, काठमाडौं। एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनल खेलमा यूएईलाई पराजित गर्दै उपाधि हात पार्ने र एसिया कपका लागि छनोट हुने नेपाली टोली आइतबार साँझ नेपाल आइपुगेको हो। ट्रफीसहित स्वदेश फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्कासहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

मलेसियाको वायुमास ओभल मैदानमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गरेको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पाएका थिए। विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सन्दीपले सबैको मेहनतले सफलता हासिल भएको बताएका छन्। “सबै जना खुशी छौं, देश कठिन अवस्थामा हुँदा राम्रो प्रदर्शन गर्‍यौं, एसिया कपमा पनि छनोट भयौं, यो निकै गर्वको कुरा हो” सन्दीपले भने।

नेपाली टोली अब केही दिनमा एसियन गेम्सको लागि जापान प्रस्थान गर्नेछ।

काठमाडौंमा ग्यास आपूर्ति गर्न तराईका उद्योगहरूले कसरी काम गरिरहेका छन्?

समाचार सारांश सम्पादकीय समीक्षा सहित। त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा तराईका १४ उद्योगहरूले २४ घण्टा ग्यास सिलिन्डर भरेर काठमाडौं पठाइरहेका छन्। सहारा ग्यास उद्योगले दैनिक ८ हजारभन्दा बढी सिलिन्डर काठमाडौं पठाइरहेको छ भने मनोज, अम्बर, लियो र सुपर ग्यासले पनि आपूर्ति बढाएका छन्। सरकारले वैकल्पिक बाटो र साना-ठूला ट्रकमार्फत ग्यास ढुवानी मिलाएको भए पनि काठमाडौं उपत्यकामा अभाव कायम छ। २८ भदौ, बारा। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तराई क्षेत्रमा रहेका ग्यास उद्योगहरूले चौबिसै घण्टा सिलिन्डरमा ग्यास रिफिलिङ गरिरहेका छन्। १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएकोले ग्यास बोकेको टेलर बुलेटका लागि वैकल्पिक सडक नभएकाले भारतबाट आउने ग्यास बुलेटहरू काठमाडौं उपत्यकाबाहिर अड्किएका छन्। बुलेट काठमाडौंसम्म आउन नसकेपछि सरकारले वैकल्पिक बाटोको व्यवस्था गर्दै साना-ठूला ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानी गर्न सुरू गरेको छ। काठमाडौं उपत्यकामा ग्यास आपूर्ति पर्याप्त नहुँदा अभाव कायमै छ। तराईका मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा उद्योगले काठमाडौंका लागि ग्यास भर्ने काम गर्दैछन्। काठमाडौंमा व्यवसायीकरण गरिरहेका २६ उद्योगका सिलिन्डरमा तराईका ग्यास उद्योगहरूले सिलिन्डर भर्ने र ट्रकमार्फत त्रिभुवन राजपथ हुँदै ग्यास ढुवानी भइरहेको छ। तराईका उद्योगले एउटा ब्रान्डको दैनिक १ हजारदेखि ८ हजार सिलिन्डरसम्म ग्यास भरेर काठमाडौं पठाइरहेको जानकारी प्राप्त भएको छ। हेटौँडामा रहेको सहारा ग्यास उद्योगले आफूहरूले काठमाडौंमा ग्यास आपूर्ति गरिरहेको जनाएको छ। यस उद्योगले एभरेस्ट ग्यासको ४ हजार र सुगमको ४ हजार सिलिन्डरमा दैनिक ग्यास भरेर काठमाडौं पठाइरहेको छ र तीन सिफ्टमा चौबिसै घण्टा सञ्चालन भइरहेको छ। सहारा ग्यास उद्योगका प्रबन्धक खड्ग थापाले संकटको समयमा चुनौतीपूर्ण परिस्थितिमा पनि उत्पादन बढाएर काठमाडौं ग्यास पठाइरहेका बताएका छन्। ‘हामी दैनिक ८ देखि १२ हजार सिलिन्डर ग्यास भरिरहेका छौं, जसमा करिब २५ सय सिलिन्डर स्थानीय बजारमा सहाराको आफ्नै ब्रान्ड जान्छ,’ प्रबन्धक थापाले भने, ‘त्यसका अतिरिक्त ८ हजारभन्दा बढी सिलिन्डर हामी काठमाडौं पठाइरहेका छौं।’ उनका अनुसार काठमाडौं ग्यास पठाउन पालुङको बाटो प्रयोग भइरहेको छ। पाँचदेखि सातवटा साना ट्रक र काठमाडौंका पार्टी तथा डिलरका गाडीमार्फत दैनिक लगभग ८ हजार ५ सय सिलिन्डर आपूर्ति भइरहेको छ। धेरै ग्यास उत्पादनका कारण उद्योगमा लामो समयसम्म काम भइरहेको छ। ‘यो हाम्रो लागि अत्यन्त चुनौतीपूर्ण छ, तर हामी १८-२० घण्टा सिफ्ट अनुसार काम गरिरहेका छौं,’ उनले बताए, ‘दैनिक ८-१० हजार सिलिन्डर भर्दा लोडिङ गर्न गाडीले कुरिरहँदा समय लागिरहेको छ।’ राजमार्ग खुल्न वा बन्द हुनासाथ उद्योगमा ग्यास लिन आउने गाडीहरूको भीड थाम्न नसकिएको प्रबन्धक थापाले जानकारी दिए। मनोज ग्यासले दैनिक १८ सय सिलिन्डर ग्यास भरिरहेको छ पर्सा परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रालिले काठमाडौंका लागि ग्यास सिलिन्डर भरेर पठाइरहेको छ। उद्योगले आफ्नै ग्याससँगै काठमाडौंका दुई ग्यास ब्रान्डका सिलिन्डरहरू भरेर राजधानी पठाइरहेको छ। मनोज ग्यास उद्योगका कर्मचारी सञ्जयकुमार मिश्रका अनुसार हाल उद्योगले साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटीसी’ र अर्को कम्पनीको ‘लोकप्रिय’ ग्यास सिलिन्डर भर्ने काम गरिरहेको छ। ‘हामी काठमाडौंका लागि यी दुई ब्रान्डका सिलिन्डर फिलिङ गरिरहेका छौं,’ मिश्रले भने, ‘प्रतिदिन करिब १६ सयदेखि १८ सय सिलिन्डर भरेर राजधानीका लागि पठाइरहेका छौं।’ आफ्नै र काठमाडौंका ग्यासका सिलिन्डर भर्ने क्रममा उद्योगले समय व्यवस्थापन गरिरहेको छ। बिहानदेखि बेलुकी आफ्नै ग्यास फिलिन्ग गरी त्यसपछि राति काठमाडौंका सिलिन्डर भर्दै पठाइएको छ। ‘बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मनोज ग्यास फिलिङ गर्छौं, त्यसपछि बाहिरका एसटीसी र लोकप्रिय सिलिन्डरको माग अनुसार राति १२/१ बजेसम्म फिलिङ गरेर पठाउँछौं,’ उनले बताए। बारामा रहेको अम्बर ग्यास उद्योगले पनि सिद्धार्थ र एसटीसी ग्यास सिलिन्डर भर्दै आएको छ। कम्पनीका कर्मचारी पन्नालाल साहका अनुसार दुवै कम्पनीका लागि दैनिक १ हजार २ सय सिलिन्डर ग्यास भरेको छ। बाराको लियो ग्यास उद्योग प्रालिले लोकप्रिय र श्रीमाया ब्रान्डका सिलिन्डरमा ग्यास भरेको ब्यवसायी निर्मल खत्रीले जानकारी दिएका छन्। लियो ग्यास संचालक तथा एलपी ग्यास उद्योग संघ कोषाध्यक्ष खत्रीले संकटको समयमा नागरिकप्रतिको जिम्मेवारी महसुस गरेर आपूर्ति बढाइएको बताए। उनका अनुसार भारतबाट ग्यास उपलब्धिमा रोकावट छैन र आफ्नै उद्योगमा दैनिक आधा दर्जन हाराहारी ग्यास बुलेट आउने गरेको छ। ‘महत्त्वपूर्ण संकटको बेला हामीले उद्योगीभन्दा पनि नागरिकको रुपमा जिम्मेवारी बोध गरेका छौं, कामदार र टिमले निकै सहयोग गरेका छन्,’ खत्रीले भने, ‘हामी बिहान ७ बजे देखि दिउँसो ३ बजे सम्म र दिउँसो ३ बजे देखि राति ११ बजे सम्म दुई सिफ्टमा काम गरिरहेका छौं।’ उनले भने, लियो ग्यास उद्योगले दैनिक ५ हजार सिलिन्डर ग्यास बजार पठाइरहेको छ, जसमा करिब २ देखि २.५ हजार सिलिन्डर स्थानीय बजार र बाँकी ३ हजार सिलिन्डर काठमाडौं पठाइएको छ। कामदारहरूको साथ र उद्योगको प्रयासले काठमाडौंका उपभोक्तालाई ग्यास अभाव हुनबाट जोगाउन सकिरहेका छन्, खत्रीले बताए। त्यस्तै, पर्साको सुपर ग्यास उद्योगले काठमाडौंको हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भरीरहेको जनाएको छ। पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउँदासम्म नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगहरूले वैकल्पिक मार्गबाट काठमाडौं ग्यास पठाउने छन्। काठमाडौं उपत्यका लगायत केही जिल्लामा ग्यास अभाव भए पनि भारतबाट बजारको मागभन्दा बढी परिमाणमा ग्यास आपूर्ति भइरहेको तथ्यांक आयल निगमले सार्वजनिक गर्दै आएको छ।

यमालका दुई गोलले बार्सिलोनालाई महत्वपूर्ण जीत

लामिन यमालका दुई गोलले बार्सिलोनालाई स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले हराउँदै लगातार पाँचौं जित दिलाएको छ। भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाका जाभी एस्पार्ट, यमाल र करिम अदेयेमीले गोल गर्दा राफिन्हाले दुई असिस्ट गरे। पाँच खेलबाट १५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ र दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा तीन अंकले अग्रस्थानमा छ। २८ भदौ, काठमाडौं।

बार्सिलोनाले खेलको पाँचौं मिनेटमै जाभी एस्पार्टको गोलबाट अघि बढेको थियो। त्यसपछि यमालले १९औं मिनेटमा अर्को गोल गर्दै पहिलो हाफ २–० को अग्रता बनायो। दोस्रो हाफको ४८औं मिनेटमा यमालले पेनाल्टीबाट व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल गरे। खेलको अन्त्यतिर लेभान्टेले इभान रोमेरो र रोजर ब्रुगेको गोलबाट पुनरागमन प्रयास गर्‍यो, तर इन्ज्युरी समयमा करिम अदेयेमीले गोल गरी बार्सिलोनाको जीत सुनिश्चित गरे। राफिन्हाले पहिलो दुई गोलमा असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे। यस जितसँगै हान्सी फ्लिकको टोली बार्सिलोनाले पाँच खेलमा शतप्रतिशत जितसहित १५ अंक हासिल गरेको छ। बार्सिलोना दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा तीन अंकले अघि छ जसले पाँच खेलबाट १२ अंक जोडेको छ।

‘चमौली, मेलम्ची र टिस्टाका बाढी घटनाको निरन्तरता हो भोटेकोशी बाढी, त्यसअनुसार अब रणनीति बनाऔं’

वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भोटेकोशीको बाढीले पछिल्ला ६ वर्षका हिमाली बाढीहरूभन्दा बढी क्षति पु¥याएको बताएका छन्। उनले हिमनदी पग्लेर हिमताल बन्ने र डिल भत्केर नदीमा खस्ने क्यास्केडिङ घटनालाई बाढीको मुख्य कारण भनेका छन्। श्रेष्ठले जलवायु परिवर्तनलाई भोटेकोशी बाढीको प्रमुख दोषी ठहर गर्दै यस्ता प्रकोपसँग जुध्न बहुआयामिक तयारी आवश्यक रहेको उल्लेख गरे।

‘भोटेकोशीपछि हाम्रो जीवन’ नामक वार्ताको पहिलो शृंखलामा विपद् प्राधिकरणका पूर्व सीईओ अनिल पोखरेलसँग संवाद गरिएको थियो। दोस्रो शृंखलाको अन्तर्गत गरिएको यस अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भोटेकोशीसँग तुलना गरी पछिल्ला ६ वर्षयताको हिमाली बाढीहरूको विश्लेषण गरेका छन्। ‘भोटेकोशीले पुर्याएको क्षतिको गति अरु कुनै बाढीभन्दा नै बढी छ,’ वैज्ञानिक श्रेष्ठले बताउनुभयो।

उनका अनुसार, नदीलाई थुन्ने वा बाँध्ने, नदीसँगै गेग्रयान, लेदो र बरफ सबै खस्ने तथा तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याउने प्रवृत्तिहरू देखिएका छन्। भोटेकोशी बाढीमा अनेकौं कारण भए पनि जलवायु परिवर्तन यसको मुख्य दोषी रहेको उनको दावी छ। ‘आजकाल विपद् श्रृंखलाबद्ध हुँदैछन्। यसको अर्थ, हिमपहिरो वा भूक्षय हुन्छ, ताल बन्न र नदी थुनिन्छ र त्यसपछि थप विनाशकारी घटना सुरु हुन्छ। यस्ता ‘क्यास्केडिङ’ प्रकोपहरूले हामीलाई बहुआयामिक तयारी गर्न बाध्य पार्छन्,’ श्रेष्ठले थपे।

वैज्ञानिक अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका प्रमुख रहेका श्रेष्ठसँग नेपालको आगामी कार्यहरूबारे अनलाइनखबरका बसन्त बस्नेतले गरेको संवाद। भिडियो: शंकर गिरी

सन् १९८० को दशकमा जन्मिएका इरानीहरू आफैलाई किन ‘जलेको पुस्ता’ भन्छन्?

इरानमा सन् १९८० को दशकमा जन्मिएका ‘जलेको पुस्ता’ ले युद्ध, प्रतिबन्ध, महँगाई र राजनीतिक अशान्तिको बीचमा कष्टकर जीवन व्यतित गरिरहेको बताएका छन्। इरानको वार्षिक मुद्रास्फीति अगस्ट अन्त्यसम्म ८९ प्रतिशत पुगेको र खाद्यान्न मूल्यवृद्धि १२७ प्रतिशतभन्दा बढी भइसकेको तथ्यांक सार्वजनिक गरिएको छ। पेट्रोलको मूल्य वृद्धिले, अमेरिकी प्रतिबन्ध, समुद्री नाकाबन्दी र अवरुद्ध यातायातले इरानी जनजीवन थप गाह्रो बनाएको र परिवारहरूले उपभोग घटाउन विवश भएको छ।

तेहरान (इरान) । सन् १९८० को दशकमा जन्मिएका इरानीहरू प्राय: आफैलाई ‘जलेको पुस्ता’ भनेर चिनाउँछन्। उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि सुरु भएको राजनीतिक र आर्थिक उथलपुथलको बीचमा बितेका छन्। सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी राजदूतसहितका कूटनीतिज्ञहरूलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास कब्जा’ घटनाले त्यस दशकको राजनीतिक अवस्थालाई झल्काएको थियो।

बर्दियाका अनुसार, अहिलेका युवाहरू सन् १९८० को दशकमा जन्मिएका पुराना पुस्ताभन्दा पनि गाह्रो जीवन बिताइरहेका छन्। रोजगार बजार थप अस्थिर र महँगाई बढिरहेको उनको अनुभव छ। ‘स्वतन्त्र भएर बस्न, परिवार बनाउन, विदेश जान, घर, पसल, गाडी वा नयाँ फोन किन्ने सपना दिनप्रतिदिन टाढिँदै गएको छ,’ उनले सुरक्षा कारण आफ्नो नाम नखुलाउने सर्तमा अलजजिरालाई बताए।

इरानको तथ्यांकले देखाएको छ कि अगस्टको अन्त्यसम्म वार्षिक मुद्रास्फीति ८९ प्रतिशत पुगेको थियो। खाद्यान्नको मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा १२७ प्रतिशतभन्दा बढी थियो। इरानी राष्ट्रिय मुद्रा रियाल निरन्तर कमजोर हुँदै गएको छ। गत साता खुले बजारमा एक अमेरिकी डलरको मूल्य १३ लाख ७० हजार रियालभन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको थाे।

एक इरानी प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई याद छ, मेरो बुबाले १ करोड तोमान (१० करोड रियाल, लगभग ४३ डलर) मा गाडी किन्ने दिन। मलाई याद छ, उनले त्यही मूल्यमा जग्गा किन्ने दिन। आज उहाँ घरमा थोरै मासु लिएर आउनुभयो र यसको मूल्य पनि १ करोड तोमान भएको बताए। म स्तब्ध छु। म २४ वर्षको छु र मैले यी सबै देखिसकेको छु।’

अर्थशास्त्री तथा बजार विश्लेषक बेहनाम सामादीका अनुसार राजनीतिक र आर्थिक अनिश्चितताले इरानलाई ठूलो मूल्य चुकाउन बाध्य तुल्याइरहेको छ। परिवारहरूले जीवनशैली र उपभोगको बानी क्रमशः बदलिरहेका छन्। मनोरञ्जन, शिक्षा र स्वास्थ्य सेवामा खर्च घटाइएको छ। उधारामा किनमेल गर्ने र किस्ताबन्दीमा सामान लिने प्रवृत्ति बढ्न थालेको छ।

‘सबैभन्दा उपयुक्त वर्णन यो हो कि इरानी परिवारहरू परिस्थितिसँग अनुकूलित हुँदैछन्, तर यसको अर्थ उनीहरूको जीवनस्तर कायम छ भन्ने होइन,’ सामादी भन्छन्। ‘यदि यो अवस्था जारी रह्यो भने हामीले “सहनशीलता” भन्ने कुरा क्रमशः “सहनशीलताको क्षय” मा परिणत हुन सक्छ।’

एक अञ्जुली जीवन

मबगेको नदीमा एक अञ्जुली पानी चढाएछौ बाबा। आक्रोशित पो रहेछ नदी! पीडा र लज्जाको नदीमा चोपल्दैछ मलाई। विस्मयमा निथ्रुक्क म सोचमग्न छु, धर्तीले खप्न नसक्ने गरी उत्सर्जन गरेका तातो ग्यासका जंगलविरुद्ध तिर्खालु नदीको विद्रोह पो थियो कि? कि थियो उसको गर्भमा मलाई समाहित गर्ने रहर? आमाको गर्भमा हुँदा पानीमै थिएँ, म कति न्यानो र सुरक्षित थियो त्यो पानी! कति सुन्दर र सुमधुर थियो त्यसभित्रको मेरो छ्याप्लाङ–छुप्लुङ। आमाको गर्भभन्दा धेरै–धेरै कठिन हुँदोरहेछ नदीको गर्भाशय। अतिसय आवेगमा हुत्याउँदैछ मलाई ऊ सूदूर गन्तव्यमा ठोक्किँदै, क्रूर ढुंगाहरूमा बज्रिँदै किनारका विशाल भित्ताहरूमा। भुक्तान गर्दैछु मैले नगरेको गल्तीको सजाय बग्नु त पर्थ्यो! जीवनका/आशाका/उल्लासका नदीमा। तर आज मलुवा मिसिएको पानीमा हुत्तिँदै, निसास्सिँदै बग्दैछु म—तिमीभन्दा टाढा कति हो? कति टाढा यस्ता बेला आउनुपर्ने हो? मस्तिष्कमा विचार र विद्रोहका भेल नपस्नुपर्ने हो। मनभित्र प्रश्नहरूका बाढी नसोध्नुपर्ने हो विल्कूल नदीलाई—‘मेरो के दोष थियो र तिमी मसँग बदला लिँदैछौ?’ तर कसरी नसोधूँ? ‘किन छुरा धस्दैछौ मेरो निर्दोष बाबाको मुटुमा खोसेर उहाँको प्राण?’ भेलले बगाइरहेको छ मेरो हृदयमा। तिमीले जतनले ओछ्याएको करुणा धमिलो पानी पसेर दृष्टि कमजोर भएका नयनबाट निस्किँदैछन् रिसका लप्काहरू। हिमाललाई खस्न बाध्य पार्ने गरी ताप उत्सर्जन गर्ने ती लोभी मगजहरू, नदीको कण्ठ सुकाउने ती निर्दयी हातहरू, देशहरूलाई युद्धमा होम्ने ती अहंकार बोकेका छातीहरू निरन्तर प्रार्थना गरिरहेछु म—‘फेरि अर्को जन्म देऊ, ए आमा!’ त्यो जन्ममा हिमाललाई पग्लाउने ताप नहोस, नदीलाई विषालु बनाउने हात नहोस, आकाशलाई धुवाँले छोप्ने उद्देश्य नहोस, मानिसको प्राणभन्दा सत्ताको भोक ठूलो नहोस्।

दिल्लीमा इरानी विदेशमन्त्रीद्वारा पाँच देशका विदेशमन्त्रीहरूसँग समूहगत बैठक

२८ भदौ, काठमाडौं । नयाँदिल्लीमा सम्पन्न १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रसिया, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूबीच समूहगत बैठक आयोजना गरियो। सोमबार सम्पन्न उक्त बैठकमा क्षेत्रीय र विश्वव्यापी विषयहरू साथै आपसी हितसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल भयो। बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने, बहुपक्षीय कूटनीति सुदृढ गर्ने र क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।

इरान र रसियाबीच निकट सम्बन्ध रहेको विश्वास गरिन्छ। दुवै देशले सिरिया, क्षेत्रीय सुरक्षा र ऊर्जासँग सम्बन्धित विषयहरूमा सहकार्य गर्दै आएका छन्। चीन इरानको महत्वपूर्ण आर्थिक साझेदार हो। चीनले इरानबाट तेल आयात गर्ने साथै इरानमा पूर्वाधारसम्बन्धी विभिन्न परियोजनाहरूमा लगानी गरिरहेको छ। इरान र इजिप्टबीचको सम्बन्ध लामो समयसम्म सीमित रहँदा पनि पछिल्ला वर्षहरूमा दुवैले सम्बन्ध सुधार्न प्रयास गर्दै आएका छन्। इन्डोनेसिया र इरानबीच सामान्यतया सकारात्मक सम्बन्ध रहेको छ। इन्डोनेसियाले मध्यपूर्वको राजनीतिमा प्रायः सन्तुलित दृष्टिकोण अपनाउने गरेको छ। इरान र कजाखस्तानबीचको सम्बन्ध मुख्य रूपमा व्यापार, यातायात र क्षेत्रीय सम्पर्कमा केन्द्रित छ। अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर जस्ता परियोजनाहरू दुवै देशका लागि महत्वपूर्ण मानिन्छ।

कलिम सनाले चितवन राइनोजबाट एनपीएलमा सहभागिता जनाउने

चितवन राइनोजले क्यानडाका पेस बलर कलिम सनालाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेलमा ६५ विकेट र ओडीआईमा ३३ खेलमा ५१ विकेट लिएका छन्। चितवनले यसअघि रवि बोपारालाई तेस्रो सिजन र सिकन्दर राजालाई पनि अनुबन्ध गरिसकेको छ। २८ भदौ, काठमाडौं।

क्यानडाका पेस बलर कलिम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन्। चितवनले सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरिएको जानकारी दिएको छ। सना क्यानडा क्रिकेट टिमका मुख्य पेस बलर हुन्। सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेल खेल्दा ६५ विकेट लिएका छन्। ओडीआईमा ३३ खेलमा ५१ विकेट लिएका छन्। समग्र टी-२०मा सनाले ४९ खेलमा ६९ विकेट लिएका छन्। उनले ग्लोबल टी-२० लिग क्यानडा, पाकिस्तान सुपर लिग, आईएल टी-२० जस्ता फ्रेन्चाइज लिगहरूमा खेलेका छन्।

चितवनले यसअघि इंग्ल्यान्डका रवि बोपारालाई लगातार तेस्रो सिजनका लागि अनुबन्ध गरेको थियो भने जिम्बाबेकाका स्टार अलराउन्डर सिकन्दर राजालाई पनि तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ। यसअघि दुई सिजन खेलेका सोहेल तनविर यस पटक प्रशिक्षकको रूपमा रहेका छन्।

धनगढीमा अटोरिक्साले मोटरसाइकलमा ठक्कर दिँदा बालकको मृत्यु

२८ भदौ, कैलाली। धनगढी उपमहानगरपालिका–२, मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। मिलनचोकमा धनगढी उपमहानगरपालिका–२, आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुप्र.०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुप्र.०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय बालक क्रिस गोतामेको मृत्यु भएको छ। त्यस्तै, दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

साम अल्टम्यानले एआई विकास केही समयका लागि रोक्ने प्रस्तावको समर्थन गरे

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआई विकासलाई केही समयका लागि सुस्त बनाउने प्रस्तावलाई समर्थन व्यक्त गरेका छन्। उनले मानवताको सुरक्षाका लागि आवश्यक परेमा ओपनएआईले आफ्ना सबै जीपीयूहरू पगाल्न सक्छ भन्ने बताएका छन्। यद्यपि, यस्तो अवस्था वास्तविक हुन सक्ने सम्भावना एक तर्कसंगत अनुमान मात्र हो भनी उनले उल्लेख गरेका छन्।

अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईको प्रस्तावमा समर्थन जनाएका छन्, जसमा सबैभन्दा उन्नत एआईको विकासमा केही समयका लागि गति कम गरी सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको प्रतिबद्धता देखाइएको थियो। उनले यो कुरा फर्च्युनसँगको अन्तर्वार्तामा बताए।

स्वतन्त्र संस्थाबाट सुरक्षा परीक्षण सम्बन्धमा, अल्टम्यानले ओपनएआईले आफ्ना एआई प्रणालीहरूको सुरक्षा परीक्षणका लागि स्वतन्त्र निकायबाट मूल्यांकन गराउने जानकारी दिएका छन्। यी परीक्षणकर्ताहरूलाई कम्पनीका कर्मचारीहरूलाई जस्तै आवश्यक जानकारी र पहुँच प्रदान गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। स्वतन्त्र परीक्षणकर्ताहरू ओपनएआईका एआई प्रणालीहरूले मानिसको लागि जोखिमपूर्ण हुन सक्छन् या छैनन् र कम्पनीले जोखिमहरू रोक्न पर्याप्त प्रयास गरिरहेको छ या छैन भन्ने विषयमा मूल्याङ्कन गर्नेछन्।

‘जीपीयू पगाल्ने’ भनाइले मतलब एआई सिस्टम निर्माण र सञ्चालन गर्न आवश्यक पर्ने ग्राफिक्स प्रोसेसिङ यूनिटहरू (जीपीयू) बन्द गर्ने भन्ने हो। जीपीयूले ठूलो मात्रामा डेटा प्रशोधन गर्न सहयोग पुर्‍याउँछन्। त्यसैले अल्टम्यानले ‘सबै जीपीयू पगाल्न तयार छौँ’ भनेको यसको अर्थ हो, यदि जोखिम अत्यधिक बढ्यो भने ओपनएआईले एआईको तीव्र विकास रोक्ने र आफ्ना कम्प्युटर प्रणालीहरूलाई पनि बन्द गर्न तयार रहेको जनाउनु भएको छ। अल्टम्यानले एआईको सुरक्षा र मानव हित सुनिश्चित गर्न आवश्यक भएमा विकासको गति कहिलेकाहीँ मात्र नभई पटक-पटक सम्झौता गरेर कम गर्नुपर्ने हुन सक्ने पनि बताएका छन्।